रास्वपासँग राजनीतिक सहमति गर्ने पक्षमा जेन-जी फ्रन्ट र काउन्सिल, अलायन्स भने सडकतिर « Khabarhub

रास्वपासँग राजनीतिक सहमति गर्ने पक्षमा जेन-जी फ्रन्ट र काउन्सिल, अलायन्स भने सडकतिर

'रास्वपा साउनको भेल हो, हामी सडकमै बस्छौँ'



काठमाडौं– सोमबार राति काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङबीच एकीकरण भयो । एकीकरण भएपछि पार्टीको नाम राष्ट्रिय स्वतन्त्र पार्टी र चुनाव चिन्ह सोही पार्टीको घण्टी लिएर जाने विषयमा यी तीन नेताहरुबीच समझदारी भएको छ ।

रोचक के छ भने ती नेताहरू मिलाउने मुख्य कामको जिम्मा जेन-जी आन्दोलनका अगुवा सुदन गुरुङले गरे । गुरुङले तीन नेताहरू मिलाएपछि उनी पनि राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्न लागेका छन् । अथवा प्रवेश गरिसकेका छन् भन्दा फरक पर्दैन ।

तर, गत भदौ २३ र २४ गते आन्दोलन गर्ने मुख्य जेन-जी नेताहरू भने राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश नगरिसकेको पार्टी उपसभापति डीपी अर्यालले बताए । काउन्सिल अफ जेन-जीका कोशी प्रदेश संयोजक उपार्जुङ राई पनि सबै जेन-जीहरू राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश नगरेको उल्लेख गर्छन् ।

यसबारे उनी भन्छन, ‘सबै जेन-जीहरू राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरे भन्नु गलत हुन्छ । केही साथीहरू समानुपातिकमा जानुभएको होला त्यो उहाँहरूको विषय भयो । पूर्वराजाका नाती हृदयेन्द्र पनि जेन-जी हुन्, उनी कता छन् भन्ने हिसाबले सबै एउटै डालोमा हाल्न मिल्दैन ।’

उपार्जुङले भनेजस्तै केही जेन-जीहरू मात्रै राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेको देखिन्छ । तर केही मुख्य जेन-जी संस्थाहरु भने राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छैनन् ।

मुख्य रूपमा अहिले चर्चामा आएको तीनवटा समूह राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गराउनका लागि गुरुङले महत्वपूर्ण भूमिका खेलिरहेका छन् । तर दुईवटा टिम सो पार्टीमा प्रवेश गर्ने तयारीमा रहेपनि एउटा टिम अर्थात् जेन-जी मुभमेन्ट अलायन्स भने राष्ट्रिय स्वतन्त्र पार्टीमा समाहित नहुने निर्णयमा पुगेको छ ।

तर सबै जेन-जी एक ठाउँमा ल्याउन नसकेका गुरुङले कसरी तीन नेताहरू एक ठाउँमा ल्याए भन्ने प्रश्नबारे सबैलाई चासो छ । यसबारे उत्तर हामीले गुरुङका नजिकका सहयोगीलाई सोधेका छौँ । उनले भने, ‘मुख्य लिडरहरूलाई हामीले एक ठाउँमा ल्याएका हौँ । उहाँहरू अभिभावक बस्नुहुन्छ अरु टिमका साथीहरुसँग पनि छलफल भइरहेको छ । एक किसिमको वैचारिक र राजनीतिक सहमति गरेपछि उहाँहरु पनि राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्नुहुन्छ ।’

हुन त गुरुङकै विश्वासिला पात्र उपार्जुङले खबरहबसँगको अन्तर्वार्तामा पनि २४ गते बालेन, कुलमान र राष्ट्रिय स्वतन्त्र पार्टी मिल्दै गर्दा जेन-जीले एउटा प्रस्ताव राखेको सुनाए । उपार्जुङले त्यही प्रस्ताव अनुसार नै आफूहरू अहिले तयारी गरिरहेको बताउँदै भनेका छन, ‘बालेन, कुलमान र रवि मिल्दै गर्दा हामीले एउटा प्रस्ताव राखेका छौँ । जसरी यहाँले रास्वपासँग सम्झौता गर्नुभयो त्यसरी नै जेनजीसँग पनि हुनुपर्छ हाम्रा पनि एजेन्डा छन् ती एजेण्डा बोक्न सक्ने काँध यहाँहरुसँग छ भने मात्र हामी मिल्छौँ भनेका छौँ ।’

