कार्यवाहक देखावटी मात्र हो, सभापतिकै स्वार्थमा पार्टी चल्दैछ : अमरसिंह पुन « Khabarhub

कार्यवाहक देखावटी मात्र हो, सभापतिकै स्वार्थमा पार्टी चल्दैछ : अमरसिंह पुन



काठमाडौं- भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनपछि कांग्रेस ‘फर्म’ मा आउन सकेको छैन । चुनावअघि विशेष महाधिवेशन कि नियमित महाधिवेशन भन्ने एजेण्डाको घनचक्करमा कांग्रेस तीन महिनादेखि फसिरहेको छ । गुटगत भेला गरेर एक अर्कालाई गलाउने रणनीतिमा दुवै तर्फका नेता कार्यकर्ता लागेका छन् ।

नियमित महाधिवेशन अब सम्भव नभएकाले नेताहरू विशेष महाधिवेशन गर्ने बाटोमा लागेका छन् । विशेष महाधिवेशनमा संस्थापन इतर समूह लागेको छ । तर संस्थापन समूह भने रोक्ने पक्षमा छ । विशेष महाधिवेशनका प्रतिनिधि भनेको १४ औँ महाधिवेशनका प्रतिनिधि हुने भएकाले यो महाधिवेशन एक साताको तयारीमै गर्न सकिने नेताको अडान छ ।

नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन कांग्रेसले चाहेको खण्डमा एक साताको तयारीमै विशेष महाधिवेशन गरेर जाने बाटो रहेको बताउँछन् । पुन कांग्रेस संस्थापनइतर पक्षका नेता हुन् । कांग्रेस वैचारिक र विधि विधानअनुसार आफ्नो बुतामा अगाडि बढ्नुपर्ने भन्दै उनी वकालत गर्दै आएका छन् ।

कांग्रेस पदाधिकारी बैठकमा पदेन सदस्य भएर उनले कार्यवाहक सभापति पूर्णबहादुर खड्काको भूमिकामाथि प्रश्न उठाएका थिए। उनले कार्यवाहक सभापतिले जुन किसिमको भूमिका खेल्नुपर्ने थियो त्यो भूमिका खेल्न नसकेकै कारण नियमित महाधिवेशन हुन नसकेको र अब विशेष महाधिवेशन हुनुपर्ने मत जोडदार रुपमा उठाएका थिए ।

कार्यवाहक सभापतिले पन्ध्रौँ महाधिवेशनमा आफ्नो स्थान सुरक्षित गर्नका लागि गुट चलाएको पुनको आरोप छ। सभापति र कार्यवाहक सभापतिले कांग्रेस पार्टीको इज्जत नराखेको भन्दै उनी आक्रोशित छन् । सभापति शेरबहादुर देउवा सक्रिय राजनीतिमा फर्केकोप्रति पनि उनी खुसी छैनन् ।

नेतालाई प्रतिनिधिसभा र राष्ट्रिसभामा टिकट वितरण गर्दा सभापति देउवाकै हस्ताक्षर हुने विषयलाई पुनले कुटिलताको अर्को अध्याय भनेका छन् । सक्रिय राजनीतिबाट बिदा हुन्छु भनेको मान्छेले पुन कांग्रेसको राजनीतिमा फर्किनु लाजमर्दो रहेको भन्दै उनी सभापति देउवालाई त्यसो नगर्न आग्रह गर्छन ।

यथास्थितिमा कांग्रेस निर्वाचनमा जान नसक्ने धारणा राख्दै भन्छन्- ‘यथास्थितिमा निर्वाचनमा जाने भने उहाँहरू जानुहोला तर हामी जान सक्दैनौँ । मैले त के भनेको छु भने यथास्थितिमा निर्वाचनमा जाने हो भने उहाँहरू केही जनाले आफ्ना परिवारका सदस्य १६५ नै निर्वाचन क्षेत्रमा लड्न पठाए हुन्छ । यो अवस्थामा अरू कुनै पनि साथीभाइ कुनै पनि एजेण्डा लिएर निर्वाचनमा जाने अवस्था छैन। भदौ २३ र २४ को घटनालाई कमजोर सोचेर दुई दिनमै सकियो नि भनेर कल्पना नगरे हुन्छ ।’ पुन कांग्रेस पार्टीमा नीतिगत सुधार र संगठन सुधारको धेरै काम बाँकी रहेकाले ३० लाख मतदाताको भावना समेट्ने गरी पार्टीले काम गर्नुपर्ने दाबी गर्छन् ।

