केन्यामा खडेरी : गाईको सट्टा उँट पाल्दै किसान | Khabarhub Khabarhub

केन्यामा खडेरी : गाईको सट्टा उँट पाल्दै किसान


१४ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

नैरोबी- उत्तरी केन्याको सुक्खा भूमिमा अप्रिलयता वर्षा भएको छैन । त्यसबेलादेखि स्थानीय गोठालाहरूका लागि गाई र गोरु पालन अब अतीतको कुरा बन्दै गएको छ । बबुल (एकासिया) का रुखतिर दौडिरहेका दर्जनौँ उँटलाई नियाल्दै दुई गोठालाले ‘हे भगवान, तिनीहरूको रक्षा गर्नुहोस्’ भन्दै प्रार्थना गर्ने दृश्य अहिले यहाँ सामान्य भइसकेको छ ।

नजिकैको कुवाको किनारमा बसेका गोठालाहरूले सन् २०२१ र २०२२ का लगातार न्यून वर्षाका कारण चार दशककै सबैभन्दा भीषण खडेरीमा आफ्ना गाई–गोरुहरू ‘सबै मरे’ भनेर दुःख व्यक्त गरे । त्यस यताका वर्षहरूमा उनीहरूले जीवनयापनको स्वरूप नै परिवर्तन गरेका छन् । अर्ध–घुमन्ते सम्बुरु समुदायका सदस्य लोलपुसिक भन्छन्, “अब हाम्रो घरमा गाईवस्तु छैनन्, हामीले केवल उँट पाल्छौँ ।” उँटहरू सुक्खा घाँसमा पनि बाँच्न सक्छन्, एक हप्ता भन्दा बढी पानी बिना रहन सक्छन् र गाईको तुलनामा छ गुणा बढी दूध दिन सक्छन् ।

यसले जलवायु परिवर्तनको उच्च जोखिममा रहेको उत्तरी केन्याका बासिन्दालाई उँटलाई जीवनको नयाँ आधार बनाउन प्रोत्साहित गरेको छ । सन् २०१५ मा थुप्रै खडेरीका कारण केन्याको सुक्खा र अर्ध–सुक्खा क्षेत्रका करिब ७० प्रतिशत गाईवस्तु मरेपछि सम्बुरु काउन्टीका अधिकारीहरूले उँट पालन कार्यक्रम सुरु गरेका थिए । ती खडेरीहरूले स्थानीय पशुपालकहरूमा कुपोषणको गम्भीर समस्या निम्त्याएको थियो । त्यसपछि करिब पाँच हजार सोमाली उँट वितरण गरिए ।

यसमा गत वर्ष मात्रै एक हजार उँट समावेश थिए । यी उँट देशी प्रजातिभन्दा ठूला र बढी उत्पादक हुन्छन् । पहिले उँटबारे खासै जानकारी नभएका लोलपुसिकले सन् २०२३ मा केही उँट प्राप्त गरे । अहिले उनको झाडीले घेरिएका सवान्ना क्षेत्रका साना आयाताकार झुपडीहरूको समूह मन्याट्टामा इक दर्जन उँट शान्तिपूर्वक घाँस चरिरहेका छन् । गाउँका प्रशासक जेम्स लोलपुसिक (नाम मात्र मिल्ने तर सम्बन्ध नभएको व्यक्ति) का अनुसार काउन्टीको लक्ष्य ‘हरेक परिवारको आफ्नै उँट हुने’ हो ।

“यदि खडेरी जारी रह्यो भने गाईवस्तुहरू यहाँ टिक्न सक्दैनन्”, उनले भने । यद्यपि उँटपालनसँग केही जोखिमहरू पनि छन् । विशेषगरी रोगको सम्भावना रहेको छ । तर सकारात्मक परिवर्तनहरू प्रष्ट देखिएका छन्—उँटको दुधले बालबालिकाको पोषणमा ठूलो सुधार ल्याएको छ ।