उनी राष्ट्रिय स्वतन्त्र पार्टीले बहुमत ल्याउने कुरा पनि पार्टीले जेन-जीलाई कस्तो दृष्टिकोणले हेर्छ भन्ने कुरामा भर पर्ने बताउँछन् ।

यता सुदन गुरुङको सचिवालयका अर्का सदस्यले दिएको जानकारी अनुसार जेन-जी फ्रन्ट र जेन-जी काउन्सिलले राष्ट्रिय स्वतन्त्र पार्टीमा जानका लागि आधार तयार गर्दैछन् ।  त्यसका लागि राजनीतिक र सैद्धान्तिक सहमतिपत्र तयार पारिरहेको उनको दाबी छ।

‘सुदन दाइलगायत हामी बसेर राजनीतिक सहमतिका बुँदाहरू तयार पारिरहेका छौँ । हामीले सरकारलाई जुन तरिकाले १० वटा बुँदाहरु दिएका छौँ । त्यस्तै तरिकाका बुँदाहरू राष्ट्रिय स्वतन्त्र पार्टीसँग गरेर लिखित सहमति भएपछि मात्र उहाँहरुको पार्टीमा जान्छौँ ।’

यो पनि-

हुन त उपार्जुङले पनि जेन-जीहरूले राजनीतिक सैद्धान्तिक सहमतिपत्र तयार पारिरहेको बताउँदै यो राजनीतिक सहमतिलाई राष्ट्रिय स्वतन्त्र पार्टीले कसरी र कुन रूपले कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउँछ, त्यसपछि मात्र तीनवटा मुख्य समूह र अन्य समूह राजनीतिक दलमा जाने नजाने निर्णयमा पुग्ने दाबी गर्छन् ।

फ्रन्ट र काउन्सिललाई फकाउँदै मुभमेन्ट

रक्षा बम नेतृत्वको फ्रन्ट राष्ट्रिय स्वतन्त्र पार्टीमा सहमति गरेर जाने पक्षमा सोमबार सम्म थियो । बम लगायतको समूहले राजनीतिक र सैद्धान्तिक सहमति गरेर राष्ट्रिय स्वतन्त्र पार्टीमा जाने निर्णय गर्नै लाग्दा समानुपातिकमा विभिन्न लोकप्रिय अनुहार र आफ्ना मान्छे राखेको प्रति असन्तुष्टि जनाएर अहिले के गर्ने भन्ने विषयमा यकिन निर्णय लिन सकेको छैन ।

तर, राष्ट्रिय स्वतन्त्र पार्टी सकारात्मक देखिन्छ । हुन त फ्रन्टकी संयोजक रक्षाले राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक सूचीपछि कटाक्ष गर्दै यसलाई सच्याउनुपर्ने माग राखिरहेकी छन् । यता राष्ट्रिय स्वतन्त्र पार्टीले पनि गल्ती भए यो सूची सच्याउने बताइरहेका बेला फ्रन्ट राष्ट्रिय स्वतन्त्र पार्टीमा सहमति गरेर जाने पक्षमा छ कि भन्ने अड्कल काट्न सकिन्छ ।

यसबारे हामीले रक्षालाई पटकपटक टेलिफोन सम्पर्क गरे पनि उनले यसबारे अहिले धारणा बनाइ नसकेको बताइन् । तर काउन्सिल अफ जेन-जी र सुदन गुरुङको समूह राष्ट्रिय स्वतन्त्र पार्टीमा राजनीतिक र सैद्धान्तिक सहमति गरेर जाने पक्षमा छ। उनीले जेन-जी मुभमेन्ट अलायन्सका नेताहरूलाई फकाइरहेका छन् ।

यता जेन-जी मुभमेन्ट अलायन्सका नेताहरू भने कोर समूह नै राष्ट्रिय स्वतन्त्र पार्टीमा नजाने पक्षमा रहेको युवा अमित खनाल बताउँछन् । १३ वटा महत्त्वपूर्ण समूहहरू एकीकरण गरेर बनेको अलायन्सका नेताहरू राष्ट्रिय स्वतन्त्र पार्टीमा कुनै पनि सहमति गरेर नजाने भएपछि अहिले सुदन गुरुङको सिङ्गो टिमले उनीहरूसँग छलफल गरिरहेको छ ।

