काठमाडौं- कोशी प्रदेशमा मुख्यमन्त्री परिवर्तनको चर्चाबीच नेकपा संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो र नेकपा (एमाले) का सचिव तथा कोशी प्रदेश इन्चार्ज शेरधन राईबीच भेटवार्ता भएको छ।
स्रोतका अनुसार भेटमा कोशी प्रदेशको आगामी मुख्यमन्त्रीबारे केन्द्रित भएर छलफल भएको थियो। छलफलका क्रममा आङ्बोले एमालेभित्रको मुख्यमन्त्री विवादका कारण गठबन्धनमा समस्या उत्पन्न हुन नदिन शेरधनलाई आग्रह गरेका थिए।
आङ्बोले एमाले नेतृत्वलाई कोशी प्रदेशको नेतृत्वबारे चाँडै निर्णय लिन पनि आग्रह गरेको स्रोतको दाबी छ। भेटमा एमाले कोशी प्रदेश सचिव राजकुमार भण्डारी पनि थिए ।
अध्यक्ष केपी शर्मा ओलीको निर्देशनअनुसार शेरधन अहिले ताप्लेजुङका तिलकुमार मेन्याङबोलाई मुख्यमन्त्री बनाउन खटिएका छन् । तर मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर आफूलाई नै निरन्तरता दिनुपर्ने आग्रह गरेका छन्।
पछिल्लो समय महासचिव शंकर पोखरेल र उपाध्यक्ष विष्णुप्रसाद पौडेलले दबाब दिएपछि अध्यक्ष ओली कार्कीलाई निरन्तरता दिने पक्षमा थिए । उनी उनैलाई नै निरन्तरता दिने पक्षमा देखिएपछि बेलायतको लण्डनबाट आएर शेरधनले भेटेका थिए । शेरधनले ओलीको निर्णयमा असन्तुष्टि जनाएका थिए । शेरधन र हिक्मतबीच लामो समयदेखि शीतयुद्ध जस्तै सम्बन्ध छ।
त्यसपछि ओलीले राईलाई कार्की हटाउने अभियानको जिम्मेवारी दिएर विराटनगर पठाएका थिए । यसैबीच शेरधनले एमाले र गठबन्धनका नेताहरूको समर्थन जुटाएर कार्कीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने तयारी गरिरहेको चर्चा छ । त्यही अवस्थामा आङ्बोलाई भेटेर कुरा राखेका हुन् । तर आङ्बोले एमालेको कुरा पहिले मिलाउन सुझाएका छन् ।
भेटका क्रममा आङ्बोले एमालेको आन्तरिक विवादले हालै बनेको गठबन्धनको समीकरण प्रभावित हुन नहुने धारणा राखेको स्रोतले जनाएको छ।
‘एमालेको विवादले गठबन्धनलाई समस्या नपरोस्। पार्टीको आन्तरिक विवादमा हामीलाई नमुछ्नुस्,’ आङ्बोले भनेका थिए, ‘तिलकुमारलाई अगाडि सार्ने हो कि हिक्मतलाई नै निरन्तरता दिने, त्यो निर्णय चाँडै गर्नुहोस्। बहुमत जसको पक्षमा हुन्छ, सहयोग गर्न तयार छौं।’
स्रोतका अनुसार शेरधनले हिक्मतविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्न नेकपाको पनि साथ चाहिने धारणा राखेका थिए। तर यस विषयमा नेकपाले कुनै अन्तिम निर्णय गरिनसकेको बताइएको छ। तर सबैभन्दा पहिले शेरधनले हिक्मतलाई हटाउन संसदीय दलमा बहुमत जुटाउनुपर्ने हुन्छ।
नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्ड र केपी शर्मा ओलीबीच भएको सत्ता सहमतिअनुसार कोशी प्रदेशको मुख्यमन्त्री एमालेकै भागमा परेको थियो । नेकपाले मुख्यमन्त्री पाउने सम्भावना नभएपछि इन्द्र पनि निराश छन् । त्यसअघि आङ्बो पनि मुख्यमन्त्री बन्ने तयारीमा थिए ।
२०७४ सालको प्रदेश निर्वाचनपछि शेरधन राई मुख्यमन्त्री हुँदा इन्द्रबहादुर आङ्बो आर्थिक मामिला तथा योजनामन्त्री बनेका थिए। त्यसबेला दुवै नेताबीच राम्रो समन्वय र सहकार्य थियो । अहिले उनै इन्द्रसँग हिक्मतविरुद्ध शेरधनले सहयोग मागेका हुन् ।












प्रतिक्रिया