काठमाडौं- भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि जलविद्युत् आयोजनाका सुरुङ तथा टर्बाइन क्षेत्रमा फसेकाहरूको खोज तथा उद्धार झन् चुनौतीपूर्ण बनेको नेपाली सेनाले जनाएको छ।
नेपाली सेनाको ६ नम्बर बाहिनीपति तथा ‘फर्वाड जोइन्ट अप्रेसन सेल’का कमान्डर सहायक रथी उज्ज्वलविक्रम राणाका अनुसार बाढीले जलविद्युत् आयोजनासम्म पुग्ने सडक तथा पहुँचमार्गसमेत बगाएकाले उद्धार टोली र आवश्यक उपकरण आयोजनास्थलसम्म पुर्याउन कठिन भइरहेको छ।
उनका अनुसार सेनाले हाल चारवटा जलविद्युत् आयोजनाका सुरुङ तथा टर्बाइन क्षेत्रमा खोज तथा उद्धार प्रयास गरिरहेको छ। तीमध्ये रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा तत्काल उद्धार सम्भव नरहेको निष्कर्षपछि मंगलबारदेखि खोजी कार्य रोकिएको छ भने चिलिमेमा अझै खोजी जारी छ।
लाङटाङको सुरुङमा सम्भव भएसम्म भित्र पुगेर खोजी रोकिएको छ। २१६ मेगावाटको अपर त्रिशूली आयोजनामा भने पुनः उद्धार प्रयास थालिएको छ।
रसुवागढीमा तीन तला नै लेदोले भरियो
सहायक रथी राणाका अनुसार रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा सेनाको टोली आयोजनाका इन्जिनियरसहित प्रवेश गरेको थियो। तर सुरुङको तीन तला नै पानी र हिलोले भरिएकाले थप भित्र जान सक्ने अवस्था नरहेको उनले बताए।
‘रसुवागढीमा हामीले हिजो काम बन्द गर्यौँ। इन्जिनियरलाई समेत लिएर भित्र गएका थियौँ। तीन तलामुनिको टर्बाइन पूरै भरिएको छ। त्यहाँ कोही जीवित भेटिने अवस्था नदेखिएपछि सम्भव नहुने भएकाले खोजी कार्य बन्द गरेका हौँ,’ राणाले भने।
उनका अनुसार आयोजनाका इन्जिनियरहरूले समेत सुरुङभित्र थप प्रवेश गरेर उद्धार गर्न सक्ने अवस्था नरहेको बताएका छन्। यही कारण हाललाई त्यहाँको उद्धार अभियान स्थगित गरिएको हो।
चिलिमेमा अझै आशावादी
चिलिमे जलविद्युत् आयोजनाको सुरुङमा भने सेनाको टोलीले खोजी तथा उद्धार जारी राखेको छ। राणाले त्यहाँ अझै पनि कोही जीवित भेटिन सक्ने आशा रहेको बताए।
‘चिलिमे जलविद्युत् आयोजनामा अहिले पनि काम गरिरहेका छौँ। अझै पनि हामी आशावादी छौँ। कोही कसैलाई हामी जीवितै निकाल्न सक्छौँ कि भन्ने आशावादी छौँ,’ उनले भने।
सेनाले सुरुङभित्रको जोखिम र अवस्थालाई ध्यानमा राख्दै सम्भव भएसम्म सावधानीपूर्वक खोजी गरिरहेको जनाएको छ।
६४ मिटर पुगेपछि लाङटाङमा रोकियो खोजी
लाङटाङ जलविद्युत् आयोजनाको सुरुङमा सेनाको टोली ६४ मिटरसम्म भित्र पुगेको थियो। तर त्यसपछि सुरुङमा अत्यन्तै कम खाली ठाउँ रहेकाले थप अगाडि बढ्न नसकिएको राणाले बताए।
उनका अनुसार कतिपय स्थानमा घस्रिएर समेत जानुपर्ने अवस्था थियो। टोलीले सम्भव भएसम्म भित्र गएर खोजी गरे पनि ६४ मिटरपछि अगाडि बढ्ने अवस्था नदेखिएपछि उद्धार अभियान बन्द गरिएको हो।
