कोशी सरकारका महत्वाकांक्षी ३५ परियोजना, कोदोको रक्सीदेखि मोनोरेल प्रोजेक्टसम्म | Khabarhub Khabarhub

कोशी प्रदेश लगानी सम्मेलन

कोशी सरकारका महत्वाकांक्षी ३५ परियोजना, कोदोको रक्सीदेखि मोनोरेल प्रोजेक्टसम्म

लगानी सम्मेलनमा १ खर्ब ३९ अर्बका ५४ परियोजना प्रस्तुत हुने


१७ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : 12 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रादेशिक समृद्धिको आधारः जलस्रोत, पर्यटन, कृषि र पूर्वाधार भन्ने नाराका साथ कोशी प्रदेश सरकारले लगानीका लागि राष्ट्रिय– अन्तर्राष्ट्रिय क्षेत्रलाई निम्तो दिएको छ ।

वैशाख १८ र १९ गते कोशी प्रदेशको राजधानी विराटनगरमा आयोजना हुने लगानी सम्मेलनमा १ खर्ब ३९ अर्बको लगानी र ५४ आयोजना प्रस्तुत हुनेछन् । प्रदेशका सम्भावनायुक्त क्षेत्रको पहिचान गर्दै प्रदेश सरकारले लगानीको आह्वान गर्ने मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बताए ।

उद्योग स्थापनामार्फत पुँजी निर्माण, रोजगारी सिर्जना र गरिबी निवारण गर्ने उद्देश्यसाथ लगानी सम्मेलन आह्वान गरिएको प्रदेश लगानी प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक सरोज कोइरालाले जानकारी दिए ।

लगानी सम्मेलनमा सबैभन्दा धेरै लगानी औद्योगिक क्षेत्रमा हुनेछ । उद्योग क्षेत्रमा ६५ अर्ब ४० करोड लागतका ९ आयोजना प्रस्तुत गरिने छ । सबैभन्दा ठूलो आयोजना उदयपुरस्थित ३२ अर्ब लागतको उदयपुर क्लिंकर प्रोजेक्ट हो । २६ अर्बको ग्रिन हाइड्रोजन एन्ड केमिकल फर्टिलाइजर प्रोजेक्टले सुनसरी र उदयपुरलाई समेट्ने छ ।

पर्यटन क्षेत्रका लागि १५ आयोजना छन् । जसको कुल लागत ३५ अर्ब ९७ करोड ५२ लाख छ । २५ अर्ब लागतको ताप्लेजुङ–इलाम पोड–वे परियोजना सबैभन्दा ठूलो परियोजना हो । पूर्वाधार क्षेत्रका लागि प्रस्तुत १४ आयोजनाका लागि ३१ अर्ब १ करोड लागत राखिएको छ । कृषि क्षेत्रमा ३ अर्ब ८ करोडका ९ आयोजना छन् भने ऊर्जा क्षेत्रमा २ अर्ब ७७ करोड लागतका २ आयोजना राखिएका छन् ।

यहाँ हेरौँ, कोशी प्रदेश सरकारका महत्वकांक्षी ३५ परियोजना, कोदोको रक्सीदेखि मोनोरेल प्रोजेक्टसम्म

कोदोको रक्सी परियोजना, सोलुखुम्बु

स्थानीय कोदोबाट परम्परागत रुपमा बन्दै आएको रक्सीलाई प्रदेश सरकारले लगानी सम्मेलनमा कोदोको रक्सी परियोजनाअन्तर्गत लगानी आह्वान गर्ने छ । यो परियोजना कोशी प्रदेशको सोलुखुम्बुमा निर्माण हुने छ । नेपालमा वार्षिक ३ अर्ब ७२ करोड रूपैयाँ बराबरको विदेशी मदिरा आयात हुने गरेको तथ्याङ्कले देखाएको छ ।

नेपालमा यति ठूलो परिमाणमा विदेशी मदिरा भित्रिँदा स्वदेशमै उत्पादन हुने कोदोको रक्सीलाई व्यवस्थित गरेर बिक्री वितरण गर्नुपर्ने आवाज सडकदेखि सदनसम्म उठेको छ । कोशी प्रदेश सरकारले यो आवाजलाई नीतिगत रुपमा सम्बोधन गर्ने प्रयास गरेको देखिन्छ ।

फोहोर प्रशोधन केन्द्र (दुहबी)

सुनसरीको दुहबीमा रहेको शहरी ठोस फोहोर व्यवस्थापन तथा ढल प्रशोधन केन्द्र परियोजनाले यस क्षेत्रमा बढ्दो वातावरणीय र जनस्वास्थ्य समस्यालाई सम्बोधन गर्ने लक्ष्य राखेको छ । प्रदेश सरकारले यसलाई परिवर्तनकारी पहल भनेको छ ।

नेपालको भिजन २०४३ र दिगो विकास लक्ष्यहरूसँग मिल्दोजुल्दो गरी उचित फोहोर व्यवस्थापन, ढल प्रशोधन र वातावरणीय दिगोपन सुनिश्चित गर्ने लगानी प्राधिकरणले जनाएको छ । यस परियोजनाले स्थानीयको जीवनस्तर उठाउनेछ र दिगो शहरी विकासमा योगदान पुर्‍याउने छ ।

