मेला महोत्सवमा आकर्षण बन्दै ‘झाँक्री नाच’ « Khabarhub

मेला महोत्सवमा आकर्षण बन्दै ‘झाँक्री नाच’


१३ पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

ढोरपाटन– एकदशक अगाडिसम्म बागलुङका ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवाको सहज पहुँच थिएन । गाउँमा कोही बिरामी परे उपचारका लागि झाँक्रीकहाँ लैजाने चलन थियो । 

अहिले धेरै ठाउँमा स्वास्थ्य संस्था स्थापना भएर सेवा प्रदान गर्न थालेका छन् । जसका कारण बिरामी झाँक्रीकहाँभन्दा अस्पतालमै जान थालेका छन् । बिरामी अस्पतालमा गए पनि झाँक्रीहरूलाई कामको खाँचो छैन । हिजोआज जिल्लामा लाग्ने मेला महोत्सवमा उनीलाई झाँक्री नाच प्रदर्शन गर्न भ्याइनभ्याइ छ । 

झाँक्री नाचले आन्तरिक तथा बाह्य पर्यटकको ध्यान खिच्न थालेको छ । धेरैको रोजाइमा पर्न थालेपछि हरेक मेला महोत्सवमा झाँक्री नाच प्रदर्शन गराउन थालिएको हो । 

बागलुङमा सुरु भएको आठौँ बागलुङ महोत्सवमा पनि ढोरपाटनको झाँक्री नाच आकर्षणको केन्द्र बनेको छ । करिब १२० किलोमिटर पश्चिमबाट आएका झाँक्रीले बागलुङ बजारमा नाच प्रदर्शन गर्दा हेर्नेको भीड नै लागेको थियो । शरीरमा पहिरिएको विभिन्नथरिका पहिरनले धेरैलाई आकर्षित गर्ने गरेको छ ।

झाँक्रीले थरिथरिका वन्यजन्तुका छाला, चराचुरुङ्गीका प्वाँखलगायत पुराना मौलिकता बोकेका वस्तुहरु शरीरमा भिरेर काम्दा धेरैलाई आश्चर्य लाग्छ । 

झाँक्री नाच खासगरी जिल्लाको ढोरपाटन क्षेत्रमा बढी प्रचलित छ । जनजाति तथा दलित समुदायमा परम्परादेखि चल्दै आएको झाँक्री नाचले यसरी चर्चा पाउला भन्ने स्वयं झाँक्रीहरूलाई नै लागेको थिएन । पछिल्लो समय मेला महोत्सवमा नाच्न बोलाउने गरेको ढोरपाटन नगरपालिका–६ का बलबहादुर विकले बताए ।

आफ्नो चारपुस्ता झाँक्री पेसा रहेको उनको भनाइ छ । विकले आफ्नो जिजुबाजे, बुबा र आफू झाँक्री बनेको उनले बताए । आफ्नो बुबाका पालासम्म मेला महोत्सवमा नाच्ने चलन नभएको भन्दै पछिल्लो सात वर्षदेखि झाँक्री नाचको चर्चा हुन थालेको विकले सुनाए । आफू चार दशकदेखि झाँक्री काम गर्दै आएको भन्दै पहिले बिरामीलाई झारफुक मात्रै गर्ने गरेको उनले बताए ।

विकले भने, ‘झाँक्री नाचको अहिले धेरैतिर चर्चा हुन थालेको छ, पहिले कोही बिरामी प¥यो भने उसैको घरमा गएर झारफुक गर्ने, झाँक्री बस्ने गरिन्थ्यो, तर अहिले त मेलातिर पनि गएर नाच्न थालेका छौँ, यसले हाम्रो पुरानो कला, संस्कृतिको प्रचारप्रसार भएको छ, जो पायो त्यही झाँक्री हुन सक्दैन, झाँक्री भन्ने सामान्य कुरा होइन, झाँक्री हुनलाई त दैविक शक्ति आउनुपर्छ ।’

धामीझाँक्री गरेको आम्दानीबाट धेरैले जीविकोपार्जन गर्ने गर्थे । बिरामी अस्पतालमा जान थालेपछि झाँक्री पेसा पनि सङ्कटमा पर्ने जोखिम बढेको छ । 

अहिले पनि मानिस बिरामी हुँदा झाँक्रीकहाँ नआउने होइन तर त्यो पहिलेको तुलनामा धेरै कम भएको छ । बिरामी कम भए पनि मेला महोत्सव नाच्दा जाँदा पारिश्रमिक पाइने झाँक्री बोमबहादुर विकले बताए । बिरामीलाई सामान्य रोग लागेमा झारफुक गर्ने र अस्पतालमै जान सुझाव दिने गरेको उनको भनाइ छ ।

