जनताको खोस्ने, बिचौलियालाई पोस्ने पुलिन्दा « Khabarhub

बजेट–बहस

जनताको खोस्ने, बिचौलियालाई पोस्ने पुलिन्दा

जनताको सपनामा चिसोपानी खन्याउने बजेट



आर्थिक वर्ष २०८२/८३ को बजेट संघीय संसदका संयुक्त वैठकमा विहीबार पेश भएको छ । सरकारले पेश गरेको बजेटमा १९ खर्व ६४ अर्व ११ करोडको अंक समावेश छ ।

बजेटमा साधारण खर्च झण्डै १० खर्ब विन्यास गरेको छ भने विकास खर्च ४ खर्बमा सीमित छ ।

माओवादी नेतृत्वको सरकारले पेश गरेको चालु आर्थिक वर्षको भन्दा १८ प्रतिशतले ठूलो आकारको बजेट पेश गर्दा प्रदेश र स्थानीय तहलाई दिने अनुदानमध्ये समानीकरण अनुदान र सशर्त अनुदानमा उल्लेख्य वृद्धि नगरेर विशेष अनुदानमा भने झण्डै तीन गुणा बढाइएको छ ।

त्यसैगरी वैदेशिक सहायता झण्डै दोब्बर प्राप्त गर्ने अपेक्षा राखेर बजेट पेश गरिएको छ ।

गत वर्ष साढे १२ खर्ब राजश्व उठने अनुमान गरेकोमा सो को ६० प्रतिशत प्रगति हासिल गर्न नसकेको सरकारले यस वर्ष झण्डै १५ खर्ब राजश्व उठाउने वाचा गरेर बजेट पेश गरेको छ ।

विचौलिया खुशी पार्ने पुलिन्दा

एक वाक्यमा भन्नुपर्दा यो बजेटले देशको उत्पादनशीलता, श्रमिकको सम्मान, भूमिहीन किसानको हक, संघीयताको आत्मा, र जनयुद्धको सपना सबैलाई धोका दिएको छ । समृद्धि भन्ने नारालाई अगाडि सारेर ल्याइएको बजेट वास्तवमा जनताको सपनामाथि कुठाराघात गर्ने गरी आएको छ भन्न वाध्य छौं ।

थोरै धनीहरूलाई अझ धनी बनाउने, गरिबीलाई बाँकी नै राख्ने नवउदारवादी अर्थनीतिको यो पराकाष्ठा हो । गणतन्त्र, संघीयता, समावेशी लोकतन्त्र, र सामाजिक न्यायका लागि रगत बगाएका जनताको सपना यो बजेटले पैतालामुनि पारिदिएको छ ।

बजेटमा संघीयताको आत्मा हराएको छ । प्रदेश र स्थानीय तहहरूलाई दिइएको अनुदान देखावटी मात्र छ । आफुखुशी दिन पाउने विशेष अनुदान भने तीन गुणा वृद्धि गरेर आफ्नालाई पोस्ने, अर्कालाई खोस्ने नीति प्रदर्शन गरिएको छ ।

यो पनि-
यस्तो छ आगामी बजेटको पूर्णपाठ

अधिकार, स्रोत र निर्णयको शक्ति यो बजेट मार्फत केन्द्रीय सरकारले आफ्नो हातमा राखेको छ । यस्तो केन्द्रीकृत संरचनाले स्थानीय सरकारहरूलाई जनताको सरकार होइन, केवल बजेटको सन्देश वाहकमा सीमित बनाउँछ ।

साना किसान विरुद्ध एग्री पार्क

अर्को खतरनाक कुरा भनेको कृषिमा देखिएको बजारमुखी हस्तक्षेप हो । मल छैन, पानी छैन, सस्तो कर्जाको पहुँच छैन, अनि बजारको ग्यारेन्टी पनि छैन । यस्तो अवस्थामा बाँच्न संघर्ष गरिरहेका साना किसानहरूलाई सहायता गर्नुको सट्टा, ‘एग्री पार्क’ का नाममा ठूला कम्पनीलाई जमिन हस्तान्तरण गर्ने योजना बजेटमार्फत नै बनाइएको छ । यो भूमिसुधार होइन, भूमिको व्यापारीकरण हो ।

भूमिहीन किसानलाई जमिन दिनुपर्नेमा उल्टै पूँजीपतिको स्वामित्व विस्तार गर्नेखालको यो नीतिले संविधानमा परिकल्पना गरिएको समाजवादउन्मुख अर्थतन्त्रको पनि धज्जी उडाएको छ । यो जनयुद्धका आधारभूत आदर्शप्रतिको धोका त हुँदै हो, जनआन्दोलन र नेपालको संविधानको समाजवादी परिकल्पनाको पनि उपहास हो ।

