झापामा ‘टुरिस्ट’बाट ‘ज्वाइँ’ उम्मेदवार बालेन, रवि बिरामी हुँदा एक्लै देश दौडाहा « Khabarhub

झापामा ‘टुरिस्ट’बाट ‘ज्वाइँ’ उम्मेदवार बालेन, रवि बिरामी हुँदा एक्लै देश दौडाहा



काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साह फागुन २१ गतेको निर्वाचनपछि प्रधानमन्त्री हुने आशासहित देश दौडाहामा छन् ।

काठमाडौं राजनीतिक थलो भए पनि उनी यस पटक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भिड्न झापा क्षेत्र नम्बर ५ पुगेका छन् । झापा ४ मा उम्मेदवारी दिएलगत्तै पूर्वी पहाड उक्लिएका उनी पछिल्लो पटक सुदूरपश्चिम र कर्णाली घुमेर काठमाडौं आए ।

अहिले उनी फेरि झापा पुगिसकेका छन् । उम्मेदवारी दिएर आफू झापाबाट फिरेपछि श्रीमती सविना काफ्लेलाई खटाएका उनी फेरि निर्वाचन क्षेत्रमा पुगिसकेका छन् ।

खासगरी भदौ २३ र २४ को आन्दोलनपछि नयाँप्रतिको उत्साह र पुराना दलप्रतिको निराशालाई राष्ट्रिय स्वतन्त्र पार्टी उपयोग गर्न खोजेको छ। ठगीसहितका विभिन्न मुद्दाको झमेलामा परेपछि प्रधानमन्त्री हुने सपना त्यागेका सभापति रवि लामिछनानेले बहुमत ल्याउने आशासहित बालेन्द्रलाई अघि सारेका छन् ।

आफू अनेक विवादमा रहेकाले भोट नबढ्ने निष्कर्षसहित रविले गुमिरहेको रास्वपाको साख जोगाउन बालेन्द्रलाई उपयोग गरेका हुन् । रविले पुस १३ गते रास्वपामा स्वागत गरेपछि माघ पहिलो साता काठमाडौं महानगरको प्रमुखबाट राजीनामा दिएका बालेन अहिले प्रधानमन्त्री हुने आशासहित देश घुमिरहेका छन् । महानगरमा हुञ्जेल मतदातासँग कहिल्यै संवाद नगरेका उनी अहिले सुकुम्बासी बस्तीमा पनि पुगिरहेका छन् ।

विवाद छविका कारण रवि थान्को लाग्दा बालेन देशभर घुमेर घण्टी बजाइरहेका छन् । उनलाई हेर्न आउने भिडबाट उनी उत्साहित छन् । त्यही भिडको माहोलका आधारमा उनी अहिले रास्वपाको पक्षमा आउन सक्ने सम्भावित मतको हिसाब गररिहेका छन् ।

उनी ओलीलाई राजनीतिबाट बिदा गर्ने महत्वाकांक्षासहित राजनीतिमा होमिएका छन् । उनले जेन-जी आन्दोलनमा ओलीकै कारण हिंसा मच्चिएको व्याख्या पनि गरिरहेका छन् । तर उनी आफैंले पनि जेन-जी आन्दोलनमा युवाहरूलाई सडकमा उत्रिन उकासेको आरोप लागिरहेको छ।

‘टुरिस्ट’बाट ‘ज्वाइँ’बने बालेन

देशभर डुलिरहेका उनले भिड हेरेर माहोल रास्वपाको पक्षमा रहेको अनुमान लगाए पनि झापा ५ मै निर्वाचन जित्न भने सजिलो छैन । बालेनको माहोल सामाजिक सञ्जालमा धेरै राम्रो देखिन्छ। तर झापा ५ एमालेको गढ हो । जहाँ अहिले एमालेले टोलटोलदेखि घरघरसम्म कार्यकर्ता परिचालन गरिरहेको छ।

