पोखराको व्यापार मेलामा ‘घुमौँ मधेस, बुझौँ मधेस’ विशेष आकर्षण « Khabarhub

पोखराको व्यापार मेलामा ‘घुमौँ मधेस, बुझौँ मधेस’ विशेष आकर्षण


१६ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

गण्डकी– कास्कीको पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा जारी ३३औँ संस्करणको राष्ट्रिय औद्योगिक व्यापार मेला तथा सूचना प्रविधि (आईटी) महोत्सवको उद्घाटनका अवसरमा मिथिलाको झिझिया नाचबाट गरिएको स्वागतलाई स्थानीयले बिर्सेका छैनन् ।

यही माघ १० गतेदेखि पोखरा उद्योग वाणिज्य सङ्घद्वारा आयोजित महोत्सवमा थारू र भोजपुरी नृत्यप्रति स्थानीयको विशेष आकर्षण थियो भने महोत्सव किनमेलको गन्तव्य पनि बनेको थियो ।

सञ्चार तथा सूचना प्रविधिको क्षेत्रमा भएको अभूतपूर्व विकासले ल्याएको क्रान्ति झल्काउने आईटी उपकरण अवलोकन गर्ने थलो मात्र महोत्सव बनेन अपितु विभिन्न प्रदेशलाई जान्ने, बुझ्ने र अनुभव गर्न सकिने स्थान बन्यो ।

महोत्सवमा मधेस प्रदेशको उद्योग वाणिज्य तथा पर्यटन मन्त्रालयले राखेको ‘घुमौँ मधेस, बुझौँ मधेस’ कक्ष मधेसलाई बुझ्न महत्त्वपूर्ण बनेको छ । हरेक दिन महोत्सवका सहभागी करिब पाँच सय जनासम्मले यस कक्षमा आएर मधेस प्रदेश र यहाँको धार्मिक एवं पर्यटकीय गन्तव्यबारे बुझ्ने गरेको ‘घुमौँ मधेस, बुझौँ मधेस’ अभियानका संयोजक विकासकुमार ठाकुरले बताए ।

सहभागी जिज्ञासुलाई संयोजक ठाकुर, चन्द्रपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष उदय सापकोटा लगायतले मधेस प्रदेशको पर्यटन, त्यहाँको वास्तविकताका साथै मधेसीहरूले गर्ने न्यानो आतिथ्यता आदिबारे जानकारी गराउने गरेका छन् ।

मेला उद्घाटनका अवसरमा संयोजक ठाकुरले कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई मधेस प्रदेशका धार्मिक एवं पर्यटकीय गन्तव्यबारे सचित्र परिचय दिइएको पुस्तिका (बुकलेट) हस्तान्तरण गरेका थिए । उक्त अवसरमा मधेस प्रदेशको सांस्कृतिक धरोहरलाई झल्काउने झिझिया नृत्य र थारू नृत्यसमेत देखाइएको थियो ।

मधेस प्रदेशको पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यका साथ पर्यटन राजधानी पोखरामा जारी महोत्सवका अवसरमा ‘घुमौँ मधेसः बुझौँ मधेस’ को प्रवर्द्धनात्मक कक्ष राखिएको संयोजक ठाकुरले बताए ।

प्रवर्द्धनात्मक सामग्रीका रुपमा महोत्सवका सहभागीलाई मधेस प्रदेशका पर्यटकीय गन्तव्यबारे सचित्र जानकारी समेटिएको पुस्तिका वितरण गरिएको छ । पुस्तिकामा प्राचीन मिथिलाको राजधानी जनकपुरमा अवस्थित जानकी मन्दिरसहितका धार्मिक महत्वका स्थलबारे जानकारी गराइएको छ ।

मिथिलाञ्चलवासीको सांस्कृतिक धरोहर यस मन्दिर सन् १८९४ मा शिलान्यास भई सन् १९९१ मा निर्माण पूरा भएको पुस्तिकामा उल्लेख छ । पुस्तिकामा कोशी टप्पु वन्यजन्तु आरक्ष, सहलेश फूलबारी, गढीमाई, पर्सा राष्ट्रिय निकुञ्ज, पञ्चधुरा, दिनाभद्री मन्दिर, सिम्रौनगढ, कङ्कालिनी मन्दिर, धनुषाधाम, भरत तालबारे सचित्र जानकारी दिइएको छ ।

मधेस प्रदेशमा रहेका नुनथर, गहवामाई, छिन्नमस्ता भगवती मन्दिर, ठोरी, भिश्वाडाँडा, मटिहानी, रौजा मजार, कमलदह, चुरे शिवालिक पर्वत, राजदेवी मन्दिर, चुरियामाई, पारसनाथ मठ, पर्सागढी, दुुग्धेश्वरनाथ महादेव, चन्द्र नहरबारे पुस्तिकामा चर्चा गरिएको छ ।

यस्तै, मूर्तिया, नाढीमन ताल, जलेश्वर महादेव मन्दिर, हनुुमान मन्दिर, बाबाताल, हात्तीदह सिमसार, टुटेश्वरनाथ धाम, कारिक स्थान पडौल, सहिद स्मृति पार्क, शिव मन्दिर, निजानन्द धाम, सिद्धबाबा हाइकिङ, जनकपुर रेलमार्ग र बरहवातालबारे पुस्तिकामा जानकारी गराइएको छ ।

महोत्सवस्थलमा विभिन्न प्रदेशका कक्ष रहेका छन् । दुई सय ५० कक्षमध्ये मधेस प्रदेशको दुई कक्षसँगै सूूदुरपश्चिमको एक, कोशीका तीन, बागमतीका पाँचवटा कक्ष छन् । तीनवटै प्रदेशका मौलिक उत्पादनलाई बिक्रीमा राखिएको छ । महोत्सव माघ १९ गते समापन हुनेछ । 

प्रकाशित मिति : १६ माघ २०८१, बुधबार  १० : ०३ बजे

उच्च क्षमताका प्रसारण लाइन निर्माणमा सरकारको उच्च प्राथमिकतामा

काठमाडौँ– सरकारले उत्पादित बिजुलीलाई प्रमुख लोड सेन्टरहरुसम्म पुर्‍याउन, बढी भएको

आमाले मकै पोलेर घर चलाएपछि कमेडीमा जमेका कर्मा

काठमाडौँ- सबैको विगत हुन्छ, कसैको राम्रो त कसैको नराम्रो ।

नारायणगढ–बुटवल सडक विस्तार : सडक सुरक्षाको काम पनि जारी

नवलपरासी– नारायणगढ–बुटवल सडक विस्तार आयोजनाअन्तर्गत सडक निर्माण सम्पन्न भएका स्थानमा

सम्झौता विपरीतका इँटा प्रयोग गरेपछि पर्खाल भत्काइयो

खोटाङ– निर्माण कम्पनीले हलेसी तुवाचुङ नगरपालिकाको प्रशासनिक भवनमा सम्झौता विपरीत

विश्वकप लिग-२ : आज ओमानसँग कीर्तिपुर मैदानमा भिड्दै नेपाल, पुरानो बदला लिने अवसर

काठमाडौँ – आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक शृङ्खलाको