मानव–हात्ती द्वन्द्व न्यूनीकरण गर्न वन मन्त्रालयको पहल | Khabarhub Khabarhub

मानव–हात्ती द्वन्द्व न्यूनीकरण गर्न वन मन्त्रालयको पहल


१२ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वन तथा वातावरण मन्त्रालयले पूर्वी तराई क्षेत्रमा बढ्दो मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि तत्काल प्रभावकारी परियोजना निर्माण गरी कार्यान्वयन गर्ने भएको छ ।

त्यसका लागि साझा धारणा बनाउन मन्त्रालयले बुधबार सम्बन्धित विकास साझेदार संस्थासँग अन्तरक्रिया गरी सुझाव सङ्कलन गरेको छ । साझेदार संस्थाको सहयोग र समन्वयमा आधुनिक प्रविधिका साथ स्थानीय सहभागितामा परियोजना बनाई तत्काल कार्यान्वयन गरिनेछ ।

वनमन्त्री ऐनबहादुर शाही ठकुरीले पछिल्लो समय हात्तीका कारण मानवीय, कृषि पशु तथा बाली र घरगोठमा क्षति हुने क्रम बढेकाले समाधानका लागि सरोकारवालासँग साझा धारणा बनाई अघि बढ्ने बताए । उनले भने, ‘मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि तत्कालीन र दीर्घकालीन योजना बनाएर तत्काल कार्यान्वयन गर्नेगरी अघि बढ्छौँ । साथै हात्तीबाट हुने क्षतिमा राहत दिने कार्यविधिलाई पनि अझ सहज र सरल बनाउँदैछौँ ।’

सन् २००० देखि हालसम्म हात्तीको आक्रमणबाट नेपालमा ३४५ जनाको मृत्यु भएको छ भने मानिसको आक्रमणबाट तथा करेन्ट लागेर ५५ हात्ती मरेका छन् । यसबाहेक हरेक वर्ष हात्तीबाट हुने कृषि पशु तथा बाली र घरगोठको क्षतिको परिणाम ठूलो छ ।

वन राज्यमन्त्री रुपा विकले हात्तीको क्षतिबाट गरिब समुदाय बढी प्रभावित हुने गरेको उल्लेख गर्दै मानव–हात्ती द्वन्द्व न्यूनीकरणको विषय अब वन मन्त्रालयको मात्र नभई अन्य मन्त्रालय र सबै तहका सरकारको चासोको विषय बन्नुपर्ने उल्लेख गरिन् ।

मन्त्रालयका सहसचिव बुद्धिसागर पौडेलले पछिल्लो समय मानव–हात्ती द्वन्द्व भयावह बन्दै गएको उल्लेख गर्दै समाधानका लागि शिक्षा र चेतनाका साथै स्थानीय जनताले वैकल्पिक खेतीका बारेमा समेत सोच्नुपर्नेमा जोड दिए ।

साथै उनले प्रभावित मानिसमा बदलाको भावना कम गर्न राहतसम्बन्धी निर्देशिकालाई सरल बनाइने जानकारी दिए ।

पछिल्लो तथ्यांकअनुसार हाल नेपालमा २३० जङ्गली हात्ती र सरकारी तथा निजी रुपमा पालिएका १८० हात्ती रहेका छन् । अनतर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ नेपालका राष्ट्रिय प्रतिनिधि डा. नरेन्द्रमानबाबु प्रधानले सचेतनामार्फत स्थानीयको व्यवहार प्रतिवर्तन गर्न सके मात्र पनि हात्तीका कारण हुने मानवीय क्षति ७० प्रतिशतसम्म कम गर्न सकिने तर्क गरे ।

विश्व वन्य जन्तु कोष नेपालका राष्ट्रिय प्रतिनिधि डा. घनश्याम गुरुङले भारतीय सीमाबाट आउने हात्तीका कारण पनि क्षति हुने गरेको उल्लेख गर्दै यस सम्बन्धमा भारतसँग समन्वय गरी काम गर्नुपर्ने सुझाव दिए ।

राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्यसचिव डा. नरेश सुवेदीले हात्तीको आक्रमणबाट बच्न पछिल्लो समय सुरु गरिएको फेन्सिङ तार प्रविधि प्रभावकारी बनेको उल्लेख गर्दै स्थलमा खटिने कर्मचारीलाई स्रोत र सवारीसाधनले चुस्त बनाउनुपर्ने सुझाव दिए ।

मन्त्रालयले मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि हालसम्म क्षति गर्ने हात्तीलाई सुरक्षित स्थानमा प्रवेश गराउने, उद्धार र उपचार, क्षतिका लागि राहतको व्यवस्था, सचेतना कार्यक्रम, फेन्सिङ तारबार, मृतकका परिवारलाई रोजगार र छात्रवृत्ति, वैकल्पिक खेतीको प्रोत्साहनलगायत काम गर्दै आएको छ ।

प्रकाशित मिति : १२ असार २०८२, बिहीबार  ९ : ५३ बजे

सबैको पहुँचमा खानेपानी पुर्‍याउन मन्त्रालय प्रयासरत छ : मन्त्री यादव

काठमाडौं– खानेपानीमन्त्री प्रदीप यादवले खानेपानी तथा सरसफाइलाई सर्वसुलभ तथा सबैको

रोनाल्डो अझै दुई वर्ष अल नासरमै रहने, नयाँ सम्झौतामा हस्ताक्षर

काठमाडौं- साउदी प्रो लिग क्लब अल-नासरले ४० वर्षीय सुपरस्टार क्रिस्टियानो

सुमनाले भनिन्- शिक्षा र स्वास्थ्यमा नाफा गर्न पाइँदैन, १५ वर्षपछि निजी विद्यालय गैरनाफामूलक बनाऊँ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सुमना श्रेष्ठले शिक्षा र

ऊर्जा सुरक्षा आधुनिक जीवनको आधारभूत आवश्यकता : मन्त्री खड्का

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ऊर्जा सुरक्षा आधुनिक