तर नेताहरु जाने अवस्थामा नरहेको स्रोतको दाबी छ । यसबारे सोध्दा अलायन्सकी नेतृ मोनिका निरौलाले भनिन, “स्वभाविक रूपले साथीहरूले छलफल र सल्लाह गर्नुभएको हो तर हामी नजाने निर्णयमा पुगेका छौँ ।”

तातो भातमा हात नहाल्ने, सडकमा दरिलो प्रतिपक्षी हुने

हामीले राष्ट्रिय स्वतन्त्र पार्टीमा किन जानुहुन्न ? भनेर जेन-जी मुभमेन्ट अलायन्सकी नेतृ मोनिका निरौलालाई सोधेका छौँ । उनले अहिले सत्तामा भन्दा पनि सडकमा दरिलो प्रतिपक्षी चाहिएको बताइन ।

‘अलायन्स १३ वटा समूह मिलेर बनेको हो । ४१ वटा जिल्लामा हाम्रो संस्था छ । अलायन्सको कोर टिम १५ जना भन्दा बढी छौँ । त्यो टिम चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीमा जाँदैन । अन्य जिल्लाका केही छिटपुट साथीहरु जानुभयो भने उहाँहरूको स्वतन्त्रताको विषय हो ।’ निरौलाले भनिन्, ‘धेरै साथीहरूको व्यक्तिगत निर्णयलाई पनि हामीले सलाम गर्नुपर्छ । १३ वटा समूहहरू आफैँमा पनि स्वतन्त्र छन् । हामीले कोर टिम कोही कहिँ  नजाने सल्लाह गरेका छौँ ।”

निरौलाले फ्रन्ट र काउन्सिलले चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीसँग एकताको विषयमा छलफल गरिरहेको हुनसक्ने बताइन् । कतै नजाने भए यहाँहरु के तयारी गर्दै हुनुहुन्छ ? भन्ने प्रश्नमा उनी भन्छिन्, ‘हामी सडक आन्दोलन गरेर खबरदारी गर्छौं । किनभने सबै सत्तामा गयो भने प्रतिपक्ष नै हुँदैन । नागरिक समाजको काम गर्छौं विभिन्न डिस्कोर्सहरू सञ्चालन गर्छौं । हामीले गरिरहेका राजनीतिक संवादहरूलाई पनि निरन्तरता दिन्छौँ । हामीले सरकारलाई बुझाएको १० बुँदे सम्झौताको कार्यान्वयनका लागि पनि हामी सहयोग गर्ने र खबरदारी गर्ने काम पनि गर्छौं ।’

मुभमेन्ट अलायन्सकै अगुवा अमित खनाल पनि नयाँ परीक्षण हुन बाँकी रहेको र पुरानाबाट केही आश नभएकाले तत्कालका लागि सडक छोडेर स्वतन्त्रतर्फको यात्रा अगाडि नबढाउने बताउँछन् । ‘राष्ट्रिय स्वतन्त्र पार्टी भनेको भेल हो । साउनको भेलमा डुङ्गा चलाएर आफ्नो गन्तव्यमा पुग्न सकिँदैन । भेल जता बग्छ त्यतै जाने हो । यो भेलमा बग्न हाम्रो जेन-जी मुभमेन्ट अलायन्स तयार छैन । अलायन्ससँग राष्ट्रिय स्वतन्त्र पार्टीको विचार नै मिल्दैन ।’

खनाल अगाडि भन्छन, ‘छिटपुट कोही साथी जानुभयो भने त्यो उहाँको स्वतन्त्रताको कुरा हुन्छ तर अलायन्सको अरु कोही पनि राष्ट्रिय स्वतन्त्र पार्टीमा जाँदैन । अलायन्स सामाजिक र भुइ मान्छेका मुद्दाहरू बोकेर अगाडि बढ्छ । हामीलाई न नयाँबाट आश न पुरानाबाट आश । सधैँ हामीले सत्ताको मात्रै राजनीति गर्‍यौँ सडकलाई खाली गर्‍यौँ । त्यसकारण पनि अहिले जति पनि ३०-३५ वर्षदेखि दलहरुले राजकाज गरिरहेका छन्, त्यो सडक सुनसान भएर पनि हो । हामी भूमिहिन सुकुम्बासी, सडक बालबालिका लगायतका मुद्दाहरूलाई अगाडि बढाउँछौँ । हामी भुईँ मान्छे हौँ ।  हामी भुईँ मान्छेका अभियानलाई सहयोग गर्छौँ र मुद्दा उठान गर्छौं ।”

