काठमाडौं– बागमती प्रदेशको नयाँ सरकार गठनअघि नेकपा एमालेभित्र मुख्यमन्त्री चयनलाई लिएर चलेको तीव्र शक्ति संघर्ष अन्ततः संसदीय दलका नेता जगन्नाथ थपलियाको पक्षमा टुंगिएको छ।
अध्यक्ष केपी शर्मा ओलीले अन्तिमसम्म भक्तपुरका प्रदेशसभा सदस्य किरण थापालाई मुख्यमन्त्री बनाउने प्रयास गरे पनि महासचिव शंकर पोखरेल र उपाध्यक्ष विष्णुप्रसाद पौडेलको स्पष्ट अडानपछि उनी पछि हट्न बाध्य भएको एमाले स्रोतले जनाएको छ।
स्रोतका अनुसार शुक्रबार अध्यक्ष ओलीले अन्ततः संसदीय दलका नेता थपलियालाई नै मुख्यमन्त्री बनाउने गरी शुक्रबार केही प्रदेशसभा सदस्यसहितको अनौपचारिक सहमति जनाएका छन्। यससँगै बागमतीमा केही दिनदेखि एमालेभित्र चलेको दलको नेता परिवर्तनको प्रयास तत्कालका लागि रोकिएको छ।
यसअघि अध्यक्ष ओलीले आफ्ना निकट सहयोगी तथा सचिव महेश बस्नेतमार्फत संसदीय दलको नेतृत्व परिवर्तन गरी किरण थापालाई दलको नेता बनाउने अन्तिम तयारी गरेका थिए।
त्यसका लागि सांसदहरूको हस्ताक्षर संकलनदेखि अध्यक्षसँग भेटघाटसम्मका गतिविधि तीव्र बनाइएका थिए। तर महासचिव पोखरेल र उपाध्यक्ष पौडेलले यस कदमप्रति असन्तुष्टि जनाउँदै अध्यक्ष ओलीसँग प्रत्यक्ष छलफल गरेपछि परिस्थितिले नयाँ मोड लिएको हो।

एमाले स्रोतका अनुसार बिहीबार महासचिव शंकर पोखरेल र उपाध्यक्ष विष्णुप्रसाद पौडेल भक्तपुरस्थित अध्यक्ष ओलीको निवास गुन्डु पुगेर बागमती, कोशी र लुम्बिनी प्रदेशमा भइरहेका राजनीतिक घटनाक्रमबारे विस्तृत छलफल गरेका थिए। उनीहरूले संसदीय दलका निर्वाचित नेता हटाएर नयाँ नेतृत्व ल्याउने प्रयासले पार्टीभित्र अनावश्यक विवाद सिर्जना हुने भन्दै अध्यक्ष ओलीलाई आफ्नो निर्णय पुनर्विचार गर्न आग्रह गरेका थिए।
यहीबीच कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले पनि सरकार परिवर्तन पार्टी अध्यक्षको मौखिक निर्देशनका आधारमा नभई सचिवालयको संस्थागत निर्णयबाट मात्रै हुनुपर्ने अडान राखेका थिए। पार्टी सचिवालयमा अध्यक्ष ओली अल्पमतमा रहेको चर्चा भइरहेका बेला कार्कीको यो अडानले पनि उनीमाथि थप दबाब परेको स्रोतको दाबी छ।
यस घटनाक्रमको प्रत्यक्ष प्रभाव बागमतीसँगै लुम्बिनी प्रदेशमा पनि परेको छ। स्रोतका अनुसार लुम्बिनीमा पनि चेतनारायण आचार्यलाई नै मुख्यमन्त्रीको जिम्मेवारीमा निरन्तरता दिने समझदारी बनेको छ।
एमाले अध्यक्ष ओली पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीसँग भएको सहमतिअनुसार एमालेको भागमा परेका प्रदेश सरकारहरूमा नयाँ नेतृत्व ल्याउने तयारीमा थिए।
त्यसअनुसार कोशी, बागमती र लुम्बिनी तीनै प्रदेशमा मुख्यमन्त्री परिवर्तनको गृहकार्य भइरहेको थियो। तर महासचिव पोखरेल र उपाध्यक्ष पौडेलले त्यसमा असहमति जनाएपछि अध्यक्ष ओलीले चाहेजस्तो निर्णय कार्यान्वयन हुन नसकेको एमाले स्रोतको भनाइ छ।
