काठमाडौं- नेपालका सीमावर्ती क्षेत्रमा गएको विनाशकारी बाढीपहिरोपछि चीनले उद्धार तथा राहतमा सक्रिय सहयोग गर्दै आएको छ।
चिनियाँ उद्धार टोलीको व्यावसायिक सहयोग र राहत सामग्रीले विपद्को कठिन समयमा चीन–नेपालबीचको पुरानो मित्रता र पारस्परिक सहयोगलाई व्यवहारमै देखाएको भनाइसहित सिन्ह्वाले समाचार लेखेको छ।
रसुवास्थित नेपालको उच्च हिमाली क्षेत्रमा हिमनदी भत्किएपछि आएको तीव्र गतिका बाढीपहिरोले सुरुङ पुरिनुका साथै सडक तथा यातायात सम्पर्कसमेत अवरुद्ध भएको छ।
बुधबार साँझसम्मको विवरणअनुसार विपद्मा १ हजार २०० भन्दा बढीको मृत्यु भएको र ४ हजार २०० भन्दा बढी मानिस बेपत्ता रहेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ।
सुरुङबाट उद्धार चुनौतीपूर्ण
बाढीपहिरोका कारण ठूलो मात्रामा थुप्रिएको गेग्रान र जटिल भूमिगत संरचनाले उद्धार कार्यलाई निकै चुनौतीपूर्ण बनाएको छ।
परम्परागत भौगर्भिक विपद्को तुलनामा यसपटकको अवस्था निकै जटिल रहेको उद्धारकर्मीहरूले बताएका छन्।
१५ वर्षभन्दा बढी समयदेखि सुरुङ उद्धारमा संलग्न चिनियाँ विज्ञ पान चियाङयुआनले प्रभावित क्षेत्रको अवस्था आफूले देखेका अन्य विपद्भन्दा निकै गम्भीर रहेको बताए।
उनले सुरुङमा गेग्रान लगभग पूर्ण रूपमा भरिएकाले उद्धार कार्य अत्यन्त कठिन बनेको उल्लेख गरेका छन्।
पान नेपाल पठाइएको नौ सदस्यीय चिनियाँ सुरुङ उद्धार विशेषज्ञ टोलीका सदस्य हुन्। चिनियाँ सरकारले उक्त टोलीसँगै चार जना डीएनए पहिचान विज्ञलाई पनि नेपाल पठाएको छ।
चिनियाँ उद्धार टोलीले नेपाली सुरक्षाकर्मीसँग सहकार्य गर्दै लगातार केही दिनसम्म रसुवा र नुवाकोटका जलविद्युत् आयोजनाका विभिन्न क्षेत्रमा खोज तथा उद्धार अभियान सञ्चालन गरेको थियो।
केही स्थानमा गेग्रान निकै गहिरो रहेकाले उद्धारकर्मी पैदल प्रवेश गर्न नसक्ने अवस्था भएपछि र्याफ्ट तथा ड्रोनको प्रयोग गरिएको पानले बताए।
नेपाली उद्धार कमान्ड पोस्टका प्रेस अधिकृत रेश्मीले चिनियाँ टोली नेपाल आइपुगेका पहिलो अन्तर्राष्ट्रिय उद्धार टोलीमध्ये एक रहेको बताए। उनका अनुसार चिनियाँ र नेपाली टोलीबीच निकट सहकार्य भइरहेको छ।
‘यो संयुक्त अभियान हो। हामीले मिलेर काम गरिरहेका छौँ,’ उनले भने। उद्धार कार्यलाई प्रभावकारी बनाउन दुवै पक्षले सम्पर्क अधिकारीसमेत खटाएका छन्।

राहतसँगै प्राविधिक सहयोग
चीनले उद्धारसँगै नेपाललाई राहत, प्राविधिक परामर्श, मौसम तथा जलविज्ञानसम्बन्धी तथ्यांक र जोखिम पूर्वसूचना पनि उपलब्ध गराउँदै आएको छ।
विपद् सुरु भएयता चीनले नेपालमा दुई चरणमा राहत सामग्री पठाइसकेको छ। यसका साथै, प्रभावित क्षेत्रमा जोखिम मूल्यांकन र आपत्कालीन प्रतिक्रिया प्रभावकारी बनाउन वास्तविक समयका मौसम तथा जलविज्ञानसम्बन्धी तथ्यांक उपलब्ध गराइएको छ।
नेपालमा रहेका चिनियाँ सामाजिक संस्था, व्यवसायी तथा चिनियाँ समुदाय पनि राहत अभियानमा सहभागी भएका छन्।
चाइना फाउन्डेसन फर रुरल डेभलपमेन्टले नुवाकोटको त्रिशूली नदी आसपासमा अस्थायी सहायता केन्द्र स्थापना गरेको छ। स्थानीय अस्पताललाई सामग्री भण्डारण, जनशक्ति परिचालन तथा थप स्वास्थ्य सेवाका लागि प्रयोग गरिएको छ।
फाउन्डेसनको नेपाल कार्यालयका निर्देशक जोउ झिच्याङका अनुसार राहत कार्य विपद्को आवश्यकता र अवस्थाअनुसार चरणबद्ध रूपमा सञ्चालन भइरहेको छ।
अहिलेको प्राथमिकता जीवितको खोजी तथा उद्धार हो। त्यसपछि मृतकको खोजी तथा व्यवस्थापन र तेस्रो चरणमा विस्थापितको पुनर्स्थापना, स्वास्थ्य सेवा तथा जीविकोपार्जन पुनःस्थापनामा ध्यान दिइनेछ।

फाउन्डेसनले विभिन्न चरणका आवश्यकताअनुसार राहत सामग्री अग्रिम रूपमा तयारी गरिरहेको जनाएको छ। थप चरणको काम सुरु भएपछि प्रयोग गर्ने गरी चीनबाट करिब २२ टन राहत सामग्री पठाउने तयारी भइरहेको जोउले बताए।
यसैबीच, हुवावेले नेपाली दूरसञ्चार सेवा प्रदायकसँग सहकार्य गर्दै प्रभावित क्षेत्रमा सञ्चार सेवा पुनःस्थापना गर्न काम थालेको छ। नेपालमा रहेको चिनियाँ प्रवासी संघले पनि प्रभावित नागरिकका लागि राहत रकम संकलन अभियान सुरु गरेको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले सामाजिक सञ्जालमार्फत चीनको तत्कालीन सहयोगले नेपाल र चीनबीचको लामो समयदेखिको मित्रताको बलियोपन पुनः पुष्टि गरेको बताएका छन्।
चीनको विदेश मन्त्रालयले नेपालका लागि तेस्रो चरणको आपत्कालीन राहत सामग्री पठाउने तयारी भइरहेको जनाएको छ। उक्त सामग्रीमा बेली ब्रिज, महामारी रोकथामका सामग्री तथा आपत्कालीन सञ्चार उपकरण रहेका छन्।
नेपालको आवश्यकताअनुसार डीएनए पहिचान विज्ञको दोस्रो टोली पठाउन पनि चीन तयार रहेको मन्त्रालयले जनाएको छ।












प्रतिक्रिया