साइन्स सेन्टर मोरङ

विगत १५० वर्षमा विज्ञान र प्रविधिको प्रगतिले मानव र सामाजिक विकासमा प्रमुख भूमिका खेलेको छ । लाखौं मानिसको जीवन गुणस्तरीय र आमूल परिवर्तन भएको छ ।

यो परियोजनाले सहज रूपमा उपलब्ध र कम लागतका सामग्रीबाट विशेष डिजाइन गरिएका उपकरणहरू निर्माण गर्न सकिने प्रदेश सरकारको विश्वास छ । यो परियोजनाले विज्ञान र प्रविधिका क्षेत्रमा सहभागी हुन जनताको चासो बढाउने छ । प्रदर्शनी र कार्यशालाहरूको आयोजनाले विज्ञान र प्रविधिका क्षेत्रमा जनतालाई थप बुझ्न र पहुँचयोग्य बनाउन मद्दत गर्दछ ।परियोजनाअन्तर्गत विज्ञान सङ्ग्रहालय, प्लानेटेरियम स्पेस सेन्टर र रकेट गार्डन वाटर किङ्डम, बाल उद्यान, रेस्टुरेन्ट र विद्यार्थीका लागि होस्टेल निर्माण हुनेछ ।

कोशी प्रदेशको डिजिटल रुपान्तरण

विश्वव्यापी रूपमा डिजिटल टेक्नोलोजीको द्रुत विकास र अपनत्वले नागरिकसँग डिजिटल टेक्नोलोजीबाट कसरी अन्तक्र्रिया गर्ने भन्ने सरकारको मुख्य ध्यान हुन आवश्यक देखिन्छ । कोशी प्रदेश सरकारले डिजिटल रूपान्तरणको पहल गर्ने काममा आफूलाई नेतृत्वदायी बनाउन प्रयास गरेको छ ।

लगानी सम्मेलनमार्फत् प्रदेशले यो अवसरलाई सदुपयोग गर्नेछ । यो परियोजनाले दक्षता, पारदर्शिता र समावेशीताका लागि ‘बेन्चमार्कहरू’ सेट गर्न सक्छ भन्ने प्रदेश सरकारको विश्वास छ । यो परियोजनामा लगानीकर्ताले आफ्नै लगानीमा आयोजना सम्पन्न गर्नेछन् । कोशी प्रदेश सरकारको लागत शून्य हुनेछ ।

जडिबुटी प्रशोधन परियोजना

नेपाल बहुमूल्य जडीबुटीले सजिएको देश हो । नेपालमा जडीबुटीको प्रचुर स्रोत भएपनि त्यसको उचित उपयोग र वातावरणीय दिगो योजना कायम हुन सकेको छैन । साथै, पश्चगामी परम्परागत औषधि प्रशोधन प्रविधि र कम अनुसन्धान, न्यून विकास क्षमता चुनौतीका रूपमा देखा परेको छ ।

जसले घरेलु बजारको माग पूरा गर्नसमेत सकेको छैन । नेपालको औषधिको कुल बजार वार्षिक ५० हजार मिलियन रहेको छ । यो परियोजनाले जडीबुटीको आयात घटाउन र छिमेकी देशमा निर्यात सुरु गर्न मद्दत गर्नेछ ।

सङ्ग्रहालय निर्माण

विराट राजाको दरबार नेपालको पूर्वी भागको सबैभन्दा पुरानो सम्पदा हो । यसले शहरको आकर्षणमा मुख्य भूमिका खेल्नसक्छ । विराटनगर महानगरपालिकाको दक्षिणपट्टि भेडियारीमा अवस्थित छ । यो नेपाल र भारतको सिमाना नजिकै वडा नं १८ मा अवस्थित छ ।

यस दरबारले हिन्दू पौराणिक कथा, महाभारत कालसँग सम्बन्धित ऐतिहासिक र धार्मिक महत्व राख्दछ । दरबारभित्र रानीपोखरी, विराटेश्वर शिवलिङ्ग, विराटराजाको धरहरा पोखरी, किच्चकबध पोखरी, भन्सिया पोखरीलगायतका सम्पदा छन् । महाभारतकालमा यस क्षेत्रमा शासन गर्ने राजा विराट राजाको नामबाट विराटनगरको नामकरण गरिएको हो ।

एग्रो प्रशोधन केन्द्र दुहबी

एग्रो प्रशोधन केन्द्र दुहबी नगरपालिकाले करिब ९ करोड रुपैयाँको लागतमा निर्माण गरेको हो । केन्द्रमा अत्याधुनिक प्रशोधन सुविधा र प्रशासनिक भवन निर्माण भएको छ । एउटा शीत भण्डार, गोदाम र पर्याप्त पार्किङ स्थलसमेत रहेको छ । प्रशोधन केन्द्र सञ्चालनका लागि तयार छ ।

कन्काई–इलाम–सन्दकपुर पोड–वे

कन्काई–इलाम पोडवे परियोजनाले न्यूनत्तम शहरी पूर्वाधार, अक्षम यातायात प्रणाली र ट्राफिक जामजस्ता विद्यमान चुनौतीलाई समाधान गर्छ । कनकाईदेखि सन्दकपुर नगर क्षेत्रसम्म सार्वजनिक यातायात पूर्वाधारको विस्तारमा ध्यान केन्द्रित गरी प्रदेश सरकारले लगानी सम्मेलनमा यो परियोजनालाई समावेश गरेको छ ।