“उँटहरू दिनमा पाँचपटकसम्म दुध दिन सक्छन्”, गाउँ प्रमुखले भने। ४० वर्षीया नैमालु लेन्टाका भन्छन्, “गाईले त घाँस हरियो हुँदा मात्र दुध दिन्छ, तर उँटहरू सुक्खा मौसममा पनि निरन्तर दुध दिन्छन्, यही हो ठूलो भिन्नता ।” उनका अनुसार अहिले गाउँका धेरै परिवार ‘उँट र तिनीहरूको दुधमा नै निर्भर’ छन् ।

सन् २०२२ मा केन्याको मेरु विश्वविद्यालयले गरेको अध्ययनले उँटको दुधमा मानव स्तनदूधजस्तै पोषण र उपचारात्मक गुणहरू रहेको देखाएको थियो । उत्तरी केन्याका समुदायहरूमा खडेरीका समयमा उपभोग गरिने कुल पोषक तत्वको करिब आधा भाग उँटको दुधबाट प्राप्त हुने तथ्याङ्कमा उल्लेख गरिएको छ ।

उँटहरू केवल जीविकोपार्जनका साधन मात्रै होइनन्, यहाँका सांस्कृतिक र खेलकुदका तारा पनि बनेका छन् । सेप्टेम्बरको अन्त्यमा सम्पन्न मारालाल इन्टरनेसनल क्यामल डर्बीमा करिब ४० वटा उँट उत्साहित भीडका सामु दौडिरहेका थिए । विजेताले २१ किलोमिटर (आधा म्याराथन) दूरी मात्र एक घण्टा २२ मिनेटमा पूरा गरेका थिए ।

कार्यक्रमका आयोजकहरूले भनेका छन्, “यो प्रतियोगिता शान्तिपूर्ण सांस्कृतिक अन्तरक्रियाको माध्यम हो, जसले स्रोतका लागि लड्ने समुदायहरूलाई एकसाथ ल्याउँछ ।” वास्तवमा, उँटलाई यहाँ ‘शान्तिको प्रतीक’ का रूपमा समेत हेरिन्छ ।

सुक्खा मौसममा गोठालाहरूले गाईवस्तुका झुण्डहरूलाई उर्वर क्षेत्रतर्फ लैजानाले वर्षौंदेखि थुप्रै द्वन्द्व निम्त्याएको छ । तर उँटहरू भने जहाँ छन् त्यहीँ बस्न सक्ने भएकाले यसले हिंसा र प्रतिस्पर्धा घटाएको छ । यद्यपि यो कठोर जनावरलाई पनि जीवित रहन केही पानी चाहिन्छ । त्यसैले स्थानीय बासिन्दाहरू अझै पनि वर्षाको प्रतीक्षा र प्रार्थनामा छन् । “हामी केवल यही प्रार्थना गर्छौं कि स्थिति अझ बिग्रिन नपाओस्”, गाउँ प्रशासक जेम्स लोलपुसिकले भने ।

प्रकाशित मिति : १४ कार्तिक २०८२, शुक्रबार  ३ : २१ बजे

पहिलो पुस्ताका नेता बिदा नभएसम्म पार्टी एकताको अर्थ छैन : घनश्याम भुसाल

काठमाडाैं – नेकपा एकीकृत समाजवादीले माओवादी केन्द्रसँग एकता गर्ने विषयमा

११ दिनदेखि बेपत्ता सुनार मृत भेटिए

हुम्ला– हुम्लाको सिमकोट गाउँपालिका–३ बरगाउँका ५३ वर्षीय पर्वसिंह सुनार मृत

नवलपरासीमा बेमौसमी वर्षाले धान, तोरी र आलुमा क्षति

नवलपरासी – पश्चिम नवलपरासीमा मङ्गलबारदेखि परेको बेमौसमी वर्षाले धान, तोरी,

‘अत्यावश्यकबाहेक मुग्लिन–नारायणगढ सडकमा यात्रा नगर्नू’

मुग्लिन (चितवन)– अविरल वर्षासँगै पहिरोको उच्च जोखिम बढेपछि नारायाण्ढ–मुग्लिन र

जेनजीले कुरा बुझ्न थाले म खुसी छुः प्रधानमन्त्री कार्की

काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीले जेनजीहरूको बुझाइमा आकाश-जमिन परिवर्तन आएको बताएकी