एकीकरणले कुलमानलाई तनाव : रास्वपाले महामन्त्री पद दिन मानेन, उज्यालोका नेताहरूले एकता स्वीकारेनन् « Khabarhub

एकीकरणले कुलमानलाई तनाव : रास्वपाले महामन्त्री पद दिन मानेन, उज्यालोका नेताहरूले एकता स्वीकारेनन्

सहमति तोडेर एक्लै अघि बढ्न सुझाव



काठमाडौं – सहमति भएको २४ घण्टा बित्न नपाउँदै राष्ट्रिय स्वतन्त्र पार्टीमा संकट देखिएको छ। उज्यालो नेपाल पार्टी सोमबार राष्ट्रिय स्वतन्त्र पार्टीमा समाहित भएको थियोे । चर्को दबाबमा उज्यालो नेपाल पार्टीलाई कुलमान घिसिङले राष्ट्रिय स्वतन्त्र पार्टीमा दोस्रो वरीयता लिएर गाभेका थिए । पार्टी विलय गर्दा महामन्त्री पद उज्यालो नेपाललाई दिने सहमति भएको थियो।

महामन्त्री पदमा लिखित प्रतिबद्धता थिएन । मौखिक प्रतिबद्धता अनुसार महामन्त्री पक्का भनिएको थियो । तर मङ्गलबार बिहान राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने लगायतका नेताहरूले घिसिङलाई महामन्त्री पद नदिने सक्ने संकेत गरे । त्यहीकारण उज्यालो नेपालका नेताहरू आक्रोशित भएका छन्।

यति मात्रै होइन उज्यालो नेपालका १८ जना नेताहरू समानुपातिकको बन्द सूचीमा रहने सहमति थियो तर मंगलबार १५ जनाको मात्रै सूची सार्वजनिक भयो। त्यसमा पनि समानुपातिकको पहिलो अथवा दोस्रो नम्बरमा थोरै नेताहरूको नाम मात्रै छ।

‘नेताहरू महामन्त्री पद फर्काउन अहिले पनि छलफलमा हुनुहुन्छ, हामीले महामन्त्री पद नपाए आफ्नो ढंगले जाउँ, निर्वाचनमा सहकार्य मात्रै गरौं भनेका छौं’, उज्यालो नेपालका एक केन्द्रीय सदस्यले खबरहबलाई भने,’सुरुवातबाटै सम्झौतामा गद्दारी गरिन्छ भने मिलेर अगाडि बढ्न तुक छैन भनिसकेका छौं । कुलमानजीले यो कुरा बुझ्नुभएको होला।’

ती नेताले अगाडि भने, ‘सुरुदेखि नै राष्ट्रिय स्वतन्त्र पार्टीले आलटाल गरेको छ। महामन्त्री पद दिन पनि आनाकानी गर्यो। यस्तो तरिकाले दरिलो एकता हुँदैन, हामीले रथुप्रै त्याग गरेर पार्टी एकीकरण गरेका हौँ।’

पहिचान र गैरपहिचान पक्षधर दुवैको असहमति

पार्टीका केन्द्रीय सदस्यहरूलाई नसोधी घिसिङ र केही नेताहरुले एकलौटी एकता गरेकोप्रति पूर्वका पहिचानवादी र पश्चिमसम्मका नेताहरू पनि असन्तुष्ट छन्। पूर्वबाट ताप्लेजुङकी सरस्वती लिम्बु सरु, पाँचथरका डाक्टर महेन्द्र लावती, इलामका डकेन्द्र थेगिम लगायतका नेताहरूलेअसन्तुष्टि व्यक्त गरिसकेका छन् ।

लावतीले समानुपातिकको आफ्नो नाम हटाइदिन टेलिफोन नै गरेर घिसिङ लगायतका नेताहरूलाई भनेका थिए । केन्द्रीय समिति बैठकले एकता सम्भव नहुने बताउँदा बताउँदै एकता गरिएको असन्तुष्टहरूकाे भनाइ छ ।

‘म त संगठन विस्तारको सिलसिलामा गृहजिल्ला आएको थिएँ। एक्कासि बेलुका पार्टी एकीकरण भयो भन्दा सरप्राइज भएँ’ महेन्द्र भन्छन्, ‘सोधीखोजी नगरी गरिएको एकतालाई कसरी मान्ने । यसअगाडिको केन्द्रीय समिति बैठकले एकता नगर्ने निर्णय गरिसकेको थियो । फिल्मी शैलीको एकता हामीले स्वीकार्ने कुरै भएन ।’