यति हुँदा पनि बालेन हार मानेका छैनन् । श्रीमतीलाई समेत मैदानमा उतारेर माहोल बनाउन लागेका छन् । श्रीमती सविना झापामा खटिँदा सादा पोशाकका महिला सुरक्षाकर्मी पनि मत माग्न खटाएको भन्दै निर्वाचन आयोगले साहलाई स्पष्टीकरण सोधिसकेको छ । साहले यस पटक नै दुई पटक स्पष्टीकरण भेटिसकेका छन् ।

उनी अहिले काठमाडौं महानगरमा हुँदाकै सचिवालय सदस्यहरूलाई पछि लगाएर सोमबार झापाको चन्द्रगढी विमानस्थलमा उत्रिए । महानगर प्रमुख हुँदा काठमाडौंका सुकुम्बासी हटाउन डोजर पठाएका उनी यस पटक फरक देखिए । उनी झापा ५ पुगेर सुकुम्बासी बस्ती पुगे। अन्य नेतालाई जस्तै उनलाई पनि थाहा थियो, सुकुम्बासीहरूको भोट निर्णायक हुन सक्ने कुरा। त्यहीभएर उनले सुकुम्बासीलाई भने, ‘काठमाडौंका नदी किनारका सुकुम्बासी बस्ती डुब्न नदिन हटाउन खोजेको थिएँ। तपाईंहरलाई त हामी लालपूर्जा दिन्छौँ।’

श्रीमती सबिना काफ्लेलाई झापा ५ मा खटाइसकेका उनी आफैं पुगेर सुकुम्बासीको भोटको पनि यस पटक महत्व बुझे । काठमाडौं महानगरमा हुँदा सडक पेटीबाट गरिब र मजदुर लखेटेका उनले झापाका सुकुम्बासीसँग गहिरो संवाद गरेर आफूतिर तान्ने प्रयास गरे।

बालेन देशभर कुदिरहँदा झापा केन्द्रित सबिनाको माइती खासमा मोरङको उर्लाबारी हो । मोरङमै ससुराली भए पनि अहिले बालेनलाई झापा ५ मा ‘ज्वाइँ उम्मेदवार’ भनिन थालिएको छ । सबिनाको माइती उर्लाबारी रहेको थाहा हुनुअघि बालेनलाई टुरिस्ट उम्मेदवार भनिन्थ्यो। उर्लाबारी माइती भएकी सविना र बालेनका अहिले एक छोरी छन्। छोरीलाई काठमाडौंमै छोडेर दुवैजना अहिले दमकमा खटिएका छन् ।

बालेनको सचिवालय सदस्य सुरेन्द्र बजगाईंका अनुसार जिल्ला भ्रमण सकेर झापा झरेछि मंगलबार सुकुम्बासी बस्तीका मतदातासँग भेटवार्ता गरे । कमल गाउँपालिका लगायत क्षेत्रमा उनले मङ्गलबारको समय बिताए ।

कमलकी मतदाता प्रतिमा राजवंशीका अनुसार बालेनलाई यहाँका धेरैजनाले मत दिने विश्वास दिलाएका छन्। सुकुम्बासी बस्ती रहेको कमलको केही क्षेत्रमा त्यहाँका युवा र पाका समुदायले बालेनका कुरा सुनेका छन् ।

रवि किन निष्क्रिय ?

