काठमाडौं– लामो समयदेखि एनसेल विभिन्न विवादमा तानिँदै आएको छ । पछिल्लो समयमा नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भुपेन्द्र भण्डारी पक्राउ परेपछि पनि एनसेल थप विवादमा तानिएको देखिन्छ ।
तर, श्रृंखलाबद्ध विवादका बाबजुद पनि एनसेलले आफूलाई नेपालको दूरसञ्चार क्षेत्रमा बलियो प्रतिस्पर्धी कम्पनीको रूपमा उभ्याउन भने छाडेको छैन । साथै, सेवा प्रवाहमा पनि एनसेल अझ बढी विस्तारित हुँदै गएको तथ्यांकले देखाएको छ ।
नेपाल दूरसञ्चार प्राधिकरणको गत आर्थिक वर्षको असारसम्मको तथ्यांकले नेपाल टेलिकम र एनसेल दूरसञ्चार क्षेत्रमा नजिकको प्रतिस्पर्धीको रूपमा देखिन्छन् ।
तथ्यांकअनुसार असार महिनासम्म नेपाल टेलिकमको सिममार्फत टेलिफोन भ्वाइस सेवा प्रयोग गर्ने प्रयोगकर्ताको संख्या १ करोड ५७ लाख ६९ हजार १६ जना रहेको छ भने एनसेलको सिममर्फत भ्वाइस सेवा गर्ने प्रयोगकर्ताको संख्या १ करोड ४१ लाख ८३ हजार २३१ जना रहेको छ ।
त्यस्तै, तथ्यांकअनुसार पछिल्लो समयसम्म ३ करोड १३ लाख ५ हजार ८९४ जना व्यक्ति तथा संस्थाले इन्टरनेट सेवा सब्सक्रिप्सन लिएकोमा २ करोड ७७ लाख ३१ हजार ९३९ वटा सब्क्रिप्सन मोबाइल ब्रोडब्यान्डको मात्रै रहेको छ । जसमा ४४.७६ प्रतिशत एनसेल र ५५.२४ प्रतिशत एनसेलको हिस्सा रहेको छ ।
नेपालमा मोबाइल भ्वाइस सेवा र मोबाइल ब्रोडब्यान्ड इन्टरनेट सेवाको बिस्तार र प्रतिस्पर्धामा एनसेल नेपाल टेलिकम सँगसँगै रहेको देखिन्छ । जसले समग्र टेलिकम्युनिकेसन व्यवसाय नेपालको सूचना प्रविधि क्षेत्रलाई विकास गर्न सहयोग पुर्याइरहेको छ ।
सतिसलाल आचार्य नेतृत्व पनि उत्तिकै सफल
स्थापनादेखि हालसम्म एनसेलको सञ्चालक समूह तथा व्यावसायिक नेतृत्वमा धेरैपटक परिवर्तन भएको छ । जसमध्ये पछिल्लोपटक सतिसलाल आचार्यले मलेसियन कम्पनी आजियाटामार्फत एनसेलको ८० प्रतिशत (विदेशी लगानीको शतप्रतिशत) सेयर खरिद गरेका थिए ।
यद्यपी सो सेयर खरिदको विषय नेपाल दूर सञ्चार प्राधिकरणले कानुनअनुसार निर्णय गर्नुपर्ने आदेश सर्वोच्च अदालतले पछिल्लोपटक दिएको छ । जुन विषय अझै टुंगिन बाँकी छ ।
आचार्यले एनसेलको सेयर स्वामित्व लिएको झण्डै दुई वर्ष समय बित्न लाग्दा पनि एनसेलको व्यावसायिकता र सेवामा भने समस्या आएको देखिँदैन ।
बरु आचार्य नेतृत्व आइसकेपछि एनसेलले डाटा सेन्टर र क्लाउड सेवामा थप लगानी गरेको छ । भ्वाइस सेवा र इन्टरनेट सेवा प्रदान गर्ने कम्पनीले सो सेवा बिस्तार गर्नु भनेको व्यावसायिकताको थप दिगो विकास हुने र क्लाउडमार्फत बाहिरिने नेपालीको धेरै रकम देशभित्र रहने एनसेलको दाबी छ ।
आचार्य नेतृत्वमा आइसकेपछि सन् २०२५ मा मात्रै एनसेलले २५० वटा नयाँ टावर बिस्तार गरेको थियो भने सो समययता अरु थप टावरको बिस्तार गरेको छ । पछिल्लो समयसम्म झण्डै ९५ प्रतिशत जनसंख्यासम्म आफ्नो फोरजी सेवा पुगेको एनसेलले बताएको छ ।
बहुचर्चित एनसेलको पुँजीगत लाभकर प्रकरणमा प्राधिकरणले समयमै कदम नचाल्दा ८० प्रतिशत शेयर धनी टेलिया सोनेरालाई (हाल टेलिया कम्पनी) आफ्नो दायित्व पुरा नगरी एनसेलबाट बाहिरिन सहज बनाएको बुझाई आचार्य निकटका व्यक्ति बताउँछन् ।
सन् २०१६ मा एनसेलको स्वामित्व परिवर्तन हुँदा आजियाटा खरिद गर्ने पक्ष हो भने टेलिया बिक्री गर्ने पक्ष । यसको सोझो अर्थ भनेको टेलियाले कारोबारमा गरेको लाभको कर नेपाल सरकारलाई बुझाउनुपर्ने हो भन्ने उनीहरूको तर्क रहँदै आएको थियो ।
अहिले प्राधिकरणका पूर्व अध्यक्ष भण्डारीलाई हिरासतमा लिइएको घटनाले यी पुराना प्रकरणहरूलाई पुनः सतहमा आएर बहसमा छन् ।
२०८० फागुन ६ गतेको मन्त्रिपरिषद् बैठकले आजियाटा र स्पेक्ट्रलाइट यूकेबीच भएको शेयर खरिद–बिक्री सम्झौतालाई मान्यता नदिने निर्णय गरेको थियो ।
जुन निर्णयलाई आचार्य निकटका व्यक्तिले राजनीतिक पूर्वाग्रह र नियामक निकायको गलत व्याख्याका आधारमा भएको र आचार्य नितान्त व्यावसायिक दृष्टिकोणको आधारमा नै एनसेलको सेयर स्वामित्वमा प्रवेश गरेको उनी निकट व्यक्तिको तर्क छ । यद्यपी सो विषयमा सर्वोच्चले कानुनअनुसार कार्यान्वयन गर्न आदेश दिइसकेको छ ।
आचार्य सिंगापुरलगायत अन्य मुलुकहरूमा सफलतापूर्वक व्यापारिक कारोबार गर्दै आएका व्यवसायी हुन् । साथै, कम्बोडियाको टेलिकममा समेत लगानी गरेका उनी पारिवारिक रूपमा श्रीमती भावना सिँह श्रेष्ठमार्फत पनि एनसेल सञ्चालनको अनुभव साझा गर्दै आएका थिए ।
त्यसैले, आचार्यमा प्रविधि क्षेत्रको ज्ञान र टेलिकम क्षेत्रको व्यावसायिक अनुभव रहेकाले नेपालको टेलिकम क्षेत्रलाई थप विकासको उचाइमा पुर्याउन उनले ठूलो भूमिका निर्वाह गर्ने सम्भावना रहेको उनी निकटका विज्ञ बताउँछन् ।












प्रतिक्रिया