शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका पाटेबाघहरू नामकरण गरिए « Khabarhub

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका पाटेबाघहरू नामकरण गरिए


१४ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा रहेका पाटेबाघको पहिचान तथा सहजताका लागि नामकरण गरिएको छ । 

बाघको बासस्थान, घुमफिर गर्ने स्थान, शरीरमा भएका पाटाहरूका आधारमा, स्वभावका आधारमा, शरीरको बनावटका आधारमा बाघका भाले र पोथीको छुट्टाछुट्टै रूपमा निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषको सहकार्यमा नामकरण गरिएको हो । 

‘बाघलाई पहिचान गर्न सजिलो होस भनेर नामकरण गरेका छौँ’, राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी)का शुक्लाफाँटा संरक्षण कार्यक्रमका प्रमुख लक्ष्मी जोशीले भने, ‘एक बाघको पाटा अर्कोसँग मिल्दै, यसबाट द्वन्द्वमा परेका बाघलाई छुट्याउन सकिन्छ, उद्धार गर्न सहज हुन्छ ।’

 निकुञ्जको पुस्तकालयमा गणना तथा अनुगमनका क्रममा ‘क्यामेरा ट्र्यापिङ’ मा परेका ४० वटा बाघको फरक–फरक तस्बिर सङ्ग्रह गरेर राखिएको उनले जानकारी दिए । कुन ठाउँमा कुन बाघको बासस्थान छ, भनेर यसले छुट्ट्याउन सजिलो हुने उनको भनाइ छ ।  

‘नामकरणले निगरानी गर्न सजिलो हुन्छ, बाघको गतिविधि ट्र्याक गर्न, आनीबानीबारे जानकारी लिन र बसोबास क्षेत्रबारे जानकारी हुन्छ’, जोशीले भने, ‘योसँगै स्वास्थ्य अवस्था बुझ्न सहज हुन्छ भने संरक्षण प्रयासमा प्रभावकारिता ल्याउन सकिन्छ, संरक्षण रणनीति बनाउन, स्थानान्तरण वा उद्धार गर्दा समयमै निर्णय लिन सहयोग पुर्‍याउँछ ।’
 
बाघको हरेक क्रियाकलाप नक्सामा ट्र्याक गर्न सकिने भएपछि चोरी सिकारीजस्ता खतरा न्यूनीकरण गर्न सजिलो हुनुका साथै बाघको व्यवहार, प्रजनन चक्र, आहार आदिबारे अध्ययन गर्न सकिने उनी बताउँछन् । पहिले सङ्केतका आधारमा बाघलाई चिन्नुपर्ने अवस्था हुँदा असजिलो हुन थालेपछि नामकारण गर्नुपरेको उनले उल्लेख गरे । 

उनका अनुसार नामकरण गरिएका भाले बाघमा लौरीपाटे, मधुरमाले, कालिकिचे, घुमन्ते, राजकुमार, चुरे किङ्, बाबा ताल, महाकाल, शक्तिमान, क्याप्टेन, चक्रमुखी, सिद्धबाबा, अर्जुनी किङ, अङ्कुशे, सिकारी, त्रिनेत्र, लघुपुच्छ्रे, दशगजा, गणेश, लक्ष्मण, महाराजालगायत छन् ।

पोथीमा तारा ताल, त्रिशूलधारी, बाटुली लामपुच्छ्रे, मङ्गलेश्वरी, त्रिनेत्री, सिम्पा, बर्कौला, लघु धर्के, त्रिरेखा, पञ्जिका, बालुवा ताल, शान्ति, शुक्ला, करैया, गाजलु, चौधर, सिधार्नी, राजकुमारीलगायत छन् । निकुञ्जमा पाटेबाघको सङख्या एक वर्षको अवधिमै ३६ बाट वृद्धि भइ ४३ पुगेका छन् । जसमा भाले २१ र पोथी १९ छन् ।

निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत चन्द्रशेखर चौधरीले बाघको आहारा प्रजातीको पर्याप्तता, बासस्थानमा सुधार, चोरीसिकारी पूर्णरूपमा नियन्त्रण हुनुलगायतका कारण बाघको सङख्यामा वृद्धि हुँदै गएको बताए । 

उनका अनुसार एउटा वयस्क बाघलाई विचरणका लागि करिब ६५ वर्ग किलोमिटर क्षेत्रफल आवश्यक पर्छ । नेपालका संरक्षण क्षेत्रमध्ये शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज थोरै क्षेत्रफलमा धेरै बाघ रहेको क्षेत्रका रूपमा परिचित छ ।
 
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार संरक्षित वन्यजन्तु (अनुसूची १) मा सूचीकृत रहेको पाटेबाघ विश्वकै सबै भन्दा आकर्षक र सुन्दर जनावरको श्रेणीमा पर्दछ । सन् १९७४ देखि शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज बाघ संरक्षण गरिँदै आएको छ । बाघ गणना भने सन् १९९९ देखि निरन्तर रूपमा प्रतिवर्ष हुँदै आएको छ । 

३०५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको निकुञ्ज पाटेबाघसँगै बाह्रसिङ्गाको प्रमुख बासस्थानका रूपमा छ । निकुञ्जको ५२ प्रतिशत क्षेत्र घना सालको वनले ढाकेको छ । १९ प्रतिशत भू–भाग घाँसमैदानले ओगटेको छ ।

यस निकुञ्जमा जङ्गली हात्ती, एकसिङ्गे गैँडा, पाटेबाघ, बाह्रसिङ्गा, हिस्पिड खरायो, सुनगोहोरो, अजिङ्गर, कृष्णसार तथा करिब ४६४ प्रजातिका पक्षी निकुञ्जमा संरक्षित छन् । संरक्षित क्षेत्रको व्यवस्थापनमा स्थानीय जनताको सहभागिता गराउने उद्देश्य अनुरूप निकुञ्जको वरिपरि रहेको २४३ दशमलव ५ वर्ग किलोमिटर क्षेत्रलाई मध्यवर्ती क्षेत्र घोषणा गरिएको छ । रासस

प्रकाशित मिति : १४ श्रावण २०८२, बुधबार  ६ : ५२ बजे

पोखरा बसपार्कका व्यापारिक संरचना हटाइयो, सुकुमवासी बस्ती अझै बाँकी

कास्की– पोखरामा सुविधासम्पन्न बसपार्क निर्माणको योजनामा रहेको पोखरा महानगरपालिकाले पृथ्वीचोकस्थित

टोलीभित्र कुनै तनाव छैन, रोनाल्डो हाम्रा रोल मोडल हुन्: प्रशिक्षक मार्टिनेज

काठमाडौँ – पोर्चुगलका मुख्य प्रशिक्षक रोबर्टो मार्टिनेजले आफ्नो टोली पहिलेभन्दा

चट्याङ लागेर एक युवकको मृत्यु

झापा– झापाको गौरीगञ्जमा चट्याङ लागेर एक युवकको मृत्यु भएको छ

सुकुम्वासी व्यवस्थापनमा पन्छिँदै प्रधानमन्त्री

काठमाडाैँ– काठमाडौँ महानगर प्रमुखको कार्यकालमा नै वालेन्द्र शाहले २०८२ साउन

भारतीय पर्यटकले पोखराका होटल भरिभराउ

कास्की– पर्यटकीय राजधानी पोखरामा भारतीय पर्यटक खचाखच भएपछि यहाँका होटल