सुन्तला बेचेर २० लाख रुपैयाँ आम्दानी « Khabarhub

सुन्तला बेचेर २० लाख रुपैयाँ आम्दानी


१५ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका– ३ मरेकका किसान पदमबहादुर खत्रीले सुन्तलाखेतीबाट यस वर्ष २० लाख रुपैयाँ आम्दानी गरेका छन् । 

भारतीय गोर्खा सैनिकबाट सेवानिवृत्त भएर २१ वर्षअघि सुन्तलाखेती सुरु गरेका खत्रीका बगैँचाका तीन सय बोटले उत्पादन दिन्छन् । हुर्किरहेका थप पाँच सय बोटले केही वर्षपछि उत्पादन दिनेछन् ।

उनले गत वर्ष १३ लाखको सुन्तला बिक्री गरेका थिए । उनले भने, ‘यसपालि उत्पादन बढेकाले २० लाखको सुन्तला बिक्री भएको हो ।’ पोखराका व्यापारीलाई बगैचाबाट प्रतिकिलो ७५ रुपैयाँका दरले सुन्तला बिक्री गरेको खत्रीले बताए । खत्री जिल्लामा सुन्तलाखेतीबाट धेरै आम्दानी गर्नेमध्ये एक हुन् । खत्रीसहित मरेकका किसानले यस वर्ष सुन्तला बिक्री गरेर एक करोड ५० लाख रुपैयाँ आम्दानी गरेका छन् ।

मरेकमा रहेका २१ मध्ये २० घरपरिवारले सुन्तलाखेती गरेका छन् । प्रतिघर न्यूनतम एक लाखसम्मको सुन्तला बेचेका छन् । ‘गत वर्ष ८० लाख रुपैयाँको सुन्तला बिक्री भएको मरेकमा यसपालि उत्पादन दोब्बरले बढेको थियो’, उनले भने, ‘फल लाग्ने बिरुवा थपिएका, क्षेत्रफल विस्तार, दाना झर्ने समस्या कम भएको, बगैँचा व्यवस्थापन र अनुकूल मौसमका कारण सुन्तला उत्पादन बढेको हो ।’

माघको पहिलो साता सुन्तला टिपेर निख्रिएपछि किसान बगैँचा व्यवस्थापनमा जुटेका छन् । उत्तरपूर्व फर्किएको भिरालो पाखामा रहेको मरेकका बासिन्दा दुई दशकअघिसम्म परम्परागत खाद्यबाली खेती गर्दथे । वर्षभरि दुःख गरेर उब्जाएको खाद्यबालीले ६ महिना पनि पुग्दैनथ्यो । रोजगारी नहुनेहरू काम र आम्दानीका लागि विदेश र सहरबजार जाने चलन थियो ।

अहिले मरेकको पाखा सुन्तला बगैँचाले भरिएको छ । वर्षमा १८ मुरी धान फलाउने इन्द्रबहादुर थापाले १४ रोपनीमा गरेको सुन्तला खेतीबाट वार्षिक १० लाखसम्म आम्दानी हुने बताए । तीन वर्ष कतारमा काम गरेर फर्किएका मरेकका ४९ वर्षीय कृष्णबहादुर घर्तीले यसपालि सुन्तला बेचेर ६ लाख रुपैयाँ आम्दानी गरेका छन् ।

अन्य ठाउँको तुलनामा रसिलो र स्वादिलो भएकाले मरेकका सुन्तला बजारमा सहजै बिक्री हुने व्यापारी राजन तामाङले बताए । पोखरा, काठमाडौं र हेटौँडाको बजारमा यहाँको सुन्तला खपत हुने गरेको उनको भनाइ छ ।

कृषि ज्ञान केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र बेनी नगरपालिकाको कृषि शाखाले मरेकमा सुन्तलाखेतीको विस्तारमा सहयोग गर्दै आएका छन् । अनुदानमा नयाँ बिरुवा वितरण, बगैँचा व्यवस्थापन, साना सिँचाइ कार्यक्रममार्फत किसानलाई सहयोग गरिँदै आएको कृषि ज्ञान केन्द्रका प्रमुख सञ्जीव बास्तोलाले बताए ।

बेनी नगरपालिका– ३ का वडाध्यक्ष पदम पुनले साविक भकिम्ली गाविसको मरेक, राखु, हल्लेगौडा र पानीस्वाँरालाई सुन्तलाको पकेट क्षेत्रका रूपमा विकास गरिएको बताए । 

प्रकाशित मिति : १५ माघ २०८१, मंगलबार  ८ : ५२ बजे

भृकुटीमण्डपमा गफिँदैछन् एमाले अध्यक्ष र महासचिवका उम्मेदवार

काठमाडौँ– नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि मतदान जारी

कुनैबेला कांग्रेस महासमिति सदस्य थिए ज्योति मगरको साथ पाएका पूर्ण गुरूङ

काठमाडौं– नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा चर्चित लोकदोहोरी गायिका

फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे

कास्की – गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले फेवाताल संरक्षणका सर्वोच्चको

एमालेका प्रतिनिधि १२ बजेसम्म मतदान केन्द्र प्रवेश गर्न पाउने

काठमाडौं- नेकपा एमाले) महाधिवेशनमा मतदान जारी छ । काठमाडौंको भृकुटीमण्डपमा

प्रवासबाट एमाले महाधिवेशनमा आएका प्रतिनिधि भन्छन् : अब पार्टी परिमार्जित भएर अघि बढ्नुपर्छ

काठमाडौं- नेकपा एमालेको एघारौँ महाधिवेशनमा ४० वटा देशबाट प्रतिनिधिहरू आएका