अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतबाट आयात हुने सामानमा ५० प्रतिशतसम्म कर लगाएपछि ‘भारतीय हिराको चमक खोसिएको’ छ ।
युक्रेनविरुद्ध अतिक्रमणकारी युद्ध गरिरहेको रूसबाट तेल खरिद गरी उसलाई आर्थिक रूपमा सघाएको भन्दै अमेरिकाले भारतसँगको व्यापारमा कर अवरोध खडा गरेको हो ।
ट्रम्पको यो कदमले भारतका हिरा व्यवसायी चिन्तित भएका छन् । सन् २०२४ मा भारत विश्वमै शीर्ष हिरा निर्यातकर्ता मुलुक हो ।
हिराको केन्द्र मानिने भारतको सूरतका व्यापारीहरू अब के गर्ने भन्ने चिन्तामा छन् । हिरा काट्ने र चम्काउने अधिकांश काम सूरतमै हुन्छ । अमेरिकामा सूरतबाटै अधिकांश हिरा पठाइन्छ ।
अमेरिकाले लगाएको ५० प्रतिशत आयात करले उक्त क्षेत्रका हिरा व्यापारी र मजदुरहरू तनावमा छन् । ट्रम्पको कदमले भारतीय हिरा उद्योगमा आवद्ध २५ लाखभन्दा बढी मानिसहरू प्रभावित हुँदैछन् ।
ट्रम्पले भारतीय सामानमा भन्सार महसुल नघटाए सूरतका अधिकांश हिरा व्यवसायीहरू विस्थापित हुने अनुमान छ । धेरै मानिसले रोजगारी गुमाउने र भारतले ठूलो आर्थिक मन्दी भोग्नुपर्ने बीबीसीमा उल्लेख छ ।
हिरा उद्योगसँग सम्बन्धित भारतका अन्य सङ्गठनहरूले भने अमेरिकी करका कारण केही समय मन्दी छाउने, तर समयान्तरमा अवस्था सामान्य हुने जनाएका छन् । भारतलाई हिरा उद्योगको जति आवश्यकता छ, अमेरिकालाई पनि हिरा त्यही मात्रामा आवश्यक रहेको ती सङ्गठनहरूको दाबी छ ।

सूरतका उद्योगमा ट्रम्प-ट्यारिफको असर
सूरतका बजारमा बिहान-बेलुकी दुईपाङ्ग्रे सवारीसाधनका कारण ट्राफिक जाम हुनु सामान्य मानिन्छ । किनकि त्यतिखेर हिराका कालीगढ या त काममा गइरहेका हुन्छन्, या त फर्किरहेका !
शहरका कयौँ साना फ्याक्ट्रीमा २० देखि २०० जनासम्म कालीगढले काम गर्छन् । केही उद्योगले ५०० जनासम्म कालीगढ राखेका छन् । सूरतमा हिरासँग सम्बन्धित यस्ता हजारौँ उद्योगहरू छन् ।
सूरतको कतारगामस्थित हिरा चम्काउने एउटा इकाइको मेचमा धुलो जमेको छ । हिरा चम्काउने चक्का निकै दिनदेखि प्रयोगमा आएको छैन । जम्मा ६ जनाले काम गरिरहेको उद्योगका मेच खाली खाली देखिन्छन् ।
त्यसरी काम गरिरहेका एक कालीगढले भने, ‘पहिले यहाँ कालीगढहरूको भीड लाग्थ्यो । उद्योगले हालै धेरै कालीगढहरूलाई कामबाट निकालिदियो । अब हाम्रो रोजगारी पनि के हुन्छ भन्ने थाहा छैन ।’
सूरतका साना ठूला कयौँ उद्योगहरूको अवस्था यस्तै छ । शैलेश मुङ्गकियाले २० वर्ष पहिले एउटा पोलिसिङ ह्वील राखेर हिरा चम्काउने इकाइ सुरु गरेका थिए ।
कारोबार विस्तारै बढ्दै गयो । उनले फ्याक्ट्रीमा कामदारको सङ्ख्या तीनबाट ३०० पुर्याए । तर, अहिले उनको हिरा उद्योगमा कालीगढको सङ्ख्या ७० मा सीमित भएको छ ।
