भारतका लागि नेपाली पूर्वराजदूत डा. शंकर शर्मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भारतीय जनता पार्टी र प्रधानमन्त्री नरेन्द्र मोदीले गरेको सम्मानले नेपालप्रति विश्वास बढाएको बताउँछन्। भारतीय जनता पार्टीको निमन्त्रणामा नयाँदिल्ली पुगेका लामिछानेले मोदीलाई भेट्नु एकदमै सकारात्मक र परिस्थिति अनुकूल भनेर उनले टिप्पणी गरेका छन् । अब विवादका विषयहरू कूटनीतिक ढंगले सल्टाउन प्रधानमन्त्री वालेन्द्र शाहले तयारी गर्नुपर्ने बताउँछन्। भारतले विवादका विषयहरू कूटनीतिक ढंगले सल्टाउन नेपाललाई रेड कार्पेट ओछ्याउनुका साथै ग्रीन सिग्नल पनि दिएको बताउँदै शर्मा लामिछानेको भ्रमण सफल र फलदायी रहेको विश्लेषण गर्छन्।
रविको भ्रमण विल्कुल पार्टीको तर्फबाट भएकाले सीमा विवादसहितका गम्भीर विषयमा सामान्य हिसाबले छलफल गर्नु नहुने शर्माको तर्क छ। उनले भारत गएर जे गरे, त्यो उचित रहेको उनी बताउँछन्। मन्त्री र सरकारी कर्मचारीसमेत नलिई भारत गएका उनले उच्चस्तरीय राजनीतिक भेटवार्ता गरेप्रति प्रश्न उठाउने ठाउँ नरहेको विश्लेषण शर्माले सुनाए । रविको यात्राले प्रधानमन्त्री वालेन्द्रको भ्रमणलाई कुनै असर नपर्ने बताउँदै शर्माले दुई देशका सीमा विवाद र अरू विषय नेपालले कूटनीतिक रुपमा अब बलियो भएर टुङ्ग्याउनुपर्ने बताउँछन्। भारतले नेपाललाई गरेको अपार मायाप्रति कुनै शङ्का गर्नुपर्ने ठाउँ नरहेको शर्माको विश्लेषण छ। नेपाल सरकारका पूर्वउच्च अधिकारी शर्मासँग पार्टी लामिछानेको भारत भ्रमणका बहुआयामिक पक्षहरूमा केन्द्रित रहेर खबरहबले छोटो कुराकानी गरेको छ।
रास्वपा सभापति रवि लामिछानेको भारत भ्रमणलाई कूटनीतिक नजरबाट कसरी हेर्ने ?
पहिलो कुरा त नेपालमा बहुमतको नयाँ सरकार छ। त्यसकै सभापति रवि लामिछाने हुनुहुन्छ। नयाँ र ठूलो पार्टीको सभापतिले अर्को देशको ठूलो पार्टीको निमन्त्रणा मान्न जानु सकारात्मक हो। देशको ठूलो र सत्तारुढ पार्टीको सभापति भएका नाताले उनीहरूको सरकार पाँच वर्षसम्म चलिरहन सक्छ । यही अवस्थाले गर्दा यो भ्रमणले राष्ट्रिय अन्तर्राष्ट्रिय विकास र जनताप्रतिको उत्तरदायित्वको अनुभव अनुभव साटासाटमा पनि सघाउँछ। पार्टीका सभापतिका रुपमा एउटा साझेदारीका लागि भारतसँग हात बढाउने जुन इच्छा व्यक्त गरिएको छ, त्यसलाई भारतले रेड कार्पेटमा स्वागत गरेको देखिन्छ। मुख्य कुरा अहिले भारत खुला भएर आर्थिक साझेदारीमार्फत् नेपालको समृद्धिमा पूरा सहयोग गर्न तयार छौँ भनेको छ। अरू विषयमा पनि छलफल गर्न सक्छौँ भन्ने कुराको एउटा राम्रो सन्देश भारतले दिएको छ। यो सन्देश भारतले खुला भएर हामीलाई दिएको छ। हाम्रा लागि यो एकदमै सकारात्मक पक्ष हो।
यहाँ त भारतका लागि निवर्तमान राजदूत पनि हुनुहुन्छ, खासगरी भाजपाले रास्वपा सभापति लामिछाने र उहाँको प्रतिनिधिमण्डललाई गरेको सम्मान र मायाप्रति शङ्का गर्ने ठाउँ छ र ?
