काठमाडौं- भारतीय नौसेनाको स्वदेशी विमानवाहक युद्धपोत ‘आईएनएस विक्रान्त’ मा फ्रान्सेली लडाकु विमान ‘राफेल एम’ ले पहिलो पटक सफल अवतरण गरेको छ । गत अक्टोबर २९ तारिखका दिन पहिलो प्रयासमै सफलतापूर्वक सम्पन्न भएको यस अवतरणले भारतीय नौसेनामा राफेल विमानलाई पूर्ण रूपमा सञ्चालनमा ल्याउने प्रक्रियाको औपचारिक सुरुवात गरेको छ ।
यसअघि अक्टोबरको मध्यतिर गोवास्थित ‘आईएनएस हंस’ नजिकै परीक्षण उडान गरिरहेको देखिएको उक्त विमानले तटमा आधारित परीक्षण केन्द्र (एसबीटीएफ) को परीक्षण पूरा गरेपछि युद्धपोतमा अवतरण गरेको हो । परीक्षणमा प्रयोग गरिएको विमान फ्रान्सेली नौसेनाको भएको बुझिएको छ ।
राफेल एमका पखेटाहरू पट्याउन नमिल्ने र आईएनएस विक्रान्तको लिफ्टभन्दा फराकिलो हुने भएकाले विमानको पखेटाको टुप्पोमा आवश्यकताअनुसार निकाल्न र जोड्न मिल्ने मिसाइल रेलहरू जडान गरिनेछ । साथै, विमानलाई सहज रूपमा राख्न आईएनएस विक्रान्त र आईएनएस विक्रमादित्य दुवै युद्धपोतका लिफ्ट तथा प्रणालीहरूमा केही प्राविधिक परिमार्जन गरिने बताइएको छ ।
भारतको रक्षा मन्त्रालयले सन् २०२५ को अप्रिलमा ७ अर्ब ५० करोड अमेरिकी डलर बराबरको सम्झौता गर्दै नौसेनाका लागि २२ वटा राफेल एम र ४ वटा तालिम दिने राफेल डीएच गरी कुल २६ वटा विमान खरिद गर्ने निर्णय गरेको थियो । सन् २०२९ देखि विमानको आपूर्ति सुरु हुने तालिका छ । स्वदेशी ‘ट्विन इन्जिन डेक बेस्ड फाइटर’ (टीईडीबीएफ) निर्माण योजनामा अपेक्षित प्रगति नभएकाले भविष्यमा नौसेनाले थप राफेल एम विमान खरिद गर्न सक्ने सम्भावना समेत रहेको छ ।
यस खरिद सम्झौताअन्तर्गत भारतमै स्वदेशी हतियार जडान गर्न मिल्ने गरी प्रविधि हस्तान्तरण (टीओटी) को व्यवस्था गरिएको छ । साथै, टाटा एडभान्स्ड सिस्टम्सले सन् २०२८ सम्ममा प्रतिमहिना दुईवटा विमानको मुख्य संरचना (फ्युजलेज) उत्पादन गर्ने कारखाना स्थापना गर्दैछ भने डसाल्ट र सफ्रान कम्पनीले भारतमै मर्मतसम्भार तथा इन्जिन सपोर्ट केन्द्रहरू निर्माण गरिरहेका छन् । यसले भारतलाई राफेल विमानको विश्वव्यापी आपूर्ति शृङ्खलामा समेत जोडेको छ ।














प्रतिक्रिया