पुनसँग हामीले अब कांग्रेस कसरी अगाडि बढ्छ ? नियमित अथवा विशेष कुन महाधिवेशनको लफडा के हो ? पार्टीको पद्दति र नेतृत्वमाथि कटाक्ष गर्ने तर विकल्पमा जाने जाँगर नलगाउने कांग्रेसमा कस्तो चरित्र हो ? यथास्थितिमै कांग्रेस चुनावमा गयो भने के हुन्छ ? लगायतका प्रश्नको सेरोफेरोमा रहेर कुराकानी गरेका छौँ । पुनसँगको कुराकानीको सम्पादित अंश-

करिब ३ महिनादेखि कांग्रेस महाधिवेशन निर्वाचन अघि कि पछि भन्ने मुद्दामा अल्झिएको छ । यसले त कार्यकर्ता पंक्तिमा निरासा ल्याउने भएन र ?

अहिलेसम्म सकारात्मक कुरा भएका छन् । तर, लामो छलफल चलेको छ । हो, समय बरबाद भयो । आम निर्वाचनमा भाग लिने भनेर कांग्रेसले एउटा दृष्टिकोण सार्वजनिक गरेको छ । त्यो आफैँमा महत्वपूर्ण कुरा हो । अहिलेको अवस्थामा जनताको भावना नयाँ जनादेशसहित संविधान संशोधन गर्ने विषय सकारात्मक छ ।

तर, कांग्रेसले आफ्नो संगठन शुद्धीकरण गरेर आम निर्वाचनमा जाने कुरा सबै पार्टीका साथी र बाहिरका साथीले गरेका छन् । नेपाली कांग्रेसका साथीले अधिवेशनको कार्य तालिका सार्वजनिक गरेर निर्वाचनमा जाँदा फाइदा हुने थियो । अहिले हामी १५ औँ महाधिवेशन पनि गर्ने, चुनावमा पनि जाने अवस्था नहुने भएकाले विशेष महाधिवेशनमा गएर नयाँ नीति र नेत्तृत्वसहित पार्टी नयाँ धारमा जानुपर्छ भन्ने लागेको छ ।

अहिले हामी १५ औँ महाधिवेशन पनि गर्ने, चुनावमा पनि जाने अवस्था नहुने भएकाले विशेष महाधिवेशनमा गएर नयाँ नीति र नेत्तृत्वसहित पार्टी नयाँ धारमा जानुपर्छ भन्ने लागेको छ ।

विशेष महाधिवेशन गर्न समय पुग्छ त ? यहाँहरू त तीन महिनादेखि महाधिवेशनकै कुरामा अल्झिरहनुभयो, निर्णय लिन किन यस्तो कठिन ?

नेपाली कांग्रेसको आम महाधिवेशन नै हामीले ४१ दिनमा सकेको हो । तात्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा ११ औँ महाधिवेशन गरेको हो । त्यो बेला यति अप्ठ्यारो परिस्थिति थियो कि राजा ज्ञानेन्द्रले शासन सत्ता लिएको बेला, माओवादी दबदबा भएको बेला ११ औँ महाधिवेशन ४१ दिनमा सकेको इतिहास छ ।

नेतृत्वले चाहँदा १५ औं महाधिवेशन अबको १५ दिनमा गरेर जान सकिन्छ । तर, त्यो ढिलो भयो । तरपनि छिटो ढंगबाट गर्न महामन्त्री गगन थापाले प्रस्ताव गर्नुभएको छ । यो प्रस्ताव ढिलो नगरी पास गरेर अगाडि बढ्दा छिटोभन्दा छिटो १५ औँ महाधिवेशन गर्न समस्या छैन ।

यदि त्यो गर्न नसकेको खण्डमा २ महिनाको समय दिएर कांग्रेसले आह्वान गर्ने हो भने देशभरिका १ सय ६५ निर्वाचन क्षेत्रका महाधिवेशन प्रतिनिधि तयार हुनुहुन्छ । बाहिरका साथीहरू पनि आउन समस्या छैन । विशेष महाधिवेशनका लागि त समय नै चाहिँदैन । अब विशेष महाधिवेशनमा फोकस हुने हो ।

महाधिवेशनको नारा लिएर दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले स्टन्टबाजी गर्नुभयो । कांग्रेस घुमाइदिनुभयो भन्छ नि संस्थापन पक्ष ?

