‘गगन-देउवा कसैसँग गुनासो छैन, सभापति र वरिष्ठ नेताको लोभ पनि छैन, देशको अस्तित्वको चिन्ता छ’ « Khabarhub

‘गगन-देउवा कसैसँग गुनासो छैन, सभापति र वरिष्ठ नेताको लोभ पनि छैन, देशको अस्तित्वको चिन्ता छ’



काठमाडौं- नेपाली कांग्रेसको कुनै पनि महाधिवेशनमा सहभागी नहुने अडान लिएर बसेका डा. शेखर कोइरालामाथि पछिल्लो समय देउवा पक्षतिर ढल्किएको आरोप लागेको छ । तर उनी कुनै पनि पक्षतिर नलागेको र नेताहरूलाई विवेक प्रयोग गर्न दिएको बताउँछन् । उनी अहिले नै आफ्नो काम नदेखिएपनि भविष्यमा कांग्रेस एक बनाएरै छोड्ने दाबी गर्छन् ।

तर उनी तत्कालै कांग्रेस एकता सम्भव नभएको दाबी गर्छन् । दुवै पक्षले आ-आफ्नो महाधिवेशन सम्पन्न गरेपछि कांग्रेस एकताका लागि छलफल हुने उनको भनाइ छ । उनी कांग्रेस एक नभएकोमा भन्दापनि लोकतन्त्र कमजोर भएकोमा चिन्तित छन् । शेखर भन्छन्, ‘मलाई पदको लोभ छैन । म पार्टीको सभापति हुने वरिष्ठ नेता हुने केही पनि लोभमा छैन । तर देशको अस्तित्व सङ्कटमा पर्नु हुँदैन भन्ने कुरामा अडिग छु ।’

यसै सन्दर्भमा नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालासँग खबरहबले कुराकानी गरेको छ । प्रस्तुत छ कुराकानीको सम्पादित अंश-

पछिल्लो समय तपाईँले पार्टीमा आफ्नो धार परिवर्तन गर्नुभएको हो ?

मेरो धार केही पनि परिवर्तन भएको छैन । म दुवै महाधिवेशनमा सहभागी नहुने भनेर बसेको छु । साथीहरूलाई जे गर्ने हो, विवेक प्रयोग गर भन्या छु ।

बाहिर चाहिँ तपाईँले शेरबहादुर देउवालाई सहयोग गर्नुभयो भनेर सचिवालयमार्फत कुरा आयो नि ?

सचिवालयमार्फत आएको होइन । तपाईँहरूले कुरा नबुझ्नु भएको हो । हामीले साथीहरूलाई विवेक प्रयोग गर्नुहोस् भनेका हौँ । तपाईँहरू आफ्नो विवेक प्रयोग गर्नुहोस् भनेर हामीले सुरुमा पनि त्यही भनेका थियौँ । र, आजदेखि सुरु भएको वडा अधिवेशनमा पनि त्यही भनेका छौँ ।

तर, तपाईँ समर्थक धेरै नेता त शेरबहादुर देउवा कहाँ जानुभयो नि ? केही गगनतिर पनि हुनुहुन्छ ?

उहाँहरूको मैले रक्षा गरिनँ, जसलाई जहाँ जान मन लाग्छ, विवेक प्रयोग गरेर जानुभयो । जहाँ गए पनि उहाँहरु कांग्रेसमै जानुभएको हो ।

तपाईंले आफूसँग नेता चाहिँ किन राख्न नसकेको ?

मैले आफूसँग किन राख्ने र ? जहाँ गएपनि उहाँहरु कांग्रेसमै जानुभएको हो । उहाँहरूको राजनीतिक अधिकारलाई मैले कुण्ठित गर्न चाहिनँ । तपाईँहरू खाली दुई पक्षको विषयमा मात्रै विश्लेषण गरिरहनु भएको छ । कतै नगइ बस्ने थुप्रै नेताहरु हुनुहुन्छ ।

यो बेलामा नेतृत्वदायी भूमिकामा पुग्नुपर्ने व्यक्ति चुपचाप बसेर काम छैन भन्ने पनि प्रश्न छ नि ?