बुधबार मात्रै एमाले सचिव महेश बस्नेतको नेतृत्वमा बागमती प्रदेशका सांसदहरूको भेला आयोजना गरिएको थियो। उक्त भेलामा किरण थापालाई संसदीय दलको नेता बनाउने उद्देश्यसहित १४ जना सांसदको हस्ताक्षर संकलन गरिएको थियो।
एमाले बागमती संसदीय दलमा नेता परिवर्तनका लागि आवश्यक बहुमत पुग्ने गरी हस्ताक्षर जुटाइए पनि त्यसलाई संसदीय दलको औपचारिक बैठकबाट अनुमोदन गराउनुपर्ने चुनौती भने बाँकी नै थियो।
बस्नेतको सक्रियतामा बिहीबार र शुक्रबार पनि हस्ताक्षर अभियानलाई निरन्तरता दिइएको थियो। किरण थापा आफैं पनि केही नेतासहित अध्यक्ष ओलीलाई भेट्न गुन्डु पुगेका थिए। २०७३ सालमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट एमाले प्रवेश गरेका थापा यसपटक मुख्यमन्त्री बन्ने दौडमा सक्रिय देखिएका थिए।
स्रोतका अनुसार थपलियालाई हटाएर किरण थापालाई संसदीय दलको नेता बनाउने अभियानमा सचिव महेश बस्नेतसँगै प्रदेश कमिटीका केही नेताहरू पनि सक्रिय थिए। सांसदहरूलाई हस्ताक्षर गर्न विभिन्न किसिमका व्यवस्थापनको आश्वासनसमेत दिइएको दाबी स्रोतले गरेको छ। यद्यपि यसबारे आधिकारिक रूपमा कोही बोल्न तयार भएनन् ।
यता संसदीय दलका नेता जगन्नाथ थपलियाले भने दलको बैठक नै नबोलाएर नेतृत्व परिवर्तनको प्रयासलाई रोकिदिएका थिए। संसदीय दलको बैठक नबस्दासम्म सांसदहरूको हस्ताक्षर मात्रका आधारमा नेता परिवर्तन सम्भव नहुने भएकाले बस्नेत पक्षको रणनीति प्रभावहीन बनेको थियो।
स्रोतका अनुसार थपलियाले बिहीबार ओलीलाई भेटेर आफूलाई मुख्यमन्त्री बन्नबाट रोक्ने निर्णय भए त्यो आफूले अध्यक्षसँग गर्ने अन्तिम भेट हुनेसम्मको सन्देश दिएका थिए। उनी गुन्डु पुगेर असन्तुष्टि र रोष व्यक्त गर्दै फर्किएका थिए।
त्यसअघि अध्यक्ष ओलीले संसदीय दलको बैठक किन नबोलाएको भन्दै थपलियालाई फोनमार्फत् दबाब दिन खोजेका थिए। तर महासचिव शंकर पोखरेलले थपलियालाई नै निरन्तरता दिनुपर्ने स्पष्ट अडान राखेपछि अन्ततः शुक्रबार अध्यक्ष ओली आफ्नो पूर्वअडानबाट पछि हटेको स्रोतको भनाइ छ।
एमाले बागमती संसदीय दलको नेतृत्व परिवर्तनको पक्षमा हस्ताक्षर गर्ने १४ जना सांसदमा केही मन्त्री भइसकेका पनि थिए। थपलियालाई दलको नेताबाट हटाउन हस्ताक्षर गर्नेहरूमा किरण थापा मगर (भक्तपुर), शकुन्तला श्रेष्ठ (भक्तपुर), भरत केसी (दोलखा), आनन्द श्रेष्ठ (रामेछाप), भारती पाठक (मकवानपुर), कृष्ण सिलवाल (चितवन), रामेश्वर श्रेष्ठ (ललितपुर) र प्रेमभक्त महर्जन (ललितपुर) थिए।
त्यस्तै सचिव बस्नेतले चलाएको हस्ताक्षर अभियानपछि नेता फेर्ने पक्षमा रघुनाथ महर्जन (ललितपुर), डा. दिनेशचन्द्र देवकोटा (काठमाडौं), ज्ञानबहादुर तामाङ (काभ्रे), जयराम थापा (काठमाडौं), बिन्दु श्रेष्ठ (काठमाडौं) र माइली तामाङ (सिन्धुपाल्चोक) रहेका छन्।
राजनीतिक रूपमा अर्को महत्वपूर्ण पक्ष के पनि छ भने बागमती प्रदेशमा एमाले र नेकपाको मात्रै स्पष्ट बहुमत पुग्दैन। त्यसैले सरकार गठनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीको समर्थन अपरिहार्य देखिएको छ।
