काठमाडौं– पाँच दिन लामो बसाइपछि कांग्रेस सभापति गगन थापा सर्लाहीबाट शुक्रबार काठमाडौँ फर्किए । मधेस प्रदेशबाट कांग्रेसले २० सिट जित्ने लक्ष्य राखेको छ । त्यहीअनुसार अगाडि बढ्न मधेशका सभापतिसहित उम्मेदवारहरूलाई रणनीति सुनाउँदै गगन काठमाडौँ फर्किएका हुन् ।
गगनले सर्लाही लगायत मधेशमा पाँच दिन बस्दा त्यहाँको चुनावी रणनीति, स्थानीय परिवेश र जिल्लामा कांग्रेसको अवस्था मसिनो गरी बुझे । बसाइका क्रममा उनले असन्तुष्ट पक्षसँग ‘वान टु वान’ वार्ता पनि गरे ।
गगनले कांग्रेसका असन्तुष्ट पक्षलाई क्रियाशील हुन, यदि त्यसो गर्न नसके पार्टीलाई नहराउनसमेत आग्रह गरे। असन्तुष्ट पक्षसँग उनले कि पार्टीका उम्मेदवार जिताउने पक्षमा खुल्न, नभए पार्टीमै बसेर अन्तर्घात नगर्न आग्रह गरे ।
सर्लाही काङ्ग्रेसका कार्यवाहक सभापति सरोज कुमारका अनुसार मधेशका आठ जिल्ला सभापतिसहित उम्मेदवारसँग भेटेर सभापति गगनले त्यहाँको ग्राउन्ड रियालिटी र असन्तुष्ट नेताहरूबारे लामो कुराकानी गरे ।
जिल्ला सभापतिहरू सहित उम्मेदवारसँग चरणवद्ध वार्ता गरेका उनले सम्बन्धित जिल्लाको सवल र सुधार गर्नुपर्ने पक्षबारे पनि कुराकानी गरेको सर्लाही सभापति कुमार बताउँछन् ।
‘मधेस प्रदेशका आठ जिल्ला सभापतिसहित उम्मेदवारसँग गगन दाइले वान टु वान वार्ता गर्नुभयो। उहाँले उम्मेदवारहरूसँग भेट गर्नुका साथै हरेक जिल्लाको ग्राउन्ड रियालिटबारे मसिनो गरी अध्ययन गर्नुभएको छ’, सर्लाही सभापति कुमार भन्छन्, ‘उहाँले सबै निर्वाचन क्षेत्रका सभापतिलाई मधेशबाट २० सिट जित्ने लक्ष्यको रणनीतिबारे स्पष्ट जानकारी गराउनुभएको छ । जिल्ला सभापतिसहितका उम्मेदवारहरूलाई आगामी भेटमा त्यहाँका असन्तुष्ट पक्षका माग र मुद्दा लिएर आउन पनि सुझाव दिनु भएको छ ।’

पहिलो शक्ति बनाउने दाउ
कांग्रेस गुटगत राजनीतिका कारणले गर्दा मधेशमा कमजोर भएको छ। यस पटक एक ढिक्का भएर निर्वाचन जितेमा पहिलो शक्ति बन्ने गगनको दाबी थियो। जिल्ला र प्रदेश कार्यसमिति सभापतिले पनि पहिला गुटगत राजनीतिका कारण मधेसमा पार्टी कमजोर भएको रिपोर्टिङ गरे ।
मधेशका जिल्ला सभापति र उम्मेदवारहरूसँगको भेटमा गगनले विगतमा पार्टीभित्रै अन्तर्घात भएका कारण मधेसी जनताको साथ पाउन नसकेको बताउँदै यस पटक असन्तुष्ट पक्षलाई सुरुबाटै मिलाउन भनेका थिए।