नेपाली कांग्रेसलाई समय सापेक्ष बनाउनका लागि नेतृत्व परिवर्तन गर्नुपर्छ । महाधिवेशनबाट नै निर्वाचनमा जान सक्छौँ । नीतिका साथ नयाँ नेतृत्व जान सक्छौँ भन्ने कुरा आम साथीभाइको भावना दुई महामन्त्रीले बोकेको हो । त्यसलाई स्टन्टबाजी भन्नु भएन । आम नेपाली जनताको मनोभावनालाई आम कांग्रेसका, ग्रासरुटदेखिका मान्छेका भावना बुझेका दुई महामन्त्रीले स्टन्टबाजी गरे भन्न मिल्दैन ।

म यहाँलाई के भन्छु भने कसैको स्टन्टबाजीले कांग्रेस चल्ने होइन । समग्र अवस्था समयानुकूल परिस्थिति अनुसार हामीने नेतृत्व गर्ने कि नगर्ने ? समयअनुसार संगठनलाई ढाल्ने कि नढाल्ने ? आम नेपाली जनताले चाहे अनुसारको मुद्दा बोकेर जनतामाझ जान सकेनौँ भने आम निर्वाचन फेस गर्न सकिँदैन ।

कसैको स्टन्टबाजीले कांग्रेस चल्ने होइन । समग्र अवस्था समयानुकूल परिस्थिति अनुसार हामीने नेतृत्व गर्ने कि नगर्ने ? समयअनुसार संगठनलाई ढाल्ने कि नढाल्ने ? आम नेपाली जनताले चाहे अनुसारको मुद्दा बोकेर जनतामाझ जान सकेनौँ भने आम निर्वाचन फेस गर्न सकिँदैन ।

आम नेतालाई सम्मानपूर्वक भन्न चाहन्छु- आजसम्म हामीले कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला, शेरबहादुर देउवा हुँदा उहाँहरूको नेतृत्व वरपर घुमेर शासन सत्ता बागडोर सम्हालेको हो । त्यो बेला कहाँ कमजोरी भए ? आजको समयमा नेपाली जनताले के मागेका छन् ? त्यसलाई परिवर्तन गर्नका लागि हामी परिवर्तन हुने कि नहुने ? आजको समयले मागेको नेता अगाडि बढाउने कि नबढाउने ? एकले अर्कोलाई गाली गर्ने खुट्टा तान्ने प्रवृत्ति छाडेर संगठनलाई समय सापेक्ष चलाउनका लागि नेता लाग्नुपर्छ ।

पूर्व पदाधिकारी रहेका सात जनाको स्वार्थमा कांग्रेसको निर्णय आउने गरेको हो ?

कांग्रेसका नेतालाई मेरो आग्रह छ– भूतपूर्व सात पदाधिकारीले नेताहरूलाई चलाउने होइन । वर्तमानले पनि भूतपूर्वलाई हस्तक्षेप गर्ने होइन । पार्टी सभापति श्रद्धेय शेरबहादुर देउवा अथवा कार्यवाहक सभापति पूर्णबहादुर खड्का जो हुनुहुन्छ उहाँहरुले आम नेपाली जनताको भावनालाई बुझेर काम गर्नुपर्छ ।

भूतपूर्वले मेरो भविष्य छैन कि ? कृष्णप्रसाद भट्टराईदेखि शेरबहादुर देउवासम्म आइपुग्दा जुनखाले हालीमुहाली गरेर नजिकबाट शासन सत्ता चलाइयो, भोलि त्यो वर्चस्व खोसिने पो हो कि सोचबाट उहाँहरू चलिरहनुभएको छ । यो सोचबाट माथि उठ्न म नेताहरूलाई आग्रह गर्छु । यो सोचबाट हामी माथि उठ्यौं, समग्र नेपाल राम्रो भयो भने मात्र पार्टी राम्रो हुन्छ । नेता भूतपूर्व हुँदा पनि कांग्रेस राम्रो भयो भने त्यो गौरव आफूसँग जोडिने हो । सबै तह, तप्कालाई जोड्ने कांग्रेस अहिलेको आवश्यकता हो । शुभेच्छुकहरुले त्यही चाहेका छन् ।

कार्यवाहक सभापति पूर्णबहादुर खड्का डमी हुनुभयो भन्ने टिकाटिप्पणी सुनिन्छ नि ?

