इन्डोनेसियाली यात्रुवाहक फेरीमा आगलागी, पाँच जनाको मृत्यु, ३९ बेपत्ता « Khabarhub

इन्डोनेसियाली यात्रुवाहक फेरीमा आगलागी, पाँच जनाको मृत्यु, ३९ बेपत्ता


१८ श्रावण २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

सुराबाया– इन्डोनेसियाको जाभा टापुनजिक आइतबार यात्रुवाहक फेरिमा आगलागी हुँदा कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने ३९ जना बेपत्ता भएका छन् । उद्धारकर्मी तथा घटनास्थल आसपास रहेका जहाजहरूले २२७ यात्रु र चालक दलका सदस्यको उद्धार गरेका छन् ।

इन्डोनेसियाको राष्ट्रिय खोज तथा उद्धार निकाय (बासारनास)का अनुसार ‘मुतियारा सेन्टोसा–२’ फेरि पूर्वी जाभाको सुराबायाबाट दक्षिण सुलावेसीको मकासारतर्फ जाँदै थियो । 

सुमेनेप जलक्षेत्रमा बिहान ६ देखि ७ बजेको बीचमा आगलागी हुँदा फेरिमा २३२ यात्रु, ३९ चालक दलका सदस्य तथा १८१ सवारीसाधन, जसमा अधिकांश ट्रक र एउटा एक्साभेटर थिए । 

बासारनासका अनुसार फेरि सञ्चालक कम्पनी ‘पीटी एटोसिसम लाम्पुङ पेलायारन’ले घटनाको करिब एक घण्टापछि सुराबाया खोज तथा उद्धार कार्यालयलाई जानकारी गराएको थियो । कम्पनीले कप्तानबाट मादुरा टापुको उत्तरी क्षेत्रमा जहाजमा आगलागी भएको सूचना प्राप्त गरे पनि त्यसपछि सम्पर्क विच्छेद भएको जनाएको छ ।

अधिकारीले बिहान ९ः४५ बजे फेरिलाई बुरुआन सापुडी टापुभन्दा करिब १९ नटिकल माइल उत्तरमा रहेको पत्ता लगाएका थिए । ज्वलनशील पदार्थ बोकेको ‘मेराटस प्रोजेक्ट–३’ कार्गो जहाजले घटनास्थलबारे जानकारी गराए पनि सुरक्षा जोखिमका कारण आगलागी भएको फेरिनजिक पुग्न सकेन ।

राष्ट्रिय खोज तथा उद्धार निकायले सार्वजनिक गरेको भिडियोमा फेरिबाट बाक्लो कालो धुवाँ निस्किएको र जहाजको ठूलो भाग आगोले ढाकिएको देखिएको छ । 

सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोहरूमा लाइफ ज्याकेट लगाएका यात्रु उद्धारको प्रतीक्षामा डेकमा भेला भएको तथा केही यात्रु समुद्रमा हामफालेको देखिन्छ ।

विज्ञप्तिअनुसार बिहान १० बजेनजिक एउटा टगबोट र त्यस क्षेत्रबाट गुज्रिरहेका अन्य जहाज घटनास्थलमा पुगेर उद्धार कार्य सुरु गरेका थिए ।

आइतबार साँझसम्म पाँच जनाको शव फेला परेको, २२७ जनाको उद्धार गरिएको र ३९ जना अझै बेपत्ता रहेको बासारनासले जनाएको छ । आगलागीको कारण खुल्न नसकेको र घटनाबारे अनुसन्धान भइरहेको छ ।

उद्धार गरिएका यात्रुमध्ये अहमद अब्दुल करिमले तल्लो सवारी डेकमा रहेको एउटा ट्रकबाट आगो सुरु भएको बताए । उनका अनुसार आगलागी सुरु भएको केही समयमै आगो तीव्र हावाका कारण तीव्र गतिमा फैलिएको थियो र ३० मिनेटभन्दा कम समयमै सबै यात्रुलाई जहाजको अगाडिको भागमा जान निर्देशन दिइएको थियो ।

खोज तथा उद्धार टोलीले सुराबायाबाट उद्धार जहाज परिचालन गरेको भए पनि घटनास्थल पुग्न करिब छ घण्टा लाग्ने अनुमान गरिएको थियो ।

सुमेनेपबाट पठाइएको एउटा उद्धार डुङ्गा खराब मौसम र उच्च छालका कारण बीचैबाट फर्किएको थियो । उद्धार कार्यमा सहयोगका लागि इन्डोनेसियाली नौसेनाले युद्धपोत पनि परिचालन गरेको थियो ।

सन् १९९२ मा जापानमा निर्माण भएको १६० मिटर लामो उक्त फेरि सन् २०१५ मा इन्डोनेसियालाई बिक्री गरिएको थियो । यसअघि ‘फेरी ओसाका’ नामबाट जापानको ओसाका–शिनमोजी रुटमा सञ्चालनमा रहेको जहाज हाल सुराबाया–मकासार रुटमा यात्रु तथा मालवाहक सेवामा प्रयोग हुँदै आएको छ ।

सत्र हजारभन्दा बढी टापु रहेको इन्डोनेसियामा जलयात्रा प्रमुख यातायातको माध्यम हो । तर कमजोर सुरक्षा मापदण्डका कारण त्यहाँ बेला–बेलामा यस्ता समुद्री दुर्घटना हुने गरेका छन् । रासस
 

प्रकाशित मिति : १८ श्रावण २०८३, सोमबार  १२ : ५७ बजे

शिक्षामन्त्रीसँग मङ्गोलियाका पूर्वप्रधानमन्त्रीको शिष्टाचार भेटवार्ता

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग मङ्गोलियाका पूर्वप्रधानमन्त्री एवं मङ्गोलियन चेस

उपनिर्वाचनमा भाजपालाई धक्का : अध्यक्ष नीतिन नविनकै क्षेत्रमा जनसुरजका प्रशान्त किशोरको अग्रता

पटना- भारतका बिहार, मध्य प्रदेश र गुजरातका तीन विधानसभा क्षेत्रमा

पलको ‘आबाट आमा‘लाई उछिन्न सफल ‘गौँथली’, बन्यो सर्वाधिक व्यापार गर्ने १२ औँ फिल्म

काठमाडौं – डा. कपिल रिजालको निर्देशनमा बनेको फिल्म ‘गौँथली’ले कीर्तिमानी

कोशीका प्रदेशसभा सदस्यहरूलाई ओलीको फोन : एउटै व्यक्तिलाई कति पद दिइरहने ?

काठमाडौं- कोशी प्रदेश सरकारलाई लिएर नेकपा एमालेभित्रको विवाद पेचिलो बन्दै

‘पेपरलेस धनगढी’का लागि एकीकृत ‘डिजिटल’ प्रणाली

सुदूरपश्चिम– धनगढी उपमहानगरपालिकाले ‘पेपरलेस धनगढी’ को अवधारणा कार्यान्वयन गर्न ‘एकीकृत