गगनले भेटवार्तामा नेताहरूलाई विपक्षीलाई गाली गरेर, खुइल्याएर कांग्रेस पहिलो दल बन्न नसक्ने बताउँदै विवादित टिका टिप्पणी नगर्नसमेत आग्रह गरे। गगनले कांग्रेस वैचारिक र जिम्मेवारीहरू भएको पार्टीका रहेको बताउँदै नेताहरूसँग आफ्ना कार्यकर्तालाई उच्छृंखल गतिविधि नगर्न र निर्वाचन बिथोल्ने प्रयासमा नलाग्न सुझाव दिन पनि आग्रह गरे।
‘हामीले जित्ने लक्ष्य लिएर मात्रै हुँदैन, यहाँका मुद्दालाई घोषणापत्रमा कसरी समेट्छौँ भन्ने विषयले जितलाई महत्त्व दिन्छ । यहाँले आफ्नो क्षेत्रका मुद्दा निर्मम् अध्ययन गरेर ल्याउनुहोला । मधेशमा अहिले शिक्षा-स्वास्थ्य सँगै खानेपानीको पनि असुविधा बढ्दै गइरहेको महसुस मैले गरेको छु’, उनले भने, ‘विपक्षीलाई गाली गरेर पहिलो पार्टी बनिँदैन। हाम्रा युवाहरूमा जोश-जाँगर छ। उनीहरूले हाटहुट गर्न सक्छन् । कांग्रेस बौद्धिक र जिम्मेवार नेताहरूको पार्टी हो। त्यसकारण आफ्ना शुभचिन्तकलाई त्यही अनुसार गाइड गर्नुहोला ।’
उनले जिल्ला सभापतिहरूलाई हरेक उम्मेदवारबाट आफ्नो ठाउँमा गर्न सकिने मात्रै कामको सूची बनाएर ल्याउन पनि भनेका छन् । ‘त्यसपछाडि घोषणापत्र कसरी अगाडि बढाउने भन्ने सन्दर्भमा हामी पुन बसौँला। जनताको न्यूनतम् आवश्यकता चुल्हो बल्नुपर्ने छ । हामीले सिद्धान्त र पार्टीका रटान लगाएर काम छैन’, उनले भने, ‘चुलो कसरी बाल्ने कुराको ग्यारेन्टी दिन सक्नुपर्छ। र, म फेरि पनि भन्छु निर्वाचन बिथोल्ने प्रयासमा हाम्रा साथीहरू कुनै ढङ्गले नलागून् ।’
गगनले जिल्ला सभापति र उम्मेदवारलाई दिएको सुझाव सुनाउँदै उनीसँग भेटेका एक उम्मेदवार भन्छन्– निर्मम ढङ्गले समीक्षा गरेर पाँच वर्षमा गर्न सकिने कामको मात्रै सूची ल्याउनुहोस्। त्यहाँका अतिमहत्त्वपूर्ण समस्या र पूरा गर्न सकिने आधारबारे गम्भीर रुपमा रिपोर्टिङ ल्याउनुहोला भन्नुभयो ।
यति मात्रै होइन, गगनले जिल्ला सभापतिहरूलाई उम्मेदवारको कमजोरी पक्षका विषयमा पनि निर्मम ढङ्गले अध्ययन गरेर सुझाव दिन आग्रह गरेका थिए ।
गगनले आफू सर्लाही मधेशलाई बलियो शक्ति बनाउन आएको दाबी गर्दै २०७९ को निर्वाचनमा पनि कांग्रेसकै अन्तर्घातका कारण सर्लाहीको निर्वाचन क्षेत्रमा शून्य सिट भएको दुखेसो सुनाए । गगनले यो पटक सकेसम्म सबै नभए न्यूनतम् तीन सिटसम्म जित्नुपर्ने कांग्रेसको लक्ष्य रहेको बताएका थिए।
