काठमाडौं- अफगानिस्तानमा पाकिस्तानद्वारा गरिएका श्रृंखलाबद्ध हवाइ आक्रमणमा परी बालबालिकासहित कम्तिमा १० जना सर्वसाधारणको ज्यान गएको छ । अफगानिस्तानका कुनार र हेल्मन्द प्रान्तलाई लक्षित गरी भएका यी आक्रमणमा अन्य नौ जना गम्भीर घाइते भएका छन् । संयुक्त राष्ट्रसङ्घीय सहायता नियोग (युनामा) ले उक्त घटनाको पुष्टि गर्दै क्षेत्रमा बढ्दो तनाव कम गर्न, संवाद अघि बढाउन र सर्वसाधारणको सुरक्षा सुनिश्चित गर्न सम्बन्धित पक्षहरूसँग आग्रह गरेको छ ।
तालिबान सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदका अनुसार दुवै प्रान्तका तीन वटा आवासीय घरहरूमा हवाइ हमला भएको थियो। उपप्रवक्ता हमदुल्लाह फितरतले पनि आक्रमणमा १० जना सर्वसाधारण मारिएको जानकारी दिएका छन् । उता पाकिस्तानको इस्लामाबादस्थित सूचना मन्त्रालयले भने गुप्तचर संस्थाको विशेष सूचनाका आधारमा ‘आतङ्कवादी अखडा’ लाई लक्षित गरी योजनाबद्ध आक्रमण गरिएको दाबी गरेको छ। पाकिस्तानले आफ्ना कारबाहीमा २२ जना सशस्त्र विद्रोही मारिएको र ठूलो मात्रामा हातहतियार नष्ट गरिएको दाबी गरे पनि आक्रमण स्थलको विस्तृत विवरण भने सार्वजनिक गरेको छैन।
स्थानीय प्रत्यक्षदर्शी र पीडितहरूका अनुसार आक्रमणका कारण व्यापक क्षति पुगेको छ। हेल्मन्दको सफर गाउँका बासिन्दाले एकाबिहानै भएका तीनवटा हवाइ आक्रमणले पूरै क्षेत्र ध्वस्त बनाएको र मारिनेमा महिला तथा बालबालिका मात्र रहेको बताएका छन्। त्यस्तै कुनारको विकट चुगाम उपत्यकामा बिहानको मिर्मिरेमै भएको बमबारीमा ढुङ्गाले बनेका घरहरू पूर्णरूपमा भग्नावशेषमा परिणत भएका छन् ।
स्थानीयवासीहरूले उद्धारका क्रममा भग्नावशेषमुनि च्यापिएका महिला तथा बालबालिकाको शव निकालेका थिए। इटालियन परोपकारी संस्था ‘इमरजेन्सी’ले पनि आक्रमणपछि घाइते भएका बालबालिकाहरूलाई लस्कर गाहस्थित आफ्नो अस्पतालमा उपचारका लागि भर्ना गरिएको जनाएको छ।
युनामाका अनुसार कुनारमा यसअघि सेप्टेम्बर २१ मा भएको अर्को हवाइ आक्रमणमा पनि तीन जना सर्वसाधारणको ज्यान जानुका साथै चार जना घाइते भएका थिए। सीमापारिबाट हुने यस्ता सशस्त्र हिंसाका कारण यसै वर्ष मात्र अफगानिस्तानमा १ हजार १०० भन्दा बढी सर्वसाधारणको मृत्यु वा घाइते भइसकेको राष्ट्रसङ्घीय नियोगले जनाएको छ।














प्रतिक्रिया