सकियो स्यार्पु जलविद्युतको ७५ प्रतिशत काम, रुकुमका पालिकाले गरेका छन् लगानी « Khabarhub

सकियो स्यार्पु जलविद्युतको ७५ प्रतिशत काम, रुकुमका पालिकाले गरेका छन् लगानी


१६ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– रुकुमपश्चिमको बाँफीकोट गाउँपालिका–३ मा बन्न लागेको ३.३ मेगावाट क्षमता स्यार्पु जलविद्युत् आयोजना चरणमा पुगेको छ ।

३.३ मेगावाट क्षमता रहेको आयोजनाको ७५ प्रतिशत काम सकिएको स्यार्पु पावर कम्पनी लिमिटेडले जनाएको छ । 

यो आयोजनाको २५ प्रतिशत काम मात्र बाँकी छ । यदि आयोजना बनाउन कुनै बाधा नआए तीन चार महिनामा काम सम्पन्न हुनेछ ।

विद्युत् विकास विभागले २०७८ सालमा आयोजनाका लागि सर्वे अनुमति दिएको थियो । दुई वर्षमा पूर्वअध्ययन सकिएसँगै २५ मंसिर २०८० मा पूर्वमन्त्री एवम् प्रतिनिधिसभा सदस्य जनार्दन शर्माले आयोजना शिलान्यास गरेका थिए । शिलान्यास भएको करिब १५ महिनामा ७५ प्रतिशत काम सकिएको हो । 

यो आयोजना रुकुम पश्चिमका छ वटा स्थानीय तह र स्थानीय नागरिकको साझा लगानीमा बन्न लागेको हो । ५५ प्रतिशत शेयर लगानी स्थानीय तहको रहने छ । बाँकी ४५ प्रतिशत शेयर लगानी नागरिकहरूको रहने स्यार्पु पावर कम्पनी लिमिटेडका कार्यकारी निर्देशक प्रदीप ओलीले बताए ।

 ‘यस आयोजनाको कुल लागत अनुमान करिब ५८ करोड रुपैयाँ छ,’ उनले भने,‘नागरिकको लगानीका लागि शेयर आईपीओ जारी हुनेछ ।’ 

आयोजनाको हेडोक्स अर्थात् बाँध संरचना र पानी थिग्र्याउने संरचना निर्माण भइसकेको र पाइपका लागि तेस्रो तथा ठाडो भूगोलमा बेसमेन्ट निर्माण सकिएको छ । यस्तै पाइप जडानको काम जारी रहेको निर्देशक ओलीले जानकारी दिए ।

‘आयोजनाको विद्युत् गृह निर्माणको कामसमेत सम्पन्न भइसकेको छ । मेशिन जडानका लागि आयोजनास्थलमा क्रेन ल्याएर जडान गरिएको छ,’ उनले भने, ‘मेशिन आयोजनास्थलमा ल्याउने काम भइरहेको छ ।’ 

टोयर स्पा एजी इटलीबाट मेशिन भैरहवा आइसकेकाले अबको केही दिनमा आयोजनास्थलमा पुग्ने निर्देशक ओलीले बताए ।

 ‘यस आयोजना निर्माणका लागि दुईवटा कम्पनीले ठेक्का लिएका छन्,’ उनले भने, ‘पाइप र पावर हाउस निर्माणको जिम्मा २४ करोड रुपैयाँमा साकुरा पावर कम्पनीले लिएको छ । उपकरणको ठेक्का जर्मनीको टोयर एजी कम्पनीले लिएको छ ।’

आयोजनाका लागि चाहिने ४२ रोपनी जग्गाको एक करोड ६५ लाख मुआब्जा वितरण भइसकेको छ । यो आयोजनामा स्थानीय तहले ५५ प्रतिशत शेयर अथवा १७ करोड र नागरिकका लागि ५४ प्रतिशत शेयर अथवा सात करोड ७२ लाख आईपीओ जारी गर्ने तयारी रहेको छ ।   

स्थानीय तहबाट शेयरबापत आउनुपर्ने बाँकी रकम प्राप्त भएमा अबको तीनदेखि चार महिनामा निर्माण पूरा भई परीक्षण हुने निर्देशक ओलीको भनाइ छ ।

उनले भने, ‘स्थानीय तहबाट शेयर बापत आउनुपर्ने केही रकम बाँकी छ, त्यो आएमा तीन-चार महिनामै आयोजना सम्पन्न हुन्छ ।’

