अहिले एमाले र देश दुवैमा ओलीको विकल्प छैन : पृथ्वी सुब्बा गुरुङ « Khabarhub

अन्तर्वार्ता

अहिले एमाले र देश दुवैमा ओलीको विकल्प छैन : पृथ्वी सुब्बा गुरुङ

ईश्वर पोखरेलले पछि हटेकै राम्रो



काठमाडौं– नेकपा (एमाले) का उपमहासचिव पृथ्वी सुब्बा गुरुङ २०८१ असारमा बनेको सरकारमा सञ्चार तथा सूचना प्रविधि मन्त्री हुनुअघिसम्म केपी शर्मा ओलीका कडा आलोचक थिए । ३१ असार २०८१ मा दौरा सुरुवाल सिलाइसकेका एमाले सचिव योगेश भट्टराईको नाम काटेर गुरुङलाई ओलीले मन्त्री बनाएका थिए । त्यसपता गुरुङको स्वर बदलिएको छ। भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनको एक कारण भनेर आलोचना पनि खेपेका उनी एमालेको एघारौँ महाधिवेशनमा ओलीको विकल्प नरहेको बताइरहेका छन् । एमालेको यही मंसिर २७ गतेदेखि काठमाडौँमा हुन लागेको ११ औँ महाधिवेशनमा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुँदैछ। त्यस प्रतिस्पर्धामा आफूले ओलीलाई साथ दिने उनले बताएका छनु । आफू ओली समूहबाटै उपाध्यक्ष बन्ने योजना गुरुङले बनाएका छन्।

कुराकानीमा गुरुङले वरिष्ठ उपाध्यक्ष पोखरेललाई दाबेदारी फिर्ता लिएर ओलीलाई सहयोग गर्न भने । गुरुङ एमाले र देशमै ओलीको विकल्प नरहेको बताउँछन् । अप्ठ्यारो बेलामा ईश्वर पाखेरेलले पनि ओलीलाई साथ दिनुपर्ने तर्क गर्छन् । उनी जेन–जीप्रति ओली नकारात्मक नभएको बताउँदै उनीहरूको आन्दोलनमा घुसपैठ भएको दाबी गर्छन् । यही सेरोफेरोमा गुरुङसँग खबरहबले छोटो कुराकानी गरेको छ ।

एघारौँ महाधिवेशन नजिकियो, कसरी प्रस्तुत हुने तयारी गर्नुभएको छ ?

अहिलेको जटिल अवस्थामा देशलाई सम्हालने र सुहाउने नेतालाई साथ दिने तयारी गरेको छु । पाए त अध्यक्ष नै लड्छु भनेको तर म जित्दिनँ । महासचिव पनि मलाई मिल्दैन जस्तो लागेको छ । त्यसैले यस पटक उपाध्यक्ष हुन्छु ।

उपाध्यक्ष पद दिन्छन् त ?

नदिएर हुन्छ र म त महासचिव माग्दै छु । तर पनि पार्टीमा एकताका लागि पद भन्दा एक मन र एक चित्त हुनु आवश्यक छ ।

कुन टिमबाट महासचिव हुने ?

ईश्वर कमरेडले पनि अध्यक्ष दाबी गर्नुभएको छ । तर, उहाँ सहमतिमा आउनुहुन्छ होला । उठ्ने भन्ने कुरा ठूलो भएन । उहाँ वरिष्ठ उपाध्यक्ष हो । बोल्न पाउनुहुन्छ । यदि उहाँ साँच्चिकै उठ्ने हो भने मैले सुरुवातबाटै भन्दै आएको छु, एमालेमा अहिले केपी कमरेडको विकल्प छैन । उहाँले पार्टी बैठकमा कुरा राख्नुभएर आफ्नो वक्तव्य पनि जारी गर्नुभएको छ । उठे पनि उहाँले जित्ने सम्भावना कम छ ।

उसोभए यहाँले ओलीलाई नै सहयोग गर्नुहुन्छ ?

