काठमाडौं- उज्ज्वल थापाले सुरू गरेको वैकल्पिक धारको विवेकशील साझा पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीबीच एकीकरण हुने भएको छ । बुधबार अध्यक्ष समीक्षा बास्कोटाको अध्यक्षतामा बसेको बैठकले राष्ट्रिय स्वतन्त्र पार्टीसँग एकता गर्ने निर्णय गरेको हो । एकता प्रक्रियापछि अध्यक्ष बास्कोटा, महासचिव रञ्जु दर्शना र उपाध्यक्ष प्रदीपचन्द्र परियार लगायतका शीर्ष नेताको हैसियत केन्द्रीय सदस्यसरह हुने भएको छ । नि:शर्त विवेकशील साझा रास्वपामा मिल्न जाँदा थुप्रै प्रश्न उठेका छन् ।
तर अध्यक्ष बास्कोटा वैकल्पिक धारका पार्टीहरू एक ठाउँमा नआए आगामी निर्वाचनमा पुरानै दलहरूको वर्चस्व रहने चिन्ता व्यक्त गर्छिन् । त्यहीकारण जनताको आवश्यकता र देशको रक्षाका लागि आफूहरू एक ठाउँमा आएको दाबी उनी गर्छिन् । उनले सबै वैकल्पिक शक्तिहरूलाई एक ठाउँमा आएर अगाडि बढ्नसमेत आग्रह गरिन् । यतिमात्रै होइन, जेन-जी आन्दोलनपछि वैकल्पिक शक्तिहरू एक ठाउँमा नआए पुराना दलभन्दा पत्रु हुने उनको विश्लेषण छ । पार्टी एकीकरणको निर्णय र त्यसपछिका सम्भावित कदम र दृश्यबारे समीक्षा बास्कोटासँग खबरहबले छोटो कुराकानी गरेको छ ।
नि:शर्त राष्ट्रिय स्वतन्त्र पार्टीमा जानुभयो, एकता प्रक्रिया हलुका भएन र ?
वैकल्पिक राजनीतिमा कहिलेकाहीँ दुई कदम पछाडि सरेर पनि दुईऔचार कदम अगाडिको स्टेप चाल्न सकिने रहेछ । विवेकशील साझाले दिन खोजेको सन्देश चाहिँ राजनीतिमा लागेको १० वर्ष र मेरो उमेरसम्म आउँदा नेतृत्वलाई सिद्धान्त र एजेन्डामा कुरा मिल्यो मिलेन भन्ने मतलब छैन । एजेन्डाको कुरा नेपालमा गौण हुन्छ । तर, पदको कुरामा मैले कति पाउँछु, म कहाँ जाने ? प्रधानमन्त्री बन्ने कि नबन्ने ? मन्त्री बन्ने कि नबन्ने ? समानुपातिक सांसद बन्ने कि नबन्ने ? यस्ता विषयमा छलफल हुने रहेछ ।
यी व्यक्तिगत कुरा हुन् । यी विषयलाई गौण राखे सैद्धान्तिक विषयमा एक ठाउँ आउन सकिन्छ । यति भए त्यो विषय महत्वपूर्ण हुन्छ । त्यो देशको आवश्यकता पनि हो । त्यो हिसाबले विवेकशील साझाले वैकल्पिक राजनीति भनेपछि केही नयाँ छाप त छोड्नुपर्थ्यो । यो नयाँ छोड्नका लागि र नयाँ खेल्ने दलहरूका लागि एउटा नयाँ पाठ सिकाउन खोजेको हो । नि:शर्त पनि राजनीतिक ध्रुवीकरण हुन्छ भनेर हो । नयाँ र विचार मिल्नेबीच एकीकरण र ध्रुवीकरण नभएन हामी पनि पुराना दलभन्दा पत्रु भएर जाने छौँ । त्यसकारण व्यक्तिगत स्वार्थबाट माथि उठेर देश र जनताका लागि सोच्ने बेला अहिले हो ।
एकतामा जाँदा यहाँहरूको पद चाहिँ के ?
पद के भन्दा पनि अहिले हामी केन्द्रीय सदस्य हैसियतमा सम्मानपूर्वक पदमा रहने भनिएको छ । यो सबै कुरा आइतबारको घोषणा सभामा थाहा हुन्छ । टेक्निकल कुराहरू घोषणा सभामै गर्ने भनिएको छ । हामी चुनावकेन्द्रित एकतामा लागेका हौँ । जनताले धेरै दु:ख पाए, अब उनीहरूको एजेन्डामा लाग्ने हो ।
वैकल्पिक धारमा त विवेकशील साझा रास्वपाभन्दा धेरै अगाडि स्थापना भएको हो, तर समीक्षा बास्कोटाले पार्टी मूभ गर्न नसकेर नि:शर्त रास्वपामा मिसाइन् भन्छन् नि ?
टिप्पणी कसरी गर्छन् भन्ने कुरा आफ्नो ठाउँमा छ । कसले कसरी बुझेर गर्छ भन्ने कुरा हो । समीक्षा बास्कोटा र पार्टीका लागि भौतिक चिजहरू भन्दा पनि मुख्य के हो भने विवेकशील साझाको १० वर्षको लिगेसी, उज्ज्वल थापाले सुरू गरेको राजनीतिक योगदान र विवेकशील अभियानलाई दस्तावेजीकरण गर्नु नै ठूलो कुरा हो । समीक्षा बास्कोटालाई पद दिनु या चुनाव चिह्न या नाममा हेरफेर गर्नुभन्दा महत्वपूर्ण कुरा दस्तावेजीकरण मुख्य कुरा हो ।
हाम्रो १० वर्षको लिगेसीलाई जगेर्ना गर्नु, संस्थागत गर्नु हाम्रो दायित्व हो। जेन-जी आन्दोलनपछि पदको बार्गेनिङ गर्ने, तलमाथि गर्ने काम गर्यो भने जेन-जीप्रति पनि घात हुन्छ भन्ने सोचेर सम्झेर विवेकशील साझाले यो निर्णय गरेको हो । नि:शर्त एकीकरणलाई हामीले एक शत्प्रयास भनेका छौँ । राजनीति पदका लागि मात्रै होइन, नि:शर्त सत्कर्मका लागि प्रयास पनि हुन्छन् भनेर देखाउन खोजेको हो । त्यो बुझ्नेले त्यसरी नै बुझ्छ । टिकाटिप्पणी गर्नेले त यसलाई जसरी गरे पनि फरक पर्दैन । विवेकशील साझा त्यति कमजोर होइन । आज सडक सत्ता र सरकारमा पनि विवेकशील साझा छ । जेन-जी आन्दोलनपछि वैकल्पिक शक्ति एक नभए देशले ठूलो धक्का व्यहोर्छ ।