स्यार्पु पावर कम्पनी र नेपाल विद्युत् प्राधिकरणबीच विद्युत् खरिद–बिक्री सम्झौता भइसकेको छ । यो आयोजनाबाट वार्षिक रूपमा उत्पादन हुने एक करोड ८१ लाख ७७ हजार एक सय पाँच युनिट विद्युत् नेपाल प्राधिकरणले खरिद गर्नेछ ।

त्यसबाट आयोजनाले वार्षिक रूपमा १० करोड १५ लाख ५० हजार आम्दानी गर्ने प्रक्षेपण गरिएको छ । यसअघि नै निर्माण सम्पन्न गर्ने गरी आयोजनाको परिकल्पना गरिएको भए पनि कोभिड–१९ का कारण ढिलाइ भएको हो । 

यो आयोजना रन अफ रिभर प्रकारको हुनेछ र यसको जडित क्षमता ३.३ मेगावाटको हुनेछ । आयोजनाको डिजाइन बहाव १.४० घनमिटर प्रतिसेकेन्ड र कुल हेड २८०.२० मिटरको छ । यो आयोजनाबाट वार्षिक सरदर १७.७५ गिगावाट घण्टा विद्युतीय ऊर्जा उत्पादन हुनेछ । 

उत्पादित विद्युतलाई विद्युत् गृहको ६.६ केभी को स्वीचयार्डमा जडान हुने ४.० एमभीए ट्रान्सफर्मरबाट करिब २ किलोमिटर लामो ३३ केभी प्रसारण लाइन बाँफीकोट सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ । 

 कुन स्थानीय तहको कति लगानी ?

जिल्ला समन्वय समितिको पूर्ण स्वामित्व रहेनगरी स्थापना भएको स्यार्पु पावर कम्पनीले जिल्लाका सबै स्थानीय तह र जिल्लाबासीको शेयर लगानीमा ३.३ मेगावाट विद्युत् उत्पादन क्षमताको स्यार्पु साना जलविद्युत आयोजना बनाएको हो  । 

यो आयोजना निर्माणका लागि जिल्ला समन्वय समिति, आठबीसकोट नगरपालिका, चौरजहारी नगरपालिका, मुसीकोट नगरपालिका, बाँफिकोट, सानीभेरी र त्रिवेणी गाउँपालिका लगानी गरेका छन् ।

यी स्थानीय तहहरूले यो आयोजनामा ५५ प्रतिशत शेयर अथवा १७ करोड लगानी गरिसकेका छन् । नागरिकका लागि ५४ प्रतिशत शेयर अथवा सात करोड ७२ लाख आईपीओ जारी गर्ने तयारी रहेको छ ।  

त्यसमध्ये केही स्थानीय तहले सेयर लगानी गरिसकेका छन् । यो आयोजनामा सबैभन्दा बढी लगानी चौरजहारी नगरपालिकाको छ । यो आयोजना सञ्चालनमा आएमा लगानी गरेका स्थानीय तहरुले वार्षिक ६० लाखभन्दा बढी रुपैयाँ आम्दानी गर्नेछन् । 

हरेक व्यक्तिको शेयरमार्फत सबैलाई आम्दानीमा अब्बल बाउने उद्देश्य राखेको आयोजना निर्माणपछि स्थानीय तहको आर्थिक स्रोत व्यवस्थापनमा समेत सुधार आउनेछ । यो आयोजनबाट उत्पादित विद्युत् रुकुम पश्चिम, रुकुम पूर्व र जाजरकोट जिल्ला विस्तारको योजना छ । 

जलविद्युतमार्फत समृद्धि हासिल गर्न सकिने विश्वास छ । विद्युत् आयोजनामा जनताको शेयर सुनिश्चित गरिएको छ । यसबाट गरिबी कम गर्न सकिने स्थानीय तहहरूको तर्क छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०८१, शुक्रबार  ७ : ५९ बजे

दार्चुलामा प्रहरी हवल्दारको हत्या, होटलनजिकै भेटियो शव

दार्चुला– दार्चुलामा नेपाल प्रहरीका एकजना हवल्दारको हत्या भएको छ ।

भ्रष्टाचार नियन्त्रणमा नेपाल स्थिर

काठमाडौं– ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल (टीआई)ले सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकांक,

बागमती प्रदेशसभाबाट आठ वर्षमा ९० विधेयक पारित

बागमती– बागमती प्रदेशसभा गठन भएको आठ वर्षको अवधिमा ९० विधेयक

चुनावी सुरक्षाका लागि सतर्क रहन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले चुनावी सुरक्षामा कति पनि चुक्न नदिनेतर्फ

खाद्यान्नमा मिसावटका अभियोगमा व्यापारीविरुद्ध मुद्दा

बागमती– खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडाले खाद्यान्नमा मिसावटका