परियोजनाले वास्तविक यातायात प्रणाली र उन्नत सुविधाका साथ माग आपूर्ति अन्तरलाई सम्बोधन गर्ने लक्ष्य राखेको छ । आयोजनाले प्रदेशको आय, रोजगारी र आर्थिक वृद्धिमा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ ।

एकीकृत फोहरमैला व्यवस्थापन परियोजना, मेचीनगर

झापाको मेचीनगर नगरपालिकामा शहरी ठोस फोहरमैला व्यवस्थापन तथा ढल प्रशोधन प्लान्ट परियोजनाले यस क्षेत्रमा बढ्दो वातावरणीय र जनस्वास्थ्यसम्बन्धी चासोलाई सम्बोधन गर्ने लक्ष्य राखेको छ ।

यो रूपान्तरकारी पहलले नेपालको भिजन २०४३ र दीगो विकास लक्ष्य (एसडीजी) सँग मेल खाने गरी उचित फोहरमैला व्यवस्थापन, ढल प्रशोधन र वातावरणीय स्थायित्व सुनिश्चित गर्नेछ । यस परियोजनाले स्थानीयको जीवनस्तर उकास्नेछ र दिगो सहरी विकासमा योगदान पु¥याउने कोशी प्रदेश सरकारको विश्वास छ ।

विराटनगर बहुउद्देश्यीय व्यावसायिक कम्प्लेक्स

शहर निरन्तर बढ्दै र विकसित हुँदै जाँदा दिगो आर्थिक विकास र सामुदायिक प्रयोजनका लागि आवश्यक छ यो परियोजना । प्रस्तावित भवन १०० मिटर अग्लो नेपालकै सबैभन्दा अग्लो भवन हुनेछ । भवनमा सुपरमार्केट, अफिस, सर्भिस अपार्टमेन्ट, पाँचतारे होटल र मनोरञ्जनका केन्द्र रहनेछन् । विराटनगर महानगरपालिकाको स्वामित्वमा रहेको मुख्य सहरमा ११ कट्ठा जग्गामा भवन निर्माण हुनेछ ।

भेडेटार बहुउद्देश्यीय कम्प्लेक्स

भेडेटार कोशी प्रदेशको सबैभन्दा व्यस्त र सुन्दर हिल स्टेशन हो । भारतीय सीमावर्ती सहर जोगबनीबाट करिब ६० किलोमिटर, विराटनगरबाट ५० किलोमिटर र धरानबाट करिब २० किलोमिटरको दूरीमा छ । स्काई वाक, बन्जी जम्पिङ, स्काइ साइक्लिङ र धेरै साहसिक गतिविधिहरू यहाँ उपलब्ध छन् ।

भेडेटारको मौसमको विविधताले हरेक सप्ताहन्तमा हजारौं पर्यटकलाई आकर्षित गरिरहेको छ । बहुउद्देश्यीय कम्प्लेक्सले शहरलाई पर्यटकहरूको बसाइ विस्तार गर्न र उनीहरूको बसाइ लम्ब्याउन मद्दत गर्न सक्ने प्रदेश सरकारको विश्वास छ ।

एक्सिस फाइभ स्टार होटल विराटनगर

प्रस्तावित आयोजना विराटनगरको रिङरोडमा रहेको छ । यो विमानस्थलबाट १ किलोमिटर दूरीमा छ । कोशी प्रदेशको राजधानी शहर विराटनगरका होटलमा अधिकांश भारतीय र नेपाली पाहुनालाई सेवा प्रदान गरिँदै आएको छ । यो होटल प्रदेशकै उत्कृष्ट पाँचतारे होटलमध्ये एक हुनेछ । हरियाली, बास्केटबल कोर्ट र बालबालिकाको खेलमैदानका लागि ८ हजार ६ सय ६० वर्गमिटरको क्षेत्रफलमा रहने छ ।

खाँदबारी–नुम पदमार्ग, सङ्खुवासभा

पर्यटन नेपालको सबैभन्दा ठूलो विदेशी मुद्रा र राजस्वको स्रोत हो । पर्यटनको प्रचुर सम्भावना हुँदाहुँदै पनि कोशी प्रदेशको कुल गार्हस्थ उत्पादनमा १.९३ प्रतिशत मात्र योगदान रहेको छ भने राष्ट्रिय कुल गार्हस्थ्य उत्पादनमा ७.९ प्रतिशत योगदान रहेको छ । कोशी प्रदेश सांस्कृतिक विविधता र जैविक विविधतायुक्त छ ।

यहाँ विश्वका सबैभन्दा अग्ला पाँच वटा हिमाल छन् । सबैभन्दा पुरानो र प्रसिद्ध चिया बगान इलाम क्षेत्रमा पर्छ । नेपालका धेरै भाषिक समूहहरू कोशी प्रदेशमा बस्छन् । यहाँको धार्मिक, सांस्कृतिक परम्परा विशिष्ट छ । जुन पर्यटनका लागि महत्त्वपूर्ण सम्पत्ति हो । कोशी प्रदेश हिन्दू र बौद्ध धर्मावलम्बीका लागि महत्वपूर्ण तीर्थस्थलका रुपमा पनि परिचित छ ।