अहिलेसम्म शङ्का गर्ने ठाउँ छैन। भारतको स्वागत यो सरकारका लागि सुरुवाती रेड कार्पेट पनि हो। यसलाई हामीले हाम्रो कूटनीतिक पहलमार्फत् अधिकतम् फाइदामा कसरी प्रयोग गर्न सक्छौँ? त्यो महत्वपूर्ण कुरा हो । पहिला मिल्न नसकेका कुरा र अब समृद्धिका लागि भारतसँग गर्नुपर्ने नयाँ कुराका लागि कूटनीतिक रूपमा अगाडि बढ्नुपर्छ । अब हामीले अलिकति सक्रिय हुनुपर्ने बेला भएको छ। किनभने भारतले रेड कार्पेटले स्वागत गरेपछि हामीले पनि विश्वास बढाएर फाइदा लिनुपर्छ। पहिला भारतसँग हामीले चाहेका कुन कुन कुरा पूरा हुन सकेका थिएनन्, तिनलाई कूटनीतिक हिसाबले समाधान गर्ने बेला यही हो। उपयुक्त समय आएको बेला काम गरेन भने यस्तो मौका फेरि नआउन सक्छ। रविजीको भारत भ्रमण सफल भयो, अब प्रधानमन्त्री वालेन्द्र शाहले फलदायी भ्रमण गर्नुपर्छ।
सभापति लामिछानेले यही मौकामा पनि केही कुरा गर्न सक्ने विकल्प थियो ?
अहिले उहाँले केही गर्न सक्नुहुन्न, किनभने उहाँबारे सरकारका प्रवक्ता सस्मित पोखरेलले पनि पार्टीको सद्भावना भ्रमण हो भन्नु भयो। पार्टीको भ्रमण हो भनिसकेपछि उहाँले अहिले केही गर्ने अवस्था छैन। तर रास्वपाले नेपालमा समृद्धिको जुन नयाँ ढाँचा कोरेको छ, अहिले दुवै पक्षले हामी पूर्ण रुपमा सहयोग गर्छौँ भन्ने हो। सानातिना कुरा उठ्छन्, कनेक्टिभिटीका कुरा, सुरक्षाका कुरा उठे, हिजो भारतीय गृहमन्त्री अमित शाहसँग सानातिना कुरा उठ्ने नै भए। रास्वपाबारे रविजीले पनि एक्सप्लेन गर्नुभयो। उताबाट नवीनजीले पनि एक्सप्लेन गरेपछि पूर्ण सहयोग हुने कुरा आएका छन्। यो ठिक कुरा हो, मलाई लाग्छ कुनै मुद्दामा छलफल गर्ने समय पनि होइन यो।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र लामिछानेबीच भेटवार्तामा के के कुरा हुनुपर्थ्यो ?