काम छ कि छैन भन्ने कुरा त देखिहालिन्छ नि । यहाँहरुले नै फोन गरिरहनुभएको छ । काम भएरै गर्नुभएको होला नि ? त्यसकारण काम अहिले नदेखिएला, तर भविष्यमा पक्कै देखिन्छ ।

अहिले चाहिँ तपाईँले के-के काम गरिरहनुभएको छ ?

अहिले मैले मध्यस्थकर्ताको काम गरिरहेको छु । मिलाउने प्रयास भइरहेको छ । अहिले मिल्दैन होला, तर समय त आउँछ नि मिलाउने र मिल्ने ।

उसो भए दुवै पक्षको महाधिवेशन अगाडि मिलन सम्भव छैन ?

एउटामा केन्द्रको महाधिवेशनबाहेक अरु प्रक्रियाहरू सकिसक्यो । त्यसकारण तत्कालै मिल्न सम्भव देखिँदैन । तर नेपाली कांग्रेसको दुई ग्रुपको विग्रहले लोकतन्त्रलाई नै खल्बल्याएको अवस्था छ । लोकतन्त्र खलबलिएपछि देश दुई वटा धार अथवा द्वन्दमा जान्छ भन्ने कुरामा दुई मत छैन । अहिले पनि देश दुई धारमा गइराखेको महसुस भएको छ । त्यो कारण पनि कांग्रेस दुई धारमा विभाजित भएर हो ।

तपाईंकै खेमामा अहिलेका सभापति गगन थापा हुनुहुन्थ्यो । उहाँलाई नै सहयोग गरेर डा. शेखर अगाडि बढ्नुपर्थ्यो। आयोग र अदालतले पनि मान्यता उहाँलाई नै दिएको छ भन्ने कुराहरु पनि छन् ? खास उहाँले पनि स्वार्थ राख्नुभयो भन्छन् ?

तपाईँसँग जसले कुरा गर्छ कोही गगन थापा ग्रुपको मान्छेले गर्‍यो होला । कोही देउवा पक्षको ग्रुपले गरेको होला । बीचमा रहेका धेरै व्यक्तिहरू चाहिँ अहिले चुपचाप हुनुहुन्छ । जो मिडियाको सम्पर्कमा पनि आउनुभएको छैन । मैले एक पक्षतिर लाग्दा धेरै साथीहरुलाई अन्याय हुन्थ्यो । त्यसकारण म बीचको धारमा उभिएको हुँ । मैले टेकेको धार यहाँहरुले भनेजस्तो कमजोर छैन ।

महाधिवेशनमा भाग नलिने पनि धेरै नेताहरुको भविष्यमाथि पनि प्रश्न उठाइन्छ नि ?

प्रश्न उठाउँछन् । तर प्रश्न उठाउनेहरूलाई जवाफ पनि केही वर्ष अथवा महिनामै आउँछ । दशैँपछि म पनि घुम्छु । माहोल के रहेछ, म आफू पनि बुझ्छु । दुई वटै ग्रुप कांग्रेसी नै हुन्, त्यसकारण एकताको नारा लिएर जान्छु । ज-जसले जे गरेपनि कांग्रेसीहरूले नै गरिरहेका छन्, बाहिरका मान्छेले होइन । आजको भोलि नै एकता हुन्छ र परिणाम देखिन्छ भन्ने एक्सपेक्ट गर्नुभएको छ भने त्यो हुँदैन ।

तर बाहिर चाहिँ शेखर कोइराला अर्थात् तपाईँले नै डा. शशांक कोइरालालाई देउवा पक्षको नेतृत्वमा अगाडि सारेको भन्ने कुरा छ नि.. ?

त्यस्तो पनि होइन । मलाई कुनै समूहमा लाग्नु छैन । समूहको राजनीति गर्दिनँ भनेर म लागेकै हो । कुनै समूहमा आज पनि हुँदिन । भोलि पनि हुँदैन । मिलाउने प्रयास भने गर्छु ।

दुवै महाधिवेशनको निमन्त्रणा आएको खण्डमा शुभकामना दिन जाने ?