यो सम्पत्तिले पर्यटन उत्पादन र विकासका लागि आधार प्रदान गर्दछ । कोशी प्रदेश सरकारका अनुसार सन् २०१५ देखि हालसम्म छनोट भएको कोशी प्रदेशका १० पर्यटकीय गन्तव्यमा आन्तरिक पर्यटकको आगमनमा वार्षिक औसत आय ३२ प्रतिशतले वृद्धि भएको छ । खाँदबारी–नुम पदमार्गलाई पर्यटनसँग जोड्न सके कोशी प्रदेशमा बाह्य पर्यटक भित्र्याउने माध्यम बन्न सक्ने प्रदेश सरकारको विश्वास छ ।

चौरीखर्क नाम्चे रोपवे, सोलुखुम्बु

नाम्चे बजार सगरमाथा क्षेत्रमा अवस्थित सगरमाथा राष्ट्रिय निकुञ्जको प्रवेशद्वार हो । यस क्षेत्रमा वार्षिक ४० हजारको हाराहारीमा पर्यटक आउने गरेका छन् । पर्यटकको प्रवाहले यस क्षेत्रको चहलपहल बढाएको छ । पर्यटन लक्षित यहाँको माग पूरा गर्न वार्षिक करिब ६० लाख केजी सामान ढुवानी गर्नुपर्ने हुन्छ ।

यी सामानहरूको ढुवानीका २ दिन लगाएर भरिया र खच्चडद्वारा ढुवानी गरिन्छ । त्यसैले चौरीखर्कदेखि नाम्चे बजारसम्म ४ किलोमिटर लामो रोपवेमार्फत् परम्परागत यातायातलाई प्रतिस्थापन गर्न सके समय र लागतको पनि बचत प्रदेश सरकारको विश्वास छ ।

चौरीखर्क छेदिङमा केबलकार सोलुखुम्बु

नाम्चे बजार सगरमाथा क्षेत्रमा अवस्थित सगरमाथा राष्ट्रिय निकुञ्जको प्रवेशद्वार हो । यस क्षेत्रमा वार्षिक ४० हजारको हाराहारीमा पर्यटक आउने गरेका छन् । केबुलकार चौरीखर्कदेखि छेदिनमासम्म विस्ता गर्नका लागि यो परियोजना अघि सारिएको छ । यो परियोजनाले पर्यटकलाई सगरमाथालगायत खुम्बु क्षेत्रको हिमाली दृश्यावलोकन गर्न मद्दत गर्ने कोशी प्रदेश सरकारको विश्वास छ । यो परियोजनाले अशक्त र ज्येष्ठ नागरिकको सगरमाथा पुग्ने सपना पूरा गर्न मद्दत गर्नेछ ।

कन्याम मोनोरेल परियोजना

मोनोरेल पर्यटकका लागि थप आकर्षणको केन्द्र बन्नेछ । यो नेपालकै पहिलो मोनोरेल सेवा हुनेछ । जसले कन्यामको वडा नं ६ देखि वडा नं ८ मानेडाँडासम्मको सात किलोमिटर दूरी तय गर्नेछ ।

इथेनल प्रोसेसिङ प्लान्ट परियोजना

नेपालले भारतबाट करिब चार अर्ब बराबरको पेट्रोलियम पदार्थ आयात गर्ने गरेको छ । यो मुलुकको कुल आयातको करिब १५ प्रतिशत हो । ईन्धन निर्भरता कम गर्न र किसानहरूलाई बढावा दिन यो परियोजना धेरै उपयोगी हुने कोशी प्रदेश सरकारको भनाइ छ । किसानहरूले सिमलतरुल उत्पादन गर्नेछन् र कारखानाले यसलाई प्रशोधन गरेर इथानोल बनाउनेछ ।

इथानोललाई डिजेल र पेट्रोलमा करिब १५ प्रतिशत सिधै मिसाउन सकिन्छ । बढ्दो अर्थतन्त्र, बढ्दो जनसङ्ख्या, बढ्दो शहरीकरण, विकास र खर्च गर्ने शक्तिको वृद्धिका कारण हाम्रो देशमा ऊर्जाको माग पनि बढिरहेकाले यो परियोजना कोशी प्रदेशका लागि महत्त्वपूर्ण हुने सरकारको विश्वास छ ।

काँकडभिट्टा बसपार्क परियोजना

काँकडभिट्टामा रहेको बहुतले बस टर्मिनल नेपालको पूर्वी क्षेत्रमा यातायातको आधुनिकीकरण गर्ने उद्देश्यले निर्माण गरिएको परिवर्तनकारी सार्वजनिक पूर्वाधार परियोजना हो । रणनीतिक रुपमा मेचीनगर नगरपालिकामा अवस्थित काँकडभिट्टा आन्तरिक तथा क्षेत्रीय ट्रान्जिटको प्रमुख केन्द्र मात्र नभएर भारतसँगको सक्रिय सीमा नाका पनि हो ।

