फागुनमा चुनाव गर्न सरकारले दिएका आठ आधार | Khabarhub Khabarhub

फागुनमा चुनाव गर्न सरकारले दिएका आठ आधार

आयोग भन्छ- असी दिनमा चुनाव गराएको रेकर्ड छ 



काठमाडौं– भदौ २३ र २४ गते जेन-जी आन्दोलनपछि भदौ २८ गते राष्ट्रपति रामचन्द्र पौडेलले पूर्व प्रधान न्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्ति गरेका थिए ।

त्यसपछि राष्ट्रपति पौडेलले प्रधानमन्त्री कार्कीको सिफारिस बमोजिम भदौ २७ गते शुक्रबार राति ११ बजेदेखि लागू हुने गरी प्रतिनिधिसभा विघटन गरेकी थिइन् । कार्कीले फागुन २१ गते निर्वाचन गर्ने भन्दै प्रतिनिधिसभाको विघटन गरेकी हुन् । 

यसपछि एमाले भने प्रतिनिधिसभा पुनर्स्थापना मागमा उत्रिँदा कांग्रेस, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका दलहरू निर्वाचनको पक्षमा छन् । सरकार बनाएको एक महिना नाघेपछि कार्तिक ४ गते प्रधानमन्त्री कार्कीले १० राजनीतिक दलसँग संवाद गरेर समयमै निर्वाचन हुने अठोट गरिसकेकी छिन् । 

बैठकमा कार्कीले कुनै पनि हालतमा निर्वाचन नरोकिने र दलहरूलाई निर्वाचनको लागि तयार रहन समेत भनिसकेको अवस्था छ । बैठकमा उनले निर्वाचनमा सामेल हुन सम्पूर्ण दलहरूलाई समेत आग्रह गरिन । 

प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार अजयभद्र खनालका अनुसार अहिले पनि सरकार निर्वाचन कुनै पनि हालतमा पछि धकेल्ने मनसायमा छैन । खनालका अनुसार निर्वाचन आयोग र सरकारले निर्वाचनका लागि सम्पूर्ण तयारी गरिरहेको छ । शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन सबै सुरक्षा निकायहरूसँग सरकार निरन्तर वार्तामा रहेको खनालको भनाइ छ । 

यता प्रधानमन्त्रीका प्रेस संयोजक रामबहादुर रावल तोकिएको समयमा निर्वाचन गराउन सरकार गृहकार्य गरिरहेको दाबी गर्छन् । उनी सरकार र निर्वाचन आयोगलाई तोकिएकै समयमा निर्वाचन गराउन अनुकूल समय रहेको बताउँछन् । 

निर्वाचनका लागि पर्याप्त समय छ : आयोग 

दलहरूले फागुन २१ को निर्वाचन गराउन सरकारसँग समय नहुने शंका गरिरहेका छन् । तर निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरे निर्वाचन आयोगलाई निर्वाचन गराउन पर्याप्त समय रहेकाले कुनै हालतमा निर्वाचन तोकिएकै समयमा हुने दाबी गर्छन् । 

उनी आयोगले मतदाता नामावली संकलन कार्यक्रम अगाडि बढाइरहेकाले समयमै निर्वाचन हुन ढुक्क रहन आग्रह गर्छन् । घिमिरे आयोगले निर्वाचनको तालिका नै सार्वजनिक गरेपछि निर्वाचन हुँदैन कि भन्ने आशंका नगर्न सम्बद्ध सबै निकायलाई आग्रह गर्छन् । ‘आयोगले निर्वाचनको तालिका नै सार्वजनिक गरिसकेको छ । समयमै निर्वाचन हुन्छ । घिमिरेले खबरहबलाई भने, ‘हामीले ८०, ९० दिनमै निर्वाचन सम्पन्न गराएका रेकर्ड छन् । अहिले हामीसँग समय पर्याप्त छ ।’