बालेन यसरी दौडधूपमा लागिरहँदा सभापति लामिछाने किन निष्क्रिय छन् ? उनले सचिवालयमार्फत् वक्तव्य जारी गर्न लगाएर खुट्टामा सङ्क्रमण भएकाले आराम गरिरहेको बताएका छन् । रास्वपा कार्यकर्ता र शुभेच्छुकले बालेन मात्रै किन सक्रिय भए भनेर प्रश्न गरिरहेका छन् । अझ बालेनले देश दौडाहा रहँदा रास्वपाको दोस्रो तहका नेतालाई किन लगनेन् ? यसले बालेन र रविबीच केही समस्या देखिएको हो कि भन्ने आशंका पनि उब्जाएको छ।

रवि साँच्चिकै घुँडाकै समस्याका कारण बाहिर निस्किन नसकेका हुन् ? अब रविको तयारी के छ ? अर्को मुख्य प्रश्न बालेन किन रास्वपा कार्यलय नगएर कुमार बेनकै घरलाई अड्डा बनाइरहेका छन् ? यी प्रश्नहरूको जवाफ हामीले पार्टीका नेता तथा बालेनको सचिवालय सदस्यलाई सोधेका छौँ ।

माहोल बुझ्ने कोसिस

 बालेनको सचिवालयका एकजना सदस्य प्रधानमन्त्रीको दौडमा रहेकाले जनताको मत बुझ्न, गुनासो सुन्द देश दौडाहा गरेको बताउँछन्।

 पार्टीका नेताहरू आफ्नो क्षेत्रमा व्यस्त रहेका कारण वरिष्ठ नेतासँग हिँड्ने समय नमिलेको बालेनका सहयोगी सुरेन्द्र बजगाईं भन्छन्, ‘अरु नेताहरू उहाँसँग जोडिन चाहनुहुन्थ्यो । तर घोषणापत्र लगायतका काममा व्यस्त हुनुहुन्छ। सभापतिज्यू घुँडाका कारण बाहिर निस्किने अवस्था छैन । नत्र उहाँहरू दुवैजना दौडिने कार्यक्रम थियो।’

बजगाईंका अनुसार पार्टीले नै उनलाई देशभर दौडिन सुझाव दिएको हो । बालेनको सचिवालय सदस्य कुमार बेन र अर्जुन घिमिरेका अनुसार प्रधानमन्त्रीको उम्मेदवार भएपछि देशभर पुगेर सन्देश दिने काम भएको हो । बालेनले बहुमत नल्याएको अवस्थामा प्रधानमन्त्री हुने अवस्था नरहने हिसाब सुनाइरहेका छन् । ‘उहाँले आफ्नो पक्षमा माहोल बनाउन र पार्टीको आकार बुझ्न, घुम्नुपर्ने अवस्था भयो’, अर्जुन घिमिरे र कुमार बेनको निष्कर्षबारे ती सचिवालय सदस्य भन्छन् ।

ती सहयोगी भन्छन्, ‘सामाजिक सञ्जालको जस्तै माहोलले भोट आउने भए बालेन प्रधानमन्त्री बन्ने कुरामा ढुक्क छन् । तर निर्वाचन परिणाम भने जस्तो नआउन सक्छ । त्यहीकारण बालेन आफैं जिल्ला दौडाहामा निस्किएर भोट बढाउने कोसिस गरेका हुन् ।’

बालेनका सहयोगीले जिल्लामा पुगेर त्यहाँका समस्याहरू पनि टिपोट गरेका छन्। सुधार गर्नुपर्ने पक्ष र पार्टीको संगठनका समस्याबारे पनि सचिवालयमार्फत बालेनले टिपोट गरेर ल्याएका छन् ।

सचिवालय सदस्य बजगाईंका अनुसार हरेक जिल्ला पुग्दा त्यहाँको वडा र पालिकासमेतको नेतृत्वसँग पनि सकेसम्म अन्तरक्रिया भएको थियो ।

‘छोटो समयमै रास्वपाले संगठनलाई मजबुत बनाएको रहेछ। जहाँ पुगे पनि संगठनका सदस्य, जिल्ला र स्थानीय तहका नेतासँग दौडिनुभयो’, बजगाईं भन्छन् ‘उहाँलाई देखाएको माया र सहयोगको उहाँले प्रशंसा गर्नु भएको। रास्वपाले बहुमत ल्याउन र झापा ५ बाट जित्न कठिन छैन।’

 घण्टीघर किन गएनन् ?

