चिराइतो बिक्री नहुँदा  किसान चिन्तित « Khabarhub

चिराइतो बिक्री नहुँदा  किसान चिन्तित


१३ पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

फुङ्लिङ– यहाँ उत्पादित चिराइतोले बजार मूल्य नपाउँदा किसान चिन्तित बनेका छन् । गत वर्ष प्रतिमन रु ६५ हजारसम्ममा खरिद बिक्री भएको चिराइतो यस वर्ष कारोबार ठप्प छ ।
 
मिक्वाखोला गाउँपालिका–५ पापुङका तेन्जिङ पेर्शाले गत वर्ष रु ४० हजारमा २० मन चिराइतो बिक्री गरे । व्यापारी घरमै आएर चिराइतो खरिद गरे । तर यस वर्ष भने चिराइतो सङ्कलन गरे पनि अहिलेसम्म खरिदका लागि व्यापारीहरू सम्पर्कमा नआएको शेर्पाले बताए । उनले भने, ‘चिराइतो सङ्कलन गरेर राखिएको छ । खै कति छ दाम थाहा छैन । बिक्री हुने कि नहुने थाहा छैन ।’

फक्ताङलु गाउँपालिका–६ आहाले गाउँका रामबहादुर ताम्मादेन विगत १५ वर्षदेखि चिराइतोखेती गर्दै आएका छन् । उनले बीचमा चिराइतोखेती गर्न छाडेर वैदेशिक रोजगारीमा समेत गए । आफ्नै गाउँघरका पाखोबारीमा प्रशस्त मात्रमा खेती गर्न सकिने चिराइतो राम्रो सम्भावना देखेर वैदेशिक रोजगारीदेखि पुनः आफ्नै गाउँमा चिराइतोखेती गर्न फर्किए । 

गाउँमा आएर चिराइतोखेतीसँगै चिराइतो खरिद बिक्रीसमेत गर्न थाले । ताम्मादेनले गत वर्षमात्र १२५ मन चिराइतो खरिद गरेर चीनको तिब्बत निर्यात गरे । 

उनले तिब्बतमा ४० देखि ६५ हजार रुपैयाँमा चिराइतो बिक्री गरेको बताए । तर यस वर्ष भने चिराइतोको कारोबार शून्यजस्तै रहेको ताम्मादेनले बताए ।

उनले भने, ‘गत वर्षको तुलनामा यस वर्ष चिराइतो उत्पादनसमेत कम छ । गत वर्ष एउटा गाउँबाट २०० केजी सङ्कलन हुनेमा अहिले १०० केजी पनि चिराइतो सङ्कलन भएको छैन ।’ गाउँघरमा प्रतिमन (४० केजी)को रु १७ देखि १८ हजारमा खरिद बिक्री हुँदै आएको चिराइतो व्यापारी राम ताम्मादेनले बताए ।
 
गत सातामात्र चीनको तिब्बतका र भारत निर्यात गर्ने व्यापारीसँग सम्पर्क गरेको ताम्मादेनले बताए  । भारतीय व्यापारीले भन्दा चीनका व्यापारीले राम्रो मूल्य दिने भएकाले धेरै चिराइतो तिब्बत हुँदै चीन निर्यात हुँदै आएको छ ।
 
विगतमा गाउँकै धेरै चिराइतो उत्पादन गर्ने फक्ताङलुङ गाउँपालिका–६ किसोङवा गाउँका केरसिं लिम्बू अहिले चिराइतोखेती गर्न छाडे । लिम्बूले विगतमा ७५ मनसम्म चिराइतो उत्पादन गर्थे ।

चिराइतोको बजार मूल्य निश्चित नहुने प्रत्येक वर्ष बजार मूल्य उतारचढाव भइरहने भएकाले किसानले चिराइतोखेती गर्न छाड्दै गएका उनले भने । विगतमा राम्रो चिराइतो सङ्कलन हुने किसोङवा, लुङथुङ, लावाजेनजस्ता गाउँमा अहिले न्यून मात्रामा मात्र चिराइतो उत्पादन हुँदै आएको लिम्बूले जानकारी दिए ।
 
नेपालको पूर्वी क्षेत्रमा उत्पादन हुने चिराइतो ताप्लेजुङको तिप्ताला नाका हुँदै चीनको तिब्बत निर्यात हुँदै आएको छ । चिराइतो व्यापारीले विगत छ वर्ष अगाडि सङ्खुवासभा, भोजपुर, तेह्रथुम, इलामका चिराइतो हेलिकप्टरमार्फत ओलाचुङगोलासम्म दुवानी गरेका थिए । 

विगत कोभिड–१९ का कारणले टिप्तालानाका बन्द  हुँदा प्रत्यक्ष असर चिराइतो किसानलाई परेको थियो । नाका बन्द हुँदा किसानले उत्पादन गरेका चिराइतो तिब्बत हुँदै चीन निर्यात हुन सकेन । चिराइतोको बजार नपाएसँगै धेरै किसानले चिराइतोखेती गर्नसमेत छाडेर अन्य पेसा अगाल्न पुगेका छन् । तर गत वर्षदेखि भने तिप्तालानाका खुलेसँगै चिराइतो चीन निर्यात हुन थालेको व्यापारीको भनाइ छ ।
 
विगत तीन वर्ष आगाडि फुङलिङ नगरपालिका–१० टेकमान भट्टराईले प्रतिकेजीएक हजार १२५ रुपैयाँका दरले सात क्विन्टल चिराइतो घरबाटै बिक्री गरेका थिए । 

