किशोरीसँगै किशोरलाई आवश्यक छ ‘एचपीभी’ खोप « Khabarhub

किशोरीसँगै किशोरलाई आवश्यक छ ‘एचपीभी’ खोप


१८ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालमा पाठेघरको मुखको क्यान्सर बढ्दो क्रममा छ। महिलामा हुने क्यान्सरमध्ये स्तन क्यान्सरपछि दोस्रो स्थानमा रहेको पाठेघरको मुखको क्यान्सरबाट दैनिक चार जनाको मृत्यु हुने गरेको सरकारी तथ्याङ्क छ।

हरेक वर्ष दुई हजार एक सय ६९ जनालाई हुने यो रोगका कारण एक हजार तीन सय १३ जनाले ज्यान गुमाउने गरेको तथ्याङ्कले देखाएको छ। यौनिक क्रियाकलापमा संलग्न हुनु अगावै यो खोप लगाउँदा ९५ देखि ९९ प्रतिशतसम्म पाठेघरको मुखको क्यान्सरको जोखिमबाट बच्न सकिने चिकित्सक बताउँछन्।

त्यसैले रोग लागेर उपचार गराउनुभन्दा रोग लाग्न नदिनु नै उत्तम विकल्प हो भन्ने भनाइलाई उपज मान्दै नेपाल सरकारले माघ २२ गतेदेखि फागुन ६ गतेसम्म देशव्यापी रुपमा पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप अभियान सञ्चालन गर्दैछ।

१० देखि १४ वर्ष उमेर अर्थात् कक्षा ६ देखी १० सम्म अध्ययन गर्ने १६ लाख ८८ हजार किशोरीलाई खोप दिने तयारी अन्तिम चरणमा पुगेको छ। अभियानको सम्पूर्ण तयारी पुरा भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यौनिक क्रियाकलापमा संलग्न हुनु अगावै यो खोप लगाउँदा प्रभावकारी हुने भनिरहँदा किशोरी सँगसँगै किशोर पुरुषलाई पनि लगाउनु पर्ने हो कि ? भन्ने प्रश्न उठ्न थालेको छ। स्त्री रोग विशेषज्ञ डा. कृतिपाल सुवेदी भन्छन्, ‘यौन जीवनमा जानुभन्दा पहिले किशोरावस्थामा यो खोप लगाउँदा यसको प्रभावकारिता धेरै हुन्छ।’

डा. कृतिपाल सुवेदी

एचपीभी भाइरसले महिलाको पाठेघरको मुखमा क्यान्सर गराए जस्तै पुरुषको पनि प्रजनन अङ्गमा क्यान्सर गराउन सक्ने जोखिम हुन्छ। तर महिलाको पाठेघरको बनावट र हर्मोनल परिवर्तन धेरै हुने भएकाले पुरुष भन्दा धेरै जोखिम हुने डा. सुवेदीको भनाइ छ। विश्वका कतिपय देशमा पुरुषबाट यो भाइरस सर्छ भन्ने मान्यता राखेर किशोर पुरुषलाई पनि यो भ्याक्सिन दिने गरेको उनले बताए।

‘किशोरावस्थामै महिला र पुरुष दुवैलाई यो खोप दिनसके अझै प्रभावकारी हुन्छ। तर नेपालमा यो खोप सर्वसुलभ हुनथालेकै एक दुई वर्ष जति मात्रै भयो। किनेर लगाउँदा अझै पनि प्रतिडोज चारदेखि पाँच हजार पर्न जान्छ। त्यसैले महिलालाई प्राथमिकतामा राखेर दिन थालिएको छ।’

एचपीभी खोप र यसको प्रभावकारिता
एचपीभी पाठेघरको मुखको क्यान्सरविरुद्ध लगाइने खोप हो। ह्युमन पेपिलोमा भाइरस नामक जीवाणुले पाठेघरको मुखको क्यान्सर गराउँछ। यौन जीवनमा जानुभन्दा पहिले किशोरावस्थामा यो खोप लगाउँदा यसको प्रभावकारिता धेरै हुने डा. सुवेदी बताउँछन्।

डा. सुवेदी भन्छन्, ‘एचपीभी भाइरसले पाठेघरको मुखको बनावटको आधारमा भाइरस कोषभित्र पस्छ। यसको भाइरसले अस्वभाविक रुपमा कोषलाई बढाउँछ र यसले क्यान्सरको रुप लिन्छ। यदि किशोरावस्थामै यो खोप लगाइएको छ भने त्यो भाइरसलाई कोषभित्र पस्न दिँदैन।’

