काठमाडौँ – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले जारी १५औँ महाधिवेशन पार्टीको नयाँ यात्राको सुरुवात भएको बताउँदै महाधिवेशनपछि कांग्रेस अझ बलियो, ऊर्जाशील र नयाँ पुस्ताको भावना समेटेर अगाडि आउने दाबी गरेका छन्।
काठमाडौँको खुलामञ्चमा आयोजित महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उपसभापति शर्माले बीपी कोइरालाको नेतृत्वमा स्थापित ८० वर्षको इतिहास बोकेको कांग्रेसले लोकतान्त्रिक आन्दोलनसहित मुलुकका हरेक सङ्कटमा नेतृत्वदायी भूमिका निर्वाह गरेको उल्लेख गरे।
राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमा बहुमतको सरकार बनेपछि कांग्रेस प्रमुख प्रतिपक्षी दलको भूमिकामा रहेको स्पष्ट पार्दै शर्माले राष्ट्रिय हित र विकासका मुद्दामा सरकारसँग हातेमालो गर्न कांग्रेस तयार रहेको बताए। “मुलुकलाई सफल बनाउन र राष्ट्रिय हितका महत्त्वपूर्ण विषयमा सबै राजनीतिक दलहरू एक ठाउँमा उभिनुपर्छ,” उनले भने।
सम्बोधनका क्रममा शर्माले जलवायु परिवर्तनका असर, मधेस आन्दोलन र जेनेजी पुस्ताका मागलाई गम्भीरतापूर्वक सम्बोधन गर्नुपर्नेमा जोड दिए। साथै, विदेशमा रहेका नेपालीसँग जोडिएका नागरिकता र लगानीका सवाल समाधान गर्नुपर्ने बताए।
“नेपाल दुई वटा छ– नेपालबाहिरको र नेपालभित्रको नेपाल। यी दुवै नेपाललाई जोड्नुपर्छ,” शर्माले भने, “विदेशमा रहेका नेपालीको लगानी र संविधानले परिकल्पना गरेको नागरिकताको विषयलाई सम्बोधन गर्न कांग्रेस तयार छ।”

विशेष महाधिवेशनपछि गगनकुमार थापाको नेतृत्वमा कांग्रेस नयाँ चरणमा प्रवेश गरेको उल्लेख गर्दै उपसभापति शर्माले अग्रज, सहिद परिवार र ठूलो सङ्ख्याका युवा प्रतिनिधिको सहभागिताले पार्टीमा नयाँ ऊर्जा थपेको बताए।














प्रतिक्रिया