सीमावर्ती कचनकबलका मतदाता उम्मेदवारको पर्खाइमा « Khabarhub

सीमावर्ती कचनकबलका मतदाता उम्मेदवारको पर्खाइमा


१८ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

झापा– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारहरूको मनोनयन दर्ता भएसँगै देशका अधिकांश सहरी तथा ग्रामीण क्षेत्रमा चुनावी चहलपहल बढ्न थालेको छ ।

सामाजिक सञ्जालदेखि चिया पसल, चौतारी र बस्तीसम्म ‘यसपालि कसलाई मत हाल्ने’, ‘कस्तो प्रतिनिधि रोज्ने’ भन्ने विषयमा बहस भइरहेका छन् । राजनीतिक दलका नेता तथा स्वतन्त्र उम्मेदवारहरू पनि औपचारिक प्रचार सुरु नहुँदै मतदाता भेटघाटमा व्यस्त देखिन थालेका छन् ।

तर झापाको निर्वाचन क्षेत्र नम्बर ३ अन्तर्गत पर्ने दक्षिणी सीमावर्ती कचनकबल गाउँपालिकाका केही बस्तीमा भने निर्वाचन नजिकिँदै गर्दा पनि अपेक्षित चुनावी गतिविधि देखिन सकेको छैन । भारतसँग सिधा जोडिएको यो सीमावर्ती क्षेत्रमा बसोबास गर्ने स्थानीय मतदाताले निर्वाचन हुँदैछ भन्ने जानकारी त पाएका छन्, तर ‘को–को उम्मेदवार छन्’ भन्ने विषयमै अन्योल रहेको बताएका छन् ।

कचनकबल गाउँपालिका–५ का पूर्णकुमार गणेश भन्छन्, ‘समाचार र सामाजिक सञ्जालबाट चुनाव हुँदैछ भन्ने त थाहा छ, तर यहाँबाट को उम्मेदवार उठेका छन् भन्ने जानकारी छैन । पहिलेपहिले चुनाव लडेर गएका नेताहरूको नाम त थाहा छ, तर यसपालि नयाँनयाँ को आउँदैछन् भन्ने थाहा छैन ।’

उनका अनुसार अहिलेसम्म न त पुराना दलका उम्मेदवार पुगेका छन्, न त स्वतन्त्र उम्मेदवारी दिएका कुनै व्यक्ति नै स्थानीय बस्तीमा आइपुगेका छन् । ‘भोट माग्न त चुनाव नजिकिँदा आउलान् भन्ने आशा छ’, उनी भन्छन्, ‘तर अहिलेसम्म त कोही देखिएका छैनन् ।’

कचनकबल–५ कै इद्रिस मियाँ, जमालुद्दिन मियाँ र सोर्जु हजाम पनि यही गुनासो दोहोर्याउँछन् । उनीहरूका अनुसार राष्ट्रियस्तरमा चर्चामा रहेका राजनीतिक दल, तिनका शीर्षनेता र समग्र राजनीतिक घटनाक्रमबारे दुर्गम बस्तीका मतदातासमेत जानकार देखिए पनि, आफ्नै निर्वाचन क्षेत्रका उम्मेदवारसँग भने सम्पर्क हुनसकेको छैन ।

स्थानीय इद्रिस मियाँ भन्छन्, ‘रेडियो, मोबाइल र फेसबुकबाट काठमाडौँलगायत चर्चामा रहेका निर्वाचन क्षेत्रमा नेता के गर्दैछन् भन्ने थाहा हुन्छ । तर यहाँबाट चुनाव लड्ने मान्छे को हो भन्ने नै थाहा छैन । उम्मेदवार आफैँ नआउँदा कसरी चिन्ने ?’

सीमावर्ती क्षेत्रका मतदातामा राजनीतिक दल र उम्मेदवारप्रति देखिएको यो दूरीको मुख्य कारण भने निर्वाचनमा देखिँदै आएको पुरानै प्रवृत्ति भएको उनीहरूको बुझाइ छ ।

कचनकबल गाउँपालिका झापाको दक्षिणी सीमामा पर्ने दुर्गम क्षेत्र मानिन्छ । यहाँका धेरै बस्ती भारतसँग जोडिएका छन् । सीमापारिका भारतीय बजारमा दैनिक उपभोग्य सामग्री सस्तो पाइने भएकाले स्थानीयले नेपालतर्फ महँगो मूल्य तिर्नु परिरहेको समस्या पनि उठाएका छन् ।

यस क्षेत्रका मतदाताहरूले चुनावी उम्मेदवारसँग ठूला भाषणभन्दा पनि आफ्ना दैनिक जीवनसँग जोडिएका यथार्थ समस्या समाधानको अपेक्षा गरेका छन् । तर अहिलेसम्म उम्मेदवारहरू नै गाउँ नपुगेकाले आफ्नो आवाज कसरी राख्ने भन्ने अन्योल उनीहरूमा देखिन्छ । यद्यपि, केही मतदाता भने मतदानको दिन अझै समय बाँकी रहेकाले उम्मेदवारहरू ढिलोचाँडो आइपुग्ने विश्वास व्यक्त गर्छन् ।

