सर्लाहीको हरिवनमा खानेपानीको पहुँच « Khabarhub

सर्लाहीको हरिवनमा खानेपानीको पहुँच


१९ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

सर्लाही– सर्लाहीको हरिवन नगरपालिकास्थित भोक्टेनीमा घरघरमा  खानेपानीको धारा जडान भएपछि स्थानीय हर्षित भएका छन् । हरिवन –१, भोक्टेनी क्षेत्रका स्थानीय लामो समयदेखि खानेपानीको समस्या रहेको थियो । अहिले घरघरमा पानीको धारा जडान भएपछि आफूहरूलाई निकै सुविधा भएको हरिवन–१, भोक्टेनीकी कविता कुमारीले बताइन् । उनले भनिन्, ‘पहिला इनारको पानी खानुपर्थ्यो । त्यो पनि हिउँद लागेपछि विस्तारै पानीको सतह घट्दै जाँदा चैत, वैशाखमा धमिलो पानी खान लडाइँ हुन्थ्यो ।’

हिउँद महिना लागेपछि पानीको लागि दैनिक इनारमा झैझगडा हुने गरेको सोही स्थानकी कुल्सुम खातुनले बताइन् । ‘अहिले घरघरमै धारा झरेको छ । दैनिक बिहान, बेलुका दुई समय पानी आउँछ । निकै सुविधा भएको छ,’ खातुनले सुनाइन् । आफू विवाह गरेर आउँदा एक गाग्री खानेपानीको लागि गाउँका महिला बालबालिका चुरे फेदीमा झरेको झोरासम्म पुग्नुपर्ने बाध्यता रहेको खातुनले बताइन् ।

केही समय पहिलासम्म गाउँमा सम्पन्न केहीले खनेको इनारमा पानी झिक्न नपाउँदाको दुःख कविताको मानसपटलमा अहिले पनि ताजै छ । २०० घर धुरीको लागि यस क्षेत्रमा ५२ वटा भन्दा धेरै साना ठूला इनार खनिएको छ । केही वर्षयता उक्त इनारमा पानी भरिन छाडेपछि स्थानीय थप खानेपानी सङ्कटमा परेका हुन् । गाउँ नै खानेपानीको चपेटामा परेपछि २०७९ सालदेखि यहाँ खानेपानी योजना सुरु भएको थियो ।

वडा कार्यालयको ३५ लाख र मधेस प्रदेशसभा सदस्य जवाहरलाल कुशवाहाको क्षेत्र विकास बजेटबाट छुट्याएको ३७ लाख गरी ७२ लाख लागतमा खानेपानीको व्यवस्था गरिएको अत्रौली खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष मुकेश साहले बताए । तत्काललाई डिप बोरिङबाट पानी निकालेर सिधै दिनको दुई टाइम उपभोक्ताको धारामा पठाउने गरिएको उनको भनाइ छ । ‘संस्थाको सम्पूर्ण संरचना निर्माणको लागि ठूलो लगानी आवश्यक छ । अहिलेलाई पानीको प्रयोगशालाबाट परीक्षण गर्दा खान उपयुक्त देखिएपछि वितरण गरिएको हो ।’ यसको दिगो व्यवस्थापनको लागि वडा, नगर, प्रदेश र सङ्घ सरकार मातहतका निकायसँग निरन्तर पहल गरिरहेको अध्यक्ष साहले बताए ।

आयोजनाको लागि कम्पाउण्ड, ओभरहेड ट्याङ्की सहितको संरचना निर्माण नभइ दिगो व्यवस्थापन नहुने उनले सुनाए ।

यस आयोजनाको लागि स्थानीय हरिनारायण ठाकुरबाट दुई कठ्ठा र वडा सदस्य रहेका उदयनारायण ठाकुरबाट एक कठ्ठा गरी तीन कठ्ठा जग्गा प्राप्त भएको वडाध्यक्ष टमबहादुर घिसिङले बताए । स्थानीयले बर्सेनि खानेपानीको लागि गरेको लडाइँ र स्थानीयले भोग्नु परेको काकाकुल अवस्था समाधानको लागि वडाले पहल गरेर खानेपानीको व्यवस्थापन गरेको उनको भनाइ छ ।

यसलाई दिगो रुपमा सञ्चालनको लागि आवश्यक भौतिक संरचना लगायतको लागि आफूले निरन्तर पहल गरिरहेको उनले दाबी गरे । ‘स्थानीयले सधैँ पानी खान नपाएको गुनासो गरेपछि वडाको स्थानीय जग्गा दातासँग पहल गरेर प्राप्त जग्गामा ३५ लाख बजेटबाट विद्युत् लाइन विस्तार, ट्रान्समिटर खरिद गरेर जडान गरी ५०० फिट गहिरो डिप बोरिङ गरेर विद्युतीय मोटर जडान गरी तत्काललाई पानी खुवाउने प्रबन्ध गरेको हो,’ वडाध्यक्ष घिसिङले भने । उनका अनुसार २०० घर मध्य अहिले सम्म १५५ घरमा धारा जडान गरेर पानी वितरण भइरहेको छ ।

बाँकी परिवार धारा जडानको गर्ने प्रक्रियामा रहेका संस्थाका अध्यक्ष साहले बताए । यस आयोजनाबाट हरिवनको भोक्टेनी तथा आसपासका गाउँका स्थानीयलाई पानी खुवाउने योजना रहेको उनको भनाइ छ । (रासस)

प्रकाशित मिति : १९ माघ २०८२, सोमबार  १० : ३८ बजे

सरकारका १०० दिन : विज्ञान प्रविधिसँगै नवप्रवर्तन मन्त्रालयको नयाँ अभ्यास

काठमाडौँ– सरकारले मन्त्रालयहरूको सङ्ख्या घटाइ बेग्लै विज्ञान, प्रविधि तथा नवप्रवर्तन

एकैदिन तोलामा ६ हजार २ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज  सुनको मूल्य बढेको छ । नेपाल

अमेरिकालाई रातो कार्ड कति महँगो पर्ला ?

काठमाडौँ – फिफा विश्वकप फुटबल २०२६ मा आयोजक राष्ट्र अमेरिका

स्थानीयवासीको सहयोगमा प्रहरी भवन पुनर्निर्माण

कास्की– पोखरा महानगरपालिका गगनगौँडास्थित वडा प्रहरी कार्यालयको भवन स्थानीयवासीको सहयोगमा

चट्याङ लागेर जुम्लामा एक युवकको मृत्यु

जुम्ला– जुम्लामा चट्याङ लागेर एक युवकको मृत्यु भएको छ ।