जसले सीमापार व्यापार, पर्यटन र यात्रुको आवागमनलाई सहज बनाएको कोशी प्रदेश सरकारको विश्वास छ । यो परियोजनाले नेपालको भिजन २०४३ र दिगो विकास लक्ष्य (एसडीजी) सँग मेल खाने सरकारको विश्वास छ । कनेक्टिभिटी बढाउन र सामाजिक–आर्थिक वृद्धिमा यो परियोजनाले सहयोग पु¥याउने छ ।

बुद्धपार्क चित्रे गुम्बा केबलकार परियोजना, इलाम

सूर्योदयमा वार्षिक पर्यटकको चाप २.५ लाखभन्दा बढी हुने र अधिकांश पर्यटकले चिया बगानको भ्रमण गर्ने साथै अन्तुडाँडाबाट सूर्योदय अवलोकनबाहेक अन्य कुनै मनोरञ्जनात्मक गतिविधि गर्दैनन् । यहाँ पर्यटकलाई कम्तिमा ३ दिनका लागि होल्ड गर्न र मनोरन्जनात्मक गतिविधि थप गर्न सकिन्छ । प्रस्तावित केबलकार यसका लागि उपयोगी हुनेछ प्रदेश सरकारको विश्वास छ ।

हरियो हाइड्रोजन र रासायनिक उर्वरक परियोजना

हरित हाइड्रोजनले नेपाललाई ऊर्जा र वातावरणीय चुनौतीको सामना गर्न महत्वपूर्ण अवसर प्रदान गर्दछ । स्वच्छ ऊर्जा उत्पादनका लागि प्रचुर मात्रामा जलविद्युत स्रोतहरूको उपयोग आवश्यक छ । विश्वव्यापी मञ्चमा, हरित हाइड्रोजनले सन् २०५० सम्ममा अन्तिम ऊर्जा मागको २२% परिपूर्ति गर्ने प्रक्षेपण गरिएको छ ।

जसले डिकार्बोनाइजेशनका लक्ष्य प्राप्त गर्नका लागि आधारशिलाका रूपमा रहनेछ । नेपालको हालै पारित हरित हाइड्रोजन नीतिले दिगो ऊर्जा सङ्क्रमणको लागि राष्ट्रको आकांक्षासँग मेल खाने गरी लगानी आकर्षित गर्न र परियोजना विकासलाई सक्षम बनाउन सहयोगी हुने कोशी प्रदेश सरकारको विश्वास छ ।

देउमाई कफी फार्म

इलामको देउमाई नगरपालिका वडा नं ५ जितपुरमा बृहत् कफी खेती परियोजना स्थापना गर्ने प्रस्ताव गरिएको छ । यो परियोजनाको प्रारम्भिक चरणमा एक हजार रोपनी जग्गामा प्रिमियम गुणस्तरको अरेबिका कफी खेतीमा केन्द्रित छ । घरेलु तथा अन्तर्राष्ट्रिय बजारका लागि उच्च मूल्यको कफी उत्पादन गर्न यो परियोजना आवश्यक हुनेछ । जैविक र आधुनिक प्रविधिको संयोजन गर्दै दिगो कृषिका लागि नमूना फार्म निर्माण गर्ने कोशी प्रदेश सरकारको लक्ष्य रहेको छ ।

परियोजनाको दिगोपन र वातावरणीय सुधारका लागि पशुपालन र जैविक जैविक मल उत्पादनसमेत गर्ने छ । नेपालमा सरकारी प्रोत्साहन, उर्वर भूमि र उपयुक्त हावापानीका कारण कफी उत्पादनले गति लिइरहेको छ । उल्लेखनीय कफी आयातको बावजुद घरेलु उत्पादनमा ठूलो वृद्धिको सम्भावना रहेको प्रदेश सरकारको विश्वास छ । यस परियोजनाले स्थानीय आर्थिक विकासमा योगदान पु¥याउनुका साथै नेपाललाई प्रतिस्पर्धी कफी निर्यातकर्ताका रुपमा स्थापित गर्ने लक्ष्य छ ।

सिट्रस फल खेती, प्रशोसधन उद्योग र कृषि–पर्यटन

शहीदभूमि गाउँपालिका सुन्तलाका लागि प्रसिद्ध स्थान मानिन्छ । धनकुटामा व्यावसायिक सम्भावना भएका सिट्रस फलहरूमा म्यान्डरिन (सिट्रस रेटिकुलाटा ब्लान्को), मीठो सुन्तला विशेष गरी जुनार (सिट्रस सिनेन्सिस ओस्बेक), चुना (सिट्रस औरन्टीफोलिया स्विङ) र हिल–लेमन (सिट्रस स्यूडोलेमोन) छन् । वडा नं ४ को पिपालेडाँडा, वडा नं ३ को डाँडागाउँ र पञ्चकन्या, वडा नं ६ को थलथले र सुकेआहाल, वडा नं २ को छिन्ताङलगायतका गाउँ प्रशोधन, प्याकेजिङ र कृषि पर्यटन उद्योगका लागि उपयुक्त छन् । विद्यमान निर्वाहमुखी कृषि प्रणालीलाई विविधीकरण र तुलनात्मक लाभको व्यापक प्राप्तिमार्फत व्यावसायिक क्रियाकलापमा रूपान्तरण गर्ने प्रदेश सरकारको योजना रहेको छ । यो परियोजनाले उत्पादनको गुणस्तर, मापदण्ड, निर्यात, बिक्रेता र क्रेताबीच सम्झौताको समेत सुनिश्चितता गर्ने विश्वास लिइएको छ ।