खासमा रविजीको भ्रमण राजनीतिक भएकाले जुन तरिकाले अहिले कुराकानी भएको छ, त्यो एकदमै ठिक छ। प्रधानमन्त्री मोदीले पनि ग्रीन सिग्नल र रेड कार्पेट दिएको अवस्थामा अब नेपालको तर्फबाट प्रधानमन्त्रीले निम्तो स्वीकारेर भ्रमण गरेपछि विवादहरू कूटनीतिक ढंगले समाधान गर्नुपर्ने बेला यही हो। सभापतिज्यू पार्टीको भ्रमणमा भएकाले प्रधानमन्त्रीले उहाँलाई भेटेर समय दिनु नै नेपालको ठूलो उपलब्धि हो। अहिले टिप्पणी गर्नुभन्दा जुन किसिमका हाम्रा समस्या छन्, तिनलाई अब सरकारले समाधानको बाटोतिर लानुपर्छ। विगतको सरकारले गर्न नसकेका र अब गर्नुपर्ने कामलाई यो सरकारले कूटनीतिक हिसाबले अघि बढाउनुपर्छ । अब टेबल टक गरेर विवादरहित ढंगबाट निष्कर्ष निकाल्नुपर्छ। यस्तो मौका पटक-पटक आउँदैन, मौका आएको बेला दुवै पक्षले सहकार्यसहित काम अघि बढाउनुपर्छ।
यहाँ अर्को कुरा जोड्न मन लाग्यो। प्रधानमन्त्री वालेन्द्र शाहले सदनमा नेपालले पनि भारतको भूभाग मिचेको छ भन्नु र सभापति लामिछाने भोलिपल्टै भारत जानु केही कूटनीतिक रहस्यमय छ कि संयोग मात्रै हो ?
यो संयोग होला। किनभने रविजीको भारत भ्रमण कार्यक्रम १०–१५ दिनअगाडि नै हुँदैछ भन्ने चर्चा थिए। मेरो विचारमा यो संयोग मात्रै हो। प्रधानमन्त्रीले यस्तो बोल्नु हुने थिएन, यस विषयमा चाहिँ उहाँले आफैँ माफी माग्नुहुन्छ भन्नेमा हामी विश्वस्त छौँ।

तर फेरि प्रधानमन्त्रीले प्रश्नोत्तर गर्ने भन्ने नियमित तालिका पनि त थिएन नि ?
उहाँको इच्छाले गएर बोल्नुभयो होला। मलाई लाग्छ, प्रधानमन्त्री पनि म यो बोल्छु भन्ने अवस्थामा हुनु हुन्नथ्यो । उहाँले आफ्नो गल्तीको रियलाइज गरिसक्नुभएको होला, अब माफी माग्नुपर्छ। नीतिमा हेर्दा जतिबेला पनि उहाँले बोल्न समय पाउनुहुने रहेछ, त्यहीअनुसार जानुभयो तर उहाँ चिप्लिनुभयो। अहिलेलाई त्यो जोड्नु उपयुक्त ठानिँदैन। उहाँले गल्ती रियलाइज गर्नुभएको होला, सायद उहाँले माफी पनि माग्नुहोला।
सीमा विवादका विषयहरू अहिले दुवैबाट उठिरहेका छन् । तर सभापति लामिछाने भारत भ्रमणमा पुग्दा गम्भीर रुपमा यो विषय उठाइएन कि ? यसलाई कसरी हेर्ने ?
होइन, अब भारतसँग त टेबलमा बसौँ, छिटो टुंग्याऔँ भन्ने हो। तर हामीले आफ्नै होमवर्क गर्नुपर्यो नि। स्वयम् प्रधानमन्त्रीले पनि भन्नुभएको छैन। प्रधानमन्त्रीले बेलायतसँग कुरा गरेर त्यहाँ भएका पेपरहरू खोज्दैछौँ भन्नुभएको छ। त्यस्ता विषयहरूमा हामीले गम्भीर तयारी हुनुपर्छ। भारतलाई अहिले सकेसम्म हामी तयारी गरेर छिटो वार्तामा बसौँ भन्ने हो।
तेस्रो पक्ष आवश्यक छैन भनेर भारतले भनिसकेको अवस्था छ। यसलाई कसरी हेर्ने ?
टेबल टकमार्फत् अगाडि बढ्नुपर्छ। बाहिर सार्वजनिक रूपमा भन्दा पनि दुई पक्षबीच कूटनीतिक कुराकानी भएपछि मात्रै यी समस्या समाधान हुन्छन्। तेस्रो पक्षलाई समेट्नै नपरी समस्या समाधान हुन पनि सक्छन्। त्यसकारण प्रधानमन्त्रीले भ्रमणमा जाँदा र अगाडि टिम पठाउँदा पूराका पूरा तयारी हुनुपर्छ।
सीमा विवादको विषयमा तयारी नपुगेकाले सभापतिले यो कुरा नउठाउनु भएको हो ?
