एउटै रुटका दुई झरना : जिरीको लौतीसँगै जुँगुको छहरामा आन्तरिक पर्यटक बढे « Khabarhub

एउटै रुटका दुई झरना : जिरीको लौतीसँगै जुँगुको छहरामा आन्तरिक पर्यटक बढे


१७ श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


258
Shares
  • change font
  • change font
  • change font

दोलखा– वर्षायाम सुरु भएसँगै दोलखाका प्राकृतिक झरनाहरूमा आन्तरिक पर्यटकको चहलपहल उल्लेख्य रूपमा बढ्न थालेको छ ।

जिरी नगरपालिका–६ स्थित लौती झरना र गौरीशंकर गाउँपालिका–१ जुँगुस्थित छहरा झरना पछिल्ला दिनमा पर्यटकको रोजाइको नयाँ गन्तव्यका रूपमा परिचित बन्दै गएका छन् ।

हरियाली जंगल, चट्टानी भीरबाट झर्ने स्वच्छ पानी, शीतल वातावरण र प्राकृतिक शान्तिले यी दुवै स्थानमा पुग्ने पर्यटकलाई छुट्टै अनुभूति दिलाउने गरेको छ ।

चरिकोटबाट करिब ३५ किलोमिटर सवारी यात्रापछि पुगिने लौती झरना अहिले जिरी पुग्ने पर्यटकको पहिलो रोजाइ बन्न थालेको छ । जिरी हाटडाँडाबाट करिब एक घण्टाको रमणीय जंगल यात्रापछि पुगिने यस झरनासँगै कुडारे गुफा र झाप्रो झरना पनि पर्यटकको आकर्षण बनेका छन् ।

घना जंगलको बीचमा कलकल बग्ने पानी, चराचुरुङ्गीको चिरबिराहट र शीतल हावाले यहाँ पुग्ने जो–कोहीलाई प्रकृतिमा हराउन बाध्य बनाउँछ । नजिकै रहेको रेनवो ट्राउट माछा फार्मले समेत पर्यटकलाई थप आकर्षित गरिरहेको छ ।

प्राकृतिक सम्पदाले खुल्दै पर्यटनको नयाँ सम्भावना

लौती झरनासँगै वर्षौंदेखि ओझेलमा रहेको गौरीशंकर गाउँपालिका–१ को जुँगु छहरा पनि अहिले सामाजिक सञ्जाल र पर्यटकको भ्रमणसँगै चर्चामा आउन थालेको छ । 

स्थानीय होटल व्यवसायी मञ्जु पौडेलका अनुसार साउनको दोस्रो सातासम्म मात्रै करिब एक सय पचास बढी आन्तरिक पर्यटक छहरा अवलोकनका लागि जुँगु पुगेका छन् ।

वैतेश्वर गाउँपालिकाको मैनापोखरी बजारबाट सिद्धाथान–यवो हुँदै करिब एक घण्टामा पुगिने झगाडे गाउँस्थित यो छहरा हरियाली जंगलको बीचमा रहेको प्राकृतिक गन्तव्य हो । 

झन्डै चारसय मिटर उचाइबाट अविरल झर्ने पानी, वरिपरि फैलिएको हरियो वन, चिसो हावा र प्राकृतिक शान्तिले यहाँ पुग्ने प्रत्येक पर्यटकलाई मोहित बनाउने गरेको छ । झरनाको फेदीमा बसेर प्रकृतिको मनोरम दृश्य अवलोकन गर्नु यहाँको मुख्य आकर्षण बनेको छ ।

जुँगु छहरा पुग्न चरिकोट–लामोसाँघु–जिरी सडकअन्तर्गत मैनापोखरी–सिद्धाथान–यवो हुँदै करिब ३० देखि ३५ मिनेटको सवारी यात्रापछि झगाडे गाउँ पुगिन्छ । 

त्यहाँबाट करिब एक किलोमिटर अफरोड पार गरी १०-१५ मिनेट पैदल हिँडेर छहरासम्म पुग्न सकिन्छ ।पर्यटकको सुविधालाई ध्यानमा राख्दै हालै पैदलमार्ग निर्माण गरिएकाले यात्रा थप सहज बनेको छ ।

स्थानीयका अनुसार लौती झरना, कुडारे गुफा, झाप्रो झरना र जुँगु छहरालाई एउटै पर्यटन सर्किटका रूपमा विकास गरी प्रभावकारी प्रचारप्रसार गर्न सके वैतेश्वर,गौरीशंकर तथा जिरी क्षेत्र दोलखाको प्रमुख प्राकृतिक पर्यटन गन्तव्यका रूपमा स्थापित हुन सक्ने लामोसमय देखि जिरीको पर्यटन प्रवर्धनमा चासो दिँदै आएका उजामा हाउस सञ्चालक लिलाराम खड्काको परिकल्पना रहेको छ । सुवाश बस्नेत/दोलखा

प्रकाशित मिति : १७ श्रावण २०८३, आइतबार  ४ : ०९ बजे

बाढीपीडितका लागि भारतले पठायो १० टन राहत सामग्री र औषधि

काठमाडौं – भारतले नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार

पोखरा महानगरले बाढी प्रभावित क्षेत्रमा एम्बुलेन्ससहित सहायता टोली पठाउने

गण्डकी – पोखरा महानगरपालिकाले रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा

सुदूरपश्चिम सरकारले भोटेकोशी बाढीपीडितको उद्धार, राहत र पुनःस्थापनामा सहयोग गर्ने

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेश सरकारले भोटेकोशी नदीमा आएको बाढीबाट भएको

रसुवा बाढी : मधेश सरकारका पदाधिकारी–कर्मचारीले एक दिनको तलब दिने

काठमाडौं – रसुवामा भोटेकोसी नदीमा आएको अकल्पनीय बाढीबाट भएको जनधनको

भोटकोशी बाढी : एक हजारभन्दा बढी सवारीसाधनमा क्षति

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट एक हजारभन्दा बढी