निर्वाचन गराउन आयोगले सम्बन्ध सबै दलहरूसँग छलफल समेत गरिरहेको घिमिरे बताउँछन् ।  

निर्धारित समयमा चुनाव हुन्छ : सञ्चारमन्त्री

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल सबै राजनीतिक दलहरू निर्वाचनमा सहभागी हुन आग्रह गर्छन् । उनी शान्ति सुरक्षा कायम गर्ने जिम्मेवारी सरकारको रहेको भन्दै यस विषयमा सबै निकायसँग संवाद अगाडि बढाइरहेको दाबी गर्छन् । खरेल सुरक्षा निकायका तीन वटै अङ्गले पनि शान्ति सुरक्षाका लागि सबै प्रबन्ध मिलाइरहेको बताउँछन् । उनकै शब्दमा यस्ता छन् सरकारी आधार ।

१.मिति तोकिएको छ । मिति तोकिनु नै निर्वाचन हुने आधार हो । 
२.निर्वाचन आयोगले कार्यपालिका नै सार्वजनिक गरेर त्यो अनुसार धमाधम काम गरिरहेको छ । 
३.मतदाता नामावली सङ्कलनको काम भइरहेको छ । निर्वाचनको लागि चाहिने सम्पूर्ण स्रोत साधन जनशक्ति सामग्री खरिद गर्ने कुराहरू सरकारले अगाडि बढाएको छ । निर्वाचन आयोग र सुरक्षा निकायबाट सबै अगाडि बढेको छ । 
४.सुरक्षा अवस्था के होला भन्ने सन्दर्भमा अहिले पनि लुटिएका हतियारहरू फर्किने क्रम धमाधम भएको छ । भागेका कैदीहरू पनि फर्कने क्रम जारी छ । चुनाव हुने बेलासम्ममा सबै फर्काउने कुरामा सुरक्षा निकाय गम्भीर छ । त्यहाँबाट जोखिम हुने कुरा छैन । 
५.सुरक्षा निकायको मनोबलका कुरामा जे जस्तो चासो आएको थियो सुरक्षा निकायले स्पष्ट भनेको छ । हामीलाई स्रोत साधन र जनशक्ति हुने विचित्रकै हाम्रो मनोबल उसै उच्च छ । त्यो पछि झन् उच्च भएर काम गर्छौँ ।उहाँहरूले हामी एकै चरणमा पनि निर्वाचन गर्ने समर्थ राख्छौँ भनेर सुरक्षा निकायका सबै अंगहरुले भनेका छन् । 

विगतका आन्दोलन पनि यस्ता र यी भन्दा ठूला पनि थिए । तर पछि भएका निर्वाचनहरूमा सुरक्षा निकायको मनोबल उच्च थियो । सुरक्षा निकायले हामीसँगको वार्तामा के पनि भनेको छ भने माओवादी सशस्त्र युद्धमा  २०५४, ०५६ सालमा पनि निर्वाचन सम्भव भयो । सुरक्षाकर्मीले यसरी गराए अहिले त त्यो अवस्था हैन । 

६.मुख्य गरेर निर्वाचन भन्ने बित्तिकै एउटा त राजनीतिक दलले भाग लिनुपर्थ्यो । अर्को जनता र भोटरहरूले भाग लिनुपर्छ । यस सन्दर्भमा ९९ प्रतिशत राजनीतिक दलहरू निर्वाचनका लागि तयार भइसकेका छन् । उहाँहरूले मुख्य राजनीतिक दलहरूकै साथमा अरू दलहरूले हामी निर्वाचनको लागि तयार छौँ । निर्वाचनमा अगाडि बढ्छौँ  र निर्वाचनको लागि पनि पार्टीगत रूपमा अगाडि बढेको अवस्था छ । 

बाँकी रहेको केही राजनीतिक दलले निर्वाचनमा भाग लिन्न भन्नुभएको छैन । उहाँहरूले के भन्नुभएको छ भने निर्वाचनबाट हामी पछि हट्दैनौँ । तर सरकारले सुरक्षा र निर्वाचनको वातावरण बनाउनुपर्छ भन्ने उहाँहरूले कुरा छ । यो कुरालाई सरकारले सकारात्मक रूपमा लिएको छ । सरकारले सुरक्षाको वातावरण त बनाउनै पर्छ ।

