के कांग्रेस फुट्न लागेकै हो ? « Khabarhub

के कांग्रेस फुट्न लागेकै हो ?

विशेषतिर गगन-विश्वको कदमले देउवालाई तनाव



काठमाडौं– महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा नेतृत्वमा विशेष महाधिवेशन मिति तय भएपछि नेपाली कांग्रेसमा विवाद चुलिएको छ । एउटा पक्ष महाधिवेशन गर्न नसकिने र अर्को पक्ष गर्नै पर्ने भनेर तयारीमा लागेपछि कांग्रेसमा ठूलै संकट देखिएको हो ।

बिहीबार विशेष महाधिवेशन पक्षधरले आगामी २७ र २८ गते काठमाडौंको भृकुटीमण्डपमा ठाउँ बुकिङ गरेको विषय एकाएक बाहिरियो । सोसँगै पार्टीको नेतृत्वमा तहमा रहेका देखि कार्यकर्तासम्म विभाजित भएर आ–आफ्नो मत प्रकट गरिरहेका छन् ।

सभापति देउबाले आज बिहान नै पदाधिकारीहरूसँग छलफल गरे भने दिउसो ३ बजेबाट कार्यसम्पादन समितिको बैठक राखिएको छ । त्यस्तै, विशेष महाधिवेशन पक्षधरले आज नै पत्रकार सम्मेलन गरेर विशेष महाधिवेशन बाहेक अन्य विकल्प बाँकी नरहेको बताए ।

बिहीबार विशेष महाधिवेशनको दस्तावेज लेख्न धुलिखेल पुगेका महामन्त्री गगन थापा शुक्रबार बिहानै काठमाडौं फर्किसकेका छन् । बिहानै महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आफूनिकट ३० जना केन्द्रीय सदस्यहरूसँग संवाद गर । उक्त संवादमा उनीहरूले विशेष महाधिवेशनबाट पार्टी विभाजित हुनेगरी नयाँ नेतृत्व चयन नहुने पनि बताएका छन् ।

चुनावअघि विशेष महाधिवेशन हुँदैन : देउवा

फागुन २१ को निर्वाचन आइसकेकाले त्यसअघि पार्टी महाधिवेशन हुन नसक्ने अवस्था रहेको सभापति देउवाा पक्षको तर्क छ । सभापति देउवा पक्षधरका नेता मीन विश्वकर्माले खबरहबसँग कुरा गर्दै विशेष महाधिवेशन गर्ने दुई महामन्त्रीको निर्णय पार्टी नीतिविपरीत भएको बताए ।

‘साथीहरूले नियमित महाधिवेशन नभए विशेष महाधिवेशन गर्ने तयारी थाल्नुभएको छ, त्यो पार्टी निर्णयविपरीत हो’, उनले भने, ‘१५औँ महाधिवेशन अघि बढिरहेको बेला विशेष महाधिवेशनको प्रसंग झिकेर त्यसतर्फ अघि बढ्नुलाई हामीले अवैधानिक र असान्दर्भिक भएको ठानिरहेका छौँ ।’

विशेष महाधिवेशन गरेर फरक नेतृत्व चयन गर्न थालेमा पार्टी विभाजनतर्फ जाने उनले बताए । ‘अहिले नै पार्टी विभाजन भै हाल्छ भन्न हतार हुन्छ तर, उहाँहरूले के गर्नुहुन्छ त्यसमा निर्भर हुन्छ’, उनले भने ।

बिहीबार साँझ सेतोपाटी अनलाइनसँगको संवादमा पनि प्रवक्ता डा प्रकाशशरण महतले पनि अब फागुन २१ को निर्वाचनपछि मात्रै नियमित महाधिवेशन हुने बताएका थिए । उनले २७ र २८ गते आयोजना गरिएको विशेष महाधिवेशन आम साथिहरूको प्राथमिकता नभएको हुँदा केही साथी नआउने पनि बताएका छन् ।

विशेष महाधिवेशन हुनैपर्ने

तर, विशेष महाधिवेशन पक्षधरहरूले आफूहरूको माग विधानसम्मत भएको तर्क राख्दै नियमित महाधिवेशन गर्न नसकेको अवस्था विशेष महाधिवेशन गर्नुपर्ने बताएका छन् ।

शुक्रबार पत्रकार सम्मेलन गर्दै ‘नेपाली कांग्रेससँग विशेष महाधिवेशनबाहेक अन्य कुनै विकल्प बाँकी रहेन । विशेष महाधिवेशन महाधिवेशन प्रतिनिधिको विशेष वैधानिक अधिकार हो । यो कसैको छनौटको विषय होइन, रहेन’, उनीहरूले भनेका छन् ।

यसका साथै, उनीहरूको पार्टी केन्द्रले नै पुस २७ र २८ मा हुने विशेष महाधिवेशनको जिम्मेवारी पूरा गर्नुपर्ने बताएका छन् ।

बिहीबार साँझ नै महामन्त्री द्वय गगन थापा र विश्वप्रकाश शर्माले पनि पार्टीको तर्फबाट संयुक्त वक्तव्य जारी गर्दै नियमित महाधिवेशन स्थगित भएको र विकल्प विशेष महाधिवेशन भएको बताएका थिए ।

‘पार्टी विधानको दफा १७(२) बमोजिम विशेष महाधिवेशनसम्बन्धी मागलाई सम्बोधन गर्नु केन्द्रीय कार्यालयको जिम्मेवारी हो । उक्त जिम्मेवारी अन्तर्गतका कार्यहरू सम्भव भएसम्म सर्वसम्मतिले अगाडि बढाइनेछ’, महामन्त्रीद्वयले जारी गरेको वक्तव्यमा उल्लेख छ ।