शैलेशले भनेका छन्, ‘सबै अर्डर (अमेरिकाबाट) रद्द गरिएको छ । मजदूरलाई अब काममा नआउनू भन्नुपरेको छ । यो निकै दुखद स्थिति हो । कसलाई निकाल्ने र कसलाई राख्ने ? सबै कालीगढहरू मेरो परिवारका सदस्यजस्तै हुन् । तर, सामानको माग नै नभएपछि काम पनि हुने भएन । अब म सँग उनीहरूलाई तलब दिने रकम पनि हुनेछैन ।’
गत वर्ष अगष्टमा उनको फ्याक्ट्रीमा प्रतिमहिना औषतमा दुई हजार हिरा प्रशोधन हुन्थ्यो । तर यो वर्षको अगष्टमा यो सङ्ख्या घटेर ३०० सम्म झरिसकेको छ । यस्तै स्थिति रहे अब चाँडै फ्याक्ट्री नै बन्द गर्नुपर्ने हो कि भन्ने त्रास शैलेशमा छ ।
ट्रम्पको ट्यारिफका कारण निम्तिएको मन्दीको सीधा असर हिरा उद्योगसँग सम्बन्धित मजदुरहरूमा पर्न सुरु भइसकेको छ ।
एक हिरा श्रमिक सुरेश रठौडले भनेका छन्, ‘सामान्यतयाः हामीले कृष्ण जन्माष्टमीका बेला दुई दिनमात्रै छुट्टी पाउँछौँ । यसपटक हामीलाई १० दिने वेतलबी बिदा दिइयो । यसरी त हामी कसरी रहनु ? मालिकले पनि के गर्न सक्छन् र ! किनकि हिराको अर्डर नै आएको छैन ।’

तलब नै कटौती !
सूरतमा सुरेश राठौडजस्ता हजारौँ कालीगढ छन्, जो ट्रम्पको ट्यारिफबाट नराम्ररी प्रभावित हुँदैछन् ।
सूरत डायमण्ड पोलिसर्स यूनियनका उपाध्यक्ष भावेश टाङ्कको कार्यालयमा यतिखेर कयौँ कालीगढहरू गुनासो लिएर आइरहेका छन् । हिरा उद्योग सञ्चालकले तीमध्ये धेरैको तलब घटाइदिँदा या कामबाटै निकालिदिँदा गुनासो बढेको हो ।
‘कयौँ कर्मचारीको पारिश्रमिकमा कटौती गरिएको गुनासो हामीलाई प्राप्त भइरहेको छ । धेरै मानिसलाई वेतलबी बिदामा बस्न भनिएको छ । यस वर्ष कृष्ण जन्माष्टमीमा धेरै कर्मचारीहरूलाई तीनदेखि पाँच दिनसम्म घरमै बस्न भनिएको छ’, भावेशले भने ।
उनका अनुसार, कयौँ हिरा उद्योगहरूले अगष्ट १ भन्दा पहिले नै अमेरिकामा सामान पठाइसकेका थिए । जसकारण पनि हिरा उद्योगमा अमेरिकाबाट नयाँ अर्डर आइरहेको छैन । हजारौँ मजदुरको आम्दानी घटेको छ ।

हिरा व्यापारीका समस्या
मजदुरमात्रै होइन, भारतका हिरा निर्यातक पनि अनिश्चितताको भूमरीमा छन् । उद्योगीहरूले एक ‘स्पेशल डायमण्ड टाक्स फोर्स’ त बनाएका छन्, तर यसले भारतीय हिरा उद्योगलाई समस्याबाट पार लगाउँछ या लगाउँदैन भन्ने निश्चित छैन ।
दक्षिणी गुजरातको चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिजका अध्यक्ष निखिल मद्रासी भन्छन्, ‘अमेरिकी बजारमा भारतीय निर्भरताका कारण हामीलाई लामो समयसम्म ठूलो झट्का लाग्नेछ । पूरा अर्डरमा केही काम भएको छ, तर नयाँ माग आउनेरनआउने निश्चित छैन । सरकारले हिरा उद्योगी र श्रमिकहरूलाई तुरुन्त सहयोग गर्नुपर्छ ।’
उनका अनुसार, केही हिरा व्यापारीहरूले मध्यपूर्व र यूरोपजस्ता बजारमा अवसर खोजिरहेका छन् । केहीले त अवैध तरिकाबाट अमेरिकामै हिराका गहना पुर्याउने प्रयास गरिरहेका छन् । अब यूरोपका विभिन्न देशमा भारतीय हिराको नयाँ बजार खोज्नुपर्ने निखिलको भनाइ छ ।
कसरी बच्ला सूरतको हिरा उद्योग ?
