‘जीवनदेखि हार खाएँ’ भन्दै अस्ताइन् रोशनी शाही | Khabarhub Khabarhub

‘जीवनदेखि हार खाएँ’ भन्दै अस्ताइन् रोशनी शाही



काठमाडौं– एउटा गम्भीर घटनाका कारण अचानक चर्चामा आएकी रोशनी शाही त्यसैगरि अस्ताएकी छन् । ‘जीवनदेखि हार खाएँ’ भन्दै रोशनी यो संसारबाट बिदा भएकी छन् ।

भक्तपुरको सूर्यविनायकस्थित बृहस्पति मार्ग डेरामा बस्दै आएकी ५० वर्षीया रोशनी आइतबार कोठाभित्रै मृत भेटिइन् । दिउँसो २ बजेतिर आफ्नै कोठामा भित्रबाट चुकुल लगाई घोप्टो परेको अवस्थामा उनी निष्प्राण भेटिकी हुन् ।

जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी ढुण्डीराज न्यौपानेका अनुसार घटनास्थलमा सुसाइड नोट पनि भेटिएको छ । खबरहबसँग कुरा गर्दै उनले भने, ‘नोटमा उनले आफ्नो छोरालाई सम्बोधन गरेर तिम्रो भविष्यको लागि केही गर्न सकिनँ, जीवनदेखि हार खाएँ भनेर लेखेकी छन् । उनले उक्त नोटमा बाँकेको कोहलपुरमा रहेको १७ कठ्ठा जग्गाबारे पनि उल्लेख गरेकी छन् ।

रोशनीका पति चित्रजंग १५ दिनदेखि विराटनगरमा थिए । लामो समयसम्म ढोका नखुलेपछि घरबेटीले उनका पतिलाई फोन गरेर जानकारी गराए । लामो समयदेखि डिप्रेसनको औषधि खाँदै आएकाले ढोका फोडेर हेर्न चित्रजंगले नै भने । त्यसपछि घरधनीले प्रहरी बोलाएर ढोका फुटाएर हेर्दा रोशनी मृत अवस्थामा भेटिइन् ।

प्रहरीको प्रारम्भिक अनुसन्धानले ओभरडोज औषधी खाएको देखाएको छ । ‘औषधीको ओभर डोज हो वा होइन परीक्षणपछि थाहा हुन्छ । घटनाको प्रकृति हेर्दा ओभरडोज शंका गर्न सकिन्छ । शवको पोस्टमार्टम र भिसेरा परीक्षण गर्न शव त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ’, न्यौपानेले भने ।

को हुन् रोशनी ?

रोशनी जाजरकोटकी स्थायीबासी थिइन् । उनका एक छोरा अमेरिका र छोरी पनि विदेशमा छन् । उनले चित्रजंगसँग प्रेम विवाह गरेकी थिइन् । उनले संसद् सचिवालयमा करारमा काम पनि गरिन् । २०६८ सालमा आमाको दुर्घटनामा मृत्यु भएपछि रोशनी विक्षिप्त बनेकी थिइन् । त्यही घटनापछि उनी डिप्रेसनबाट गुज्रिरहेकी थिइन् ।

डिप्रेसनको औषधीले छिनछिनमै स्वभाव परिवर्तन गथ्र्यो । बिरामी भएपछि साथी, सहकर्मी, आफन्तसहित श्रीमान्समेत टाढिँँदै गए । उनले आफूलाई एक्लो महसुस गर्न थालिन् । एक्लोपनले उनलाई मर्न लागेको केही अन्तवार्तामा बताएकी थिइन् । रोशनी ‘क्लोनाज’ नामक औधषी सेवन गर्थिन् ।

एक सामान्य करारकी कर्मचारी मिडियामा अन्तवार्ता दिने गरी कसरी भइन् त ? नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरासँग जोडिए पनि उनको जीवनले अर्कै मोड लिन्छ । २०७६ असोजमा रोशनीले तत्कालीन सभामुख महरामाथि जबरजस्ती करणीको आरोप लगाइन् ।

सशस्त्र युद्ध सुरु हुनुभन्दा अगाडि उनी रोल्पामा शिक्षक थिए । माओवादी द्वन्द्वको उत्कर्षका बेला पार्टी प्रवक्ता र सरकारसँग वार्ता टोलीका संयोजक पनि भए । माओवादी शान्तिप्रक्रियामा आएसँगै उनले पार्टी नेतृत्वसँग बार्गेनिङ गरेर सधँै लाभको पद लिए । तीन पटक उपप्रधानमन्त्रीसहित ६ पटक मन्त्री भए ।

