बेइजिङ- चीनले अघि सारेको विश्वव्यापी विकास पहल (जीडीआई) पाँच वर्ष पूरा हुँदा विकासोन्मुख देशका आवश्यकता सम्बोधन गर्ने व्यावहारिक सहयोगमा केन्द्रित हुँदै गएको संयुक्त राष्ट्रसंघका एक वरिष्ठ अधिकारीले बताए ।
संयुक्त राष्ट्रसंघको दक्षिण–दक्षिण सहकार्य कार्यालयकी निर्देशक दिमा अल–खतिबले विकासका लागि देशहरूबीच साझेदारी, ज्ञान र स्रोत आदानप्रदानमा जीडीआईले सहयोग पुर्याइरहेको बताए।
संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) का अनुसार सन् २०२४ को अन्त्यसम्म जीडीआईअन्तर्गत ६ सयभन्दा बढी परियोजना सुरु वा सञ्चालनमा थिए। सन् २०२५ को मार्चसम्म ती परियोजनाका लागि १४ अर्ब अमेरिकी डलर बराबरको लगानी प्रतिबद्धता जुटाइएको थियो।
अल–खतिबका अनुसार दक्षिण–दक्षिण सहकार्यको मुख्य उद्देश्य एउटा देशको अनुभव र विशेषज्ञतालाई अर्को देशको आवश्यकता अनुकूल प्रयोग गर्नु हो। यसअन्तर्गत ६० भन्दा बढी प्राविधिक संस्थालाई जोडेर विकासोन्मुख देशबीच सहकार्य बढाउने परियोजना सञ्चालन भइरहेका छन्।
पश्चिम अफ्रिकामा धान उत्पादन वृद्धि गर्न प्रविधि र तालिम उपलब्ध गराइएको छ। यसबाट कृषि उत्पादन बढाउनुका साथै उत्पादनपछिको क्षति न्यूनीकरण तथा ग्रामीण क्षेत्रमा रोजगारी र आम्दानी वृद्धि गर्ने लक्ष्य राखिएको छ।
डिजिटल क्षेत्रमा पनि सहकार्य विस्तार भइरहेको छ। विद्युतीय व्यापारसम्बन्धी तालिममा ९० भन्दा बढी देशका मानिस सहभागी भएका छन् भने २२ विकासोन्मुख देशका नीति निर्माताले चीन पुगेर यससम्बन्धी अध्ययन गरेका छन्।
सन् २०३० को दिगो विकास लक्ष्य हासिल गर्न अब चार वर्ष मात्र बाँकी रहेकाले विकासका प्रयासलाई थप तीव्र बनाउनुपर्ने अल–खतिबले बताए।
उनका अनुसार विकासोन्मुख देशका आवश्यकता अनुरूप प्रविधि, प्राविधिक ज्ञान, आर्थिक सहयोग र तालिम उपलब्ध गराउन जीडीआईले महत्वपूर्ण भूमिका खेल्न सक्छ।
सन् २०२५ को सेप्टेम्बरमा चीन र संयुक्त राष्ट्रसंघले सन् २०२५ देखि २०३० सम्मका लागि एक करोड अमेरिकी डलरको सहयोगसहित नयाँ विकास कोष घोषणा गरेका थिए। उक्त कोषमार्फत कृषि, प्रविधि र डिजिटल विकासलगायत क्षेत्रमा विकासोन्मुख देशलाई सहयोग गरिनेछ।
पहिलो चरणमा १६ वटा संयुक्त राष्ट्रसंघीय निकायबाट १०७ वटा परियोजना प्रस्ताव प्राप्त भएका थिए। ती प्रस्तावले विश्व दक्षिणका ११५ देशलाई समेटेका थिए।
अल–खतिबले आगामी दिनमा स्थानीय आवश्यकता, स्पष्ट परिणाम र दीर्घकालीन उपयोगिता भएका परियोजनालाई प्राथमिकता दिनुपर्नेमा जोड दिए।














प्रतिक्रिया