अहिले मेरो विचारमा त्यही हो। अर्को कुराचाहिँ सभापतिको भ्रमण पार्टीको भएकाले उहाँले कोही पनि सरकारी कर्मचारी लानु भएको छैन। त्यहीकारण यस विषयमा गम्भीर छलफल हुनु पनि त्यति शोभनीय हुँदैन। उहाँ परिस्थिति बुझ्न जानुभएको हो। अब परिस्थिति स्पष्ट अनुकूल देखियो। त्यस्तो सीमाको वार्तामा त कर्मचारीहरू पनि हुनुपर्छ। अहिलेको उपयुक्त समय वार्ता गर्ने होइन, कुरा उठाउन सकिन्छ। हल्का हुने काम छैन नि, त्यसकारण कर्मचारी नै नभएको र सरकारी भ्रमण नमानिएको अवस्थामा यो कुरा गम्भीर रूपमा उठाउनु ठिक हुँदैन थियो। उहाँले ठिकै गर्नुभयो।
उसो भए प्रधानमन्त्री गएमा मात्रै यी कुराहरू उठाउनु ठिक छ ?
प्रधानमन्त्री जाँदा त सबै कुराको तयारी हुनुपर्छ, त्यसभन्दा अगाडि नै टिम पुगेर चाँजोपाँजो मिलाइसक्नुपर्ने हुन्छ। कुराकानी गर्छन्, छलफल गर्छन्। प्रधानमन्त्री जाँदा पूरा तयारीका साथ जानुपर्छ। अहिलेलाई यति बुझौँ कि परिस्थिति अनुकूल रहेछ, हामीले पनि अनुकूल परिस्थितिमा आफ्ना तयारी पूरा गरेर काम गर्नुपर्छ भन्ने सन्देश प्रधानमन्त्रीलाई छ।
सम्भवतः सभापति फर्केपछि परराष्ट्र मन्त्रालयको टोली जाला पनि, खासमा सीमाको विषयमा कस्ता-कस्ता कुरा उठाउनुपर्ला ? यहाँले देख्नुभएको र भोग्नुभएका कुराका आधारमा ।
सीमाको विषयमा बोर्डर वर्किङ ग्रुपले काम गरिरहेको छ। त्यसले एकदमै धेरै राम्रो अध्ययन गरेर तथ्यपरक र स्पष्ट ढंगले काम गरेको मलाई सूचना छ। त्यससँग प्रधानमन्त्री निरन्तर समन्वयमा हुनुहुन्छ होला। हुन त छ वर्षपछि गत वर्ष बैठक पनि भयो, ग्रुपले पूरा तयारी गरेको छ। उहाँहरूले २०२८ सम्मको पूरा योजना बनाइसक्नुभएको छ। धेरै कुरा सीमाको विषयमा स्थानीयस्तरमै समाधान हुन्छ। स्थानीयस्तरले नसमेटेका कुरा राष्ट्रिय मुद्दा हुन्छन् । कालापानी, लिपुलेक, लिपियाधुरा, सुस्ता तिनीहरूले समेट्दैनन्। ती नसमेटिएका कुरामा हामीले तयारी गरेर जानुपर्छ। प्रधानमन्त्रीले भ्रमणमा सामान्य तरिकाले प्रस्तुत हुनु हुँदैन। पूरा तयारी भइसकेको होला, यही तयारीलाई मूर्त रूप दिएर जानुपर्छ।

प्रधानमन्त्रीलाई भारतले ग्रीन सिग्नल दिएको हो ?