कार्यवाहक सभापतिले स्पीडमा काम गर्नुपर्ने थियो, त्यो रूपमा काम गर्नुभएको छैन । मैले यो कुरा उहाँकै सभापतित्वमा भएको बैठकमा राखेको थिएँ । नेपाली कांग्रेसको कार्यवाहक सभापतिले जुन रूपमा भूमिका खेल्नुपर्ने थियो, त्यो रूपमा खेल्न सक्नुभएन । उहाँलाई १५ औँ महाधिवेशनका साथीहरू बटुलेर फेरि सभापति हुन्छु भन्ने भावनाले प्रेरित गरेको, गुटभन्दा माथि उठ्न नसकेको गुटभन्दा माथि उठेर समग्र कांग्रेस हाँक्ने वातावरण उहाँले सिर्जना गर्न नसकेको देखिन्छ ।

उहाँले आदरणीय सभापतिलाई पनि त्यही अनुसार कन्भिन्स गर्न नसकेको देखिन्छ । यो कुरा मैले मात्र होइन, आम साथीभाइले पनि भन्नुभएको छ । अहिले कांग्रेसभन्दा माथि देश छ । देशभन्दा माथि नेपाली जनताको इच्छाअनुसार कांग्रेस पार्टीको संगठन शुद्धिकरण गर्नुपर्छ ।

कांग्रेसभन्दा माथि देश छ । देशभन्दा माथि नेपाली जनताको इच्छाअनुसार कांग्रेस पार्टीको संगठन शुद्धिकरण गर्नुपर्छ ।

नेपाली कांग्रेसको संगठनलाई ३० लाख शुभेच्छुको सदाशयताआत्मसात गर्ने गरी काम गर्नुपर्छ भन्ने भावना नेतामा हुनुपर्छ । त्यो भावना कार्यवाहक सभापति र सभापतिमा हुन जरुरी छ । सभापतिको उमेर र अवस्थाले बिदा दिनुपर्ने स्थिति छ । तर छोड्दाछोड्दै समयसापेक्ष चलाउन सक्ने नेतृत्वलाई सुम्पेर जाँदा उहाँको पनि इज्जत हुन्छ । आम साथीभाइको माग पनि यही हो ।

यी सबै कुरा हेर्दा सभापति देउवाले नदेखिने गरेर अझ खतरनाक रोल खेल्नुभएको हो ?

के देखियो भने कार्यवाहक सभापतिले असोज २८ को बैठकलाई सम्बोधन गर्दा उहाँले मेरो स्वास्थ्य अवस्थाले गर्दा उपचारका लागि बाहिर जानुपर्ने, उपचारको लागि दिन प्रतिदिन काम गर्न समस्या भएकाले कार्यवाहकका रूपमा उपसभापति पूर्णबहादुर खड्कालाई जिम्मेवारी सुम्पेको धारणा राख्नुभएको थियो । बैठकमा बोल्ने क्रममा उहाँबाट आएको अभिव्यक्तिलाई हामीले यही आशयमा बुझेका थियौं । लागेको थियो अब कार्यवाहक सभापतिले विधान अनुसार समग्र पार्टीको महाधिवेशन समयमै गर्नुहुन्छ ।

१५ औँ अधिवेशन सम्पन्न गराएर सभापतिले नेतृत्व हस्तान्तरण गर्नुहोला भन्ने लागेको थियो । तर, अहिले त निर्वाचन आयोगमा हस्ताक्षर र अबको राष्ट्रिय सभा, प्रतिनिधि सभाको निर्वाचनमा टिकट पनि उहाँले वितरण गर्ने, उहाँकै हस्ताक्षरमा चल्ने भनेपछि कार्यवाहक सभापति तोकेको मात्र तर सबै आफैंले चलाएको अनुभूति हामीलाई गराउनुभएको छ । तर उहाँलाई हामीले सभापति मानेको छ । मान्दै गर्दा कांग्रेसलाई आजको आवश्यकता अनुसार चलाउने, चल्ने गरी अगाडि बढ्दा नै उत्तम हुन्छ । उहाँको सम्मान हुन्छ ।

