विद्यार्थी निर्वाचनबाट प्रचण्डलाई जनार्दनको धक्का | Khabarhub Khabarhub

विद्यार्थी निर्वाचनबाट प्रचण्डलाई जनार्दनको धक्का

३३ पदाधिकारीमा बहुमत जनार्दन पक्षीय



काठमाडौं– कम्युनिस्ट पार्टीहरूमा ‘दुई लाइन संघर्ष’ नौलो होइन । नेपाली कम्युनिस्टहरू पनि निरन्तर दुई लाइन संघर्ष हुँदै जुटफुटमा लाग्ने गरेका छन्‌ । तिनै कम्युनिस्ट घटकमध्ये नेकपा (माओवादी केन्द्र)मा पनि पछिल्लो समय दुई लाइन संघर्ष प्रष्ट देखिएको छ ।

१० वर्षे सशस्त्र संघर्ष दौरान नै दुई लाइन संघर्षमा खेल्दै रमाउने गरेका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई यसपटक भने उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ले बलियो धक्का दिएका छन् । पार्टीमा एकल पकड बनाउने योजनासहित पालैपालो दोस्रो तहका नेता लिएर हिँड्ने गरेका प्रचण्डले अखिल (क्रान्तिकारी)को चुनावबाट धक्का ब्यहोरेका हुन् ।

कुनै बेला प्रचण्डसँग दुई लाइन संघर्ष चलाएका डा. बाबुराम भट्टराई र मोहन वैद्य ‘किरण’ अहिले माओवादीमा छैनन् । प्रचण्डले चाहिँ पार्टीमा ३५ वर्षदेखि बनाएको एकछत्र राज आफू रहुञ्जेल टिकाउन प्रयत्न गरिरहेका छन्‌ ।

यसअघि २०७८ पुसमा भएको माओवादीको आठौं महाधिवेशनमै पार्टी अध्यक्षमा टक्कर दिन तयार जनार्दन शर्मा र अर्का नेता वर्षमान पुनलाई उपमहासचिवमा खुम्च्याएर आफ्नो सजिलोका लागि सात महिनापछि २०७९ साउनमा देव गुरुङलाई महासचिव बनाएका प्रचण्डका लागि अब भने चुनौती थपिँदैछ ।

आफ्नो पकड नहुने निष्कर्षसहित यसअघि कात्तिकमै भएको अखिल (क्रान्तिकारी)को महाधिवेशन बीचमै रोकेका प्रचण्डले ३२ वर्षे उमेरको नयाँ मापदण्ड ल्याए । त्यसबाट करिब ६०० विद्यार्थी नेता–कार्यकर्ता बढारिँदा पनि बुधबार सम्पन्न महाधिवेशनको नजिताबाट प्रचण्डले नै धक्का ब्यहोर्नुपरेको छ ।

भलै, प्रचण्ड र अर्का उपमहासचिव शक्ति बस्नेतको साथ पाएका विजयप्रकाश सापकोटा क्रान्तिकारीको अध्यक्षमा विजयी भए । तर, उपमहासचिव शर्मा प्यानलले उपाध्यक्ष, महासचिव, बहुमत उपमहासचिव र कोषाध्यक्षसहितका पदाधिकारी पदमा जित निकाल्दै माओवादीको बीउ मानिने क्रान्तिकारीमा पकड बनाएको छ ।

कुनै बेला दुई लाइन संघर्ष चल्दा बाबुरामको पक्षमा रहेका भनिएका शर्मा पछि बाबुरामले नै पार्टी छाडेर गएपछि प्रचण्ड नेतृत्वमै बसेका थिए । बाबुरामलाई छाडेका तिनै जनार्दनले अहिले प्रचण्डलाई बेला–बेला धक्का दिइरहेका छन् ।विद्यार्थीको पछिल्लो निर्वाचन नतिजा चाहिँ प्रचण्ड र उनीनिकटलाई जनार्दनले दिएको हालसम्मकै ठूलो धक्का हो ।

कुनै बेला जनार्दन प्रचण्डसँग मिलेपछि दुवैको सम्बन्ध राम्रो थियो । तर, प्रचण्डले पुरानै कार्यशैलीअनुसार परिवार व्यवस्थापनतिर लागेर पार्टी लथालिङ्ग बनाएको भन्दै रुष्ट शर्मा ०७९ को निर्वाचनपछि टाढिन थाले । त्यसपछि सम्बन्ध चिसिन थाल्यो ।

जनार्दनले दाजु मान्दै साथ दिइरहँदा प्रचण्डले परिवारका सदस्यलाई अवसर दिन थालेको गुनासो बढ्यो । त्यसपछि शर्मा टाढिन थालेका थिए । ०७० र ०७४ को निर्वाचनसम्म पार्टीमा जनार्दनले आफ्नो पकड बनाइसकेका थिए । तर, खुलेर प्रचण्डको कार्यशैलीबारे बोलेका थिएनन् ।