ग्रीन सिग्नल त नरेन्द्र मोदीले अस्ति नै दिइसक्नुभएको छ। निम्तो नै आइसकेपछि प्रधानमन्त्रीलाई भ्रमणका लागि भारतले कुनै रूपमा असामान्य व्यवहार गरेको छैन। प्रधानमन्त्री सम्भवतः यहाँहरूले नै लेखेको आधारमा सरकार बनेको तीन महिनापछि जाने तयारीमा हुनुहुन्छ भन्ने लाग्छ। अब मिति तय गरेर जाने कुरा मात्रै रह्यो।
उसो भए सभापति लामिछानेको भ्रमणले सीमा विवाद र प्रधानमन्त्रीको भ्रमणलाई कुनै असर गर्दैन ?
यहाँहरूले नै भन्नुभयो नि, रेड कार्पेटको स्वागत। त्यस्तो धेरै सम्मान। सीमा विवादको कुरा र प्रधानमन्त्रीलाई गर्ने सम्मानमा पनि तलमाथि हुँदैन भन्ने लाग्छ।
जनस्तरमा के पनि कुरा उठ्न थालिएको छ भने रविलाई एकदमै भव्य सम्मान गरियो। गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा भन्दा धेरै सम्मान भयो। यो खास प्रधानमन्त्री वालेन्द्रलाई हुनुपर्ने थियो। यसले प्रधानमन्त्री शाहलाई अलिक कमजोर बनाउँछ भन्ने पनि टिप्पणी हुन्छ नि, त्यस्तो हो र ?
प्रधानमन्त्रीको भ्रमण हेर्नुपर्छ, अहिले नै टिप्पणी गर्नु उचित हुँदैन। भारतले नेपाललाई गरेको ठूलो सम्मान र आदरले हामीले आफ्ना काम गर्नुपर्छ भन्ने देखिन्छ। पाहुनालाई गरेको सत्कारलाई हामीले प्रश्न उठाउने ठाउँ छैन। राष्ट्रिय स्वतन्त्र पार्टी र भारतीय जनता पार्टीबीच जुन किसिमको सम्बन्ध छ, यी दुईले एकआपसको राजनीतिक अनुभव आदानप्रदान गरेका हुन्। सभापतिलाई भव्य स्वागत गर्नुको अर्थ नेपाललाई र अहिलेको सरकारलाई गरेको सम्मान पनि हो। प्रधानमन्त्रीको भ्रमण योभन्दा कम हुँदैन भन्ने संकेत आएको छ। प्रधानमन्त्री जाँदा एजेन्डाको विषय पनि आउला, प्रधानमन्त्रीले एजेन्डाको हिसाबले एकदमै धेरै मिहिनेत र तयारी गरिरहनुभएको छ भन्नेमा हामी विश्वस्त छौँ।
उसो भए सबै हिसाबले हेर्दा रविको भ्रमण सफल र फलदायी भएको हो ? तपाईंको विश्लेषणमा ?
अहिलेलाई उहाँको भ्रमणका सीमित उद्देश्य हुन्छन्, ती सीमित उद्देश्य पूरा भयो। उहाँ परिस्थिति बुझ्न जानुभएको थियो, परिस्थिति उहाँले सोचेभन्दा राम्रो देखेपछि सरकारले दुई पक्षमा गर्नुपर्ने कूटनीतिक हिसाबकिताब पनि राम्रो ढंगले गर्छ भन्ने लाग्छ। सबै हिसाबले हेर्दा रविजीको भारत भ्रमण सफल र फलदायी हो। भारतले पनि नेपालमाथि अद्भुत माया, प्रेम र विश्वास राखेको देखिन्छ। अब प्रधानमन्त्री जाँदा सीमा विवाद र कूटनीतिक विषयहरू दुवै तर्फबाट टेबल टकबाट समाधान गर्नुपर्छ। फेरि पनि भन्छु, भारतले अहिले नेपाललाई रेड कार्पेट ओच्छयाएर ग्रीन सिग्नल दिएको छ। अब प्रधानमन्त्रीको भ्रमणका बेला बाँकी काम गरौँ।
















प्रतिक्रिया