वरिष्ठ नेता भएपछि रास्वपाले घण्टी घरमा बालेनलाई छुट्टै कक्ष दिएको छ । पार्टी स्रोतका अनुसार उनको कक्ष जहिले खाली हुन्छ । उनी नहुँदा उनको कक्षमा कोही प्रवेश  गरेको छैन।

पार्टीको बैठक तथा विशेष कामबाहेक अहिले आफ्नो कार्यकक्षमा बालेन पुगेका छैनन्। उनले काठमाडौं भएको बेला शुभचिन्तक र समर्थकलाई सहयोगी कुमार बेनको घरमा भेट्दै आएका छन्।

‘उहाँ हाम्रो पार्टीको वरिष्ठ नेता हो, जहाँ अनुकूल हुन्छ,  त्यहीँ शुभचिन्तक भेट्नुहुन्छ । कार्यालय पनि आउने गर्नुभएको छ’, रास्वपाका ती नेताले खबरहबलाई भने, ‘कोही नआएपछि उहाँको कार्यकक्ष खाली हुने भयो तर उहाँका समर्थहरू कार्यालय आउनुहुन्छ । सभापतिज्यू पनि निवासमा आराम गरिरहनु भएको ।’

रास्वपा नेता विराजभक्त श्रेष्ठ पनि सम्पर्क कार्यालय राखेकाले आफ्नो इच्छाअनुसार नेताहरूले त्यहीँ भेटघाट गर्न पाउने सुविधा दिएको बताउँछन्। कुनै राजनीतिक नेतृत्वले कार्यालयमा बसेर मात्रै गतिविधि गर्न नसकिने उनी बताउँछन् ।

बालेनको सचिवालय पनि आफूलाई अनुकूल हुने भएरै कुमार बेनको घरलाई केन्द्र बनाएको बताउँछ । ‘हरेक राजनीतिक परिवर्तन बालेन दाइको त्यही घरबाट हुने भएको छ’, उनको सचिवालय भन्छ, ‘यसमा कुनै शङ्का गर्नुपर्ने ठाउँ छैन । नेताहरूलाई जहाँ अनुकूल हुन्छ, त्यहीँ सम्पर्क कार्यालय बनाउन सक्छन्।’

सचिवालय स्रोतका अनुसार दमकमा बालेनले एउटा घर लिएका छन्। त्यसबाट चुनावी प्रचारको हुन्छ । सुत्ने पनि बस्ने व्यवस्था छ। ‘खाना बाहिर खान्छौँ, चुनाव प्रचारका गतिविधि र बैठक त्यहीँ हुन्छ’, सचिवालय भन्छ, ‘बेलुका हाम्रो समूहका केही साथीहरू त्यहीँ सुत्छौँ। खाना अन्यत्र खाए पनि बस्ने त्यहीँ हो।’

रविलाई अझै आराम चाहिने

मधेश प्रदेशको जनकपुरमा आयोजित बृहत् सभालाई सम्बोधन गर्न जनकपुर पुगेका रविको खुट्टामा चोट लागेको थियो। त्यसबेला रगत नदेखिएछि उनले चोटलाई बेवास्ता गरेको नेताहरू बताउँछन् ।

जनकपुरबाट चितवन आएका रवि पर्सामा भएको सहकारीको मुद्दामा पेशी बुझाएर काठमाडौं फर्किएका थिए  । त्यसपछि खुट्टाको सङ्क्रमण बढेपछि माघ १३ गते त्रिवि शिक्षण अस्पताल भर्ना भए । दुई दिनको बसाइपछि १५ गते त्यहाँबाट डिस्चार्ज भएर घरमै आराम गरिरहेका छन्।

रविको सचिवालय सदस्य अविनाश आचार्यका अनुसार घाउमा केही सुधार भए पनि चिकित्सकले उनलाई अझै बाहिर ननिक्लिन आग्रह गरेका छन्। मङ्गलबार उनी चितवन गएर बस्ने कार्यक्रम भए पनि खुट्टाको कारण निस्किन पाएनन् ।