डा. सुवेदीका अनुसार यो भाइरसका धेरै प्रजाति हुन्छन्। मुख्य गरी क्यान्सर गराउने भनेको प्रजाति १६ र १८ हो। अहिले दिन लागेको खोप यिनै १६ र १८ प्रजातिका विरुद्धमा भएको उनले प्रष्ट पारे।

‘विश्वमा यस्तै भ्याक्सिन ९ वटा प्रजातिका विरुद्धमा बनेको छ। त्यो महंगो पनि छ। अहिलेको पब्लिक हेल्थको हिसाबले १६ र १८ महत्त्वपूर्ण भएकाले यो खोप लगाउने तयारी भएको हो।’

गर्भवती र भ्याक्सीनको एलर्जी हुने समस्या भएका महिला बाहेक अन्य जुनसुकै अवस्थाका महिलाले पनि यो खोप लगाउन सक्ने उनले प्रष्ट पारेका छन्।

पहिले पहिले ६ महिनाको फरकमा दुई पटक लगाउनुपर्ने भनेर आउँथ्यो। तर अहिले सन् २०२२ मा डब्लुएचओले निकालेको डेटा अनुसार एक डोज लगाउँदा र दुई डोज लगाउँदा प्रभावकारिता उस्ताउस्तै छ भनिएको छ। त्यसैका आधारमा सरकारले एउटा मात्रै डोज लगाउने निर्णय गरेको छ।

एचपीभी खोपको सुरुवात र अहिलेको अवस्था
एचपीभी भाइरस आएको धेरै समय भए पनि यसको जोखिम न्युनिकरणका लागि खोप सन् २००६ मा मात्रै बनेको हो। सुरुवाती अवस्थामा डरका कारण यो खोप धेरैले लगाउन मानेनन् र पछि सन् २००८ मा इंग्ल्याण्डका किशोरीमा यो खोप लगाइएको र यसले प्रभावकारी काम गरेपछि मात्रै खोपले मान्यता पाएको बिबिसीमा उल्लेख छ।

खोप सेवा शाखाका प्रमुख अभियान गौतमका अनुसार यो खोप अहिले नेपाललगायत विश्वका एक सय ४५ देशमा नियमित खोपकै रुपमा उपयोग भइराखेको छ।

खोप सेवा शाखाका प्रमुख अभियान गौतम

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) द्वारा मान्यता प्राप्त यो खोपलाई स्वास्थ्य सेवा विभाग र खोप ऐनले पनि मान्यता दिएपछि मात्रै सिकोलिन नामको खोप आहिले नेपालमा लगाउन लागिएको उनको भनाइ छ।

अभियान सञ्चालन गर्नु अगाडि गत वर्ष १० हजार किशोरीलाई डेमोका रुपमा यो खोप दिएको थियो। खोपले नकारात्मक असर गर्ने सम्भावना कम भएकाले ढुक्क भएर लगाउन डा. सुवेदीले सुझाव दिएका छन्।

प्रकाशित मिति : १८ माघ २०८१, शुक्रबार  १० : ५८ बजे

होल्डिङ सेन्टरबाट नहटाउन माग गर्दै प्रदर्शनमा उत्रिए सुकुम्वासी (तस्बिरहरू)

काठमाडौं– वैकल्पिक व्यवस्था नगरी आफूहरूलाई होल्डिङ सेन्टरबाट हटाउन लागेको भन्दै

रास्वपा महाधिवेशन : ५० करोड रुपैयाँ भन्दा बढीको व्यापार

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनका कारण चितवन

प्रतिनिधिसभाको बैठक आइतबारसम्मका लागि स्थगित

काठमाडौं– प्रतिनिधिसभाको बैठक आइतबारसम्मका लागि स्थगित गरिएको छ । शुक्रबार

विरोध र आलोचना लोकन्त्रको सुन्दर पक्ष हो : मुख्यमन्त्री कार्की

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विरोध र आलोचना लोकतन्त्रको

विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा प्रतिनिधिसभाबाट आएको सन्देश राष्ट्रियसभामा टेबुल

काठमाडौं– ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश राष्ट्रियसभा