‘सुरुङभित्र अझै साथीहरू छन्, बाढी आएपछि ४० बढीलाई भगाएँ, अन्तिममा म आफैं अड्किएँ’ « Khabarhub

‘सुरुङभित्र अझै साथीहरू छन्, बाढी आएपछि ४० बढीलाई भगाएँ, अन्तिममा म आफैं अड्किएँ’


१९ भाद्र २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


285
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नुवाकोटको किस्पाङ गाउँपालिकास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट नौ दिनपछि जीवितै उद्धार गरिएका मेकानिकल सुपरभाइजर सञ्जय साहले सुरुङभित्र अझै केही व्यक्ति उद्धारको प्रतीक्षामा रहेको बताएका छन्।

शुक्रबार बिहान सुरुङबाट उद्धार गरिएका साहलाई स्वास्थ्य परीक्षणपछि उपचारका लागि काठमाडौंस्थित वीरेन्द्र सैनिक अस्पताल, छाउनी ल्याइएको छ।

साहसँगै उद्धार टोलीले कविर महर्जनलाई पनि जीवितै उद्धार गरेको थियो। दुवैको घटनास्थलमै नेपाली सेनाको मेडिकल टोलीले स्वास्थ्य परीक्षण गरेको थियो।

छाउनीमा उपचारका क्रममा साहले आफू त्रिशूली–३ ‘ए’ को कन्ट्रोल रुममा काम गर्ने गरेको र भदौ १० गते बाढी आउँदा आफूले सकेसम्म धेरैलाई सुरुङबाट बाहिर निकाल्न प्रयास गरेको बताए।

‘अझै पनि सुरुङभित्र केही साथीहरू छन्,’ साहले भने, ‘म त्रिशूली थ्री ‘ए’ कन्ट्रोल रुममा काम गर्थें। अरू समयमा हामीसँग काम गर्ने ४/५ जना हुन्थे, भदौ १० गते हामी ४०/४५ जना थियौँ।’

साहका अनुसार बाढी आएको थाहा पाएपछि उनले कन्ट्रोल रुमबाटै ठूलो दुर्घटना भएको भन्दै काम गरिरहेका सबैलाई सुरुङबाट बाहिर निस्कन आग्रह गरेका थिए। आफू सबैलाई बाहिर पठाउने क्रममा ढिला भएकाले भाग्न नपाएको र सुरुङमै फसेको उनले बताए।

‘म कन्ट्रोल रुममा भएकाले मेरो जिम्मेवारी सबैको ज्यान बचाउनु थियो। म एक्लै भागेर मात्रै भएन। सबैलाई बचाउनुपर्ने दायित्व मेरो काँधमा थियो,’ उनले भने, ‘बाढी आएको थाहा पाएपछि मैले सबैलाई ठूलो दुर्घटना भयो ड्याममा भनेँ। काम गरिरहेका सबैलाई सुरुङबाट भाग्न लगाएँ। सबैलाई भाग्न लगाउँदा लगाउँदै मेरो समय गयो। मैले भाग्नै पाइनँ, त्यही भएर म सुरुङमै फसेँ।’

उनले आफूले करिब ४० जना साथीलाई सुरुङबाट बाहिरिन लगाएको बताए। त्यसपछि सुरुङमा आफूजस्तै अड्किएका केही व्यक्तिसँग सम्पर्क भएको र तीन/चार जनासँग कुराकानीसमेत भएको उनको भनाइ छ।

‘मैले ४० जनाजति साथीहरूलाई भगाएँ। त्यसपछि म जस्तै अड्केकाहरूमा हाम्रो सम्पर्कमा रहेका र कुरा भएका ३/४ जना मात्रै थिए,’ उनले भने।

साहले त्रिशूली–३ ‘ए’ को सुरुङ निकै लामो भएकाले पावर हाउसतर्फ अझै मानिसहरू फसेको हुनसक्ने बताए। बाढीको तीव्र बहावले सुरुङभित्र रहेका व्यक्तिलाई अझै परसम्म पुर्‍याएको हुनसक्ने उनको अनुमान छ।

‘यो जलविद्युत्को टनेल एकदमै लामो छ। मानिसहरू अझै फसेको हुन सक्छ पावर हाउसमा। सबै भाग्न नसकेकाहरू छन्। टनेल लामो भएकाले बाढीको फोर्सले परसम्म लगेको होला,’ उनले भने।

नौ दिनपछि सुरुङबाट बाहिर निस्कन पाउँदा साहले खुसी व्यक्त गरे। उनका अनुसार भदौ १० गते बिहान कन्ट्रोल रुममा प्रवेश गरेर सुरुङतर्फ गएका थिए। त्यसपछि उनी सुरुङमै फसेका थिए।

लामो समय सुरुङभित्र रहँदा आफूले बाँच्ने आशा नछाडेको उनले बताए। ‘यो दोस्रो जीवन भयो। महामन्त्र जप गर्दै थिएँ, महामन्त्र जपेरै बसिरहेँ। बाँच्छु भन्ने आशा पालेको थिएँ,’ उनले भने।

साह र महर्जनको जीवित उद्धारपछि सुरुङभित्र रहेका अन्य व्यक्तिको अवस्थाबारे आशा बढेको छ। उद्धार टोलीले सुरुङभित्र रहेका थप व्यक्तिको खोजी तथा उद्धारका लागि प्रयास जारी राखेको छ।

प्रकाशित मिति : १९ भाद्र २०८३, शुक्रबार  २ : २० बजे

सुरुङबाट उद्धार गरिएका दुवैको आईसीयूमा उपचार हुँदै, कबीरले सुरुमा चिनेनन् आफन्त

काठमाडौं– रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट जीवित उद्धार गरिएका

दोस्रो विश्वयुद्धपछि इटालीमा सबैभन्दा लामो समय प्रधानमन्त्रीको पद सम्हाल्ने कीर्तिमान मेलोनीको नाममा

काठमाडौं- जर्जिया मेलोनीले दोस्रो विश्वयुद्धपछि इटालीमा सबैभन्दा लामो समय प्रधानमन्त्रीको

नुवाकोटको पटाबारीमा पहिरो, राहत बोकेका गाडी रोकिए (तस्बिरहरू)

नुवाकोट– काठमाडौंबाट नुवाकोटतर्फ जाने सडकखण्डअन्तर्गत लिखु नगरपालिका–३, पटाबारीमा पहिरो खसेको छ

भोटेकोशी बाढी : बाबु सम्पर्कविहीन, चार सन्तान बिचल्ली

सप्तरी– सप्तरीका बेचन सदा भोटेकोशी बाढीका कारण परिवारको सम्पर्कमा नआएपछि

अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूतहरु स्टिभ विटकफ र ज्यारेठ कुश्नरले रुसको भ्रमण गर्ने

काठमाडौं- युक्रेनमा जारी युद्ध अन्त्यका लागि कूटनीतिक पहलले तीव्रता पाएको