काठमाडौं– नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जका सम्बन्धमा सांसद रहबर अन्सारीले प्रतिनिधि सभामा व्यक्त गरेको आरोपप्रति निजी मेडिकल तथा डेन्टल कलेज एसोसिएसन अफ नेपालले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
सांसद अन्सारीद्वारा नेसनल मेडिकल कलेजमा काम नगर्ने व्यक्तिलाई संकाय सदस्य (फ्याकल्टी) का रूपमा देखाएर स्नातकोत्तर (पीजी) सिट लिइएको, चिकित्सा शिक्षा आयोगको निरीक्षणका क्रममा नक्कली बिरामी प्रस्तुत गरिएको र अनियमितताबारे आवाज उठाउने विद्यार्थीको अध्ययन तथा आवासमा अवरोध सिर्जना गरिएको लगायतका आरोप प्रतिनिधि सभामा उठाइएको विवरण सार्वजनिक भएको छ ।
संकाय सदस्य, स्नातकोत्तर शिक्षण, नियामक निरीक्षण, अस्पताल सेवा तथा विद्यार्थीको शैक्षिक वातावरण जस्ता विषय सामान्य प्रकृतिका नभएकाले यसप्रति ध्यानाकर्षण भएको एसोसिएसनले स्पष्ट पारेको छ ।
चिकित्सा शिक्षाको गुणस्तर प्रत्यक्ष रूपमा नागरिकको स्वास्थ्य र जीवनसँग जोडिने भएकाले यस्ता गम्भीर आरोपको निष्पक्ष अनुसन्धान हुनुपर्नेमा एसोसिएसन स्पष्ट रहेको छ ।
कुनै पनि मेडिकल कलेजमा अनियमितता भएको तथ्य र प्रमाण भए छानबिन तथा कारबाहीका लागि चिकित्सा शिक्षा आयोग, सम्बन्धित विश्वविद्यालय तथा नेपाल मेडिकल काउन्सिलजस्ता अधिकारप्राप्त नियामक निकायहरू विद्यमान रहेको एसोसिएसनले जनाएको छ ।
अनियमितता प्रमाणित भएमा प्रचलित कानुनअनुसार कारबाही हुनुपर्ने र त्यस्ता कार्यको संरक्षण नगर्ने प्रतिबद्धता पनि एसोसिएसनले व्यक्त गरेको छ ।
यद्यपि, आरोप र प्रमाणित तथ्य एउटै नभएको उल्लेख गर्दै एसोसिएसनले संसद्जस्तो गरिमामय थलोमा सार्वजनिक सरोकारका विषय उठ्नु स्वाभाविक र आवश्यक भए तापनि तथ्य र प्रमाणबिना आरोप लगाउँदा उच्च संवेदनशीलता अपनाउनुपर्नेमा जोड दिएको छ ।
अधिकारप्राप्त निकायको छानबिन तथा आधिकारिक निष्कर्ष आउनुअघि आरोपलाई नै स्थापित तथ्यका रूपमा प्रस्तुत गर्दा सम्बन्धित संस्थाको प्रतिष्ठा, अध्ययनरत विद्यार्थीको मनोबल र भविष्य, चिकित्सक तथा स्वास्थ्यकर्मीको पेसागत प्रतिष्ठा, उपचाररत बिरामीको विश्वास र समग्र चिकित्सा शिक्षा प्रणालीप्रतिको भरोसामा असर पर्न सक्ने चेतावनी दिइएको छ ।
कुनै पनि व्यक्ति वा संस्था तथ्य, कानुन, नियमन र उत्तरदायित्वभन्दा माथि हुन नसक्ने र प्रमाणित हुन बाँकी आरोपका आधारमा सार्वजनिक रूपमा दोषी ठहर गर्ने अवस्था बन्न नहुने एसोसिएसनको धारणा रहेको छ ।
त्यसैले, चिकित्सा शिक्षा आयोग, सम्बन्धित विश्वविद्यालय, नेपाल मेडिकल काउन्सिल तथा अन्य अधिकारप्राप्त निकायलाई सार्वजनिक रूपमा उठाइएका विषयको शीघ्र, निष्पक्ष र पारदर्शी छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न एसोसिएसनले आग्रह गरेको छ ।
साथै, विद्यार्थीको भविष्य, बिरामीको सेवा र नेपालको चिकित्सा शिक्षाप्रतिको सार्वजनिक विश्वासलाई ध्यानमा राखी सम्बन्धित सबै पक्षलाई संयमित, जिम्मेवार र तथ्यमा आधारित अभिव्यक्ति तथा व्यवहार अपनाउन अनुरोध गरिएको छ ।














प्रतिक्रिया