काठमाडौं-नेपाली कांग्रेसको आन्तरिक विवाद नयाँ मोडमा पुगेको छ । शुक्रबार सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टीको १५औँ नियमित महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा गर्ने निर्णय गरेको छ ।
कार्यवाहक सभापति पूर्णबहादुर खड्काले प्रस्ताव गरेको यो कार्यतालिकासहित कार्यसमिति आयु २०८३ जेठसम्म लम्ब्याउने प्रस्ताव बहुमतले पारित भएको छ । तर, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासहित ५ नेताले यसमा लिखित फरक मत राखेका छन् ।
महामन्त्री गगन थापाले पार्टी केन्द्रीय कार्यालयको प्राङ्गणबाटै कडा सन्देश दिएका छन्, ‘विशेष महाधिवेशन हुन्छ, काठमाडौंमा आउन तयार हुनू ।’
थापाले पार्टी विधानको धारा १७ को उपधारा २ अनुसार ४० प्रतिशतभन्दा बढी (५४ प्रतिशत) महाधिवेशन प्रतिनिधिको हस्ताक्षरसहित माग आएकाले विशेष महाधिवेशन अनिवार्य भएको तर्क गरे ।
असोज २९ गते दर्ता भएको मागलाई बेवास्ता गर्दै नियमित महाधिवेशन वैशाखमा सार्नु विधानको उल्लङ्घन भएको उनको भनाइ छ ।‘केन्द्रीय समितिले निर्णय गरेर विशेष महाधिवेशन गराउँछ वा हामी आफैँ गर्छौं, तर विशेष महाधिवेशन हुन्छ नै,’ थापाले भने ।
यसअघि महामन्त्रीद्वय थापा र विश्वप्रकाश शर्माले बिहीबार संयुक्त विज्ञप्ति जारी गर्दै नियमित महाधिवेशन स्थगित गरी विशेष महाधिवेशनको विकल्प अघि सारेका थिए ।
भृकुटीमण्डपको हल पुस २७–२८ का लागि बुकिङसमेत गरिएको थियो । तर शुक्रबारको बैठकले वैशाखको नियमित महाधिवेशनलाई प्राथमिकता दिँदा विशेष महाधिवेशन पक्षधरहरू रुष्ट बनेका छन् ।
थापाले भनेका छन्,‘अझै एक–दुई दिन समय छ । सभापति शेरबहादुर देउवासहितका नेताले विधानको अधिकार उल्लङ्घन गर्न नपाइने बुझ्नुभएको छ । यदि केन्द्रीय समितिले विशेष महाधिवेशन आह्वान गरेन भने हामी विधानबमोजिम अघि बढ्छौं ।’
संस्थापन पक्ष भने विशेष महाधिवेशनले पार्टी फुटाउने खतरा रहेको तर्क गर्दै आएको छ । कार्यवाहक सभापति खड्काले विधानको धारा ४३ अनुसार कार्यकाल एक वर्ष थप्न सकिने प्रावधान प्रयोग गरेको बताएका छन् ।
पुसभित्र नियमित महाधिवेशन नभएकाले अब ९० दिनको समयसीमाभित्र विशेष महाधिवेशन गर्नैपर्ने उनले बताए । ‘केन्द्रीय कार्यसमितिको कार्यकाल लम्ब्याए पनि विशेष महाधिवेशनमा जानु पर्छ,’ थापाले स्पष्ट पारे ।
अझै एक–दुई दिन समय बाँकी रहेकाले सभापति शेरबहादुर देउवालगायत नेतृत्वले विधानको भावना बुझ्ने विश्वास व्यक्त गर्दै उनले भने, ‘केन्द्रीय कार्यसमितिबाटै विशेष महाधिवेशन बोलाइयो भने सबैभन्दा राम्रो हुन्छ ।’
यदि नेतृत्वले विधानको पालना नगरेमा चुप लागेर नबस्ने चेतावनी दिँदै थापाले धारा १७ (२) को प्रयोग गरेर पुस मसान्तभित्र काठमाडौंमै विशेष महाधिवेशन गर्ने दाबी गरे ।
‘केन्द्रीय कार्यसमितिले निर्णय गरे पनि नगरे पनि विशेष महाधिवेशन हुन्छ,’ उनले भने, ‘महाधिवेशन प्रतिनिधिहरूलाई काठमाडौं आउन तयार रहन भन्छु ।’
थापाले विशेष महाधिवेशनले कांग्रेसलाई विभाजनतर्फ नलाने स्पष्ट गर्दै भने, ‘जस्तोसुकै अवस्थामा पनि कांग्रेस फुट्दैन, फुट्न दिइँदैन ।’
देश नयाँ राजनीतिक परिस्थितिमा प्रवेश गरिसकेको उल्लेख गर्दै उनले भदौ २३ र २४ पछिको अवस्था र जेन–जी आन्दोलनबाट आएको सन्देशलाई कांग्रेस नेतृत्वले गम्भीर रूपमा बुझ्नुपर्ने आवश्यकता औंल्याए ।
बैठकमा बहुमतले प्रस्ताव पास भए पनि फरक मत राख्नेहरूले यसलाई विधानविपरीत भनेका छन् । सह-महामन्त्री फरमुल्लाह मन्सुरले विशेष महाधिवेशनबाट नयाँ नेतृत्व र नीतिसहित निर्वाचनमा जानुपर्ने बताउँदै गगन थापालाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारेका छन् ।
कांग्रेसको यो विवादले आगामी फागुनको आम निर्वाचनअघि पार्टी एकतामा गम्भीर संकट निम्त्याएको छ ।
विशेष महाधिवेशन भए नयाँ नेतृत्व चयन हुन सक्छ, जसले देउवा पक्षलाई चुनौती दिन्छ यदि त्यसो नभए विधान उल्लङ्घनको आरोप लाग्नेछ ।
कांग्रेसमा विशेष महाधिवेशन हुने वा वैशाखको नियमित महाधिवेशनले नै टुंगो लगाउने भन्ने कुरा केही दिनमा देखिनेछ ।












प्रतिक्रिया