उनी राष्ट्रिय स्वतन्त्र पार्टीको लहरमा सबै मन्त्री सबै सांसद हुन गए भने भुईँ मान्छेका आवाज अझ दबिएर जाने निष्कर्षमा छन् ।अलायन्समा रिजन राणा मगर लक्ष्मी, जेम्स कार्की ,मोनिका निरौला, सामना लिम्बु, लगायतका अगुवाहरू छन् । केही समय जनार्दन शर्माको प्रगतिशील लोकतान्त्रिक पार्टी प्रलोपामा आबद्ध भएका उनी बाबुराम भट्टराईको आइटी सल्लाहकार भएको नाताले त्यहाँ केही समय सहयोग गरेको दाबी गर्छन् ।

‘त्यो पार्टीले केही नयाँ गर्छ कि भनेर मैले आईटीमा केही समय उहाँहरुलाई सघाएको हो । त्यहाँबाट पनि खासै आश नभएपछि म अहिले निस्किसकेको छु । नयाँहरूले पनि ढङ्ग नदेखाएपछि केही आश भएन । रास्वपा साउनको भेला हो, बाह्रैमास बग्न सक्दैन यहाँले विचार गर्नुहोला ।’

मुभमेन्टबाटै ओजस्वी भट्टराई अहिले प्रलोपाको अध्यक्ष मण्डलमा छिन् । खनाल वातावरण बुझेपछि आफूलाई उपयुक्त नलागेकाले त्यहाँबाट निस्किएको दाबी गर्छन् । “यहाँहरुलाई के स्पष्ट पार्न चाहन्छु भने होल जेन-जी मुभमेन्ट अलायन्स कतै पनि जाँदैन । ४३ जिल्लामा संस्था भएकोले बाँके को एउटा साथी जानुभयो भने त्यसलाई नै जेन-जी मुभमेन्ट अलायन्सका मान्छे गए भनेर भन्नु चाहिँ उपयुक्त हुँदैन । किनभने हामीले स्वतन्त्रता पनि छोडिदिएका छौँ ।” खनाल भन्छन, ‘निर्वाचनको विरोध गर्न खोजेको होइन, निष्पक्ष स्वतन्त्र मान्छे निर्वाचनमा उठ्यो भने हाम्रो तर्फबाट क्यापेबल मान्छेहरूलाई पनि सहयोग गर्न सक्छौँ । निर्वाचनमा चाहिँ आफ्नो तर्फबाट सहयोग रहन्छ ।”

उनी कुलमान घिसिङ बालेन शाह रवि लामिछाने टेस्टेड भएर सफल भए भने ठिकै हुने, तर त्यसो नभए उनीहरुसँग पनि आफूहरूले एक्सन लिने बताउँछन् । उनी भन्छन्, ‘तातो तातो भातमा हात हाल्यो भने हात नै पोल्ने हो । त्यसलाई केही समय सेलाएर खानुपर्छ । अहिले बालेन रवि कुलमान परीक्षणको घेरामा हुनुहुन्छ । हेरौँ उहाँहरुले के गर्नुहुन्छ ।’

प्रकाशित मिति : १७ पुस २०८२, बिहीबार  ४ : १७ बजे

हामीले आफ्नो संस्कृति भुल्नुहुँदैन : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो संस्कृति नभुल्न र भावी सन्ततिलाई

नेपालको राष्ट्रिय पहिचानको संरक्षणमा सबै जुट्नुपर्छ : सञ्चारमन्त्री खरेल

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपालको राष्ट्रिय पहिचानको

युक्रेनी ड्रोन आक्रमणमा २४ जनाको मृत्यु : रुस

एजेन्सी – रुसको नियन्त्रणमा रहेको युक्रेनको दक्षिणी खेरसोन क्षेत्रमा युक्रेनी

महामन्त्रीद्वयले गरे कांग्रेसको नियमित महाधिवेशन स्थगित

काठमाडौं– महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगनकुमार थापाले नेपाली कांग्रेसको नियमित