युवा विदेश पलायन गराउने बजेट

रोजगारीको हक मौलिक हक हो । रोजगारी दिन नसके बेरोजगार भत्ता दिने संविधानको प्रतिवद्धता हो । रोजगार सिर्जनाको नाममा खाली नाराजस्तै कार्यक्रमहरू घोषणा गरिएको देखिन्छ । उत्पादनमूलक उद्योग खोल्ने, स्थानीय स्रोत र सीपको उपयोग गरी युवालाई काम दिने भनिएको त छ तर कुनै ठोस कार्यक्रम छैन ।

बरु, यो बजेटले युवालाई विदेश पठाउने नियत राखेर, श्रमको पलायनलाई संस्थागत गर्न खोजेको प्रष्ट देखिन्छ । स्टार्टअप, सीपमूलक, उद्यमशीलता प्रवद्र्धन भनिएका कार्यक्रमहरू खोक्रो नारा बाहेक केही होइनन् ।

घट्यो शिक्षामा बजेट

कुल बजेट प्रस्तुत गर्दा शिक्षामा जम्मा २ खर्ब ११ अर्व १७ करोड छुटयाइएको छ, जुन आजसम्मकै कम ९ प्रतिशतको हाराहारीमा पुगेको छ । जबकि हालकै आवश्यकताका आधारमा पनि कुल बजेटको १७ प्रतिशत रकम आवश्यक पर्ने यसअघिका शिक्षामन्त्रीहरुले भन्दै आएका थिए ।

शिक्षा स्वास्थ्य रोजगार जनताका अधिकार राज्यको दायित्व संविधानको घोषणा हो तर बजेटले शिक्षा र स्वास्थ्यमा राज्यको लगानी झनै घटाइएको छ । गरिबका छोराछोरी पढ्न सकून्, बिरामी हुँदा उपचार पाऊन् भन्ने कुरा अब सपना जस्तै बन्न थालेको छ ।

निजी क्षेत्रलाई कर छुट, सहुलियत, लगानी प्रवद्र्धनका नाममा प्रोत्साहन दिइएको छ, तर सरकारी अस्पतालहरू खिइँदै छन्, सरकारी विद्यालयहरू बन्द हुँदै छन् । बजेटले शिक्षा र स्वास्थ्य व्यापारको वस्तु बनाउने बाटो समातेको छ ।

बिचौलिया ठेकेदार प्रधान पूर्वाधार

पूर्वाधारमा देखिएको बजेटको तामझाम पनि झूटको खेती हो । साना किसान, खुद्रा व्यापारीको जमिन खोसिने, वातावरण विनाश हुने, र पारदर्शिताविहीन योजनाहरूमा भ्रष्टाचारको आशंका झन् बलियो हुने सम्भावना देखिन्छ । यो बजेटले विचौलिया तथा ठेकेदार–दलालको गठबन्धनलाई बलियो बनाउने पृष्ठभूमि तयार गरिएको छ ।

बजेट आन्तरिक ऋण र वैदेशिक अनुदानमा अत्यधिक निर्भर छ । जबकि गत वर्ष व्यापार घाटा नियन्त्रण गर्ने, निर्यात बढाउने, स्वदेशी उत्पादनलाई सबल बनाउने थुप्रै कार्यक्रमहरु हटाइएको छ र यस क्षेत्रमा यसपटकको बजेटमा कुनै गम्भीर प्रयास उल्लेखसम्म पनि गरेको देखिँदैन ।

आयात–निर्भर अर्थतन्त्रलाई बलियो पार्ने यस्तो नीति देशलाई आर्थिकरूपमा आत्मनिर्भर बनाउने होइन, ऋणको दलदलमा फसाउने हो ।

त्यसो त संविधान जारी गर्दा जम्मा ७ खर्ब रहेको ऋण अहिले २७ खर्ब पुगेको छ । दश वर्षमा २० खर्ब ऋण कहाँ गयो भनेर प्रश्न सोध्ने हो भने जवाफ शून्य प्रायः छ ।