गगनले मधेसी दलहरू एकीकृत नहुनका कारण मधेशमा उनीहरू कमजोर हुँदै गइरहेको र राष्ट्रिय स्वतन्त्र पार्टीको पनि मधेसमा पकड राम्रो नभएकाले त्यसको फाइदा कांग्रेसले उठाउनुपर्ने कुरा राखेका थिए।
गगनले आफू सरलाई मधेसलाई बलियो शक्ति बनाउनका लागि आएको दाबी गर्दै २०७९ को निर्वाचनमा पनि कांग्रेसकै अन्तर्घातका कारण सर्लाहीको निर्वाचन क्षेत्रमा शून्य सिट भएको दुखेसो सुनाए । गगनले योपटक सकेसम्म क्लिनसिड नभएपनि तीन सिटसम्म जित्नुपर्ने कांग्रेसको लक्ष्य रहेको बताएका थिए।

सभापति थापा नेतृत्वको कांग्रेसले शीर्ष नेतासहित चर्चित अनुहारलाई पनि टिकट नदिएका कारण मधेश या अन्य प्रदेशबाट कांग्रेसले बहुमत ल्याउने सम्भावना कमजोर छ। तर साँच्चिकै नयाँ पुस्ताले परिवर्तन चाहेर गगनलाई प्रधानमन्त्री बनाउने सङ्कल्प राखेका भए सरकार बन्न पनि सक्ने अवस्था छ ।
धेरै आकांक्षी हुँदा व्यवस्थपान गाह्रो भएको नेताहरू बताउँछन् । समस्याबीच उपसभापति पुष्प भुसाल मधेशसहित अन्य प्रदेशबाट कांग्रेसले बहुमत ल्याएर गगन प्रधानमन्त्री बन्ने दाबी गर्छिन्।
उपसभापति भुसालले यस्तो विश्लेषण गरे पनि कांग्रेसकै पूर्वशीर्ष नेताहरू सर्लाहीबाटै थापाले चुनाव जित्न चुनौती रहेको दाबी गर्छन्। उनीहरू अहिले मुख खोल्ने पक्षमा छैनन्। तर आन्तरिक छलफलमा उनीहरू थापालाई चुनाव जित्न कठिन रहेको बताइरहेका छन् ।
को को छन् मधेशमा प्रत्याशी
सप्तरी
१. रामदेव साह
२. रामकुमार यादव
३. दिनेशकुमार यादव
४. तेजुलाल चौधरी
सिराहा
१. रामसुन्दर चौधरी
२. रामचन्द्र यादव
३. सुभाषचन्द्र यादव
४. चन्द्रकला कुमारी यादव
धनुषा
१. रामपल्टन साह
२. दिनेश पर्सेला
३. विमलेन्द्र निधि
४. महेन्द्र यादव
महोत्तरी
१. मुकेशराज काफ्ले
२. किरण यादव
३. बजरंग नेपाली
४. महेन्द्रकुमार राय
सर्लाही
१. शम्भुलाल श्रेष्ठ
२. डा. सरोज यादव
३. विनोद खनाल
४. गगनकुमार थापा
रौतहट
१. अनिलकुमार झा
२. फिर्दोश आलम
३. रामकृपाल यादव
४. देवप्रसाद तिमिल्सिना
बारा
१. शम्भु बुढाथोकी
२. भैयाराम चौधरी
३. फरमुल्लाह मन्सुर
४. श्यामबाबु गुप्ता
पर्सा
१. अनिलकुमार रूंगटा
२. अजय चौरसिया
३. सुरेन्द्रप्रसाद चौधरी
