बालेन, रवि र कुलमान एकताको तरङ्ग कता-कता ? « Khabarhub

बालेन, रवि र कुलमान एकताको तरङ्ग कता-कता ?

राष्ट्रिय सभामा मिल्न लागेका कांग्रेस-एमाले प्रतिनिधिसभामा के गर्लान् ?



काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह र रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी र कुलमान घिसिङको उज्यालो नेपाल पार्टीबीच एकतापछि पुराना र ठूला भनिएका दल तरंगित भएका छन् ।

वैकल्पिक राजनीतिको बिगुल २०७४ सालमै विवेकशील साझाले फुकेको थियो । तर त्यो पार्टी टिक्न नसकेपछि अब २०७९ यता वैकल्पिक धारलाई राष्ट्रिय स्वतन्त्र पार्टीले बोकेको छ। विवेकशील पनि त्यसमै समाहित भइसकेको छ।

कुलमान, बालेन्द्र र रविको एकता हुनुअघि नै देशको ठूलो शक्ति नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच एकता भएको थियो। एकतापछि बनेको नेपाली कम्युनिष्ट पार्टी अहिले संगठन विस्तार गर्ने र कार्यकर्ता बढाउने अभियानमा छ ।

यो पार्टीले सातै प्रदेशका विभिन्न सहरहरूमा एकता सन्देश सभासमेत गरिसकेको छ। एकतापछि अहिलेसम्मको अवस्थामा माधव नेपाल र पुष्पकमल दाहाल प्रचण्डबीच खटपट देखिएको छैन ।

यस्तै यही आइतबार साँझ मधेशको राजनीतिका दुई शक्ति महन्थ ठाकुरको लोकतान्त्रिक समाजवादी पार्टी र उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालबीच एकीकरण भएको छ।

एकीकरणपछि यी दुवै पार्टीले एउटै चुनाव चिह्नमा सहकार्य गर्ने सहमति जुटेको छ। गत वैशाखमा जनता समाजवादी पार्टी नेपाल विभाजन भएर अशोक राईले जसपा बनाए । जसपाबाट रेणु यादवसहित, प्रदीप यादव समूह उपेन्द्र यादवको जसपा नेपालमै फर्किएको छ । यसबारे सोमबार सहमति भइसकेको छ।

कुलमान रास्वपातिर

यस्तै एकीकरणका लागि कुलमान घिसिङको उज्यालो नेपाल पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीले स्वागत गरेको छ। सोमबार साँझ कुलमानसँग रवि र बालेन्द्रले गरेको वार्ता सहमतिमा पुगेसँगै कुलमान रास्वपा उपसभापति बनेका हुन् । उज्यालो नेपाल पनि रास्वपामा समाहित बनेको छ । कुलमानलाई रास्वपामा उपसभापति बनाउने गरी सहमति भएको हो । कुलमानले १८ जना समानुपातिक सूचीमा राखेका छन् । जेन-जी नेता सुधन गुरुङले घिसिङको उज्यालो नेपाललाई रास्वपामा समाहित गर्न सफल भएको बताए।

यसअघि उज्यालो नेपालका केन्द्रीय सदस्य डाक्टर महेन्द्र लावतीले मोर्चा बनाएर जान सकिने बताएका थिए । उनी रास्पपाको समानुपातिक सूचीमा अटाएका छन् ।

जनार्दन शर्माको प्रलोपले समानुपातिकको बन्दसूची सोमबार नै बुझाइसकेको छ। एकताका लागि छलफल गरिरहेको बताए पनि रास्वपा र प्रलोप मिल्ने सम्भावना सकिएको छ । रास्वपाबाट वैकल्पिक शक्ति एक बनाउने जिम्मा पाएका संयोजक डा. स्वर्णिम वाग्लेले पनि यसबारे बताएका थिए ।

कुलमानले आइतबार मात्रै जनार्दनको टीम र राष्ट्रिय स्वतन्त्र पार्टीको टीमसँग भेटेर एकताबारे छलफल गरेका थिए। उनले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्रसँग पनि छलफल गरेर वैकल्पिक शक्ति एक नभए पनि चुनावी सहकार्य गर्नुपर्ने प्रस्ताव गरेका थिए ।

लामो प्रयास र छलफलपछि बालेन, कुलमान र रवि एक ठाउँ उभिएका हुन् । यसमा जेन–जी अगुवा सुधन गुरुङको भूमिका महत्त्वपूर्ण देखिएको छ । बालेनले सुधनलाई फेसबुकमार्फत् धन्यवादसमेत दिएका छन् ।

के गर्दैछन् कांग्रेस- एमाले ?