राष्ट्रिय स्वतन्त्र पार्टीले बालेन्द्र शाह र उज्यालो नेपालसँग पटकपटक एकताको विषयमा छलफल गरे पनि एक्लै एक्लै जाने सहमति भएकाे तर्कसहित एकताको सहमति उज्यालो नेपालले नगरेको अर्का केन्द्रीय सदस्यको दाबी छ।

‘एक्लै एक्लै जाने निर्णय भएको थियो । हिजो राति नाटकीय सहमति भएछ । त्यसमा हाम्रो असन्तुष्टि छ’, पार्टीका अर्का केन्द्रीयसदस्य भन्छन, ‘धेरैलाई चित्त बुझेको छैन यो समातेपछि अहिले केन्द्रीय समिति बैठक बस्दैछ। यही यो निर्णय उल्ट्याउनुपर्छ भन्ने धेरैको आवाज छ।’

यही आवाज आएपछि उज्यालो नेपाल पार्टीले मङ्गलबार बिहानबाटै केन्द्रीय समिति बैठक बसाउन खोजेको थियो। तर कुलमानले मन्त्रालयको काममा व्यस्त भएका कारण बेलुका मात्रै बस्ने भने। स्रोतका अनुसार काठमाडौंमा उपलब्ध शीर्ष केही नेताहरू बसिरहेका छन्।

सहमति तोड्न माग

उज्यालो नेपालका केन्द्रीय सदस्यहरू तत्कालका लागि राष्ट्रिय स्वतन्त्र पार्टीसँगको एकताको सहमति तोडिनुपर्ने आवाज उठाइरहेको बताउँछन्। उज्यालो नेपाल पार्टीको ग्रुपमा पनि केही नेताहरूले यो सहमतिमा असन्तुष्टि जनाए। तत्कालका लागि तोडिएर निर्वाचनमा मात्रै सहकार्य गर्ने प्रस्ताव राखेको उल्लेख गरे।

‘सहमति तोडिन सक्ने सम्भावना छ । अध्यक्ष अनुप उपाध्याय र कुलमान दाइले पनि धेरै लचिलो भएर सहमति गर्नुभएको छ। समानुपातिकमा नाम पठाउँदा पनि उहाँले बदमासी गर्नुभयो

समानुपातिकमा १८ जनाको नाम भनिएको थियो तर १५ जनाको मात्रै आएको छ। कतिपयको नाम लिस्टमा राखिने तर पछि नहुने किसिमको पनि छ । ‘बागमती प्रदेशका एक उज्यालोका केन्द्रीय सदस्य भन्छन, त्यसपछाडि हामीले राष्ट्रिय स्वतन्त्र पार्टीको महामन्त्री पदमा दाबी गरेका छौं। बिहानै राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठकले निर्णय गर्ने भनेको थियो, अहिलेसम्मकै काम भएको छैन।’

नेताहरूले यहाँ मात्रै असन्तुष्टि पोखेका छैनन्, राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कमिटीमा कति नेताहरुलाई पठाउने विषयमा पनि एकिन धारणा अहिलेसम्म नआएकाले सहमति तोडिनुपर्ने माग गरेका छन् ।

‘राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय कमिटीमा कति राख्ने र महामन्त्री दिने विषयमा पनि आलटाल गरेकाले सहमति तोड्नुपर्छ भनेका छौं’, पार्टीका अर्का केन्द्रीय सदस्य भन्छन,’राष्ट्रिय स्वतन्त्र पार्टीले सहमति कार्यान्वयनमा बदमासी गरेको छ । देशभर संगठन विस्तार भएको पार्टीलाई गरिएको अपमानपूर्ण एकता स्वीकार्य भएको छैन।’

ती नेताका अनुसार साँझसम्म राष्ट्रिय स्वतन्त्र पार्टीले कुलमानलाई एकिन धारणा नदिएपछि अहिले कुलमान पनि निर्णय लिने तयारीमा रहेको दाबी छ । ‘कुलमानजीले पनि यसमा असन्तुष्टि जनाउनु भएको छ। हामीले त दिनभर पटकपटक फोन सम्पर्क गरेर भनेका छौँ’ यसबारे उज्यालोका ती नेेताले भने ।

ती नेताका अनुसार साँझसम्म पनि राष्ट्रिय स्वतन्त्र पार्टीले कुलमानलाई एकिन धारणा नदिएपछि अहिले कुलमान पनि तनावमा छन्

