भारतका शीर्ष कम्पनीको वित्तीय प्रगति उत्साहजनक « Khabarhub

भारतका शीर्ष कम्पनीको वित्तीय प्रगति उत्साहजनक


२० भाद्र २०८३, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पछिल्लो समय ऊर्जाको मूल्यमा भएको भारी वृद्धि र अमेरिका–इजरायल तथा इरानबीचको युद्धका कारण उत्पन्न आपूर्ति व्यवधानका बावजुद भारतका शीर्ष कम्पनीहरूले उत्साहजनक वित्तीय प्रगति हासिल गरेका छन् । नुभामा वेल्थ म्यानेजमेन्टको हालैको प्रतिवेदनअनुसार अप्रिल–जुन त्रैमासिकमा भारतका शीर्ष ५०० कम्पनीले विगत तीन वर्षयताकै सबैभन्दा बलियो आम्दानी वृद्धि दर्ता गरेका छन्।

भारतको नयाँ आर्थिक वर्षको सुरुवात मानिने सो त्रैमासिकमा बीएसई ५०० कम्पनीहरूको समग्र नाफा वृद्धि २२ प्रतिशत पुगेको छ। उच्च कच्चा तेलको मूल्यबाट प्रभावित सरकारी स्वामित्वका तेल मार्केटिङ कम्पनीहरूलाई बाहेक गरेर यो विश्लेषण निकालिएको हो। यस्तो प्रदर्शनले दलाल तथा विश्लेषकहरूको अपेक्षालाई समेत पछाडि छोडेको छ।

नुभामाका इक्विटी रणनीतिकार प्रतीक पारेखले आम्दानीभन्दा पनि नाफामा देखिएको तीव्र वृद्धि सबैभन्दा ठूलो आश्चर्यको विषय भएको बताएका छन्। एसियाली बजारमा कमजोर प्रदर्शन गरिरहेका भारतीय बजारका लगानीकर्ताहरूका लागि यो नतिजाले ठूलो राहत प्रदान गरेको छ। यसले द्वन्द्वका बाबजुद पनि भारतीय कर्पोरेट क्षेत्रले ठूलो आर्थिक धक्का सहन सक्षम रहेको र मागमा व्यापक गिरावट नआएको देखाएको छ।

भारतीय रिजर्भ बैंकका अनुसार अप्रिल–जुन त्रैमासिकको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) वृद्धि ७ प्रतिशतको हाराहारीमा बलियो रहने अपेक्षा गरिएको छ भने मुद्रास्फीति पनि नियन्त्रणमै छ। आनन्द राठी वेल्थका सह–सीईओ फिरोज अजिजले विभिन्न क्षेत्रको यो बलियो प्रदर्शन समग्र अर्थतन्त्रको सुदृढ स्वास्थ्य सूचक भएको उल्लेख गरेका छन्।

आईसीआईसीआई सेक्युरिटीजको प्रतिवेदनले पनि विश्व बजारमा आश्रित भन्दा घरेलु बजार केन्द्रित कम्पनीहरूको प्रदर्शन उत्कृष्ट रहेको जनाएको छ। युद्धका कारण फ्युलको प्रत्यक्ष मारमा परेका तेल प्रशोधन र उड्डयनबाहेकका धेरैजसो क्षेत्रमा माग र लागतको धक्का कम महसुस भयो। धेरै कम्पनीहरूले आफ्नो न्यून लागतको इन्भेन्ट्री प्रयोग गरेका कारण सुरुमा अनुमान गरिएको इनपुट मूल्यको धक्का केही समयका लागि टरेको विश्लेषकहरूको भनाइ छ।

गत वर्ष गरिएको कर छुट (जीएसटी) र कृत्रिम बौद्धिकता (एआई) का कारण धातु क्षेत्र र सवारीसाधन उत्पादन गर्ने अटोमोबाइल कम्पनीहरूले विशेष लाभ उठाएका छन्। यद्यपि, विश्वव्यापी प्राविधिक खर्चमा देखिएको मन्दीका कारण सूचना प्रविधि (आईटी) कम्पनीहरूको आम्दानी भने केही सुस्त देखिएको छ।

बजारमा अझै पनि यो आम्दानीको गति दीर्घकालीन रूपमा टिक्छ वा टिक्दैन भन्ने विषयमा मिश्रित प्रतिक्रिया छन्। कर छुट र रूपैयाँको कमजोरीले केही समयका लागि निर्यातकर्ता तथा आईटी क्षेत्रलाई साथ दिए पनि यो प्रभाव सधैँ नरहन सक्छ। त्यसैले आगामी दिनमा गतिलाई निरन्तरता दिन नयाँ आर्थिक प्रोत्साहन र विश्वव्यापी मागमा सुधारको अपेक्षा गरिएको छ। दीर्घकालीन रूपमा भने भारतीय अर्थतन्त्रले दोहोरो अंकको वृद्धिको लक्ष्य भेट्टाउन सक्ने विश्लेषकहरूको विश्वास छ।

प्रकाशित मिति : २० भाद्र २०८३, शनिबार  ४ : १५ बजे

खगेन्द्रको विषयमा रास्वपा सती जान सक्दैन : लिमा अधिकारी

राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित भएका सांसद खगेन्द्र सुनुवार यतिखेर गम्भीर

भारतमा प्रदर्शन : ३० भन्दा बढी पत्रकार पक्राउ, प्रेस स्वतन्त्रतामाथि प्रश्न

काठमाडौँ – भारतको राजधानी नयाँ दिल्लीमा मतदाता नामावली संशोधनविरुद्ध भएको प्रदर्शनको

काठमाडौँमा लुकिछिपी बसिरहेका १० विदेशी नागरिक पक्राउ

काठमाडौँ– अवैधरूपमा नेपाल प्रवेश गरी काठमाडौँका विभिन्न स्थानमा लुकिछिपी बसिरहेका

गृहमन्त्री गुरुङ र भारतीय विदेशमन्त्री जयशंकरबीच भेट

काठमाडौं – भारत भ्रमण सम्पन्न गरी स्वदेश फर्कने क्रममा गृहमन्त्री सुधन गुरुङ