हिक्मतकुमार कार्कीले आफूलाई कोशी प्रदेशको मुख्यमन्त्रीबाट हटाउनुपर्ने भए एमाले सचिवालय बैठकबाटै निर्णय हुनुपर्ने अडान राखेपछि अध्यक्ष केपी शर्मा ओली तत्कालका लागि पछि हटेका छन् । कोशी प्रदेश इन्चार्ज शेरधन राई र मुख्यमन्त्री कार्कीबीचको विवादका कारण ओलीले कार्कीलाई हटाउने तयारी गरेको चर्चा थियो ।
त्यस्तै, कार्कीले एमालेमा रूपान्तरण, पुस्तान्तरण र पुनर्जागरण आवश्यक रहेको बहसको पक्षमा खुलेर आवाज उठाएपछि ओली उनीसँग असन्तुष्ट बनेको पनि बताइन्छ। कुनैबेला ओलीका विश्वासपात्र मानिएका कार्की र ओलीबीचको सम्बन्ध पछिल्लो समय चिसिएको थियो। चौतर्फी आलोचना तथा संवैधानिक प्रश्न उठ्न थालेपछि ओलीले तत्कालका लागि कार्कीलाई नै मुख्यमन्त्रीमा निरन्तरता दिने निर्णय गरेका हुन् ।
यता, कोशी प्रदेशमा एमालेका केही सांसदहरूले मुख्यमन्त्री कार्कीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराउने तयारी गरेका थिए । तर, कार्की असोज ३ गते मात्रै मुख्यमन्त्री बनेको दुई वर्ष पूरा हुने भएकाले त्यसअघि अविश्वास प्रस्ताव दर्ता गर्न नमिल्ने संवैधानिक व्यवस्थाले पनि ओलीलाई तत्काल नेतृत्व परिवर्तनको निर्णयबाट पछि हट्न बाध्य बनाएको हुन सक्ने आकलन गरिएको छ । यद्यपि, अर्को निर्वाचनअघि नै कोशी प्रदेशमा मुख्यमन्त्री परिवर्तन हुन सक्ने संकेत भने देखिएको छ।
यसबारे प्रश्न गर्दा मुख्यमन्त्री कार्कीले भने, “अहिलेलाई निरन्तरता दिने भनेर अध्यक्षज्यूले भन्नुभएको छ। पार्टीले जतिबेला बोलाउँछ, त्यतिबेला फेरिनुपरे पनि पार्टीको निर्णय मान्नुपर्छ। म पार्टीको कार्यकर्ता हुँ।”
ओलीसँगको भेट र मुख्यमन्त्रीमा निरन्तरता भएको विषयमा केन्द्रित रहेर हामीले कार्कीसँग छोटो कुराकानी गरेका छौं।
बधाई छ, अब तपाईंले नै काेशी मुख्यमन्त्रीका रूपमा निरन्तरता पाउने हुनुभएछ ?
यहाँलाई धन्यवाद। होइन कसैले अध्यक्षज्यूलाई मेरो विषयमा केही प्रश्न र जिज्ञासाहरु राख्नुभएको रहेछ। त्यो जिज्ञासाहरूको विषयमा मलाई अध्यक्षज्यूले सम्झाई बुझाई गर्नुभयो। हामीबीच एकआपसमा उठेका विषयहरूमा लामो कुरा गर्यौं।
आज अध्यक्षसँगको बैठकमा के के कुरा भयो ?
होइन त्यस्तो केही भएन, राम्रै भयो । अध्यक्षज्यूले सम्झाउनुभयो, बुझाउनुभयो, राम्रो काम गर्नु । साथीभाइले आलोचना गरेका छन् । ख्याल गर्नु काम राम्रो गर्नु । अनुशासित हुनु र पार्टी हितमा काम गर्नु भनेर राम्रो ढंगले सम्झाउनुभयो। अहिले तपाईँले नै नेतृत्व गर्दै गर्नु भन्नुभयो।
साथीभाइले के आलोचना गरेछन् ?
