हिक्मत छोड्न तयार नभएपछि दबाब बढाउन ओलीले बोलाए प्रदेशका पदाधिकारीसहितको बैठक « Khabarhub

हिक्मत छोड्न तयार नभएपछि दबाब बढाउन ओलीले बोलाए प्रदेशका पदाधिकारीसहितको बैठक


२० श्रावण २०८३, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


345
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले राजीनामा नदिने अडानबाट पछि नहटेपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली दबाबमा परेका छन् । जसरी पनि हटाएर ताप्लेजुङका तिलकुमार मेन्याङ्बोलाई मुख्यमन्त्री बनाउने ओलीको ढिपीले काम नगरेपछि अरू नेतासहितको बैठक बोलाएका हुन्।

मंगलबार हिक्मतसँग गुन्डुमा करिब एक घण्टा एक्लै छलफल गरेका ओलीले परिस्थिति बुझिदिन आग्रह गरेका थिए। ओलीले सिधै राजीनामा दिन नभने पनि परिस्थिति बुझिदिन आग्रह गरेपछि हिक्मतले आफ्नो धारणा विस्तारमा राखे।

हिक्मतले कोशी प्रदेशको सरकार संविधानको धारा १६८(५) बमोजिम बनेकाले आफूले राजीनामा दिए संवैधानिक संकट उत्पन्न हुन सक्ने बताए। सांसदहरूले स्वेच्छिक रूपमा आफूलाई मतदान गरेकाले पार्टीको ह्वीप नलाग्ने अवस्था पनि ओलीलाई सुनाए । संसदीय दलको नेता परिवर्तन हुँदैमा आफूले मुख्यमन्त्रीबाट राजीनामा दिनुपर्ने अवस्था नरहेको तर्क पनि कार्कीले ओलीसमक्ष गरे ।

हिक्मतनिकट एक नेताका अनुसार उनले आफूलाई सानो बनाउन केही तत्व सक्रिय रहेकाले त्यसलाई बुझिदिन ओलीसँग आग्रह गरेका थिए। विगतका विभिन्न संकटमा आफूले अध्यक्षलाई साथ दिएको उल्लेख गर्दै उनले कार्यकाल छोटो भएकाले कोशी प्रदेशमा अर्को व्यक्तिलाई अगाडि नसार्न आग्रह गरे।

हिक्मतले आफ्नो कुरा राखिरहँदा ओली मौन रहे । तर मुख्यमन्त्री पदबाट राजीनामा दिनुपर्ने वा अर्को व्यक्ति ल्याउनुपर्ने कुरा प्रत्यक्ष रूपमा नभनेको बताइएको छ।

‘अध्यक्षज्यूसँग मैले आफ्ना कुरा राखेँ। उहाँले परिस्थिति बुझिदिनुस् भन्ने कुरा गर्नुभयो। सिधै राजीनामा दिनु भन्नुभएन,’ ओलीसँगको भेटबारे आफूनिकटलाई हिक्मतले भने, ‘मैले अडान कायम राखेपछि छलफल निष्कर्षहीन भयो। उहाँले विचार गर्नुस् भन्नुभएको राजीनामाको संकेत हुन सक्छ। तर मैले राजीनामा दिने सोच बनाएको छैन।’

राजीनामा नदिँदा बैठक

ओलीले हिक्मतलाई आफ्नो सन्देश लिएर पूर्वमुख्यमन्त्री शेरधन राई विराटनगर पुगेको विषयमा पनि जानकारी गराएका थिए।

‘मैले भन्नु केही छैन, शेरधन कमरेडले पनि तपाईंलाई जानकारी गराउनुभएकै होला,’ ओलीले भनेका थिए, ‘साथीहरूको कुरा पनि सुन्नुपर्छ कि ?’

हिक्मतसँग प्रत्यक्ष रूपमा राजीनामा नमागे पनि ओलीले कोशीका एमाले अध्यक्ष घनश्याम खतिवडा, इन्चार्ज शेरधन राई तथा अन्य पदाधिकारीले हिक्मतलाई राजीनामा गराउन पहल गर्नुपर्ने बताएका थिए।

ओलीले घनश्यामलाई हिक्मतको विकल्पमा अर्को नेता मुख्यमन्त्री बनाउने तयारी गर्न आग्रह गरेको स्रोतको दाबी छ। घनश्यामले त्यसबेला ओलीको कुरा सुनेर मुन्टो मात्रै हल्लाएको अर्का एक नेताले बताए।

‘घनश्याम कमरेडले पनि धारा १६८(५) अन्तर्गत बनेको सरकार भएकाले मुख्यमन्त्री फेर्न अप्ठ्यारो हुन सक्ने कुरा गर्नुभयो। तर हिक्मत दाइलाई नै अघि सार्नुपर्नेमा जोड दिनुभएन,’ ती नेता भन्छन्, ‘ओली कमरेडले एकपटक हिक्मत दाइलाई सम्झाउने कुरा पनि गर्नुभएको रहेछ।’

खतिवडानिकट स्रोतका अनुसार बुधबार उनले पनि हिक्मतलाई निर्णयबारे पुनर्विचार गर्न आग्रह गरेका थिए। ‘केन्द्रको निर्णय मान्नुपर्ने कुरा आउला, कमरेड। विचार गरिदिनुहोला,’ खतिवडाले भनेका थिए। ‘अध्यक्षज्यूले हामीसँगको छलफलमा दोस्रो विकल्प खोजिसकेको छु भन्ने कुरा गर्नुभयो।’