बर्जु सौर्य परियोजना

नेपालको भर्खरै पारित सौर्य ऊर्जा नीतिले दिगो ऊर्जा सङ्क्रमणको लागि राष्ट्रको आकांक्षासँग मेल खाने गरी लगानी आकर्षित गर्न र परियोजना विकासलाई सक्षम बनाउने कोशी प्रदेश सरकारको विश्वास छ । सुनसरीको बर्जुमा निर्माण हुने यो सौर्य परियोजना कोशी प्रदेशको समृद्धिका लागि महत्त्वपूर्ण हुने विश्वास लिइएको छ ।

उदयपुर क्लिंकर परियोजना

उदयपुर जिल्लामा नेपालको सबैभन्दा बढी चुनढुङ्गा भण्डार रहेको छ । उदयपुर सिमेन्ट कारखाना जिल्लामा सिमेन्टको एक मात्र उत्पादक हो । उदयपुर सिमेन्टको क्षमता ४०० टीपीडी मात्र छ । जुन चुनढुङ्गाको निक्षेपको तुलनामा निकै कम हो । सुकौरा खानीको निक्षेप करिब ७ करोड ३० लाख टन रहेको छ । ठूलो निक्षेपलाई जतिसक्दो चाँडो देशको भलाइको लागि प्रयोग गर्नु पर्ने कोशी प्रदेश सरकारको भनाइ छ । यसबाहेक यस क्षेत्रको वरिपरि अन्य धेरै चुनढुङ्गा खानी छन् । यस क्षेत्रमा ठूलो क्लिंकर कारखाना घरेलु र निर्यात प्रयोजनका निर्माण गर्ने कोशी प्रदेश सरकारको योजना छ ।

आमादब्लम मिनी हाइड्रो प्रोजेक्ट, सोलुखुम्बु

विद्युतीय माध्यमबाट पर्यटकलाई सुविधा प्रदान गर्न विद्युत उत्पादन अत्यावश्यक छ । खुम्बु क्षेत्रमा विद्युतको अभावले पर्यटकको बसाइ साथै स्थानीय जीवनयापन पनि असहज हुने गरेको छ । तसर्थ, स्थानीय नदीहरूको प्रयोग गरेर विद्युत् उत्पादन गर्ने र यस क्षेत्रमा विद्युतीकरण विस्तार गर्न आवश्यक छ । यस परियोजनाका लागि वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) सम्पन्न भइसकेको छ । यस परियोजनामा जग्गा खरीद प्रक्रिया अघि बढेको छ । हाल यो परियोजना ‘रेडी टु गो प्रोजेक्ट’ का रुपमा रहेको छ ।

बेसार उत्पादन र प्रशोधन केन्द्र

बेसार सबैभन्दा आवश्यक मसलाहरू मध्ये एक हो, जसको औषधीय मूल्य र दैनिक प्रयोग अत्यधिक छ । आयोजनाले सुनसरी, उदयपुर र धनकुटाको केन्द्र चतरा, भोजपुर, खोटाङ, ओखलढुङ्गा, ताप्लेजुङ, तेह्रथुम, पाँचथर, सङ्खुवासभालगायतका जिल्लामा उत्पादित बेसार प्रशोधन गर्नेछ । प्रशोधनबाट बेसारको तेल, कर्कुमिन, साबुन, फेसियल तथा ब्यूटी प्रोडक्ट, चकलेट, बिस्कुट, सिन्दूर, टुथपेस्ट, इनर्जी ड्रिंक्स आदि उत्पादन हुनेछन् । कर्कुमिन र तेलको विश्वमा उच्च मूल्य छ । कर्कुमिन एक एन्टीक्यान्सर रसायन हो । यो एन्टीइन्फ्लेमेटरी र एन्टी अक्सिडेन्ट पनि हो ।

हाल यसको युरोपेली बजारमा उच्च मागमा छ । यसको प्रयोग औषधि बनाउन पनि गरिन्छ । त्यस्तै तेलको महत्व पनि निकै ठूलो छ । यो कस्मेटिक्स, औषधि, आदि बनाउन प्रयोग गरिन्छ । यसले विदेशी मुद्रा आर्जनमा ठूलो योगदान पु¥याउने कोशी प्रदेश सरकारको विश्वास छ । माथि उल्लिखित लगानीलाई एकीकृत गर्न सकियो भने हालको मागका आधारमा चार वर्षमा सबै लगानी फिर्ता लिन सकिने प्रदेश सरकारको विश्वास छ ।

डेरी उत्पादन तथा प्रशोधन उद्योग

इलाम नेपालका केही जिल्लाहरूमध्ये एक हो जहाँ ठूलो मात्रामा दूध उत्पादन हुन्छ । र, दूग्धजन्य पदार्थका लागि उचित बजार छ । आर्थिक दृष्टिले नेपाल कृषिमा आधारित छ । जहाँ पशुपालन देशको मेरुदण्ड हो । डेरी उद्योग स्थापनाले अद्वितीय उत्पादन अभ्यास र उपभोक्ता र बजारसँग प्रत्यक्ष सम्बन्ध राख्ने कोशी प्रदेश सरकारको विश्वास छ । खाद्य तथा कृषि सङ्गठनका अनुसार विकासोन्मुख देशहरूमा अनुमानित ८० देखि ९० प्रतिशत दूध साना कृषि प्रणालीमा आधारित उत्पादन हो । स्वदेशी तथा अन्तर्राष्ट्रिय बजारबाट दूग्धजन्य पदार्थको बढ्दो मागलाई पूरा गर्न दूध उत्पादनलाई निरन्तरता दिनु यस परियोजनाको मुख्य अवधारणा हो ।

