टोकियो- दशकौँअघि जापानबाट लोप भइसकेका क्रेस्टेड आइबिस (टोकी) पुनः जङ्गलमा फर्किएका छन् । उत्तर–मध्य जापानको नोटो क्षेत्रमा आइतबार आयोजित विशेष समारोहमा आठ वटा प्रजननमार्फत हुर्काइएका आइबिसहरू औपचारिक रूपमा स्वतन्त्र रूपमा उड्नका लागि आकाशमा छोडिएका छन् ।
यसलाई संरक्षण अभियानको ऐतिहासिक सफलता मानिएको छ । नोटो क्षेत्रको हकुई सहरमा भएको उक्त समारोहमा लोपोन्मुख चराहरूलाई तिनीहरूकै काठका पिँजडाबाट बाहिर निकालेर जङ्गलमा प्रवेश गराइएको थियो ।
सोही स्थानमा अन्तिम पटक जङ्गली अवस्थामा देखिएका यी चराहरूको पुनःस्थापनालाई स्थानीय समुदायले भावनात्मक क्षणका रूपमा स्वागत गरेको थियो । समारोहमा जापानका क्राउन प्रिन्स अकिशिनो, उनकी श्रीमती किको तथा अन्य सरकारी अधिकारीहरूको उपस्थिति रहेको थियो । पिँजडा वरिपरि रिबन काट्ने औपचारिकता सम्पन्न हुनासाथ चराहरू आकाशतर्फ उडेपछि उपस्थित बासिन्दाहरूले उत्साहका साथ स्वागत गरेका थिए ।
साडो टापुस्थित संरक्षण केन्द्रमा सफल बन्दी प्रजनन कार्यक्रममार्फत हुर्काइएका यी आठ आइबिसहरूलाई अहिले जङ्गलमा पुनःस्थापित गरिएको हो । अधिकारीहरूका अनुसार थप १० वटा आइबिस पनि निकट भविष्यमा स्वतन्त्र रूपमा छोडिने तयारीमा छन् । जापानमा ‘टोकी’ भनेर चिनिने क्रेस्टेड आइबिस पूर्वी एसियाको मूल प्रजाति हो । यसको सेतो शरीर, खुट्टामा देखिने सुन्तला–गुलाबी रङ र आँखाको वरिपरि रहेको चम्किलो रातो चिह्नका कारण यो चरा विशेष आकर्षणको रूपमा चिनिन्छ ।
इतिहासअनुसार सन् १९७० को दशकसम्म आइपुग्दा अत्यधिक सिकार र वातावरणीय क्षतिका कारण जापानको मुख्य टापु होन्सुबाट यो प्रजाति पूर्ण रूपमा विलुप्त भएको थियो । अन्तिम स्थानीय क्रेस्टेड आइबिस सन् २००३ मा साडो टापुमा मरेपछि जापानी मूल सङ्ख्या समाप्त भएको घोषणा गरिएको थियो । तर चीनको सहयोगमा सुरु गरिएको संरक्षण प्रयासपछि यस प्रजातिको पुनर्जीवन सम्भव भएको हो ।
सन् १९९९ मा चीनबाट प्राप्त एक जोडी आइबिसको सफल कृत्रिम प्रजननबाट जापानमा पहिलो पटक संरक्षण केन्द्रमै बच्चा जन्मिएको थियो, जसले संरक्षण अभियानलाई नयाँ गति दिएको वातावरण मन्त्रालयले जनाएको छ । त्यसयता निरन्तर प्रजनन र संरक्षण प्रयासमार्फत आइबिसको सङ्ख्या क्रमशः वृद्धि हुँदै आएको छ । सन् २००८ मा साडो संरक्षण केन्द्रबाट १० वटा आइबिसलाई जङ्गलमा छोडिएको थियो ।
त्यसपछि उनीहरूको सङ्ख्या बढेर करिब ५०० पुगेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । हाल नोटो क्षेत्रमा गरिएको यो पुनःस्थापनालाई केवल जैविक विविधता संरक्षणको उपलब्धि मात्र नभई प्राकृतिक विपदबाट प्रभावित क्षेत्रका लागि आशाको प्रतीकका रूपमा पनि हेरिएको छ । सन् २०२४ को विनाशकारी भूकम्पबाट प्रभावित नोटो क्षेत्र अझै पुनर्निर्माणको चरणमा रहेकाले आइतबारको यो क्षणलाई स्थानीयहरूले सकारात्मक सङ्केतका रूपमा लिएका छन् ।













प्रतिक्रिया