काङ्ग्रेस एमाले पार्टी एकता गर्ने ठाउँमा छैनन् किनकि उनीहरूको विचार र सिद्धान्त नै मिल्दैन। बरु उनी गठबन्धन बनाएर चुनावी सहकार्य गर्ने अवस्थामा रहेको देखिन्छ । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि यी ठूला दलको सत्ताचुत भएको थियो।

नयाँहरू मिलेपछि पुरानालाई पेल्ने रणनीति बुझेका कांग्रेस एमालेले चुनावी सहकार्यका लागि विभिन्न विकल्प भने अपनाइरहेका छन् । जसको एक विकल्प हो आगामी दिनमा हुने राष्ट्रिय सभा निर्वाचन । यही ११ माघमा हुने निर्वाचनका लागि फरक विचार र सिद्धान्त भएका पार्टीहरूबीच गठबन्धन हुन लागेको छ ।

अन्तर्राष्ट्रिय अभ्यासमा पनि प्रतिस्पर्धीमा रहेका दलहरूबीच सहकार्य भएको कतैकतै मात्र देखिन्छ, त्यस्तै परिदृश्य २०८१ असारबाट काङ्ग्रेस-एमाले मिलेर देखाएका थिए। दुईतिहाइको सत्ताच्युत हुँदा पनि उनीहरू यो पटकको राष्ट्रिय सभा निर्वाचनमा पनि कार्यगत एकता गर्ने विषयबाट पछि हटेका छैनन्। देशका पहिलो पार्टी कांग्रेस र दोस्रो पार्टी एमाले राष्ट्रिय सभा निर्वाचनमा मात्रै नभएर प्रतिनिधि सभा निर्वाचनमा पनि मिल्ने तयारीमा देखिन्छन् ।

यसबारे प्रश्न गर्दा एमालेका उपाध्यक्ष पृथ्वी सुब्बा गुरुङले खबरहबलाई भने, ‘काङ्ग्रेस-एमालेबीच चुनावी सहकार्य हुन्छ, हुँदैन त्यो त हेर्न बाँकी छ। तर राष्ट्रिय सभा सहकार्यमार्फत् अगाडि बढ्छौं।’

गुरुङले प्रतिनिधि सभा निर्वाचनमा पनि सहकार्य गरेर जाने बाटो होला नि भन्ने प्रश्नमा भने, ‘यसबारे सल्लाह भएको छैन । यो जटिल परिस्थितिलाई सामना गर्नका लागि पनि सिङ्गल सिङ्गल भिड्नुपर्छ भन्ने लागेको छ। निर्वाचनमा सहकार्य गर्ने विषय हुँदैन । प्रतिस्पर्धा नै जायज हुन्छ भनेर हामीले सुझाव दिएका छौं।’

गुरुङले यसो भनेपनि अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा बसेर प्रतिनिधि सभा निर्वाचनमा पनि गठबन्धन बनाएर चुनावी सहकार्य गर्ने भन्ने निर्णय गरे भने अरु नेता चुइक्क बोल्ने अवस्थामा नरहेको देखिन्छ ।

कांग्रेस नेता श्याम घिमिरे पनि राष्ट्रिय सभामा सहकार्य बाहेक कांग्रेस एमालेले आगामी फागुनमा हुने निर्वाचनमा चुनावी गठबन्धन नगर्ने उल्लेख गर्छन्।

उनले यसबारे भने, ‘यहाँहरुलाई स्पष्ट के पार्न चाहन्छौं भने राष्ट्रिय सभा निर्वाचनमा कांग्रेस एमाले सहकार्य गरेर अगाडि बढ्छ। तर प्रतिनिधि सभा निर्वाचनमा सहकार्य गरेर अगाडि जाने सम्भावना म देख्दिन ।’

उनी जटिल अवस्थामै ठूला दलहरूको परीक्षण हुने भन्दै अन्य पार्टी मिलेर कुनै तुक नरहेको बताउँछन्। साना पार्टी एक भएर जाँदा ठूला पार्टी नहस्किने चम्किने उनको दाबी छ । मिमिरेले भने, कसले कता गठबन्धन गर्यो भनेर कांग्रेस डराउने पक्षमा छैन। कांग्रेस फागुन १ को निर्वाचनमा सिङ्गल भिड्नुपर्छ भनेर हामीले आवाज उठाएका छौं । नेतृत्वले पनि त्यही कुरा बुझ्नुभएको छ ।’