मधेशले भरोसा दिएको दाबी
कांग्रेसले थापालाई निर्वाचनपछि प्रधानमन्त्रीको उम्मेदवार बनाएको छ। थापा कांग्रेसले देशभरबाट बहुमत ल्याएर प्रधानमन्त्री हुने योजनामा छन् । नभए पनि अन्य दलसँग मिलेर उनी सरकारको नेतृत्व लिन चाहन्छन् ।
यसका लागि उनले ज्ञहरूको टोली बनाएर कांग्रेसलाई परिमार्जनसहित अगाडि बढेको सन्देश दिइरहेका छन् । गगन विशेष महाधिवेशन गराएर नयाँ पुस्तालाई कांग्रेस परिमार्जित भएको सन्देश दिएका थिए।
यही कारण देशभरमा पार्टीका असन्तुष्ट, शुभचिन्तक र युवा पंक्तिले गगनलाई विश्वास गर्ने अनुमान छ । मधेशमा पनि गगनले निर्वाचनपछि कांग्रेस नेतृत्वको सरकार बन्ने कुरामा कुनै दुईमत नभएको बताएका थिए ।
गगन मधेश प्रदेश झरेर कांग्रेसले २० सीट जित्नुपर्ने बताएका छन् । ०७९ को निर्वाचनमा कांग्रेसले मधेशबाट १३ सिट जितेकाले यसपटक परिमार्जित कांग्रेसले २० सीट जित्नुर्ने उनको हिसाब छ । पाँच दिनको बसाइमा त्यहाँको वस्तुस्थिति मूल्याङ्कन गरेपछि गगनले २० सिट जित्ने लक्ष्य लिएर काठमाडौँ फर्किएका छन्।
‘हामी जहाँ १५ देखि १७ सिट जित्न सकिने आकलन गरेका थियौँ। तर त्यहाँ पुगेर ग्राउन्ड विश्लेषण गर्दा हामीलाई जित्न कठिन रहेन रहेछ’,गगनको सचिवालयका एक सदस्य भन्छन, ‘मधेशमा सेन्टिमेन्ट र जातीय मत तान्न सकिन्छ । रास्वपाप्रति मधेशी जनताले चासो देखाएका छैनन् । एमालेप्रति त उहाँहरू रुष्ट हुनुहुन्छ। मधेशका साना दल पनि एक ढिक्क नहुँदा कांग्रेसले बहुमत सीट जित्ने विषयमा कुनै दुविधा छैन ।’
पाँच दिनको बसाइपछि मधेशबाट फर्किएका गगनले विमानस्थलमा सञ्चारकर्मीसँग पनि उत्साहित भएको सु्नाए । उत्साहित मुद्रामा गगनले मधेशले भावी प्रधानमन्त्री पाउने बताए।
काठमाडौं फिर्नुअघि सञ्चारकर्मीसँग कुरा गर्दै गगनले भने, ‘यहाँ आइपुगेपछि स्नेहपूर्ण स्वागत पाएँ। काठमाडौँ आउँदा द्विविधा बोकेर आएको थिएँ तर भरोसा बोकेर जाँदैछु।’
तर गगनका लागि सर्लाही ४ मा सहज जित सहज देखिँदैन। तीन पटकसम्म सर्लाही ४ बाट जितेका पूर्वसहकर्मी अमरेश कुमार सिंहले चुनौती दिइरहेका छन् । गगनको विश्लेषण विगतमा पार्टीकै नेताहरूको अन्तर्घातका कारण सर्लाही गुमाउनु परेको छ । तर यस पटक पार्टी एक रहेकाले जितिने उनको हिसाब छ ।
कस्तो छ विगत ?