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७ का चिराइतो खरिद बिक्री गर्दै आएका व्यापारी टासी शेर्पाले प्रतिमन रु ४५ हजारमा  ५० मन चिराइतो सङ्कलन गरेर झापाको विर्तामोडमा लगेर बिक्री गरेका थिए । गाउँमा उत्पादित चिराइतो बजारसम्म लैजान डिभिजन वन कार्यालयमा प्रतिकिलो रु १५ राजस्व बुझाउनुपर्छ । 

गत आव ताप्लेजुङबाट पाँच हजार ८२० केजी चिराइतो निकासी भएको डिभिजन वन कार्यालयले जनाएको छ ।  आव २०७९/८० मा पाँच हजार ८०० केजी ताप्लेजुङमा चिराइतो उत्पादन भएको थियो भने चिराइतोबाट रु ८७ हजार राजस्व सङ्कलन भएको डिभिजन वन कार्यालयको तथ्याङ्क छ ।
 
वन कार्यालयको तथ्याङ्कअनुसार ताप्लेजुङमा आव २०७७/७८ मा १६ हजार ३०० केजी चिराइतो सङ्कलन भएकामा यसबाट रु दुई लाख ४४ हजार ५०० राजस्व जम्मा भएको थियो । 

विगतका तुलनामा चिराइतो उत्पादन क्रमिक घट्दै गएको देखिन्छ । चिराइतो सङ्कलन गरेर जिल्ला बाहिर लैजान अनेक प्रक्रियागत झन्झट रहेको व्यापारी बताउँछन् । झार वर्गको यो वनस्पति सङ्कलनका लागि २८ महिनामा मात्रै योग्य हुने गरेको छ । तर एक पटक लगाएपछि बर्सेनि लगाउनु भने पर्दैन ।

पाकेको फूल आफैँ झर्छ र त्यहीँ उम्रन्छ । पहिलो वर्ष काण्ड वृद्धि नभई त्यसबाट पात पलाई मूलाजस्तो हुने, दोस्रो वर्ष जमिनमाथि काण्ड विकास भई हरेक आँख्लामा हाँगा र पात पलाएर आउने र यसमा फूल फुल्ने र बीउ लाग्ने किसान बताउँछन् । दुई वर्षमा सप्रेको बोट १.५ मिटरसम्म अग्लो हुने किसानको भनाइ छ ।
 
नेपालमा कुल उत्पादनको ९० प्रतिशत चिराइतो विदेश निर्यात हुन्छ । यसमध्ये ८० प्रतिशत भारतमा मात्र निर्यात हुने बताइएको छ । बाँकी २० प्रतिशत चीन, स्वीडेन, हल्यान्ड, मलेसिया, सिङ्गापुर, जर्मनी, इटाली, फ्रान्स, स्वीटजरल्यान्ड, श्रीलङ्का, बङ्गलादेश, पाकिस्तान, अमेरिकालगायत देशमा निर्यात हुने वनस्पति विभागले जनाएको छ । 

यो जडीबुटी विभिन्न प्रकारका रोग निको पार्न प्रयोग गरिन्छ । परम्परागत चिकित्सा पद्धतिजस्तै आयुर्वेद, युनानी, होमियोप्याथी, सिद्धा, सोवारिग्पामा घरेलु औषधिका रूपमा चिराइतोको प्रयोग हुने गर्छ ।
 
मुख्यगरी यसको प्रयोग बलवर्द्धक, ज्वरोनाशक र कब्जियत खुलाउनका लागि प्रयोग हुने वनस्पति विभागले जनाएको छ । तिब्बती चिकित्सा पद्धतिमा चिराइतोको प्रयोग पित्त र ज्वरोको प्रयोग हुने उल्लेख गरिएको छ । 

महिलामा हुने महिनावारी गडबडी, कब्जियत, पित्तनाशक, शरीर सुन्निएको ठाउँमा, श्वेत प्रदर, छालारोग, दाद निको पार्न÷गर्न प्रयोग गर्न सकिन्छ भने चिराइतोबाट ब्याक्टेरिया, ढुसी आदि पनि निर्मूल गर्न सकिन्छ ।

वनस्पति विभागका अनुसार नेपालको पूर्वी भेग ताप्लेजुङ, पाँचथर, इलाम, तेह्रथुम, सङ्खुवासभा, धनकुटा, भोजपुरदेखि मकवानपुर, सिन्धुली, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, गोरखा, सल्यान, रोल्पा, डोल्पा, अछाम, डोटी, डडेलधुरा, बाजुरालगायत जिल्लामा प्राकृतिक रूपमै चिराइतो हुने गर्दछ । रासस

प्रकाशित मिति : १३ पुस २०८२, आइतबार  १२ : ०४ बजे

साउदी अरबको ताइफमा हुथीले हानेको ड्रोन लागेर एक जनाको मृत्यु, दुई घाइते

काठमाडौं– साउदी अरबको दक्षिणपश्चिमी क्षेत्र ताइफमा रोकिएको ड्रोन खस्दा त्यसको

‘देउवा दाइ र हामी गगन कांग्रेसमा जाँदैनौँ’

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा निकट दोस्रो तहका धेरै

हुथी आक्रमणपछि यमनमा एक लाख २५ हजारभन्दा बढी विस्थापित

एजेन्सी– इरानसमर्थित हुथी विद्रोहीको आक्रमण तीव्र भएपछि यमनमा एक लाख

‘राष्ट्रिय सेवा दल विधेयकमाथि समितिको संशोधन सरकारद्वारा स्वीकार’

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले राष्ट्रिय सेवा

अन्तरराष्ट्रिय कल बाइपासका उपकरणसहित भारतीय नागरिक पक्राउ

काठमाडौं– अन्तरराष्ट्रिय कल बाइपासमा प्रयोग गरिएका विभिन्न उपकरणसहित भारतीय नागरिक