किमाथाङ्का– नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश, जनता र संविधान बचाउन समाजवादी एकता भएको बताएका छन् ।
शुक्रबार खाँदबारीमा आयोजित नेपाली कम्युनिष्ट पार्टी सङ्खुवासभाको एकता सन्देशसभामा संयोजक दाहालले संविधान बचाउन वामपन्थी र समाजवादी एकता गरिएको बताएका हुन् ।
उनले जेन-जी आन्दोलनपछिको अवस्थामा देशको उत्तम विकल्प निर्वाचन नै भएको बताए । सङ्कटमा परेको राष्ट्रलाई निकास दिन वामपन्थी र समाजवादी शक्ति मिल्नुको विकल्प नभएको उनको भनाइ थियो ।
संयोजक दाहालले हालै देखिएको जेन-जी आन्दोलनले देशको शासन प्रणाली र समग्र परिस्थितिबारे नवयुवाहरू सचेत र जिम्मेवारीपूर्ण ढङ्गले आन्दोलित हुन चाहेको स्पष्ट पारे ।
जेन-जी आन्दोलनको उपलब्धि रक्षा गर्न नेपाली कम्युनिष्ट पार्टी सच्चिएर अघि बढ्ने बताए । त्यसैगरी, नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले राज्यलाई अराजकताबाट जोगाएर अघि बढाउने जिम्मेवारी युवापुस्ताको काँधमा आएको बताए । ‘नयाँ पुस्ता राजनीतिप्रति रुचि राख्दैनन् भन्ने भ्रम थियो, तर जेन-जी आन्दोलनले त्यो गलत साबित गरिदिएको छ’, उनले भने ।
सहसंयोजक नेपालले सचेत र जिम्मेवार रूपमा आन्दोलित भएकामा युवालाई धन्यवाद दिँदै अब देशलाई शान्तिपूर्ण, लोकतान्त्रिक तरिकाले निकास दिनुपर्ने आवश्यकता औँल्याए ।













प्रतिक्रिया