यसो गर्दा समग्र नेपाली कांग्रेसलाई पनि स्वीकार्य हुन्छ । अब विशेष महाधिवेशनको सभापतित्व पनि उहाँले गरेर नेतृत्व हस्तान्तरण जाँदा उहाँको सम्मान हुन्छ । उहाँलाई पनि सम्मान, संगठन पनि सुदृढ हुन्छ । नेपाली जनतालाई पनि ऊर्जा मिल्छ । म उहाँलाई यहाँको मिडियामार्फत त्यसका लागि अग्रसर हुन आग्रह गर्छु ।

उहाँ घुमिफिरी कांग्रेसको राजनीतिमा फर्किएको देखियो हैन ?

हो । फर्किएको देखियो । तर समग्र नेपाली जनता र पार्टीको अभिभावक बन्ने उहाँको बेला भएकाले उहाँलाई त्यो नगर्न आग्रह गर्छु । गुटगत काममा लागेर हुँदैन । समग्र पार्टी बनाउने भूमिका खेल्नुपर्छ ।

सबै कुरा केलाउँदा कांग्रेसलाई यथास्थितिमा निर्वाचनमा जान समस्या हुने पो हो कि ?
यथास्थितिमा निर्वाचनमा उहाँहरू त जानुहोला । हामी जान सकिँदैन, जाँदैनौ पनि । मैले त के भनेको छु भने यथास्थितिमा निर्वाचनमा जाने हो भने आफ्ना परिवारका सदस्य १ सय ६५ निर्वाचन क्षेत्रमा लड्न गए हुन्छ । यो अवस्थामा अरू कुनै पनि साथीभाइ कुनै पनि एजेण्डा लगेर निर्वाचनमा जाने अवस्था छैन । भदौ २३, २४ गतेको घटनालाई कमजोर सोचेर दुई दिन भयो अब सकियो भनेर कल्पना नगरे हुन्छ । हामीले नीतिगत सुधार गर्नुपर्छ । बोली, ब्यावहार रहन सहन सुधार गर्नुपर्छ । समग्र नेपाली जनताको इच्छा र आंकाक्षा अनुसार चल्नुपर्छ ।

यथास्थितिमा निर्वाचनमा जाने हो भने आफ्ना परिवारका सदस्य १ सय ६५ निर्वाचन क्षेत्रमा लड्न गए हुन्छ । यो अवस्थामा अरू कुनै पनि साथीभाइ कुनै पनि एजेण्डा लगेर निर्वाचनमा जाने अवस्था छैन ।

यथास्थितिमा निर्वाचनमा जानुपरेको अवस्थामा पार्टी नै छाड्ने हो ?
पार्टी त किन छाड्नु ? कांग्रेस पार्टीमा माया, लोभ र कसैको करले आएको होइन । पार्टीमा हाम्रो पनि इतिहास छ । कांग्रेसको इतिहास हेरेर लामो समयसम्म यही पार्टी भनेर बसेको हो । तर हामी निर्वाचनमा जाँदैनौं । अरूलाई सहयोग गर्न परेको खण्डमा गर्छौं ।

कांग्रेसकै नेताले पनि जेनजीको मर्म र भावना पार्टीले बिर्सिएको फिल गर्नुभएको हो ?
जेनजीको मात्र होइन समग्र नेपाल र नेपालीको भावना हिजोकै दिन देखी सम्बोधन गरेर जानुपर्ने आवाज उठाएको हो । शासन सत्ता चलाउँदा पनि जो नजिक छन् उनीहरूलाई फोकस गरेका छौँ । भूगोल, जात, धर्म र योग्य मान्छे व्यवस्थापन गर्न सकेनौँ । त्यो कारण पनि जनता सडक आएका हुन् । यथास्थितिमा कसरी यो देश चल्न सक्छ ? यो देश नै नचलेपछि कांग्रेस चिन्नुपर्ने कारण के छ र ? यो देशका जनता खुसी हुने गरी शासन सत्ता र समग्र नेपालको अस्थित्व रहने गरी भयो भने नेपाली कांग्रेसले त्यो भित्र बसेर अहम् भूमिका खेल्न सक्छ । यसपछि समग्र नेपालीको भावना कांग्रेसले देखायो । देशको परिवर्तन गर्न कांग्रेसबाट सिक्नुपर्छ । भन्ने कुरा विश्व जगतमा पनि फैलिन्छ । तर कांग्रेस जस्तो पार्टीमा पनि उस्तै पुरानो सोच, उस्तै भिजनमाहिँडेर काम छैन । यस कुरामा नेताहरूले गलत गर्नुभएको छ ।