‘कुलमानजीले पनि यसमा असन्तुष्टि जनाउनु भएको छ। हामीले त दिनभर पटकपटक फोन सम्पर्क गरेर भनेका छौँ,’ यसबारे उज्यालोका अर्का सदस्यले भने, ‘आज पनि हामीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, कुलमान घिसिङ र बालेन्द्रजीलाई बैठक बसेर मिलाउनु भनेका थियौँ, तर कुनै निर्णय आएन । सहमतिपछि गठबन्धनमा मात्रै सीमित हुन सक्छ, समानुपातिकको सूची बुझाउन हामीले सोमबारै टोकन लिसकेका थियौँ, मंगलबार बिदा भएको छ। भोलि पनि बुझाउन पाउँछौं।’

ताप्लेजुङकी लिम्बु, पाँचथरका लावती, इलामका थेगिम, गण्डकीका जितराम लामा तुलसा वाइबा, सुदूरपश्चिमका विशाल भण्डारी विशाल भण्डारी, नेताहरू लाक्पा फुजी शेर्पा, किरण बिक, इन्जिनियर सागर ढकाल,लगायत नेताहरू एकताबारे असन्तुष्टि उज्यालोको ग्रुपमा पोखिरहेका छन् ।

केन्द्रीय सदस्य प्रवीण तामाङले पनि कुलमानले समानुपातिक बन्द सूचीमा आफन्त राखेकोप्रति बैठकमा असन्तुष्टि जनाएका छन्। उनले समानुपातिक सूचीमा राखिएको राम लामाको नामप्रति असन्तुष्टि जनाएका हुन् ।

मङ्गलबारको बैठकमा केन्द्रीय सदस्यहरूले कुलमानलाई घेराबन्दी गरेर आफू अनुकूल निर्णय गरेकोमा चर्को आलोचना गरे । सोमबारै आफ्नो पार्टीले समानुपातिकको बन्दसूची बुझाउन निस्सा लिसकेकाले नेताहरूले निर्वाचनमा एक्लै अगाडि बढ्नुपर्ने सुझाव दिएका छन्।

उनीहरूले राष्ट्रिय स्वतन्त्र पार्टीसँग मोर्चागत सहकार्य गर्नुपर्ने माग राख्दै अहिले स्वतन्त्र रूपमा निर्वाचन लड्ने वातावरण बनाउनुपर्ने जोड दिए। अन्य नेताले पनि यो मागमा ऐक्यबद्धता जनाएका थिए ।

‘जुन तहको सम्झौता भएको थियो, त्यो कार्यान्वयन भएको छैन। हामी असन्तुष्ट छौँ,’ पूर्वका डकेन्द्र थेगिमले भने, ‘कम्तिमा एकपटक सोधीखोजी गरिएको भए हुन्थ्यो । हामीले त भनेका छौँ अहिलेलाई यो सहमतिको कुनै काम छैन चुनावी सहकार्य गरेर अगाडि बढौँ।’

उज्यालो नेपालमा अहिले ७० जना केन्द्रीय सदस्य छन्। त्यसमा करिब ४० प्रतिशत सदस्य असन्तुष्टि रहेको बताइन्छ । पूर्वका पहिचानवादीले चन्द्र ढकालका छोरालाई पनि समानुपातिकको सूचीमा राखिएकोमा असन्तुष्टि जनाएका छन्।

प्रकाशित मिति : १५ पुस २०८२, मंगलबार  १० : ५१ बजे

वासुदेव घिमिरेले छाडे एमाले, रास्वपाबाट विष्णु पौडेलविरूद्ध चुनाव लड्ने तयारी

काठमाडौँ -नेकपा एमाले नेता वासुदेव घिमिरेले पार्टी परित्यागको घोषणा गरेका

एकीकरणले कुलमानलाई तनाव : रास्वपाले महामन्त्री पद दिन मानेन, उज्यालोका नेताहरूले एकता स्वीकारेनन्

काठमाडौं – सहमति भएको २४ घण्टा बित्न नपाउँदै राष्ट्रिय स्वतन्त्र

भोटे दमाईको निधनप्रति महानिरीक्षक कार्कीले दिए भावुक श्रद्धाञ्जली

काठमाडौं – नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले किशोरावस्थामा आफ्नो

राप्रपाको समानुपातिक सूचीः जुम्लामा पहिलोपटक दलित उम्मेदवार समानुपातिक शीर्षसूचीमा

जुम्ला– जुम्ला जिल्लाको राजनीतिक इतिहासमा पहिलोपटक दलित समुदायका उम्मेदवार प्रतिनिधि