०६४ मा देशको पहिलो पार्टी भएको माओवादी ओरालो यात्रामा लाग्यो । ०७० को निर्वाचनपछि माओवादीमा नयाँ गुट जन्मिए । वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, जनार्दन शर्मा, वर्षमान पुन, पम्फा भुसालसहितका गुट अहिले पनि सक्रिय छन् ।

यीनमा सबैभन्दा चर्चा जनार्दन र प्रचण्ड समूहको छ । अहिले जनार्दनका प्रतिस्पर्धी भनिने अर्का उपमहासचिव वर्षमान पुनलाई प्रचण्डले साथ लिएर हिँड्ने गरेका छन् । केही दिनअघि तेह्रथुम यात्रामा प्रचण्डलाई साथ दिन वर्षमान पनि सहभागी थिए ।

जनार्दनको प्रभाव

गत असार ३० गते सत्ताबाट हात धुनुपरेपछि प्रचण्ड जनता फकाउन भन्दै देश दौडाहामा छन् । उनी जहाँ जहाँ पुग्छन् – माओवादीका सहिद परिवारको घरमा पुगेर भात खान छुटाउँदैनन् ।

शान्ति प्रक्रियामा आएयता निरन्तरजसो सत्तामा रहेका प्रचण्ड अहिले फेरि नेपाली कांग्रेस र नेकपा (एमाले)को गठबन्धन भत्कियोस् भनी कामना गरिरहेका छन् । प्रचण्डको सत्तामुखी चरित्रका कारण नेताहरूले निराशा व्यक्त गर्ने गरेका छन्‌ ।

गएको असार ३० मा प्रधानमन्त्री पद गुमाएपछि प्रचण्ड ‘पार्टीलाई ०६४ मा फर्काउने’ भन्दै देश दौडाहामा छन् । प्रचण्ड देश दौडाहामा जानुअघि नै जनार्दन कतिपय जिल्ला घुमेर आइसकेका रहेछन् । त्यसैको जगमा टेकेर उनले साउन अन्तिम साताको स्थायी कमिटी बैठकमा एक दस्तावेज प्रस्तुत गरे ।

अध्यक्ष प्रचण्डसहितका पदाधिकारीहरू संरक्षकको भूमिकामा रहने र तेस्रो पुस्ताका युवालाई नेतृत्व हस्तान्तरण गर्नुपर्ने प्रस्ताव शर्माको थियो ।

तर, प्रचण्ड भने जनार्दनको प्रस्ताव पारित नगर्ने पक्षमा थिए । अरू नेताले पनि जनार्दनलाई थामथुम बनाए । त्यसपछि पनि जनार्दनले पार्टीमा प्रचण्डसँग लडाइँ जारी राखेका छन् । पार्टी पदाधिकारी र स्थायी कमिटी बैठकमा उनको स्वर मुखर भइरहेको छ ।

बुधबार सम्पन्न अखिल क्रान्तिकारीको निर्वाचनबाट जनार्दनले पार्टीमा पार्टीमा पकड बनाउँदै गएको देखाएको छ । क्रान्तिकारीका ३३ जना पदाधिकारीका लागि भएको निर्वाचनमा जनार्दन प्यानलकै २० जना निर्वाचित भएका छन् । विभिन्न आयोगमा पनि जनार्दन समूहले पकड बनाएको छ ।

प्रचण्डलाई धक्का

क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलन असोज दोस्रो साता नै हुने तालिका थियो । तर, नयाँ नेतृत्व चुन्न उमेर हद लगाउनुपर्ने पक्षमा आवाज उठेपछि २३ सय २३ जना विद्यार्थी नेता काठमाडौं आएर पनि रित्तै फर्कनुपरेको थियो । त्यसबेला उमेर हदको पक्ष र विपक्षमा लडाइँ हुँदा कुर्सी भाँचाभाँच र हानाहान भयो ।

त्यसपछि बसेको माओवादी पदाधिकारी तथा स्थायी कमिटी बैठकले उमेर हद लागू गर्ने–नगर्नेबारे सबै जिल्लाबाट मतदान गर्न लगायो । पुस १५ मा आएको नतिजाअनुसार ३२ वर्षे उमेरहद लागू भएपछि क्रान्तिकारीका झन्डै ६ सय नेता एकसाथ बढारिए ।

उमेरहदको पक्षमा जनार्दननिकट विद्यार्थी थिए । जनार्दनले ३२ वर्ष उमेर नाघेकालाई पार्टी राजनीतिमा ल्याएर मुनिकालाई निर्वाचित गराउनुपर्ने पक्षमा भूमिका खेले ।