आदरणीय सभापति र कार्यवाहक सभापति अन्य नेताहरूले जुन रूपमा चलाउन खोज्नुभएको छ, त्यो रूपमा नचलाउन म नेताहरूलाई आग्रह गर्छु । नेताहरूले व्यक्तिगत सोचभन्दा माथि उठेर तीन करोड नेपालीमा फरक सोच र धारमा छन् भन्ने सत्यलाई नेताहरूले आत्मसात गर्नुपर्छ ।

फरक पार्टीमा जाँदैनौँ । कांग्रेस नै सच्चिएर आजको समयानुकूल अघि बढ्नुपर्छ भन्ने हाम्रो मान्यता हो । कांग्रेसभित्र बसेर कांग्रेसलाई सुधारेर आम जनताको कांग्रेस पार्टी बनाउने महाअभियानमा हामी छौं ।

यहाँहरूले यत्रो विद्रोहको स्वर त ल्याउनुहुन्छ तर आखिर त चिसै पानीले नुहाउने अवस्थामा पुग्नुहुन्छ । यस्तो अवस्थामा मच्चिनुको के अर्थ रह्यो ?

हामीले कांग्रेसमा विद्रोहको स्वर उजागर गर्न नपाउने हो र ? फरक कुरा गर्न नपाउने हो र ? कांग्रेसमै रहेर हामीले फरक धारणा राख्छौँ । कांग्रेसमै रहेर फरक विचार राख्छौँ । फरक विचारलाई कार्यान्वयन गर्ने पक्षमा अडिग रहन्छौं । फरक विचारलाई कार्यान्वयन गर्ने पक्षमा लाग्छौँ । किन फरक पार्टीमा जाने र ? यही पार्टीमा रहेर फरक विचारका साथ कांग्रेसलाई नेतृत्व लिने हैसियत राख्छौँ । फरक पार्टीमा जाँदैनौँ । कांग्रेस नै सच्चिएर आजको समयानुकूल अघि बढ्नुपर्छ भन्ने हाम्रो मान्यता हो । कांग्रेसभित्र बसेर कांग्रेसलाई सुधारेर आम जनताको कांग्रेस पार्टी बनाउने महाअभियानमा हामी छौं ।

प्रकाशित मिति : १२ मंसिर २०८२, शुक्रबार  ८ : ५२ बजे

विद्युत् नियमन आयोगलाई साफिरको सदस्यता लिन स्वीकृति

काठमाडौं– नेपाल ऊर्जा क्षेत्रको नियमनकारी निकायका रूपमा रहेको विद्युत् नियमन

पर्यटन प्रवर्द्धन गर्न जोड्न पोखरामा दाइँ महोत्सव

गण्डकी– कृषिलाई पर्यटनसँग जोड्ने लक्ष्यका साथ भोलि पोखरा महानगरपालिका–१९ पुरनचौरको

भेटी परिचालन गरेर गलेश्वरलाई उज्यालो बनाइयो

म्याग्दी– भक्तजनले चढाएको भेटीमार्फत भएको आम्दानी परिचालन गरेर म्याग्दीको बेनी

रोकिएको ट्रकमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु

धरान– तीव्र गतिको मोटर साइकल सडक किनारमा रोकिएको ट्रकमा ठोक्किँदा

कोरला नाकामा व्यापारिक चहलपहल बढेपछि बेँसीमा झरेनन् माथिल्लो मुस्ताङी

मुस्ताङ– अघिल्लो वर्षसम्म यतिबेला माथिल्लो मुस्ताङ लगभग मानवविहीन अवस्थामा हुन्थ्यो