हिरा उद्योगको अर्थतन्त्रबारे जानकारहरू आउँदा दिनमा अवस्था झन् खराब बन्नसक्ने बताउँछन् ।
जेम एण्ड ज्वैलरी एक्सपोर्ट काउन्सिल (जीजेईपीसी), गुजरातका अध्यक्ष जयन्तीभाई सावलिया अमेरिकी बजारमा निर्भरता कम गर्दै अन्य बजार खोज्नुपर्ने बताउँछन् ।
उनले भने, ‘माग नै आउँदैन भने श्रमिकको तलब र रोजगारीमा असर पर्नेछ । वास्तविक असर आउँदा महिनामा देखिनेछ । दुबई, अष्ट्रेलिया र यूरोपका बजारमा थप ध्यान दिनु आवश्यक छ ।’
अहिले भारतबाट अमेरिकामा वार्षिक १२ अर्ब डलर बराबरको हिरा निर्यात भइरहेकोमा यसको आधामात्रै व्यापार अन्य देशमा विस्तार गर्न सक्दा पनि सूरतको हिरा उद्योग बच्ने जयन्तीभाई बताउँछन् ।

अमेरिकालाई पनि भारतीय हिरा नै आवश्यक
विशेषज्ञहरूका अनुसार; भारतमा विवाह या अन्य शुभ कार्यहरूमा जसरी ठूलो परिमाणमा सुन खपत हुन्छ, त्यस्तैगरी अमेरिकामा पनि शुभ कार्यहरू हिरा बिना पूरा हुन सक्दैनन् ।
सूरत डायमण्ड एसोसिएशनका अध्यक्ष जगदीश खुन्ट भन्छन्, ‘हामी वित्त मन्त्रालयसँग कुराकानी गर्दैछौँ । अमेरिका भारतीय हिराबिना रहन सक्दैन । संसारका हरेक १५ मध्ये १४ हिरा गुजरातमा तयार गरिन्छ । त्यसैले अमेरिकी व्यवसायीहरू पनि यो समस्याको समाधान खोजिरहेका छन् ।’
भारतको जेम्स एण्ड ज्वेलरी प्रमोशन काउन्सिल (जीजेईपीसी) का अनुसार; गत वर्ष अमेरिकाले भारतबाट ११.५८ अर्ब डलर बराबरको हिरा र गहना खरिद गरेको थियो । यो मध्ये चम्काइएको हिरामात्रै ५.६ अर्ब डलर बराबरको थियो । बाँकी परिमाण सुन, चाँदी, प्लाटिनम र रङ्गीन पत्थरको थियो ।
पछिल्लो वर्षसम्म चम्काइएको हिराको कारोबारमा कुनै समस्या थिएन । तर, ट्रम्पले महसुल बढाएसँगै यतिखेर समग्र व्यापार नराम्ररी हल्लिएको छ ।
अस्पष्ट भविष्य
सूरतका फ्याक्ट्रीमा यतिखेर चिन्ता र असमञ्जस्यताको माहोल छ । दैनिक ज्यालादारीमा हातमुख जोर्ने मजदुरलाई तलब कटौती या वेतलबी छुट्टीका कारण सकस परिरहेको छ ।
व्यापारीहरूले नयाँ बजार खोज्ने कुरा गरिरहेका छन्, मजदुरलाई भने जागिर जाने चिन्ताले सताइरहेको छ ।
आँखा रसिला पार्दै मजदुरहरू भन्छन्, ‘यहाँ (सूरत) को चमक विस्तारै धमिलो हुँदैछ, यो चमक फिर्ता आउँछ या आउँदैन भन्ने कसैलाई थाहा छैन ।’
(बीबीसीका लागि कलेक्टिभ न्यूजरूमबाट प्रकाशित सामग्री अनूदित र सम्पादित ।)
प्रतिक्रिया