आचार्यका अनुसार बुधबार अथवा बिहीबारसम्म उनी चितवन पुगेर आराम गर्दै शुभचिन्तक र कार्यकर्तालाई भेट्ने कार्यक्रम छ ।

खुट्टाकै कारण धेरै कार्यक्रम स्थगित भएका आचार्यले बताए। ‘सोचेनुरूप गतिविधि गर्न पाउनुभएको छैन । त्यसकारण उहाँले  महानगरको जिम्मेवारीबाट अलग भएपछि वरिष्ठ नेतालाई देशभर दौडन भन्नुभएको थियो’, उनले भने ।

धेरैले लामिछाने वित्तीय अपराधमा मुछिएका कारण बाहिर ननिक्लिएको तर्क पनि गर्दै आएका छन् । तर उनको सचिवालय यसलाई मान्दैन । सचिवालय सदस्य आचार्यले भने, ‘बाहिर के के हल्ला आएका छन्, तिनलाई इग्नोर गरेका छौं तर अहिलेको अवस्थामा खुट्टाकै कारण दाइ बाहिर सार्वजनिक हुने अवस्था छैन।’

डीपी अर्यालले यसो भने

रास्वपा उपसभापति डीपी अर्यालका अनुसार बालेन्द्र र रवि एकसाथ देश दौडिने कार्यक्रम थियो । तर खुट्टाका कारण रवि जान सकेनन् । रवि जान नसकेपछि बालेन एक्लै निस्किएका हुन् ।

‘सभापतिज्यू र वरिष्ठ नेता एकसाथ देश दौडाहामा निस्किने कार्यक्रम थियो तर सभापतिको स्वास्थ्यले साथ दिएन । उहाँ निको हुनासाथ चितवन गएर त्यसलगत्तै देशभर डुल्नुहुन्छ’, अर्याल भन्छन्, ‘दोस्रो तहका नेताहरू पनि बालेनजीसँग देशभर पुग्न सकेनौं । स्वर्णिमजी अहिले घोषणापत्रमा व्यस्त हुनुहुन्छ। म देशभरका उम्मेदवारहरूलाई कसरी खटाउनेबारे काम गरिरहेको छु ।’

अर्याल बालेनलाई पार्टीको सल्लाहमै देशभर जान अनुमति दिएको बताउँछन् । कोषाध्यक्ष लीमा अधिकारी पनि शीर्ष नेताहरू आफैँ उम्मेदवार भएको र घोषणापत्रका काम बाँकी रहेकाले एक चरण बालेन आफैँ देश दौडाहामा निस्किएको बताउँछिन्।

प्रकाशित मिति : २१ माघ २०८२, बुधबार  १२ : ३६ बजे

हास्य कलाकार राजपाल यादवलाई आत्मसमर्पण गर्न अदालतको आदेश

काठमाडौं – बलिउड अभिनेता तथा हास्य कलाकार राजपाल यादव चेक

मस्क बने ८५० अर्ब डलर सम्पत्तिका पहिलो व्यक्ति, एकैदिन ७ लाख करोड रुपैयाँले बढ्यो धन

काठमाडौं- विश्वकै सबैभन्दा धनी व्यक्ति इलन मस्कको कुल सम्पत्ति ८५०

एमाले उपाध्यक्ष बादलको दाबी : सरकार निर्वाचन सार्ने षड्यन्त्रमा छ

काठमाडौं- नेकपा एमालेका उपाध्यक्ष एवं निर्वाचन परिचालन कमिटीका संयोजक रामबहादुर

एमालेले भन्यो : कलाकारलाई प्रयोग गरेर सामाजिक सञ्जाल दुरुपयोग बढ्यो, सुरक्षा पनि सुध्रिएन

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले फागुन २१ गते हुन