तत्कालीन नेकपा एमाले र माओवादीबीचको गठबन्धनको सरकार हुँदा २०७४ सालमा महरा सभामुख बने । पार्टीमा अरु योगदान गर्ने धेरै नेताहरुलाई बाइपास गरियो । शान्ति प्रक्रियामा आएपछि माओवादी नेताहरुमध्ये सबैभन्दा बढी लाभको पद लिनेमा पर्छन् महरा । तर २०७६ सालको दसैँको मुखमा उनलाई जबरजस्ती करणीको आरोप लाग्यो ।

उक्त प्रकरणमा महरा पक्राउ परेपछि मिडियाले रोशनी पछ्याए । अनुसन्धानका क्रममा प्रहरीले सीसीटीभी फुटेजमा महारा रोशनीको तीनकुनेस्थित कोठामा गएको देखिन्छ । साथै, उनको शरीरमा पिटेका चोट प्रशस्त थिए ।

महरा र रोशनीबीच लामो समयदेखिको चिनजान थियो । त्यसदिन रोशनीका श्रीमान् घर नभएको बेला महरा त्यहाँ पुगेका थिए । उनले बलात्कार गर्नुका साथै कुटपिट गरेको आरोप पनि रोशनीले लगाएकी थिइन् । महराले जबरजस्ती मदिरा पिलाउँदै बलात्कार गरेको बताएकी थिइन् । महराको भाँचिएको चस्मा आफूसँग सुरक्षित रहेको बताएकी थिइन् ।

श्रीमान् तनहुँबाट फर्किएपछि उजुरी दिन जान्छु भनेर बसेकी रोशनीलाई दुई दिन बित्न नपाउदै आरोप फिर्ता लिन दबाब दिइयो । श्रीमान् रोशनीलाई नभेटी सिधै महरा भेट्न पुगेका थिए । महराको नाम बाहिर ल्याएर गल्ती गरिस् । कुरा किन बाहिर ल्याइस् भनेर थर्काएको उनले त्यही बेला बताएकी थिइन् ।

‘पछि म ‘डिप्रेसनको रोगी हुँ, महरा सर निर्दोष हुनुहुन्छ’ भनेर रोशनी महानगरीय प्रहरी वृत्त बानेश्वर पुगेकी थिइन् । कहिले महराले बलात्कार गरेको हो भन्थिन् । कहिले होइन भन्ने स्थितिमा पुगेकी थिइन् । दुइटा कुरा आउन थालेपछि मानिसहरुले आफैँ न्यायाधीश बनेर उनलाई ‘पागल’ करार गरे । हिसाब नमिलेर घटना बाहिर ल्याएको आरोपसम्म लगाए ।

बर्षौदेखिको चिनजान भएको र घरमा आउजाउ गर्नेले कसरी बलात्कार गर्न सक्छ ? भनेर उल्टै रोशनीमाथि प्रश्न उठाइयो । महरालाई आरोप लगाएपछि उनलाई मोबाइल फोन प्रयोग गर्न बन्देज लगाइयो । तर उनको फेसबुक पेजबाट महरा निर्दोष भएको स्टाटस भने आइरहन्थ्यो ।


महराले राजनीतिक शक्ति प्रयोग गरेर सफाइ पाए । नेपाली कांग्रेस र नेकपा एमालेले उनको राजनीतिक भविष्य सिद्याउन रोशनी प्रयोग गरेको भनेर महराको पक्षपोषण गर्न थाले । मानसिक बिरामीको आरोप सत्य नहुने भनेर चोख्याउने कोसिस गरे । तर महरा त्यसपछि पनि अनेक विवादमा फसेर राजनीतिक रुपमा सेलाउँदै गए ।

फ्रिक्वेन्सी वितरण, चिनियाँसँग मागेको ५० करोडको टेप काण्ड, लडाकुको रकम भ्रष्टाचार, सुनकाण्ड लगायत विवाद उनीसँग जोडिएका थिए । छोरा निर्मल महरासमेत विवादमा मुछिँदा तनाव बढ्दै गयो । सबै पक्षबाट ओरालो लाग्दै गर्दा महाराकी पत्नीकोसमेत निधन भयो ।