किबी खेती, प्रशोधन उद्योग र कृषि पर्यटन

धनकुटामा किबी खेतीको प्रचुर सम्भावना रहेको छ । चौबिसे गाउँपालिकाले पनि किसानलाई किबी फलका बिरुवा वितरण गरेर यो फलको खेतीलाई प्रोत्साहित गरेको छ । यो परियोजनाको पछाडिको दायरा र अवधारणाहरू विभिन्न सामाजिक, आर्थिक, पर्यावरणीय, सांस्कृतिक र प्राविधिक पक्षलाई प्रोत्साहन गर्नु हो ।

किसानहरूलाई ठूलो मात्रामा उत्पादनका लागि प्रोत्साहित गर्नु, विद्यमान निर्वाहमुखी कृषि प्रणालीलाई विविधीकरण र तुलनात्मक रुपमा व्यापक लाभको अवस्थामा पुर्याउनु, व्यावसायिक क्रियाकलापमा रूपान्तरण गर्नु, कृषि वातावरण, मनोरञ्जन, शैक्षिक गतिविधि, प्राकृतिक आकर्षण, मनोरञ्जनबाट राजस्व वृद्धि गर्नु, घरेलु र अन्तर्राष्ट्रिय उपभोक्ताहरूको माग पूरा गर्न यहाँका उद्योगको अर्थव्यवस्थामा संरचनात्मक परिवर्तन ल्याउनु हो ।

एभोकाडो खेती, प्रशोधन उद्योग, अनुसन्धान केन्द्र र कृषि पर्यटन

धनकुटामा नयाँ विदेशी फल एभोकाडोको व्यापक उत्पादन भइरहेको छ । जलवायु परिवर्तन, सबैभन्दा उपयुक्त माटो र तापक्रम, मुख्य आयआर्जन गर्ने क्षेत्र र नगदेबालीका रुपमा एभोकाडोको विकास गर्ने धनकुटा नगरपालिकाको प्राथमिकता जस्ता विभिन्न कारणले गर्दा यो परियोजनामा प्रदेश सरकारले लगानी भित्र्याउने उद्देश्य राखेको छ ।
नगरसभाले २०७४ जेठ २२ गते धनकुटालाई ‘एभोकाडो राजधानी’ घोषणा गरेको थियो । सन् २०१८ नोभेम्बर २४ का दिन धनकुटामा एभोकाडो महोत्सव आयोजना गरिएको थियो । जसलाई यसले एसियाकै पहिलो एभोकाडो महोत्सवको रुपमा दाबी गरेको थियो । यस परियोजनाले आय प्रत्याभूति, रोजगारी सिर्जना, उद्यम विकास र ग्रामीण अर्थव्यवस्थाको विविधीकरणमा योगदान पुर्याउने घरेलु प्रशोधन गतिविधिहरूको सट्टा कारखाना प्रशोधन गतिविधिहरू बढाउने लक्ष्य राखेको छ ।

अलैँची उत्पादन तथा प्रशोधन उद्योग, फिदिम नगरपालिका

अलैँची अर्ध–सदाबहार र आद्र्र उप–उष्णकटिबन्धीय क्षेत्रमा हुनेगर्छ । यो पूर्वी उप–हिमालय क्षेत्रको ठाडो पहाडहरूमा खेती गर्न सकिन्छ । जुन ३,५०० मिमी ÷ वर्षा हुने ठाउँमा हुन्छ । जुन लगभग साढे ६ वर्ष फैलिन्छ । यसको वृद्धिको लागि आवश्यक अप्टिकल तापमान ६ देखि २५ डिग्री सेल्सियस हो ।
कोशी प्रदेश ‘अलैँची’ उत्पादन गर्ने सबैभन्दा ठूलो प्रदेश हो । नेपालको कुल उत्पादनको करिब ९७ प्रतिशत यही प्रदेशबाट हुने गरेको छ भने वार्षिक निर्यात ८० करोडभन्दा बढी हुने गरेको छ ।

छुर्पी उद्योग परियोजना

इलाम नेपालका केही जिल्लाहरूमध्ये एक हो जहाँ ठूलो मात्रामा दूध उत्पादन हुन्छ । दुग्धजन्य पदार्थहरूका लागि उचित बजार पनि छ । खाद्य तथा कृषि सङ्गठनका अनुसार विकासोन्मुख देशमा अनुमानित ८० देखि ९० प्रतिशत दूध साना कृषि प्रणालीमा आधारित भएर उत्पादन हुन्छ । स्वदेशी तथा अन्तर्राष्ट्रिय बजारबाट दूग्धजन्य पदार्थको बढ्दो मागलाई पूरा गर्न दूध उत्पादनलाई निरन्तरता दिनु यस परियोजनाको मुख्य अवधारणा हो ।