२०७९ को निर्वाचनमा नेकपा (माओवादी केन्द्र) र एकीकृत समाजवादीसँग गठबन्धन गरेर अगाडि बढेको नेपाली कांग्रेसले चुनावी परिणाममा धेरै हन्डर खानुपरेको थियो। कांग्रेसको पकड राम्रो भएको स्थानमा पनि माओवादी र एकीकृत समाजवादीका नेतालाई स्थान दिनुपरेपछि त्यहाँका मतदाता रिसाएका थिए ।

रुखमा भोट हाल्नुपर्ने मान्छेले हँसिया हथौडा र कलम चिन्हमा मत हाल्नुपरेको भन्दै देशव्यापी रुपमा आक्रोश देखिएको थियोे । यसको फलस्वरूप कांग्रेसका शीर्ष नेता पनि आफ्नो क्षेत्रमा निर्वाचनमा पराजित भए ।

त्यस्तै नियती यसपटक एमालेसँगको सहकार्यमा भोग्नु नपरोस् भनेर कांग्रेस सजक भएको प्रवक्ता प्रकाश शरण महत बताउँछन्। देउवाका विश्वास पात्र रहेका महत नेपाली कांग्रेस र नेकपा एमालेबीच प्रतिनिधि सभा निर्वाचनमा चुनावी गठबन्धन हुने सम्भावना अहिलेसम्म नरहेको उल्लेख गर्छन्।

प्रचण्डको नेकपा कता ?

अशोक राईको जनता समाजवादी पार्टी पनि प्रचण्ड नेतृत्वको नेकपासँग संवादमा छ। तर एमालेमा नै जसपा अध्यक्ष राई मिल्ने कुरा फाइनल हुन लागेको दाबी एमाले उपाध्यक्ष पृथ्वी सुब्बा गुरुङको छ।

पछिल्लो समय वामपन्थी दल एकता गर्नुपर्ने कुराहरू पनि सेलाएका छैनन् । तर फागुनकै निर्वाचन अगाडि वामपन्थी एक हुने सम्भावना भने १ प्रतिशत रहेको एमाले उपाध्यक्ष गुरुङ बताउँछन्।

अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल र प्रचण्डको टिमसँग कुनै पनि हालतमा सहकार्य नगर्ने बताउँदै गुरुङ भन्छन्, ‘अहिलेका लागि वामपन्थी एकता सम्भव छैन ।’

एमालेको ११ औँ महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना सन्देश दिन पुगेका नेकपाका नेता देव गुरुङले वामपन्थी धुर्वीकरण आवश्यक रहेको उल्लेख गरेका थिए। तर अध्यक्ष ओलीले अहिलेसम्म पनि वाम एकताको कुरा खुस्काएका छैनन् ।

वाम एकताको कुरा उठ्नासाथ उनी २०७४ मा नेकपा माओवादी केन्द्र र नेकपा एमाले मिलेर अपरिपक्क एकता विगठन भएको उदाहरण दिन्छन्।

अहिले उनी कांग्रेसको फेरो समाएर आफूलाई अफ्ठेरो परेको अवस्थामा अगाडि बढिरहेका छन्। संकटको बेला वाम एकीकरण आवश्यक रहेको उल्लेख गरिरहेका झलनाथ खनाल अहिले पनि वाम एकता भए कसैले पनि वामपन्थीलाई छुन नसक्ने उल्लेख गर्छन् ।

‘मैले पटक–पटक भन्दै आएको छु र अहिले पनि भन्छु बृहत् वाम एकता आवश्यक छ तर हाम्रा नेताहरुले कुरा बुझेनन्’, उनले अगाडि भने, ‘निर्वाचन अगाडि नै एमालेसँग मिल्ने कुनै अवस्था छैन तर भविष्यमा सबै वामपन्थीहरू एक हुन्छन् भनेर मैले विगतदेखि नै भनिरहेको छु।’

एमाले उपाध्यक्ष गुरुङ पनि प्रचण्डको नेकपासँग एमालेको कुनै पनि रूपमा सल्लाह छलफल नभएकाले चुनावी सहकार्य नहुने उल्लेख गर्छन्।