अझ दुःखद त के भने, कर प्रणालीमा पनि असमानता मौलाएको छ । ठूला आयातकर्ता, भूमिपति र धनी व्यापारीलाई छुट दिइएको छ, तर साना किसान, श्रमिक, खुद्रा व्यवसायीलाई करको चाङ थोपरिएको छ । प्रगतिशील कर प्रणाली, जसले धनीले बढी र गरीबले थोरै तिर्छ भन्ने सिद्धान्तमा आधारित हुनुपर्ने हो, त्यो त यो बजेटमा विल्कुलै हराएको छ ।

भाषणमा ‘समावेशिता’, ‘समानता’, ‘संविधानको मूल्य’ जस्ता शब्दको प्रयोग भए पनि कार्यक्रम र बजेट विनियोजनमा हेर्दा त्यो सबै कुरा खोक्रो देखिन्छ । धनीमुखी सोचले गर्दा यो बजेट व्यवहारमा नवउदारवादको प्रतीक बनेको छ ।

यो बजेट समाजवादी होइन, सुसज्जित पुँजीवादको कार्ययोजना हो भनियो भने समर्थकहरुले पनि चित्त दुःखाउने ठाउँ छैन ।

अन्त्यमा

यस्तो अवस्थामा मुलुकले गरेको जनयुद्ध, जनआन्दोलन, मधेस जनजाति लगायतका आन्दोलनहरुका जगमा बनेको संविधानको समाजवादी मर्मको आलोकमा विकल्प देखाउनु जरुरी छ । त्यसैले भन्नै पर्छ–

विस्तृत शान्ति सम्झौतामा वाचा गरिएको वैज्ञानिक भुमिसुधार गर्न उच्चस्तरीय आयोग गठन गरी साँचो भूमिसुधार गरौं, जमिन विचौलिया दलालका नाममा हैन, जोत्नेका नाममा होस् । सहकारी, सामूहिक कृषि, स्थानीय उद्योगहरूलाई बढावा दिँदै स्थानीय स्रोत र सीपको उपयोग गर्ने वातावरण बनाउँ । शिक्षा, स्वास्थ्य, रोजगारमा राज्यको प्रत्यक्ष लगानी होस् । दुई थरी शिक्षाको अन्त्य होस् । कर प्रणाली जनमुखी र प्रगतिशील (धेरै कमाउनेले धेरै तिर्ने कम कमाउनेले कम तिर्ने) होस् । विदेशी ऋण र आयातको साटो आत्मनिर्भर अर्थनीति स्थापना गरौं ।

त्यसो हो भने यो बजेटलाई सशक्तरूपमा अस्वीकार गर्न जरुरी छ । यो जनताको बजेट होइन, बिचौलिया, दलाल पुँजीपतिको हित गर्ने बजेट हो । जनताको शासन, श्रमिकको सम्मान, उत्पादनको स्वराजका लागि वैकल्पिक नीति ल्याउन जरुरी छ ।

सददेखि सडकसम्म निरन्तर संघर्ष गर्ने पंक्ति मूकदर्शक होइन परिवर्तनको संवाहक हो भन्ने पुष्टि गर्न जरुरी छ ।

(वरिष्ठ अधिवक्ता देवकोटा संविधानसभा सदस्य एवं नेकपा माओवादी केन्द्रका नेता हुन्)

यो पनि-

चुल्होसँग देखभेट नभएको बजेट

प्रकाशित मिति : १६ जेठ २०८२, शुक्रबार  १० : १९ बजे

चक्कु प्रहार गरी युवकको हत्या, कञ्चनपुर बिहेमा गएका १८ वर्षीय उज्जलको गयो ज्यान

हेन्द्रनगर– कञ्चनपुरको पुनर्वास नगरपालिका–५ भानुबस्तीमा विवाहमा गएका युवकमाथि गएराती चक्कु

नेपालमा न्युरोसर्जरी सेवाको सुरुवात गर्ने डा. गंगोलको निधन

काठमाडौं– नेपालमा न्युरोसर्जरी सेवाको सुरुवात गर्ने वरिष्ठ चिकित्सक डा।दिनेश नाथ

युरेनियम पुनःप्राप्ति कठिन हुने ट्रम्पको चेतावनी

एजेन्सी– आणविक संरचनामाथिको सैन्य हस्तक्षेपपछि उत्पन्न अवस्था र युरेनियम पुनःप्राप्तिको

सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा

सिरहा– सिरहा कारागारभित्र पुनः विवाद उत्पन्न भएपछि प्रहरीले २२ जना

मोरङमा हवाई फायर गरेर प्रहरीले समात्यो ब्राउनसुगर कारोबारी

काठमाडौं- प्रहरीले हवाई फायर गरेर मोरङमा एकजना लागुऔषध कारोबारी पक्राउ