दक्षिणपूर्वी एसियामा चीनको सैन्य पहुँच विस्तार, लाओसमा नयाँ हवाई केन्द्र सञ्चालन « Khabarhub

दक्षिणपूर्वी एसियामा चीनको सैन्य पहुँच विस्तार, लाओसमा नयाँ हवाई केन्द्र सञ्चालन


१९ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चीनले दक्षिणपूर्वी एसियामा आफ्नो सैन्य पहुँच विस्तार गर्दै लाओसको राजधानी भियन्टियानबाट करिब ५० किलोमिटर उत्तरमा रहेको बान केउनमा नयाँ हवाई सैन्य सुविधा सञ्चालनमा ल्याएको छ।

चीनको राष्ट्रिय रक्षा मन्त्रालयले सेप्टेम्बर २९ मा बान केउनमा चीन–लाओस संयुक्त समर्थन तथा प्रशिक्षण केन्द्र र मैत्री उड्डयन एकेडेमी सञ्चालनमा आएको जनाएको हो। उद्‌घाटन समारोहमा लाओसका रक्षामन्त्री खामलिएङ ओथाकेसन सहभागी थिए।

चीनका अनुसार केन्द्रको मुख्य उद्देश्य लाओसका वायुसेना पाइलटको प्रशिक्षण क्षमता अभिवृद्धि गर्नु तथा चीन र लाओसका सेनाबीच व्यावहारिक सहयोग विस्तार गर्नु हो।

नयाँ सुविधामा करिब दुई हजार मिटर लामो पक्की धावनमार्ग, ट्याक्सीवे, पार्किङ एप्रन, हवाई यातायात नियन्त्रण टावर र पाँचवटा ह्याङ्गर निर्माण गरिएको छ। चीनले यो सुविधा कुनै तेस्रो देशविरुद्ध लक्षित नभएको र क्षेत्रीय शान्ति तथा स्थायित्वमा योगदान पुर्‍याउने दाबी गरेको छ।

तर चिनियाँ सैन्य टिप्पणीकारहरूले बान केउनलाई लाओसको वायुसेना प्रशिक्षणसँगै क्षेत्रीय हवाई अभ्यास र इन्डोचाइना क्षेत्रमा चीनको प्रभाव विस्तारका लागि समेत प्रयोग गर्न सकिने सम्भावना औँल्याएका छन्। चीन–लाओस रेलमार्गको नजिक र लाओसको राजधानी भियन्टियाननजिकै रहेको स्थानका कारण कर्मचारी तथा सैन्य उपकरणको आवतजावत सहज हुने उनीहरूको भनाइ छ।

लाओसको वायुसेनाले रुसी र चिनियाँ निर्मित विमान तथा हेलिकप्टर प्रयोग गर्दै आएको छ। नयाँ केन्द्रमा चीनले कस्ता विमान वा कति सैन्य जनशक्ति तैनाथ गर्ने भन्नेबारे भने स्पष्ट जानकारी दिएको छैन।

अस्ट्रेलियन स्ट्राटेजिक पोलिसी इन्स्टिच्युटले पनि बान केउनमा चिनियाँ सैनिक वा सैन्य उपकरण स्थायी रूपमा तैनाथ हुनेबारे पर्याप्त प्रमाण नरहेको जनाएको छ। यद्यपि, केन्द्रले लाओसमा चीनको निरन्तर सैन्य उपस्थिति कायम गर्न तथा दुई देशका सेनाबीचको सम्बन्ध थप गहिरो बनाउन महत्त्वपूर्ण भूमिका खेल्न सक्ने उसको मूल्याङ्कन छ।

चीनले सन् २०१७ मा अफ्रिकी मुलुक जिबुटीमा आफ्नो पहिलो विदेशी सैन्य आधार स्थापना गरेको थियो। त्यसपछि दक्षिणपूर्वी एसियामा कम्बोडियाको रेम नौसैनिक सुविधामार्फत पनि चीनले आफ्नो सैन्य पहुँच विस्तार गरेको छ। चीन र कम्बोडियाले सन् २०२५ मा रेममा संयुक्त समर्थन तथा प्रशिक्षण केन्द्र सञ्चालनमा ल्याएका थिए। चीनले त्यहाँ पूर्वाधार निर्माणमा सहयोग गर्नुका साथै आफ्ना युद्धपोतसमेत पठाउँदै आएको छ।

कम्बोडियाले भने रेम नौसैनिक सुविधा अन्य मित्रराष्ट्रका नौसेनाका लागि समेत खुला रहेको बताउँदै आएको छ।

चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार बान केउनस्थित नयाँ उड्डयन केन्द्रले पाइलट, स्थल कर्मचारी तथा अन्य उड्डयन जनशक्तिको प्रशिक्षण प्रणाली विकास गर्न सहयोग गर्नेछ। यसबाट लाओसले चीन, रूस र भियतनाममा आफ्ना सैन्य जनशक्तिलाई तालिमका लागि पठाउनुपर्ने निर्भरता घटाउने अपेक्षा गरिएको छ।

अमेरिकी रक्षा मन्त्रालयले चीनले विदेशमा सैन्य सुविधाहरू विस्तार गर्दै लामो दूरीमा आफ्नो सैन्य शक्ति परिचालन गर्ने क्षमता बढाइरहेको बताउँदै आएको छ। यद्यपि, अमेरिकाले यसअघि सम्भावित चिनियाँ विदेशी सैन्य आधारका रूपमा सार्वजनिक गरेको सूचीमा लाओस समावेश थिएन।

बान केउनको नयाँ हवाई केन्द्रले चीनको क्षेत्रीय सैन्य उपस्थिति, प्रशिक्षण तथा रक्षा सहकार्यमा कस्तो भूमिका खेल्छ भन्ने कुरा भने आगामी दिनमा चीन–लाओसबीच हुने सम्झौता र केन्द्रको वास्तविक प्रयोगमा निर्भर हुने देखिन्छ।

प्रकाशित मिति : १९ आश्विन २०८३, सोमबार  ३ : १५ बजे

मन्त्रिपरिषद्का निर्णय : नर्वेबाट १० करोड अनुदानदेखि सचिवको पदस्थापनसम्म

काठमाडौँ- सरकारले नगरपालिकामा स्वच्छ ऊर्जा रूपान्तरण प्रवर्द्धन गर्ने कार्यक्रमका लागि नर्वेजियन

निर्माण क्षेत्रको मूल्य समायोजन लागू गर्ने सरकारको निर्णय, इन्धनदेखि डण्डीसम्म समेटिने

काठमाडौँ – सरकारले निर्माण क्षेत्रमा देखिएको अस्वाभाविक मूल्यवृद्धिलाई सम्बोधन गर्न

अत्यधिक गर्मीले गर्भवती र नवजात शिशु जोखिममा

नाडी – जलवायु परिवर्तनका कारण बढ्दै गएको अत्यधिक गर्मीले गर्भवती महिला

यी हुन् मन्त्रिपरिषद् बैठकका मुख्य ५ निर्णयहरू

काडमाडौं– सरकारले सोमबार गरेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ

एकैदिन रिलिज भएका तीन नेपाली फिल्मले कति कमाए ?

काठमाडौं– गत असोज ९ गते शुक्रबार प्रदर्शनमा  एकैपटक तीन नेपाली