बागमती प्रदेशसभामा राप्रपाका १२ जना सांसद छन्। स्रोतका अनुसार राप्रपाले सरकारमा तीन मन्त्रालयको दाबी गरेको छ भने एमाले दुई मन्त्रालय दिन तयार देखिएको छ। यही विषयमा पनि छलफल जारी रहेको बताइएको छ।
स्रोतका अनुसार एमाले अध्यक्ष ओलीनिकट सचिव महेश बस्नेतले राप्रपाका केही सांसदसँग पनि छलफल अघि बढाएका थिए।
मुख्यमन्त्रीले विश्वासको मत लिने क्रममा आवश्यक परे फ्लोर क्रस गराउने सम्भावनासमेत अध्ययन गरिएको स्रोतको दाबी छ। यसका लागि राप्रपाका केही सांसदलाई अध्यक्ष ओलीसँग भेट गराइएको पनि स्रोतको भनाइ छ।
मुख्यमन्त्रीका आकांक्षी किरण थापा, एमाले बागमती प्रदेश कमिटी अध्यक्ष कैलाश ढुंगेल र सचिव महेश बस्नेतबीच पटकपटक छलफल भए पनि साझा निष्कर्ष निस्किएन । बरू उनीहरूबीच नै भनाभनको अवस्था आयो । त्यहीकारण संसदीय दलको बैठक बोलाउन नसक्दा नेतृत्व परिवर्तनको प्रयास अन्ततः सफल हुन सकेन।
अध्यक्ष ओलीले अन्तिम चरणमा किरण थापालाई ‘अझै उमेर छ, कुर्न सकिन्छ’ भन्दै सम्झाउने प्रयास गरेको स्रोतको दाबी छ। त्यसपछि थपलियालाई नै संसदीय दलको नेता कायम राख्दै मुख्यमन्त्री बनाउने निष्कर्षमा अध्यक्ष ओली पुगेको बताइएको छ।
यता जगन्नाथ थपलियाले भने आफू संसदीय दलको निर्वाचित नेता भएकाले स्वतः मुख्यमन्त्रीको दाबेदार रहेको बताएका छन्। अध्यक्ष ओलीसँग बाहिर चर्चा भएजस्तो कुनै विवाद नभएको बताउँदै उनले आफू नै मुख्यमन्त्री बन्ने विश्वास व्यक्त गरेका छन्।
बागमती प्रदेशका एमाले प्रमुख सचेतक एकलाल श्रेष्ठले भने मुख्यमन्त्री चयन पार्टीको विधि, प्रक्रिया र संसदीय दलको निर्णयअनुसार हुने प्रतिक्रिया दिएका छन्।
महेश बस्नेतले के भने ?
यसैबीच शुक्रबार नै एमाले सचिव महेश बस्नेतले आफ्नो नाम जोडेर आएका बागमती प्रदेशसमम्बन्धीसमाचारप्रति आपत्ति जनाएका छन्। उनले बागमती प्रदेशको नयाँ मुख्यमन्त्री बनाउने ।र एमाले दलको नेता फेर्ने विषयमा गोप्य बैठक बसेको भन्दै आफ्नो र अध्यक्ष ओलीबारे आएकोा समाचार सत्य नभएको उनले बताएका छन् ।
बस्नेतले बागमती प्रदेशको भविष्य, जनताको हित र पार्टीको एकतालाई केन्द्रमा राखेर एमालेभित्रको एकता, अनुशासन र उच्च राजनीतिक संस्कृतिलाई कायम राख्दै पार्टीको विधि र प्रक्रियाअनुसार सर्वसम्मत तथा सबैलाई स्वीकार्य हुने निर्णय गरिने बताएका छन्।

यसरी केही दिनदेखि बागमती प्रदेशको नेतृत्वलाई लिएर एमालेभित्र चलेको तीव्र शक्ति संघर्ष अन्ततः संसदीय दलका नेता जगन्नाथ थपलियाको पक्षमा टुंगिएको देखिएको छ।
महासचिव पोखरेल र उपाध्यक्ष पौडेलको हस्तक्षेपपछि अध्यक्ष ओलीले आफ्नो प्रारम्भिक रणनीति परिवर्तन गरेका छन् । यसको एउटा कारण पार्टी कमिटीमा अल्पमतमा परेपछिको दबाब नै हो । अब थपलिया नै बागमती प्रदेशको नयाँ मुख्यमन्त्री बन्ने सम्भावना निश्चित भएको एमाले स्रोतले जनाएको छ ।











प्रतिक्रिया