जसले सहमति नभएमा विधानअनुसार अघि बढ्ने संकेत पनि गरेको देखिन्छ ।

महामन्त्री गगन थापा पक्षधरमा रहेका अर्का कांग्रेसका नेता शंकर तिवारीले विधान पालना गर्ने दायित्व पार्टी सभापतिको पनि हुने भएकाले उनले नियमित महाधिवेशन गर्ने अवस्था नभएपछि विशेष महाधिवेशनबाट भए पनि कार्यकर्ताको आकांक्षा सम्बोधन गर्नुपर्ने बताएका छन् ।

तर, आफूलाई महामन्त्री गगन थापाको पक्षमा उभ्याउँदै आएका नेता रामहरि खतिवडाले भने बीचको तर्क राख्दै चुनाव हुने अवस्थामा पार्टी थप एकताबद्ध भएर जानुपर्ने बेलामा विभाजित परिस्थिति सिर्जना हुनु राम्रो नभएको बताएका छन् ।

‘अहिले कांग्रेस झगडा गरेर जानेबेला छैन, एउटा सर्वसम्मत निर्णयको पक्षमा हामी प्रस्तुत हुनुपर्दछ, इगोको राजनीतिले मुलुकलाई कहाँ पुर्‍याउँछ हामीले देखिसकेका छौँ, अरु पार्टीलाई पनि एक ठाउँमा राख्ने बेलामा कांग्रेसभित्र विवाद गर्नु राम्रो होइन’, उनले भने, ‘जे गर्ने हो आन्तरिक रूपमा बसेर छलफल गरेर अघि बढ्नुपर्छ, आजै मेरो गोरुको बाह्रै टक्का भनेर कुनै पनि पक्षले लिनुहुँदैन, चुनावै भयो भने अरु एकताबद्ध भएर जानेबेलामा हामी पार्टी विभाजित भएर जाने परिस्थिति राम्रो होइन ।’

पटक पटक फुटेको थियो कांग्रेस

वि.सं. २००३/२००४ साल बीपी कोइरालाको नेतृत्वमा ‘नेपाली राष्ट्रिय कांग्रेस’ र सुवर्ण शमशेर/महावीर शमशेरको नेतृत्वमा ‘नेपाल प्रजातन्त्र कांग्रेस’ स्थापना गेका थिए । वि.सं. २००६ साल एकता यी दुई पार्टी मिलेर ‘नेपाली कांग्रेस’ को स्थापना गरेका थिए ।

फेरि वि.सं. २००९ साल पहिलो विभाजन मातृका प्रसाद कोइराला (बीपीका दाजु) ले पार्टी फुटाएर ‘राष्ट्रिय प्रजा पार्टी’ गठन गरे । त्यसपछि लामो समयसम्म नेपाली कांग्रेसमा ठूलो विभाजन देखा परेको थिएन ।

तर, वि.सं. २०५९ साल ठूलो विभाजन तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले गिरिजा प्रसाद कोइरालासँगको विवादपछि पार्टी फुटाएर ‘नेपाली कांग्रेस (प्रजातान्त्रिक)’ गठन गरेका थिए । ती दुई पार्टीबीचमा २०६४ सालमा पुनः एकता भएको थियो ।

यसका साथै, ०६२/६३ को आन्दोलनपछि महन्थ ठाकुर र विजय गच्छदारले पनि कांग्रेसबाट विभाजित भएर भिन्नै पार्टी निर्माण गरेका थिए । जसमध्ये गच्छदारले आफ्नो पार्टीलाई पुनः कांग्रेसमा बिलय गराइसकेका छन् ।

कांग्रेसमा विशेषगरी सभापति शेरबहादुर देउबासहित केही पुराना नेताले पार्टीलाई स्वच्छाचारी ढंगले सञ्चालन गर्दै आएको र पार्टीलाई गतिशील बनाउन नसकेको लगायतका आरोप अहिलेको महाधिवेशन पक्षधरका केही नेताले लगाउँदै आएका थिए ।

त्यसमाथि भदौ २३ र २४ गते भएको जेनजी पुस्ताको आन्दोलनले परम्परागत राजनीतिक दलका पुराना नेतृत्वले देशमा भइरहेको भ्रष्टाचार र बेथितिको नेतृत्व गरेको आरोप लगाउँदै उनीहरू बाहिरिनुपर्ने विषय स्थापित गरेको छ ।

जसले गर्दा कांग्रेसमा दोस्रो र नयाँ पुस्तालाई पार्टीलाई पुर्नगठन गर्न बल पुगेको देखिन्छ । कांग्रेसमा देखिएको विवादलाई समयमा नै सही ढंगले समाधानको प्रयत्न नगरेमा दुर्घटनामा पर्नसक्ने पनि धेरैले अनुमान गरेका छन् ।

प्रकाशित मिति : १८ पुस २०८२, शुक्रबार  ४ : ३९ बजे

अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न एक जना पक्राउ

काठमाडौं– गैरकानुनी रूपमा अन्तरराष्ट्रिय आगमन कल बाइपास (भिओआइपी) सञ्चालन गर्ने

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी– विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र

लविद्युत् परियोजना निर्माणमा देखिएका मुआब्जा समस्या समाधान गर्छौँ : कुलमान घिसिङ 

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले जलविद्युत् परियोजना निर्माणका

बल्छी धुर्बेको फिल्म ‘गोबर गणेश’को ट्रेलर सार्वजनिक

काठमाडौं – कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’को लेखन, निर्देशन र