‘माधव र प्रचण्ड एक भएको ठाउँमा अहिले एमालेले सहकार्य गर्ने अवस्था छैन। कम्युनिस्ट पार्टी मात्र भएर भएन विचार सिद्धान्त र कार्यदिशामा पनि एकरुपता हुनुपर्यो’, गुरुङले भने, ‘देशको अवस्था जटिल भए पनि पार्टीहरू सिङ्गल सिङ्गल हिँड्नुपर्छ नै भन्छु म । । यहाँहरुलाई के स्पष्ट पार्न चाहन्छौं भने बाहिर आएजस्तो पेरिसडाँडा र च्यासलबीच एकता हुने कुनै पनि सम्भावना छैन र तत्काल हुँदैन पनि ।’

यता नेकपा संयोजक माधव नेपाल पनि नेकपा आफैंमा बलियो शक्ति भएकाले अहिले एमाले लगायतका दलसँग मिलेर बिटुलो नहुने उल्लेख गर्छन्। उनी भन्छन्, ‘नेकपा आफैंमा देशव्यापी रुपमा दरिलो शक्ति छ। हामी सातै प्रदेश पुगेर आएका छौं । तपाईं आफै हेर्नुहोस् नेकपाप्रतिको लहर कस्तो छ । अन्य साना शक्ति मिल्दै गर्छन् हामीलाई अहिले एकता आवश्यक ठानेका छैन ।’

शक्ति बाँडफाँडमा होइन जनताका समस्या समाधान गर्न एकता
यता राजनीतिक विश्लेषक हरि रोक्का विचार मिल्ने शक्ति एक भएर अगाडि बढ्दा नै फाइदा हुने बताउँछन्। उनी पार्टीले पदका लागि एकता गर्नेभन्दा पनि जनताको जनजीविका र समस्याहरू समाधान गर्नतर्फ एकतामा केन्द्रित हुनुपर्ने उल्लेख गर्छन्।

‘विचार मिल्ने शक्ति र पार्टी एक भएर गएको राम्रो हो तर यिनीहरूको उद्देश्य चाहिँ जनताको जनजीविका सुधार्ने र समस्या समाधान गर्नेतर्फ केन्द्रित हुनुपर्छ’, रोक्काले खबरहबरलाई भने, ‘अहिलेको एकता कतैकतै सुन्दा शक्ति बाँडफाँडमा मात्र केन्द्रित हो कि भन्ने देखिन्छ । यस्तो एकताले नेपाली जनता र समाजलाई घाटातिर लान्छ । सबै शक्तिहरूको एकताले जनताका समस्याहरू समाधान गरुन् भन्ने हाम्रो कामना छ ।’

स्वार्थको द्वन्द्वमा छुटिएका राजावादी दल राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी र कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल पनि दुई साताअघि एकीकरण भइसकेका छन्।

वर्तमान संविधान र लोकतन्त्रलाई नै अस्वीकार गरेका यी शक्तिहरू मिल्दा लोकतन्त्र खतरामै पर्ने अवस्था नरहे पनि राप्रपा २०७९ को पाँचौं ठूलो शक्ति भने हो। तर पछिल्लो समय विवाद र नेताको किचलोको कारण यो पार्टीको पनि शक्ति क्षयकरण भएको देखिन्छ।

प्रकाशित मिति : १५ पुस २०८२, मंगलबार  ७ : १६ बजे

संस्कृतिले राष्ट्रिय एकताको प्रवर्द्धनमा सकारात्मक योगदान पुर्‍याउँछ : पूर्वप्रधानमन्त्री नेपाल

काठमाडौं– पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले मौलिक पर्वले

ट्याङ्कर दुर्घटना हुँदा महेन्द्र राजमार्ग अवरुद्ध

रौतहट– पूर्वपश्चिम राजमार्गअन्तर्गत रौतहटको चन्द्रनिगाहपुर–धन्सार सडकखण्डको लमाह पुल नजिक आज

व्यक्तिगत लाभभन्दा माथि उठेर रास्वपासँग एकता : कुलमान

काठमाडौं – कुलमान घिसिङले व्यक्तिगत लाभमन्दा माथि उठेर उज्यालो नेपाल

संविधानले विविधतासहितको एकतालाई आत्मसात गरेको छ : राष्ट्रियसभा अध्यक्ष

काठमाडौं– राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले संविधानले विविधतासहितको एकतालाई राष्ट्रिय मेरूदण्डका

एकैदिन तोलामा ८ हजार रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्यमा उच्च गिरावट आएको छ । अघिल्लो