२०७४ को निर्वाचनमा मधेश प्रदेशबाट कांग्रेसले प्रतिनिधिसभातर्फ ३२ मध्ये ६ सिट जितेको थियो । २०७९ को निर्वाचनमा बाम लोकतान्त्रिक गठबन्धनमार्फत् कांग्रेसले सिट बढायो ।
त्यसबेला प्रत्यक्षमा १३ सिट जितेको कांग्रेसले समानुपातिकमा सबैभन्दा बढी ९ सिट पायो । त्यसबेला माओवादी समर्थकले पनि रुखमा भोट हाले । रुख समर्थकले माओवादीलाई भोट हाले।
यतिमात्रै होइन, नेकपा एकीकृत समाजवादीको कलम चुनाव चिह्नमा पनि कांग्रेसले भोट हालेको थियो। यता एकीकृत समाजवादीका नेताहरूले पनि रुखमा मत हाले।
यसपटक आफ्नै चुनाव चिह्न रहेका कारण कांग्रेसले मधेशसहित देशभरबाटै बहुमत ल्याउने लक्ष्य राखेको महामन्त्री प्रदीप पौडेल बताउँछन्। पौडेल काङ्ग्रेसले मधेशबाट २० भन्दा धेरै सीट जित्ने योजना बनाएको बताउँछन् ।
दोस्रो संविधानसभा निर्वाचन हुँदा मधेशकमा आठ जिल्लामा ४८ निर्वाचन क्षेत्र थिए। त्यसबेला कांग्रेसले २१ सिट जितेको थियो। २०७९ को निर्वाचनमा पाँच दलीय गठबन्धनमार्फत् कांग्रेस पहिलो शक्ति बन्यो । तर मधेशमा ऊ दोस्रो शक्तिमा खुम्चियो ।
प्रतिनिधिसभा समानुपातिकतर्फ कुल खसेको सदर मत १ करोड ५ लाख ६० हजार ८२ मध्ये ७ वटा दलले मात्रै ३ प्रतिशत थ्रेसहोल्ड कटाए । प्रत्यक्ष र समानुपातिक गरी नेपाली ८९ सिट ल्यायो। उसको प्रत्यक्षतर्फ ५७ र समानुपातिकतर्फ ३२ सिट छ।
दोस्रो दल एमालेको प्रत्यक्षमा ४४ र समानुपातिकमा ३४ गरी ७८ सीट थियो । यता नेकपा माओवादी केन्द्रले प्रत्यक्ष र समानुपातिक गरेर ३२ सिट जितेको थियो। प्रत्यक्षमा १८ र समानुपातिकमा १४ सिट माओवादीको थियो ।
मधेशमा शून्य रहेको राष्ट्रिय स्वतन्त्र पार्टी देशको चौथो ठूलो शक्ति हो। यो पार्टीले प्रत्यक्षमा सात र समानुपातिकमा १३ सिट जितेको थियो। राजा फर्काउनुपर्ने एजेन्डासहित अगाडि बढेको राष्ट्रिय प्रजातन्त्र पार्टीले त्यसबेला प्रत्यक्ष र समानुपातिकमा १३ सिट जितेको थियो।
मधेशमा राम्रो पकड भएको डा. सीके राउत नेतृत्वको जनमत पार्टीले प्रत्यक्ष र समानुपातिकसहित सात सिट जितेको थियो। यसपटक सिकेको पार्टी नै संकटम छ ।
मधेश प्रदेश सभामा अहिले कांग्रेस दोस्रो ठूलो दल हो। १०७ सिट रहेको मधेश प्रदेश सभामा प्रत्यक्षमा १५ सिट जितेको एमालेले समानुपातिकमा ८ सिट जितेर २३ सीटसहित पहिलो दल छ । दोस्रो दल कांग्रेसको प्रत्यक्षमा १३ सिट समानुपातिकमा ९ सिट गरी जम्मा २२ सिट छ ।
यसपटकको निर्वाचनमा असन्तुष्टि रहेकाले मधेशमा एमाले कमजोर शक्ति बन्ने आकलन कांग्रेसले गरेको छ। तर अहिलेसम्म कांग्रेसका पूर्वसभापतिसहितका पदाधिकारी र शीर्ष नेताहरू कांग्रेस उम्मेदवार जिताउन निस्किएका छैनन् ।
सभापति थापा नेतृत्वको कांग्रेसले शीर्ष नेतासहितलाई टिकट नदिएका कारण मधेश या देशभरबाट बहुमत ल्याउने सम्भावना भने कमजोर छ ।













प्रतिक्रिया