कति नेता-कार्यकर्ता रास्वपामा विलय हुनुभयो ?
विलय होइन, एकीकरण हो । हाम्रा ५ हजार नेता कार्यकर्ता सबै उच्च सम्मानका साथ गएका हौँ । अब हामी निर्वाचनमा लाग्छौँ । वैकल्पिक शक्तिहरू एक ठाउँमा नआए जटिल मोडमा देश जान सक्छ । देश जोगाउन र जनताको समस्या सम्बोधन गर्न पनि निर्वाचन केन्द्रित हुनुपर्छ ।
आइतबारको एकतामा सबै भेला भइन्छ ?
पार्टी पूरै एकता भएकाले अगुवा नेताहरूलाई बोलाएका छौँ । सबैलाई निमन्त्रणा गरेर राष्ट्रिय सभागृहको क्षमताले भ्याउँदैन भनेर उपत्यका र उपत्यकाकाअगुवा साथीहरूलाई मात्र बोलाएका छौँ ।

के वैकल्पिक धार एक ठाउँमा आएर पुराना दललाई चुनौती दिन खोज्नु भएको हो ?
पुराना दलले भ्रष्टाचार ढाकछोप गर्ने काम गरे । सत्ता र शक्तिका लागि मात्र एकीकरण गरे । यसका लागि मात्रै समीकरण बनाए । हामीले चाहिँ नयाँ पुस्ता आउनुपर्छ, नयाँ पुस्तालाई नेतृत्व दिनुपर्छ भनेर एकीकरण गरेको हो । वैकल्पिक राजनीति गर्छु भन्ने दलहरूले के बुझ्नुपर्थ्यो भने नयाँले पनि १ ठाउँबाट ५ जना उठ्न खोज्यो भने जित्ने पुरानैले हो । पुरानालाई परास्त गर्न र देशलाई समृद्ध बनाउन सबै नयाँ एकजुट हुने बेला आएको छ । हाम्रो देश धेरै पछि परेको छ । म नयाँ साथीहरूलाई के आग्रह गर्छु भने १ ठाउँबाट ५ जना नयाँ उठ्ने होइन । ५ जना नयाँ एक ठाउँमा आएर आगामी निर्वाचनमा एक योग्यले जित्ने माहोल बनाउने हो ।
अन्तिममा, रास्वपा सभापति रवि लामिछानेमाथि वित्तीय आरोप लागेर थुनामा परेका बेला रास्वपाको भविष्य सकियो भनिरहेका छन् । यही बेला तपाईंहरू जानु हुँदैछ, रास्वपाले के गर्ला त ?
रास्वपा ठूलो शक्ति हो । उसले २१ जना सांसदहरू प्रतिनिधि सभामा ल्याएर एउटा ठूलो शक्ति निर्माण गरिसकेको छ । वडासम्म संगठन विस्तार गरिसकेको छ । सभापतिजीको हकमा अदालती प्रकृयामा गइसकेकाले धेरै कमेन्ट गर्नुपर्ने अवस्था छैन । अदालती प्रकृयालाई मानेर सभापति आफैँ नख्खु जेलमा हुनुहुन्छ भनेपछि अन्य दलमा यस्ता मुद्दा लागेकाहरू बाहिरै बसिरहेका छन् । उहाँहरूलाई पनि सञ्चारमाध्यमले देखेकै छ ।
उहाँबारे अदालतलाई नै निर्णय गर्न छोड्नुपर्छ । कानुन र विधिको शासन हामी मान्छौँ । तर, रास्वपामा रविजी मात्रै हुनु हुन्न । अन्य थुप्रै नेता हुनुहुन्छ । उहाँले पनि अदालतबाट न्याय पाउनु हुन्छ । हामीलाई थाहा छ, उहाँले मैले तिर्नुपर्ने र भोग्नुपर्ने दायित्व पूरा गर्छु भन्नुभएकै छ ।













प्रतिक्रिया