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दल तथा उम्मेदवारलाई आगामी फागुन ४ गतेदेखि फागुन १८ गतेसम्म औपचारिक प्रचारप्रसारको समय निर्धारण गरिसकेको छ । आयोगका अनुसार उक्त अवधिमा मात्र सभा, जुलुस, घरदैलो कार्यक्रम, पोस्टर–पम्पलेटलगायत गतिविधि गर्न पाइनेछ । हाल भने उम्मेदवारहरूलाई मतदाता तथा कार्यकर्ता भेटघाट गर्न अनुमति दिइएको छ, तर त्यसका लागि पनि आचारसंहिताले के गर्न पाइने र के नपाइने स्पष्ट रूपमा तोकेको छ ।

झापाको निर्वाचन क्षेत्र नम्बर ३ मा यसपटक १७ उम्मेदवारबीच प्रतिस्पर्धा हुँदैछ । नेपाली कांग्रेसबाट राजेन्द्रकुमार घिमिरे, नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट हरिबहादुर राजवंशी, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट डिल्लीराम घिमिरे, राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रकाश पाठक, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट राजेन्द्रप्रसाद लिङ्देन, जनता समाजवादी पार्टी नेपालबाट कर्णलाल राजवंशी, जनमत पार्टीबाट हरसलाल राजवंशी, नेपाल कम्युनिष्ट पार्टी (माओवादी)बाट सन्तोष कटुवाल उम्मेदवार छन् ।

त्यसैगरी, उज्यालो नेपाल पार्टीबाट श्यामकृष्ण पाठक, जनता समाजवादी पार्टीबाट विनिताकुमारी राजवंशी, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट चन्द्रकला सावा, नेसनल रिपब्लिक पार्टीबाट जयेन मगर, श्रम संस्कृति पार्टीबाट दीपक तिम्सिना, नेपाल मजदुर किसान पार्टीबाट धर्मलक्ष्मी दुवाल (लघु), मङ्गोल नेसनल अर्गनाइजेसनबाट यामकुमार श्रेष्ठ उम्मेदवार रहेका छन् । साथै अभय राजवंशी र मानप्रकाश सङ्ग्रौला स्वतन्त्र उम्मेदवारका रूपमा चुनावी मैदानमा छन् ।

उम्मेदवारको सङ्ख्या धेरै भए पनि सीमावर्ती कचनकबल क्षेत्रसम्म उनीहरूको प्रभावकारी पहुँच पुग्न सकेको छैन । सरकार तथा निर्वाचन आयोगको तर्फबाट मतदाता शिक्षासम्बन्धी कार्यक्रम अहिलेसम्म सुरु नहुँदा निर्वाचन प्रक्रिया र सहभागितामाथि प्रश्न उठ्न थालेको छ । स्थानीय तहमा प्रत्यक्ष संवादको अभावका कारण मतदाता र उम्मेदवारबीचको दूरी झन् बढ्ने जोखिम देखिएको छ ।

निर्वाचन नजिकिँदै गर्दा झापाको निर्वाचन क्षेत्र नम्बर ३ अन्तर्गतका सीमावर्ती बस्तीमा उम्मेदवार र राजनीतिक दलको सक्रिय उपस्थिति कति देखिन्छ, त्यसले मतदाताको धारणा र मतदान व्यवहारमा कस्तो प्रभाव पार्छ भन्ने विषय चासोको केन्द्रमा रहने देखिन्छ । (रासस)

प्रकाशित मिति : १८ माघ २०८२, आइतबार  १० : ५७ बजे

नेपाली बिरामीको जटिल कोलोरेक्टल क्यान्सर सफल उपचार : म्याक्स हेल्थकेयर

काठमाडौं-नेपाली बिरामीमा देखिएको दुई जटिल कोलोरेक्टल क्यान्सर केसमा भारतको वैशालीस्थित

बालेन्द्रको चुनावी प्रचारका क्रममा ढलेका सिटौलाको निधन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साहसँग

हिरासतबाट छुटेपछि महान्यायाधिवक्ताविरुद्धको उजुरीमा कारबाही प्रगति खोज्दै अख्तियारमा युवराज सफल

काठमाडौं- महान्यायाधिवक्ता सविता भण्डारीले पदको दुरुपयोग गर्दै गम्भीर प्रकृतिका मुद्दा

उम्मेदवारलाई मतदाताको सुझाव : वन्यजन्तु-मानव द्वन्द्व व्यवस्थापन गर्नुहोस्

काठमाडौं– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बर्दिया क्षेत्र नं २

पाकिस्तानमा सडक दुर्घटना: ४ जनाको मृत्यु, २७ घाइते

इस्लामाबाद– पूर्वी पाकिस्तानमा शुक्रबार भएको सडक दुर्घटनामा ४ जनाको मृत्यु