त्यो त साथीभाइलाई नै सोध्नुहोला। होला नि त मुख्यमन्त्री भएपछि केही कमीकमजोरी हुँदा नै आलोचना हुने नै भयो। मैले गल्ती गरेको विषयमा म सुधार गर्छु भने तर त्यस्तो ब्लन्डर केही गल्ती भने गरेको थिएन। उहाँलाई कसैले मिसअन्डरस्ट्यान्डिङ कुरा गरेको होला । अध्यक्षज्यूले राम्रो ढंगले सम्झाउनुभयो राम्रो काम गर्नु भन्नुभयो। साथीभाइ र सबैको मन जित्नु भन्नुभएको छ। सैद्धान्तिक कुरा उहाँले मलाई भन्नुभयो।
को साथीभाइ रहेछ ?
तपाईँहरूलाई पनि थाहा छ त । अब यो यो भनेर व्यक्ति नै त कसरी किटान गर्ने कसैले भन्नुभयो होला ।
भनेको कोशी इन्चार्ज शेरधन राई हुनुहुन्छ ?
अहिले यतातिर नजाउँ कि । अध्यक्ष गार्जियन भएर सबै कुरा सम्झाई बुझाई गर्नुभएको छ।

अध्यक्ष ओली रिसाउनुभएको रहेछ तपाईंदेखि ?
छैन किन रिसाउनु गार्जनले अलिअलि आलोचना गर्ने टिप्पणी गर्ने कुरालाई मैले स्वभाविक लिएको छु। गार्जियनले कमीकमजोरी देखाइदिनु भयो मेरो।
मुख्य के विषयमा कमीकमजोरी भएको रहेछ ?
यतातिर आज नजाउँ घर आएसी गार्जियनसँग के के कुरा भयो भयो। हामी दुवैले आफ्ना मनका कुराहरू समेत पोखेका छौँ।
उसो भए अब तपाईंको विकल्प खोज्ने पक्षमा तत्काल हुनुहुन्न हैन ?
विकल्पहरू थुप्रै हुनुहुन्थ्यो तर अहिलेलाई मैले नै नेतृत्व गर्ने सहमति जुटेको छ। अब निरन्तरता हुन्छ।
त्यसो भने यही कार्यकालमा कुनैबेला फेरिन सक्ने पनि सम्भावना रहेछ ?
पार्टीले जहिले बोलाउँदा पनि फेरिनु परिहाल्यो नि पार्टीको निर्णय त मान्नुपर्यो नि । पार्टीको कार्यकर्ता हुँ भोलि अरु काममा खटाइयो भने मैले त्यसमा नो भन्न मिल्दैन । राम्रो गरिन भने पनि फेरिनुपर्यो पार्टीले यहाँ जा त भन्दा पनि जानुपर्यो। तर पार्टीको निर्णय त मान्नुपर्छ । कमजोरी गर्यो भने पनि सचिनु पर्यो। पार्टी त फेरि व्यक्तिगत जीवनका लागि महत्वपूर्ण कुरा हो। अहिले मैले नेतृत्व गर्दै गर्ने , राम्रो काम गर्ने जनतामा स्थापित पार्टीलाई गर्ने सरकारलाई गर्ने । आफूलाई गर्ने भन्नुभयो।
तपाईहरूबीच त लामै वार्ता भयो है ?
घरमा गार्जियनसित वार्ता त कहिलेकाहीँ एक दुई घण्टा हुन्छ कहिले एक दुई दिन पनि हुनसक्छ यसलाई सामान्य विषय मानौँ। उहाँलाई पनि कसैले केही भनिदिएको थियो होला र मलाई केही विषयमा खटाउन खोज्नुभएको थियो होला। हामीबीच राम्रै कुराकानी भयो। मैले उहाँलाई आफ्ना कुराहरू बुझाए संविधानका नीति निर्देशन र प्रदेश एकको अवस्थाको विषयमा जानकारी गराए उहाँले पनि पार्टीको विषयमा थप कुराहरु भन्नुभयो ।












प्रतिक्रिया