कोशी पोडवे आयोजना,

विराटनगर करिब अढाई लाख जनसङ्ख्या भएको महानगरपालिका हो । कमजोर सहरी पूर्वाधार, अकुशल यातायात प्रणाली र ट्राफिक जामजस्ता विद्यमान चुनौतीलाई सम्बोधन गर्न विराटनगरदेखि धरान सहरसम्मको यातायात पूर्वाधार विस्तारमा कोशी पोडवे आयोजना केन्द्रित रहेको प्रदेश सरकारको भनाइ छ ।
परियोजनाले क्षेत्रीय यातायात प्रणालीको स्तरोन्नति सुविधायुक्त माग र आपूर्तिको अन्तरलाई सम्बोधन गर्ने लक्ष्य राखेको छ । आयोजनाले प्रदेशको आय, रोजगारी र आर्थिक वृद्धिमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।

कोशी रिफ्रेसमेन्ट सेन्टर

यो नेपालको पहिलो रिफ्रेसमेन्ट सेन्टरको अवधारणा हो । आयोजना स्थल कोशी टप्पु वन्यजन्तु आरक्ष नजिक कोशी गाउँपालिका– ४ सुनसरीमा पर्छ । लामो दूरीको सवारी साधन रोक्ने र सेन्टरमा यात्रु, चालक र सवारी साधनका लागि आवश्यक सुविधा उपलब्ध गराउने अवधारणासँग सम्बन्धित छ । कोशी प्रदेश सरकारको अवधारणा अनुसार आयोजनाको पहिलो चरणको निर्माण सरकारी कोषमा सम्पन्न भएको छ । बाँकी निर्माण र सञ्चालन निजी लगानीकर्ता र विकासकर्ताहरूको लागि आह्वान गरिएको छ । उक्त जग्गा प्रदेश सरकारको स्वामित्वमा रहेको छ र क्षेत्रफल करिब २० बिघा छ ।

मुर्कुची–लिम्चुङबुङ–हलेसी पोडवे

हलेसी नेपालको प्रसिद्ध धार्मिक स्थल हो । प्रत्येक वर्ष करिब १ लाख पर्यटकहरूले यो मन्दिरको भ्रमण गर्ने प्रदेश सरकारको तथ्याङ्क छ । गुफामा रहेको प्रसिद्ध शिव मन्दिरले नेपाल, भारत र भुटानबाट आउने पर्यटकलाई आकर्षित गर्छ । यो गुफा हिन्दू र बौद्ध धर्मावलम्बीहरूमाझ प्रसिद्ध छ ।

भक्तजनले यो मन्दिरलाई पूर्वको पशुपतिनाथका रुपमा हेर्ने गरेका छन् । हलेसी मध्यपहाडी पुष्पलाल लोकमार्गमा अवस्थित भएपनि काठमाडौंदेखि विराटनगरसम्म पुग्न ७ देखि ८ घण्टाको यात्रा गर्नुपर्छ । यो परियोजनाले मुर्कुचीबाट हलेसी जोड्ने समय एक घण्टामा सीमित गर्ने प्रदेश सरकारको विश्वास छ ।

रास ताल पर्यटन परियोजना

सुनसरी जिल्ला रामधुनी नगरपालिका –७ बक्लौरीमा अवस्थित राष्ट्रिय विभूतिबाट सम्मानित इमानसिंह चेम्जोङ स्मृति प्रतिष्ठान पार्क हो । यसलाई रास ताल भनिने गरिएको छ । यो क्षेत्रमा आन्तरिक र बाह्य पर्यटक बढेसँगै पर्यटकीय गतिविधि बढ्दै गएको छ । कोशी प्रदेश सरकारले पर्यापर्यटनको अवधारणालाई आत्मसात् गर्दै यो क्षेत्रमा लगानी भित्र्याउन पहल गर्ने छ । शान्त हरियाली वातावरण युक्त रास तालमा आन्तरिक तथा बाह्य पर्यटकको विशेषगरी शनिबार घुइँचो लाग्ने गरेको छ ।

प्रकाशित मिति : १७ बैशाख २०८२, बुधबार  ८ : २० बजे

देउवा दम्पतिले भेटे भाजपा बिदेश विभाग प्रमुखलाई

काठमाडौं– भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग प्रमुख डा. विजय

छुटे रेशम चौधरी

काठमाडौं– रेशम चौधरी छुटेका छन्। दिल्ली बजार कारागारबाट चौधरी अहिले

बालश्रम अन्त्य गरी विश्व मञ्चमा गरिएका प्रतिबद्धताहरू पुरा गर्नुपर्छ : श्रममन्त्री

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीले नेपालमा बालश्रम

सातु र सर्वत सेवन गरी मनाइयो अक्षय तृतीया (तस्बिरहरू)

काठमाडौं– प्रत्येक वर्ष वैशाख शुक्ल तृतीयाका दिन मनाइने अक्षय तृतीया

अमेरिकासँग अर्को आणविक वार्ता शनिबार रोममा हुने 

तेहरान– इरान र अमेरिकाले शनिबार रोममा इस्लामिक गणतन्त्रको आणविक कार्यक्रममा