उमेरहद लागू भएपछि भएको निर्वाचनबाट बुधबार क्रान्तिकारीको अध्यक्षमा ३१ वर्षीय विजयप्रकाश सापकोटा विजयी भए । उनका निकटतम प्रतिदन्दी जनार्दन समूहका हेमन्त राई ७३ मतान्तरले पराजित भए ।

सापकोटा प्रचण्ड र उपमहासचिव शक्ति बस्नेत प्यानलका हुन् । अन्य पदाधिकारीमा प्रचण्ड समूह अल्पमतमा छ । महासचिवमा जनार्दन समूहका रोशन थापा मगर निर्वाचित भए ।

क्रान्तिकारीका नौ जना उपमहासचिवमध्ये सातजना शर्मा प्यानलबाट निर्वाचित भएका छन् । उपमहासचिवमा प्रचण्ड पक्षका एक र उपाध्यक्ष नारायणकाजी श्रेष्ठ समूहबाट एकजना निर्वाचित भए ।

को कुन नेतानिकट ?

अध्यक्ष – विजयप्रकाश सापकोटा : प्रचण्डनिकट
उपाध्यक्ष – अटल आचार्य : पम्फा भुसाल, देव गुरुङनिकट
उपाध्यक्ष – मदन ढकाल : पम्फा भुसाल, देव गुरुङनिकट
उपाध्यक्ष – विराज थापा : राम कार्कीनिकट
उपाध्यक्ष – दीपा जैसी : तटस्थ
उपाध्यक्ष – ममता अधिकारी : जनार्दननिकट
उपाध्यक्ष – सन्दीप पुन : जनार्दननिकट
उपाध्यक्ष – कृष्णबहादुर सुनार : जनार्दननिकट
उपाध्यक्ष – अभिमन्यू यादव : जनार्दन र रञ्जित तामाङनिकट
उपाध्यक्ष – उमेश कँडेल : जनार्दननिकट
महासचिव – रोशन थापामगर : जनार्दननिकट
उपमहासचिव – विपीन पोखरेल : प्रचण्ड/वर्षमान पुननिकट
उपमहासचिव – गजेन्द्र यादव : जनार्दननिकट
उपमहासचिव – निर्मला गौतम : जनार्दननिकट
उपमहासचिव – भगवान बास्तोला : जनार्दननिकट
उपमहासचिव – रेशम अधिकारी : जनार्दननिकट
उपमहासचिव – प्रकाश अधिकारी : जनार्दननिकट
उपमहासचिव – रामचन्द्र भट्ट : जनार्दननिकट
उपमहासचिव – निरोज श्रेष्ठ : नारायणकाजी श्रेष्ठनिकट
उपमहासचिव – जटिल कार्की : जनार्दननिकट
सचिव – प्रेम जैसी : नारायणकाजी श्रेष्ठनिकट
सचिव – वीरेन्द्र जिसी : जनार्दननिकट
सचिव – शिशिर बस्याल : पम्फा भुसाल/देव गुरुङनिकट
सचिव – सम्झना राई : जनार्दननिकट
सचिव – तिर्सना आले मगर : वर्षमाननिकट
सचिव – संस्कृति पुन : जनार्दननिकट
सचिव – आर्टिस्ट मोक्तान : जनार्दननिकट
सचिव – आशा उपरकोटी : वर्षमाननिकट
सचिव – अमर मण्डल : जनार्दननिकट
सचिव – जीतेन्द्र भण्डारी : वर्षमाननिकट
सचिव – युन्छो हाङ्ग माबो : जनार्दननिकट
कोषाध्यक्ष – फूलमाया रानामगर : जनार्दननिकट

माथिको सूची हेर्दा क्रान्तिकारीको पदाधिकारीमा जनार्दन पक्षका २० जना अर्थात् बहुमत निर्वाचित भएका छन् । अध्यक्ष प्रचण्ड र उपमहासचिव वर्षमान पुनको समूह कमजोर देखिएको छ ।

यस्तै; उपाध्यक्ष भुसाल र महासचिव गुरुङ समूहबाट पनि केही विद्यार्थी प्रतिनिधि पदाधिकारीमा आएका छन् । वरिष्ठ उपाध्यक्ष नारायणकाजीनिकट विद्यार्थीहरूको पनि झिनो उपस्थिति देखिएको छ ।

गाउँ बुझेका सापकोटा र सहर चिनेका थापा

अध्यक्षमा निर्वाचित सापकोटा सुरुमा उमेर हद लगाउने पक्षमा थिएनन् । ‘उमेर हद खुल्ला हुनुपर्छ भनेर हिँड्ने सापकोटाले जित्नुभयो । उपाध्यक्षहरू पनि उमेर हद नलगाउने पक्षका आए’, एक विद्यार्थी नेताले भने, ‘सापकोटा गाउँको विद्यालयमा दु:ख बुझेका हुनुहुन्छ । महासचिव थापा मगर काठमाडौंका कलेजको राजनीति बुझेका भएकाले उत्साहित छौँ ।’