समयक्रमसँगै जनताले ठूला घटना र दुर्घटना बिर्सिदै जान्छन् । महरा र रोशनी पनि आमनागरिकको मानसपटलबाट धमिलो बन्दै गएका थिए । तर अचानक उक्त घटनाको ७ वर्षपछि रोशनी मृत भेटिएपछि उक्त घटना चर्चामा आएको छ ।

अर्काको जीवन बर्बाद गर्नेको मरण यस्तै दुखदायी हुने आरोप रोशनीमाथि लगाइएको छ । हत्या वा आत्महत्या के हो ? भनेर आममानिसले सोधेका छन् । केहीले यो आत्महत्या नभएर हत्या नै भएको टिप्पणी पनि गरिरहेका छन् । यो देश महिलाको लागि नभएको भन्दै निष्पक्ष छानबिनको माग पनि उठेको छ ।

न्याय माग्दै गरेका पीडितको हालत यस्तै बनाइने भन्दै केहीले चिन्ता व्यक्त गरिरहेका छन् । रोशनीको मृत्युमा जर्बजस्ती महरालाई जोेड्न नहुने अर्काथरीको तर्क छ ।

उनी डिप्रेसनको बिरामी थिइन् । रोगले थला पर्दै जाँदा श्रीमान् र छोराछोरीको साथ पाइनन् । जीवनसाथी भएर पनि उनी एक्लै थिइन् । सन्तान भएर पनि उनी सहाराविहीन भइन् । त्यसमाथि दिनानुदिन डिप्रेसनले थला पार्दा उनी भित्रैबाट टुटेकी थिइन् ।
प्रहरीको अनुसन्धानले उनको मृत्युबारे एक निष्कर्ष दिनेछ । तर उनी जुन अवस्थाबाट गुज्रिरहेकी थिइन् । त्यसबेला हेरचाह र उपचारमा न उनको परिवारले सोच्यो । न राज्यले सोच्यो ।

एक शक्तिशाली पीडकसँग लड्न उनले गरेको साहसलाई पागलको संज्ञा दिइयो । उनी अनेक धम्कीबाट गुज्रिइन् । शारीरिक र मानसिक रुपमा कमजोर बनाएर दिइने पीडाको हिसाब कसले गर्छ ? डिप्रेसनको उपचारसँगै तिमी सुरक्षित छौ भन्ने कुराको विश्वस्त दिलाउने कसले ? मृत्युभन्दा अगाडि उनको लागि गर्नुपर्ने थुप्रै कुरा थिए ।

मृत्युपछि पनि सञ्चारमाध्यमले ‘महरालाई जेल पुर्याउने रोशनी’ मृत फेला भनेर समाचारको शीर्षक बनाइदिएका छन् । तर महरा आफ्नो दुश्कर्मले जेल परेका कुरा पनि सञ्चारमाध्यमले बिर्सिदिएका छन् ।

प्रकाशित मिति : १२ जेठ २०८२, सोमबार  ७ : २३ बजे

इजरायल र इरानबाट नेपालीहरुको उद्धारको तयारीमा छौँ : परराष्ट्रमन्त्री

काठमाडौं– परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले इजरायल र इरानमा रहेका

३४ लाख लागतमा खानेपानी आयोजना निर्माण

बेलबारी– मोरङ लेटाङ नगरपालिका–७  समलावासीको लामो समयदेखि खोला, खोल्सा धाएर

बेलायती सैन्य बेसमा पसे प्रो-प्यालेस्टिनी कार्यकर्ता, दुई लडाकु विमानमा क्षति

लण्डन- बेलायतमा प्यालेस्टिनी समर्थक कार्यकर्ताहरूले एक सैन्य एयरबेसमा तोडफोड गर्दै

पाकिस्तानबाट २६९ अफगान नागरिक स्वदेश फिर्ता

काबुल– पाकिस्तानको जेलमा रहेका कुल दुई सय ६९ अफगान नागरिकलाई

बजेट विनियोजनमा विभेद भएको सांसदको गुनासो

काठमाडौं- सांसदहरूले ठूला दलका शीर्ष नेता र मन्त्रीका जिल्लामा मात्रै आवश्यकभन्दा