नजाने । कसलाई शुभकामना दिने र ? दुई तीनतिर मुख फर्काएर बस्नुभएको छ । कांग्रेस एक नहुनुमा काठमाडौँका बुद्धिजीवी चिन्तित छैनन् होला । तर काठमाडौँ बाहिर पनि धेरै बुद्धिजीवीहरु छन् । उनीहरु चिन्तित छन् । नेपाली कांग्रेस फुट्यो भने देश अराजकतातिर जान्छ भन्ने कुरा त अहिले भइरहेको छ, देखिरहेको छ ।

उसो भए दुवैतर्फ रहेका कांग्रेस र बीचमा रहेका साथीहरुलाई तपाईंको भन्नु के छ ?

अहिले आ-आफ्नो महाधिवेशन सक्नुहोस् । मिलेर जाने बाहेक अरु विकल्प छैन । लोकतन्त्रको निम्ति र जनताको हितको निमित्त कांग्रेस एक हुनैपर्छ । नेपालको अस्तित्व अहिले अप्ठ्यारो परिस्थितिमा छ । त्यो अस्तित्वलाई बचाउनको निमित्त नेपाली कांग्रेसले मात्रै सक्छ भन्ने मान्यता मैले मात्रै राखेको होइन देशैले राखेको छ । जबजब नेपाललाई अप्ठ्यारो परेको छ, त्यसबेला नेपाली कांग्रेस नै अगाडि आएको छ । अहिले पनि नेपाल अप्ठ्यारो स्थितिमा छ । त्यसकारण कांग्रेस फुटेर काम छैन । मेरो बुझाइ के हो भने अहिले नेपाली कांग्रेस विभाजित मनस्थितिमा पुगेकाले नै देश अप्ठ्यारोमा परेको हो ।

कहिलेसम्ममा चाहिँ कांग्रेस एक होला?

कहिलेसम्म भन्ने कुरा ठ्याक्कै भन्न सक्दिनँ । आजको भोलि नहोला । समय लाग्छ । कोसिस गर्ने हो । लामो समय कोसिस गरिरहनेछु । आजको भोलि नै चाहिँ सम्भवै छैन ।

अहिले तपाईँलाई के को चिन्ता छ ?

अहिले मलाई चिन्ता छैन भन्ने होइन, चिन्ता ज्यादै छ … मिडियाकर्मीहरूलाई पनि हामीलाई जति चिन्ता छ, त्यतिकै चिन्ता भइदिए राम्रो । धेरै जना मिडियाकर्मीहरू पनि ग्रुपमा लागेका छन् । यसले पनि मान्छेहरुलाई असहज बनाएको छ । मेरो व्यक्तिगत चिन्ता मलाई लाग्दैन, तर देश र जनताको मलाई चिन्ता लाग्छ । कांग्रेस भन्दा पनि देश कहाँ पुग्छ भन्ने नै प्रमुख चिन्ता छ । पार्टी एक भइदिएको खण्डमा देश सही दिशामा जान्छ भन्ने त लाग्छ ।

तपाईँहरूकै कांग्रेसको भातृ संगठन प्रेस युनियनका साथीहरूले साथीहरुले असहयोग गरे हो ?

त्यसोभन्दा पनि मिडियाहरू नै विभाजित भए जस्तो महसुस चाहिँ गरेको छु । जुन तरिकाले मिडियाकर्मीहरूको रोल हुनुपर्ने हो त्यो मैले देखिरहेको छैन । मलाई अहिले नेपाली कांग्रेस कहाँ पुग्छ भन्दा पनि यो देश कहाँ पुग्दैछ कुन मोडतिर गइरहेको छ भन्ने गम्भीर चिन्ता छ । देश सही ठाउँमा लान सक्थ्यो देशको अस्तित्वलाई बचाउन सक्यौँ भने नेपाली कांग्रेस आफैँ बाँच्छ । देशको अस्तित्व बचाउन सकेनौँ भने कांग्रेस पनि जान्छ देश पनि संकटमा पर्छ ।

तपाईंको चित्त दुखाइ अहिले शेरबहादुर देउवा पक्षसँग बढी छ कि गगन थापासँग ?

मेरो व्यक्तिगत रूपमा कोहीसँग पनि चित्त दुखाइ छैन। दुवैलाई मिलाउन मैले हरसम्भव प्रयास गरेँ, तर सकिनँ । दुवै पात्रसँग मेरो कुनै चित्त दुखाइ छै न। उहाँहरू लचिलो भएर अगाडि बढ्नुपर्छ भन्नेमा म अहिले पनि कन्फिडेन्स छु ।

देउवाका कारण कांग्रेस एक हुन सकेन कि गगनका कारण ?