तर हिक्मतले घनश्यामलाई कसैले भन्दैमा मार्ग प्रशस्त नगर्ने, बरू पार्टी सचिवालय बैठकबाट जे निर्णय हुन्छ, त्यही मान्ने बताएका थिए।

‘मैले मार्ग प्रशस्त गर्नुपर्ने भए पनि आधिकारिक निर्णयपछि सोचौँला। एमालेको आधिकारिक निर्णयबिना म अडानबाट हट्दिनँ,’ हिक्मतले भनेका थिए, ‘पुनः बैठक राख्नुस्, त्यहीँ कुरा गरौँला।’

कोशीका इन्चार्ज शेरधनले पनि पटकपटक हिक्मतलाई मार्ग प्रशस्त गरिदिन आग्रह गरिसकेका छन्। उनले मुख्यमन्त्रीमा अर्कोलाई अगाडि सार्नुपर्ने भएकाले राजीनामा दिनुपर्ने ओलीको सन्देश सुनाएका थिए।

कुरा नमिलेपछि ओलीले बुधबार नै दिउँसो २ बजेपछि प्रदेश पदाधिकारीसहित हिक्मतलाई बोलाएका छन्। राजीनामा दिन तीव्र दबाब परे पनि हिक्मतले अडान नछोडेपछि पदाधिकारीसहित छलफल गर्न लागिएको हो।

यसबारे प्रश्न गर्दा हिक्मतले भने, ‘मैले आफ्नो कुरा अध्यक्षज्यूसमक्ष राखिसकेको छु। आज २ बजेपछि पुनः बैठक बस्ने सूचना बिहान आएको छ।’

शेरधन भन्छन् : पार्टीको निर्देशन पालना गर्नुपर्छ

शेरधन भने पार्टीको निर्देशन सबैले पालना गर्नुपर्ने अडानमा छन्। प्रदेशमा एउटै व्यक्तिलाई पटकपटक अवसर दिनुभन्दा अन्य नेताहरूलाई पनि मौका दिनुपर्ने भएकाले अर्को विकल्प अघि सारिएको उनको तर्क छ।

‘प्रदेशमा नयाँ व्यक्तिलाई अवसर दिनुपर्ने छ। एउटै व्यक्तिलाई पटकपटक अवसर दिएर अरू नेताहरूलाई अन्याय गर्नु हुँदैन भन्ने पार्टीको ठहर छ। पार्टीको निर्देशन त मान्नुपर्‍यो नि,’ हिक्मतलाई राजीनामा दिन आग्रह गर्दै शेरधनले भने, ‘अध्यक्षज्यूले फेरि बैठक बोलाउनुभएको छ। उहाँको पनि बाध्यता होला। नेताहरूलाई सबैतिर समेट्नुपर्छ, पार्टी पनि चलाउनुपर्छ। त्यसकारण सबैले त्यो बाध्यता बुझिदिनु आवश्यक हुन्छ।’

तर हिक्मत भने अध्यक्षको बाध्यता नभई केही नेताले आफूलाई हटाउन खोजेको दाबी गर्छन्। विगतमा पनि शेरधन र हिक्मतबीच सम्बन्ध राम्रो नरहेकाले अहिले हटाउन ओलीले शेरधन कार्ड प्रयोग गरेको उनीनिकट नेताहरूको दाबी छ। शेरधन कोशी प्रदेशका इन्चार्ज भएकाले पनि हिक्मतले उनको निर्देशन मान्नुपर्ने ओलीको अडान छ ।

तर हिक्मत भने आफूभन्दा जुनियरको मौखिक निर्देशन नमान्ने र सचिवालय बैठकबाट औपचारिक निर्णय हुनुपर्ने अडानमा छन्। ओलीले प्रत्यक्ष रूपमा राजीनामा दिन नभने पनि आफूलाई दबाब दिने वातावरण बनाइएको उनको तर्क छ।

यसैबीच, ओलीले आफूनिकट नेता नभएकै कारण बागमतीमा पनि जगन्नाथ थपलियालाई अपमान गरेको चर्चा छ। ओलीसँगको भनाभनका कारण थपलियालाई स्वास्थ्य समस्या देखिएको छ। गुण्डुमा बोलाएर आफूलाई मुख्यमन्त्री नबनाउने निष्कर्ष सुनाइएपछि उच्च रक्तचापका कारण जगन्नाथ ढलेका थिए। हाल उनको वीर अस्पतालमा उपचार भइरहेको छ।

प्रकाशित मिति : २० श्रावण २०८३, बुधबार  १ : ४८ बजे

डेन्यूबमा युद्धपोत फेरि देखिए

एजेन्सी– युरोपको दोस्रो लामो डेन्यूब नदीमा खडेरीका कारण पानीको सतह

न्यायपालिकामाथि प्रश्न उठाउने ३ संस्थासँग स्पष्टीकरण माग्न निर्देशन

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको कानून न्याय तथा मानवअधिकार समितिले नेपालको न्यायीपालिका

नेप्सेमा सामान्य सुधार, चार अर्ब ४० करोडभन्दा बढीको कारोबार

काठमाडौं– धितोपत्र बजारमा सेयर कारोबार मापक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक

पोखरा महानगरपालिका प्रमुख आचार्यसँग नेपालका लागि इजरायली राजदूतको भेट

गण्डकी– पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग नेपालका लागि इजरायलका राजदूत

निम्सदाइसहित चार पर्वतारोहीको शव ब्रोड पिकबाट बेस क्याम्पमा झारियो

काठमाडौं– प्रसिद्ध नेपाली पर्वतारोही मिङ्मा जीको नेतृत्वमा रहेको उद्धार टोलीले