विकले लोपोन्मुख बन्दै गएको झाँक्री नाचलाई जोगाउन र आम्दानीसमेत गर्ने उद्देश्यले यहाँका विभिन्न चाडपर्व, मेला–महोत्सव तथा पर्यटकको स्वागतमा प्रदर्शन गर्ने गरेको बताए ।

पुर्खाले प्रयोग गरेको घण्टा, गरगहना, पशुपक्षीका छाला ओढेर डम्फु बजाउँदै नाच्ने उनको भनाइ छ । झाँक्रीले आयुर्वेदिक उपचारसमेत गर्ने विकले सुनाए । बान्ता हुने, शरीरमा घाउखटिरा आउने, डुलुवा लाग्नेलगायत बिरामीलाई तन्त्रमन्त्रले निको पार्ने उनले दाबी गरे ।

‘हामीहरूले बिरामीलाई अस्पताल नजाउ भन्दैनौँ, जडीबुटीको केही ज्ञान हुनेहुँदा वनबाट लिएको ओखती दिएर बिरामीलाई सञ्चो बनाउने गर्छौं, ठूलोठूलो रोग लागेको बिरामीलाई अस्पतालमै जान भन्छौँ’, विकले भने, ‘पहिलेपहिले बिरामी धेरै आउँथे, अचेल कम भएका छन्, तर झाँक्री बस्नका लागि अहिले पनि बोलाउँछन्, मेला महोत्सवमा जाँदा आम्दानी पनि राम्रै हुने गरेको छ ।’

झाँक्री नाच ढोरपाटनसहित निसीखोला, तमानखोललगायत स्थानमा प्रचलित छ । सञ्चारमाध्यमबाट प्रचारप्रसार हुन थालेपछि झाँक्री नाच प्रदर्शनका लागि धेरै ठाउँबाट माग आउने गरेको छ । 

यो नाचलाई संरक्षणका लागि ढोरपाटन नगरपालिका प्रचारप्रसारमा जोड दिएको उपप्रमुख धनबहादुर कायतले बताए । पालिकाले झाँक्रीको पोसाक तथा अन्य व्यवस्थापनका लागि बजेट विनियोजन गर्दै आएको उनको भनाइ छ । पहिले बिरामीलाई सान्त्वना दिने झाँक्री अहिले पर्यटक आकर्षण गर्ने माध्यम बनेको उपप्रमुख कायत बताउछन् ।

उनले भने, ‘हामीहरु गाउँमा जन्मियौँ, गाउँले परिवेशमा हुर्कियौँ, बिरामी पर्दा पनि झाँक्रीकहाँ जानुपर्छ भन्ने सुनियो, देखियो र भोगियो तर अहिले बिरामी परे अस्पतालमै जानुपर्छ, तर झाँक्रीको परम्परालाई पनि संरक्षण गर्नुपर्छ, त्यसले गर्दा हामीहरूले झाँक्रीलाई पनि बिरामीलाई अस्पताल पठाउनुपर्छ भनेर सुझाउँछौँ र मेला, महोत्सव तथा कार्यक्रममा प्रदर्शनका लागि पालिकाले नै अगुवाइ गर्छ ।’ रासस

प्रकाशित मिति : १३ पुस २०८२, आइतबार  ३ : ३२ बजे

जलाएको १० महिनापछि उभियो चुच्चेपाटीको भाटभटेनी (तस्बिरहरू)

काठमाडौं– चुच्चेपाटीस्थित भाटभटेनी सुपरमार्केट पूर्ण रूपमा पुनर्निर्माण सम्पन्न भई आजदेखि

होर्मुज जलमार्ग बन्द हुँदा एक हजार भन्दा बढी मालवाहक जहाजहरू समुन्द्रमै अलपत्र

एजेन्सी– स्ट्रेट अफ होर्मुज जलमार्ग बन्द हुँदा एक हजार २००

पुल बनेपछि आवतजावत सहज

भजनी– कैलालीको टीकापुर नगरपालिका र बर्दियाको गेरुवा गाउँपालिका जोड्ने कर्णाली नदीमा

रास्वपाले अस्वीकार गरिदियो माओवादी युद्धको इतिहास

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले (रास्वपा)ले आफ्नो राजनीतिक दस्ताबेजबाट माओवादी सशस्त्र

नेयमार उपलब्ध भएपछि उत्साहित एन्सेलोट्टीले भने : स्कटल्यान्डको ‘लडाकु’ टोलीसँग सतर्क र तयार छौँ

काठमाडौं- ब्राजिलका मुख्य प्रशिक्षक कार्लो एन्सेलोट्टीले आफ्ना खेलाडीहरूलाई स्कटल्यान्डको उच्चस्तरीय