हो, म उहिलेबाटै उहाँलाई नै अध्यक्ष बनाउनुपर्छ भनेर लागेको हो । मैले त बोलिरहेको कुरा हो । उहाँको विकल्प छैन । फेरि पार्टी हाँक्ने, यो जटिल परिस्थिति सामना गर्ने नेता हामीलाई चाहिएको छ । देश र एमालेले उहाँलाई खोजेको छ । निर्विकल्प ओली नै अबको अध्यक्ष हो ।

अध्यक्ष ओली त पार्टी र देशकै नेतृत्वमा पनि असफल हुनुभएन र ?

कसले भन्छ र त्यस्तो ? हाम्रो अध्यक्ष असफल हुनुभयो भन्ने कुरा नै गलत छ । म यसको प्रतिवाद गर्छु । अहिलेको अवस्थामा ओलीबाहेक देशलाई निकास दिने नेता एमालेमा छैन । देशमा पनि छैन । जेन–जी आन्दोलनलाई उहाँले कहिले गलत भन्नुभयो र ? घसुपैठ भयो भन्नुभएको हो । असल जेन–जीको माग सम्बोधन हुनुपर्छ भनेर उहाँ लाग्नुभएकै छ । त्यसकारण यो भाष्य नै गलत छ । जेन–जी आन्दोलनमा उहाँले हस्तक्षेप गरेको हो र ? बाह्य शक्तिले खेलेका होइनन् र ? यसकारण यो सबै एमाले असफल बनाउने योजनाबद्ध षडयन्त्र मात्रै हो ।

तर ईश्वर पोखरेल, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे लगायतले ओली असफल भए भन्दै हुनुहुन्छ । जेन–जी पनि त्यही भन्छन्, किन फेरि यहाँहरू उहाँलाई बोकेर हिँड्नुहुन्छ ?

नेतालाई अप्ठ्यारोमै साथ दिने हो । जेन–जी आन्दोलनको सफलता र असफलता पार्टीमा नाप्न मिल्दैन । को हो उहाँहरू परीक्षण गर्ने ? असली जेन–जीले त ओलीलाई साथ दिएका छन् । महाधिवेशन आएपछि नेताहरूले आरोप लगाउनु भएको हो । कहिलेकाहीँ नेताबाट गल्ती हुन्छ । तर गल्ती हुँदैमा असफल भन्न मिल्दैन । अनुसन्धान होला नि । त्यसैले अहिले महाधिवेशनको फाइनल गेम सुरु भएको छैन । म ईश्वर कमरेडलाई के भन्छु भने, एमाले बचाउन र देशको शक्ति बन्न पछि हट्नुहोस् । सारा नेपाल लाग्दा पनि ओलीले जित्नुभएको छ । अरूको काम छैन । बरु सहमतिमा आएर सहयोग गर्नुहोस् ।

प्रकाशित मिति : १२ मंसिर २०८२, शुक्रबार  ७ : २३ बजे

इयुको ९० अर्ब युरो सहयोग सम्झौता

एजेन्सी– युरोपेली सङ्घ (इयु) का नेताहरूले युक्रेनलाई आगामी दुई वर्षसम्म

एनआरएनएद्वारा प्रहरी वृत्त दरबारमार्गलाई ब्यारिकेड हस्तान्तरण (तस्बिरहरू)

काठमाडौं– गैरआवासीय नेपाली संघ (एनआरएनए)ले नेपाल प्रहरीको दरबारमार्ग स्थित प्रहरी

सुदूरपश्चिममा भुवा पर्वको रौनक : आज प्रदेशभर सार्वजनिक बिदा

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशको मौलिक एवं ऐतिहासिक सांस्कृतिक पर्व भुवाको अवसरमा

टुकुचा खोलाको फोहर पानी प्रशोधन केन्द्र निर्माण गरिँदै (तस्बिरहरू)

काठमाडौं– टुकुचा खोलाको पानी पिउन मिल्ने बनाउने लक्ष्यसहित प्रदूषित पानी

देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँ : मन्त्री घिसिङ

पाटन– भौतिक पूर्वाधार तथा यातायातमन्त्री  कुलमान घिसिङले देशभर स्थानीय उत्पादनको