दोहा– गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् कतारले लामो समयदेखि कार्यरत नेपाली श्रमिकहरूको पारिवारिक पुनर्मिलन गराउने उद्देश्यले ‘स्नेह मिलन–२०२६, सिजन–९’ अभियान सञ्चालन गर्ने भएको छ ।
एनआरएनए कतारका अनुसार अभियानअन्तर्गत छनोट गरिएका १० जना नेपाली श्रमिकका परिवारलाई कतार भ्रमणमा ल्याई पारिवारिक पुनर्मिलन गराइनेछ । परिवारका सदस्यहरूको कतार बसाइका क्रममा होटल तथा विभिन्न आकर्षक स्थानको भ्रमणको समेत व्यवस्था गरिने जनाइएको छ ।
लामो समयदेखि परिवारसँग टाढा रहेका नेपाली श्रमिकलाई परिवारसँग खुसी साट्ने अवसर प्रदान गर्नु अभियानको मुख्य उद्देश्य रहेको गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद्का कतारका महासचिव शिव भुजेलले बताए ।
अभियानको उद्देश्य, छनोट प्रक्रिया तथा कार्यक्रमबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा अभियान सफल बनाउन सरोकारवालासँग आग्रह गरिएको छ ।
भिक्टोरिया गोल्ड एन्ड डायमन्डको मुख्य प्रायोजन रहेको अभियानको सहकार्य क्युएफएम रेडियो नेटवर्कले गरेको छ ।














प्रतिक्रिया