काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले देशको राष्ट्रिय स्वाधीनता, लोकतन्त्र र संविधानको रक्षाका लागि कम्युनिस्ट तथा वामपन्थी सहकार्य आवश्यक रहेको बताएका छन्।
२४ औं बोत्ले स्मृति दिवसका अवसरमा नेकपा, दोलखाले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा विगतका मतभेद वा आलोचनालाई छाडेर देशको राष्ट्रिय स्वाधीनता, लोकतन्त्र र संविधानको रक्षाका लागि दृढताका साथ अघि बढ्नुपर्ने आवश्यकता रहेको बताए ।
उनले विचार र सिद्धान्तको विकास भन्दा पनि केवल पद हासिल गर्ने होडबाजीमा केन्द्रित हुँदा कम्युनिस्ट आदर्शबाट विचलन आएको र मुख्य गल्ती यहीँ भएको स्वीकार गरे ।
अहिले नै पूर्ण पार्टी एकता नभए पनि विभिन्न मुद्दामा टेकेर कार्यगत एकता गर्दै अघि बढ्नुपर्ने उनले बताए । संयोजक प्रचण्डले वामपन्थीहरू मात्र नभई राष्ट्र जोगाउन नेपाली कांग्रेस लगायतका दलहरूसँग पनि सहकार्य आवश्यक रहेको बताए ।
उनले सडक, सदन र आगामी निर्वाचनमा दृढतापूर्वक प्रस्तुत भएर राजनीतिक परिस्थितिलाई सकारात्मक मोड दिनुपर्ने उल्लेख गरे।
त्यस्तै नेकपाका सह–संयोजक माधव कुमार नेपालले नेपालको राजनीतिमा देशभक्त शक्तिको रूपमा कम्युनिस्टहरू रहेकाले विगतका गल्तीहरूको समीक्षा गर्दै सहकार्य गर्नुपर्ने बताए । उनले कम्युनिष्ट पार्टीहरूले आफ्नो जिम्मेवारी बहन गर्दै जनतामा विश्वास जगाउने काममा अग्रसर हुनुपर्ने धारणा राखे।
त्यस्तै नेकपा एमालेका महासचिव शंकर पोखरेलले मूलधारका राजनीतिक दलहरू विभाजित भएका कारण नेपालको लोकतान्त्रिक आन्दोलन गम्भीर दुर्घटनामा पुगेको बताए ।
उनले मुलुकका उत्पन्न चुनौतीलाई सामना गर्न राजनीतिक दलहरूका बिचमा गहिरो समझदारी र एकताको आवश्यकता रहेको धारणा राखे।
पपुलिजम र एनार्किजमका माध्यमबाट नेपालको वामपन्थी आन्दोलनलाई कमजोर बनाउनका लागि भएका षड्यन्त्रहरूलाई पररास्त गर्न सदन र सडकमा प्रमुख दलहरू मिलेर अगाडि बढ्न तयार हुनुपर्ने उनले बताए । उनले वामपन्थी आन्दोलनका संकटहरूलाई सामना गर्ने आधार तयार गर्न सक्ने पनि बताए ।












प्रतिक्रिया