उहाँहरू देखावटी तत्त्व मात्रै हुन् । भित्री र बाह्य शक्तिले धेरै खेल खेलेका छन् । कसैको कारणले मात्र यस्तो भयो भन्न सक्दिनँ । धेरै तत्त्वहरूले आन्तरिक र बाह्य रूपमा खेल खेलेका छन् । देशकै निम्ति पनि बाह्य चलखेल भइरहेका छन् । देशको अस्तित्व नै खतरामा छ भनेर मैले अघिदेखि नै भन्दै आएको छु । देशको अस्तित्व बचाउनकै लागि पनि कांग्रेस एक हुनु जरुरी छ ।

तपाईंका शुभचिन्तकहरूले डा. शेखरलाई एक पटक नेतृत्वदायी भूमिकामा देख्न चाहेका थियौँ, तर अब त्यो सपना पूरा नहुने भयो भन्छन् नि ?

राजनीति कसैले समाप्त गरेर हुँदैन । विगतमा बीपी कोइराला, गिरिजाप्रसाद कोइराला, कृष्णप्रसाद कोइराला, गणेशमान सिंहलगायतका व्यक्तिहरू पनि एकताका समाप्त भए भन्ने विश्लेषण गरिन्थ्यो। तर कोही समाप्त भएनन्। झन् उहाँहरू अर्को ढङ्गबाट मौलाएर आउनुभयो । त्यसकारण राजनीतिमा कोही समाप्त हुँदैन ।

उसो भए भोलि पनि तपाईं जुनसुकै अवस्थामा रहे पनि कांग्रेसको राजनीतिमा सक्रिय हुनुहुन्छ ?

म सक्रिय रहन्छु, तर नेपाली कांग्रेसलाई एकढिक्का बनाउनका लागि । देशको अस्तित्व बचाउनका लागि सक्रिय हुने हो । मलाई पावर र पोस्टको मतलब छैन । मलाई सभापति चाहियो, वरिष्ठ नेता चाहियो भन्ने होइन । म त्यसको लोभी छैन । मैले पटक पटक भन्दै आएको छु, म सभापति, वरिष्ठ नेता अथवा अरू कुनै पदको लोभी होइन । म कांग्रेस एक भएको हेर्न चाहन्छु ।

कांग्रेस एकढिक्का हुनु भनेको देशको अस्तित्व एक हुनु हो, अथवा देशको अस्तित्व बच्नु हो । म साथीहरूलाई के भन्न चाहन्छु भने देशको अस्तित्व नै खतरामा छ । त्यसलाई हामी सबै मिलेर बचाऔँ ।

उसो भए सरकारकै कारण देशको अस्तित्व खतरामा परेको हो ?

मैले सरकारलाई मात्रै दोष दिएको छैन । यसका धेरै कारण छन् । सामाजिक, आर्थिक, राजनीतिक, बाह्य शक्ति, विदेशी हस्तक्षेपलगायत धेरै कारण छन् । धार्मिक र आर्थिक कारणले पनि अझ धेरै समस्या उत्पन्न हुन लागेका छन् ।

त्यसो भए देशको अस्तित्व बचाउनका लागि कसले के भूमिका निर्वाह गर्नुपर्छ ?

हामीहरू सबै कुरामा छलफल गरिरहेका छौँ। कसरी अगाडि बढ्ने भन्ने विषयमा पनि छलफल भइरहेको छ । तर देशको अस्तित्व बचाउनका निमित्त सबै एक ठाउँमा आउनुपर्छ। पार्टीहरू फुटतिर होइन, जुटतिर लाग्नुपर्छ ।

प्रकाशित मिति : १५ आश्विन २०८३, बिहीबार  ८ : ०७ बजे

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह

नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र

काठमाडौं – अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नापी कार्यालय कलङ्की, काठमाडौँका

दुग्ध विकास संस्थानको कार्यसम्पादनमा सुधार

काठमाडौं – दुग्ध विकास संस्थानले किसान भुक्तानी, दूधको गुणस्तर, बजारीकरण