महासचिव थापा ०७४ को स्ववियु निर्वाचनमा पुलचोक क्यापसको स्ववियु सभापति भइसकेका छन् । उनले काठमाडौंका क्यापसको राजनीति बुझेका छन् ।

‘सबैको प्रतिनिधित्व, जनार्दन बलियो’

क्रान्तिकारीको निर्वाचनमा सहिद परिवारको राम्रो प्रतिनिधित्व भएको छ । उपाध्यक्ष अटल आचार्य सहिद परिवारका हुन् । अर्का उपाध्यक्ष सन्दीप पुनका बाआमा नै माओवादी सहिद हुन् ।

उपमहासचिव जटिल कार्की पनि माओवादी सहिद परिवारबाट प्रतिनिधित्व गर्छन् । यस्तै सचिव युन्छो हाङ्ग माबोका बुबा पनि माओवादी सहिद हुन् ।

‘मिडियामा आएजस्तो त्यस्तो गुट छैन । झल्को त आउँछ । यसले ठूलो सन्देश दिएको छ । माओवादीका एक पदाधिकारीले भने, ‘प्यानल पनि अघोषित थियो । प्रभाकरले चाहिँ प्यानल बलियो बनाउनुभएको रहेछ । सहिदका छोराछोरी पनि आए । उहाँहरूलाई प्यानलमा राख्दा अपमान होला । उहाँहरू जहाँबाट उठेपनि जित्नुहुन्थ्यो । अध्यक्ष र महासचिव फरक प्यानलबाट आउनुभयो । लोकप्रिय मान्छेले चुनाव जिते । प्रभाकर दाइको प्यानल बलियो देखियो ।’

निर्वाचनबाट उत्साह : पूर्वअध्यक्ष सिंह

क्रान्तिकारीको इतिहासमा पहिलो पटक महिला अध्यक्ष बनेकी पञ्चा सिंहको कार्यकाल सकिएपछि नयाँ नेतृत्व चयन भएको हो । पञ्चालाई २०७८ असोज २७ गते प्रचण्डले सर्वसम्मत अध्यक्ष बनाएका थिए। उनी यो पटकको निर्वाचनले सही सन्देश दिएको बताउँछिन् ।

‘म जटिल समयमा अध्यक्ष भएँ । यो पटक निर्वाचनबाटै नेतृत्व आएपछि सबैमा उत्साह छाएको छ । सन्देश पनि राम्रो भएको छ । मिडियामा आएजस्तो गुट छैन । तर विद्यार्थीले आफूले नै रोजेर नेता चुन्नुभएको छ,’ सिंहले खबरहबलाई भनिन, ‘म विश्वस्त छु, यो नेतृत्वले विद्यार्थीको नयाँ स्वरूप र भिजन स्थापित गर्नेछ । यस पटकबाट टीके प्रथा पनि हटेको छ ।’

उनी अब विद्यार्थी राजनीतिबाट बिदा भएकालाई पार्टीले उचित जिम्मेवारी दिनुपर्ने बताउँछिन् । ‘निर्वाचन उत्साहसँगै धेरै युवा विद्यार्थीहरू बिदा हुनुभएको छ,’ उनले भनिन्, ‘नेतृत्वले विद्यार्थी राजनीतिबाट बिदा भएकालाई उचित जिम्मेवारी दिएर पार्टीलाई जगाउन सक्नुपर्छ । अब माओवादी जाग्नुपर्छ ।’

प्रकाशित मिति : १७ माघ २०८१, बिहीबार  ७ : ५३ बजे

बागमती प्रदेशको भाषा ऐन कार्यान्वयनको दिशामा छ : मुख्यमन्त्री तामाङ

काठमाडौं – बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले ल्होछार मनाउने

टाइगर कप भलिबल : गण्डकी एलिमिनेटरमा

कास्की – पोखरामा जारी टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल

नासाका दुई अन्तरिक्षयात्रीले गरे पहिलो पटक एकसाथ स्पेस वाक

केप क्यानभेरल – नासाका फसेका दुई अन्तरिक्ष यात्रीले अन्तर्राष्ट्रिय अन्तरिक्ष

ताप्लेजुङमा अलपत्र ३९ तीर्थयात्रीको उद्धार

काठमाडौं – केबलकार निर्माण खारेजीको मागसहित आन्दोलनमा उत्रिएको समूहले आयोजना

सामाजिक सञ्जाल विधेयक फिर्ता लिन रास्वपाको माग

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले राष्ट्रियसभाबाट दर्ता भएको सामाजिक