 सरकार निष्पक्ष, स्वतन्त्र र धाँधलीरहित निर्वाचनको वातावरण बनाउने कुरामा ढुक्क छ । जो राजनीतिक दललाई यसको चासो छ, उहाँहरूलाई पनि म यहाँ मार्फत नै के भन्छु भने सम्पूर्ण सुरक्षाको वातावरण सरकारले बनाउँछ । चुनाव हुन्छ । विश्वस्त भएर सबै दलहरू निर्वाचनमा भाग लिन आग्रह गर्छु । 

७. प्रधानमन्त्री, निर्वाचन आयोग, दलहरू र जेन-जीसँग निरन्तर वार्ता गरिरहनुभएको छ । हामी बुधवार जेन-जी प्रतिनिधि र राजनीतिक दलका प्रतिनिधिबीच वार्ता गर्दैर्छौँ । यो वार्तामा निर्वाचनको माहौल कसरी बनाउन सकिन्छ ? सबैले निर्वाचनमा भाग लिने वातावरण बनाउन सकिन्छ भन्ने हिसाबले कुरा गर्नेछौँ । 

८.चाडपर्व सकियो यो लगतै मुलुक निर्वाचनमा होमिसकेको छ । हामी निर्वाचन गराउँछौँ । सँगसँगै सुशासन र भ्रष्टाचार नियन्त्रक काम अगाडि बढाउने र जनधनको क्षति भएको कुरालाई पनि सरकारले गम्भीर रूपमा लिएको छ र काम गर्छ । 

आयोगमाथिको शंकाले भाँडिएको माहौल

सरकारका प्रवक्ता खरेल नेताहरूलाई कारबाही गरेर निर्वाचन नबिथोलिने बताउँछन् । उनी जाँचबुझ आयोगलाई स्वतन्त्र रूपमा काम गर्न दिएको दाबी गर्छन् । 

भदौ २३ र २४ गतेको आन्दोलनका दोषीलाई आयोगले नै के गर्ने भन्ने निर्णय गर्ने उनको बुझाइ छ । नेताहरूलाई नै कारबाही अगाडि बढाउँदै हुनुहुन्छ भनेर दलहरू रिसाएछन् ? भन्ने प्रश्नमा खरेलले भने, ‘पटकै त्यस्तो छैन । जहाँ जहाँ आपराधिक गतिविधि, जघन्य  अपराध, अनियमितता र समस्या भएको छ । राज्यको नीति अनुसार उसले काम अगाडि बढाउँछ । यसको अनुसन्धान होला । दोषी उम्कन पाउने छैन । तर हामीले कसैलाई बिना कारण सरकारले केही गर्दैन ।’ 

प्रकाशित मिति : १२ कार्तिक २०८२, बुधबार  २ : १२ बजे

बालुवाटारमा वर्षमानको प्रस्ताव: ०४६ पछि सार्वजनिक ओहोदामा बसेकाको सम्पत्ति छानबिन गरौँ

काठमाडौँ- नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुनले ०४६ पछि

दल र जेनजीका प्रतिनिधिलाई प्रधानमन्त्रीले भनिन्– म यहाँ रहरले आएको होइन

काठमाडौँ– प्रधानमन्त्री सुशीला कार्कीले आफू सरकारको नेतृत्व लिन रहरले आएको

बालुवाटार बैठकपछि सागर ढकालः दललाई बाइपास गरेर जान सकिँदैन

काठमाडौँ– सागर ढकाल जेन जीको प्रतिनिधि बनेर प्रधानमन्त्रीको सरकारी निवासमा

सरकार, राजनीतिक दल र जेनजी प्रतिनिधिबीच बैठक : निर्वाचनसँगै सुशासन प्रवर्द्धनमा जोड

काठमाडौं – निर्वाचनको वातावरण बनाउनका लागि सरकार, राजनीतिक दल र

अब चुनाव प्रविधिमैत्री हुनुपर्छ : सागर ढकाल

काठमाडौं – जेन–जी आन्दोलनका अगुवाहरूले राष्ट्रपतिसँग औपचारिक सम्झौताको तयारी भइरहेको