‘त्यहाँभन्दा भित्र घस्रिएर जान सक्ने पनि अवस्था छैन। हामीले त्यहाँ उद्धार अभियान बन्द गरेका छौँ। घस्रिएर जान सक्नेजति गयौँ। अब त्यहाँबाट भित्र जान सक्ने कुनै सम्भावना छैन,’ उनले भने।
अपर त्रिशूलीमा फेरि उद्धार प्रयास
अपर त्रिशूली हाइड्रोपावर–२१६ मेगावाट, हाकुबेंसीस्थित सुरुङमा भने सेनाले पुनः खोजी तथा उद्धार अभियान सुरु गरेको छ।
राणाका अनुसार यसअघि टोलीले पाँच पटकसम्म सुरुङभित्र प्रवेश गर्ने प्रयास गरेको थियो। तर सुरुङभित्र छातीको तहसम्म लेदो भरिएकाले अगाडि बढ्न नसकिएको उनले बताए।
‘त्यहाँ पहिले पनि हामीले पाँच पटकसम्म भित्र छिर्न कोसिस गरेका छौँ। तर हाम्रो छातीको तहसम्म लेदो आएर भित्र जान नसक्ने अवस्था छ,’ उनले भने।
तर सम्भावित जीवित व्यक्तिको खोजीका लागि बुधबार पुनः टोली सुरुङभित्र पठाइएको उनले जानकारी दिए।
‘आजबाट हामीले एक पटक फेरि काम गरेका छौँ। आशा छ, कसैको उद्धार होला भन्ने विश्वाससहित कोसिस गर्दैछौँ,’ राणाले भने।
ठूला मेसिन पुर्याउनै कठिन
बाढीले आयोजनास्थलसम्म पुग्ने सडक र पहुँचमार्ग बगाएकाले उद्धारका लागि आवश्यक ठूला मेसिन तथा उपकरण लैजानसमेत कठिन भइरहेको सेनाले जनाएको छ।
राणाका अनुसार आयोजनास्थलसम्म मेसिन पुर्याउन सकिए पनि सुरुङभित्र जमेको लेदो, माटो र अन्य डेब्रिस हटाउन सहज छैन। ठूलो परिमाणमा लेदो जमेकाले तत्कालै सुरुङ खाली गर्न सकिने अवस्था नरहेको उनले बताए।
‘टनेलभित्र जम्मै जमेका कुराहरू निकाल्न दुई–तीन दिनमै सकिने सम्भावना म देख्दिनँ। हेर्दा तीनदेखि चार महिनामा पनि त्यो ननिस्कने अवस्था देखिन्छ,’ राणाले भने।
यसले सुरुङभित्र फसेकाहरूको खोज तथा उद्धार दीर्घ र प्राविधिक रूपमा जटिल हुने संकेत गरेको छ।
बाढीको बहाव सामान्यभन्दा ४५ मिटर माथि
सहायक रथी राणाका अनुसार भदौ १० गते आएको बाढीको बहाव सामान्य अवस्थाभन्दा करिब ४५ मिटरसम्म माथि पुगेको थियो। अत्यधिक ठूलो बहावका कारण टिमुरे र स्याफ्रुबेसी क्षेत्र सबैभन्दा बढी प्रभावित भएका छन्।
उनका अनुसार स्याफ्रुबेसीको आधाभन्दा बढी बस्ती बाढीले बगाएको छ भने टिमुरेको अवस्था अझै जटिल छ।
बाढीले बस्ती र संरचना मात्र नभई जलविद्युत् आयोजनाका पहुँचमार्ग, सुरुङ तथा टर्बाइन क्षेत्रमा समेत ठूलो क्षति पुर्याएपछि उद्धार टोलीले अत्यन्त जोखिमपूर्ण परिस्थितिमा काम गरिरहेको सेनाको भनाइ छ।
चार आयोजनाको अवस्था :
रसुवागढी जलविद्युत् आयोजना: सुरुङको तीन तला पानी र लेदोले भरिएपछि हाल खोजी बन्द।
चिलिमे जलविद्युत् आयोजना: खोजी तथा उद्धार जारी, सेना अझै आशावादी।
लाङटाङ जलविद्युत् आयोजना: ६४ मिटरसम्म प्रवेशपछि थप अगाडि जान नसकेकाले खोजी बन्द।
अपर त्रिशूली हाइड्रोपावर–२१६ मेगावाट: पाँच पटकको प्रयास असफल भएपछि पुनः खोजी तथा उद्धार सुरु।












प्रतिक्रिया